म घोत्लिरहेको थिएँ घरको बरन्डामा बसेर अगाडिको एउटा सानो तलाउ हेर्दै र त्यसैको आडमा अग्लिँदै गरेका हरिया वृक्षहरु नियाल्दै । अमेरिका आएको पनि झन्डै १२ वर्ष भइसकेछ नेपाल फर्किन्छु भन्दाभन्दै । केले हो केले कसरी तान्यो तान्यो ? नेपाल फर्किन्छु भन्दाभन्दै यतिका वर्ष बितिसके । निरद सी चौधरीले लेखेको पुस्तक ’द कनटिनेन्ट अफ् सर्सी’ मा फसेजस्तो भइरहेको छ । न फ्याट्ट छोड्न सक्छु न यतै बसेर खुसी छु । एउटा चरो भुर्र उँडेर तलाउ छेउ पुग्छ र पानीसँग खेल्छ । म त्यही कुर्सीमा एकछिन निदाउँछु ।
अहा कति सुन्दर नेपाल ! साच्चै सुन्दर, शान्त र विशाल ! विदेशिएका युवा सबै देशभित्र आइसकेछन् । देशभित्रै सबै रोजगार भइसकेछन् । हरेक कुरा ’पब्लिक पार्टनर्सिप’को अवधारणामा चल्न थालेछ । ठाउँठाउँ, चोक गल्ली सबैतिर सहरी सुविधा पुगिसकेछ । कृषि व्यवसायदेखि कलकारखानासम्म सबै आधुनिक भइसकेछन् ।
एउटा सभ्य र सुसंस्कृत समाजको निर्माण भइसकेको रहेछ नेपालमा । सबै नेपाली आफ्नै देश फर्केर परिवार र माटोसँग रमाउन पो थालिसकेछन् । कसैले पनि जात र धर्मको नाममा अपहेलित हुनुपर्ने दिन गइसकेछ । महिला, अपाङ्गता भएका व्यक्ति, पिछडिएका समुदाय सबैले इज्जत र सम्मानका साथ् बाँच्न पाउन थालेछन् ।
गाउँमा सहर जत्तिकै सुविधा पुगेछ । झोलुङे पुल भएका ठाउँ फ्लाई ओभर भइसकेछ । शिक्षा, स्वास्थ्य, खानेपानी, गाँस, वास र कपासको समस्या हुने छोडेछ । सबैलाई दिएर खान पुग्न थालेछ । एउटा यस्तो सभ्य राजनीतिको विकास भइसकेछ जहाँ अब बन्ने कुनै पनि नेता जनताको छीछी र दूरदूरको पात्र हुन छोडेछन् । सभ्य जनता जन्मिन र सभ्य नेता चुनिन थालेछन् । नराम्रो मानिसलाई भोट दिएर अब जनताबाट पनि गल्ती हुन छोडेछ । सबै ठाउँमा बाटो पुगिसकेको रहेछ ।
पार्टीको प्रमुख एजेन्डामा तन, मन, वचन र कर्मले मानवीयता नै मूल मन्त्र बन्न थालेछ । जनताको नाममा बोलिने गाँस, वास, कपास, स्वास्थ्य र शिक्षा जनताका सहज पहुँचका विषय हुन थालेछन् । जनताका हकहितबाहेक सत्तामा पुग्नेको कुनै बदनियत वा व्यक्तिगत स्वार्थ हुन छोडेछ । मानवीयता राजनीतिको प्रमुख एजेन्डा हुन् थालेछ । नेताहरु विभिन्न वर्ग, पिछडिएका समुदाय, महिला, बालबालिकाको पक्षमा रहेर उनीहरुको तर्फबाट सोच्न र उनीहरुको पीडा बुझ्न, आत्मसात गर्न थालेछन् ।
नेताहरुको नैतिक नेतृत्वको कारण देशको हुनुपर्ने आर्थिक, सामाजिक, राजनीतिक विकास हुन थालिसकेको रहेछ । सदियौंदेखि एउटै वर्गले गरिराखेको शासन परिवर्तन भइसकेको रहेछ । उसलाई उज्यालो मन पर्न थालेछ ।
व्यवहारमा परिवर्तन भइसकेको रहेछ । सबैले परिवर्तन देख्न, महसुस गर्न थालिसकेका रहेछन् । नयाँ पुस्ताले देशको बागडोर समालिसकेको रहेछ । आफूलाई महानायक ठान्ने तर काम गर्न नसक्ने पात्रहरुको हातबाट ग्रिक पूराकथाका पात्र प्रोमिथसले ईश्वरको हातबाट आगो चोरेजस्तो गरी नेतृत्व युवापुस्ताले फुत्काइसकेको रहेछ ।
डा. गोबिन्द केसीजस्ता मान्छेहरु सत्याग्रहमा बस्नुपर्ने दिन आउन छोडिसकेको रहेछ । निर्मलाहरु छाती खोलेर साँझ एक्लै हिँड्न सक्ने समय आइसकेको रहेछ । जातभन्दा माथि प्रेम मानिन थालेछ । सुत्केरी महिलाले उपचार नपाएर मर्नुपर्ने दिन गएछ । बाटो नपाएर समयमा अस्पताल नपुग्नाले ज्यान गुमाउनु पर्ने दिन एकादेशको कथा हुन पुगेछ ।
सांसदहरुको संख्या घटेर न्यून भएछ । बुद्धिमान र ज्ञानी सांसद संसद्मा चुनिन थालेछन् । सार्वजनिक सम्पत्तिको तोडफोड र कुर्सी भाँच्ने काम हुन छाडेछ । अनेक बहानामा राष्ट्रको ढुकुटी निमिट्यान्न पार्ने काम हुन छोडेछ । जनताको कर र पसिना गरिबको पेट भर्न र लाज छेक्न प्रयोग हुन थालेछ ।
गाउँगाउँमा अस्पताल बनिसकेको रहेछ । बाटोघाटो, बिजुली, पानी, शिक्षा, सहरीकरण र विकेन्द्रीकरण सँगै रहेछन् सामाजिक चेतना, महिला तथा प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञान, जातीय हिंसाविरुद्ध आवाज पनि । राजनीति गर्ने मान्छे विवेकी, दूरदर्शी हुन थालेछन् । माफियाको पछि कुद्न छोडेछन् । राज्यले मानवीयतालाई प्रमुख लक्ष्य बनाउनाले देश र जनताले सुख पाउन थालेछन् ।
परलोक भईसकेका हाम्रा हजुरबाहजुरआमाहरु स्वर्गबाटै मुस्कुराउँदै डिजिटल युगको सुविधा लिएर स्वर्गबाटै स्काइप गर्दै भन्दै रहेछन् — ’धन्य भए !’
म झल्यास बिउँझे । यो त सपना पो रहेछ !