site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युतीय सवारीमा कर घटायौं भन्दै यसरी झुक्यायो सरकारले

काठमाडौं । विद्युतीय सवारी (ईभी)मा व्यवसायी र उपभोक्तामाथि सरकारले फेरि झेल गरेको छ । मन्त्रिपरिषद्को बैठकले अन्तःशूल्क ८० प्रतिशतसम्मले घटाएर उपभोक्तालाई राहत दिएको भने पनि उपभोक्ताले विद्युतीय कार अझै पहिलाभन्दा निकै बढी मूल्य तिर्नुपर्ने देखिएको छ ।
अन्तःशूल्क घटाएको चारो छरेर सरकारले विद्युतीय सवारीबाट कर उठाइ छाड्ने पासोलाई यथावत् राखेको छ । 

बिहीबारको मन्त्रिपरिषदले बजेटमार्फत् चार गुणाले बढाइएको भन्सार दर नै पुनरावलोकन गरेको छैन । जसले इन्ट्रि लेबल कार उपभोक्ताले विद्युतीय कार चढ्ने बाटो बन्द गरिदिन्छ ।

नयाँ व्यवस्थाअनुसार ईभीको मूल्य बजेट अगाडिको भन्दा अझै दोब्बर नजिक बनाउँछ । किनकि बजेट भाषणसँगै ५ गुणाले बढेको करको दर (इफेक्टिभ ट्याक्स) मन्त्रिपरिषदको निर्णयपछि पनि बजेटपूर्वको भन्दा ३ गुणाले बढी छ ।

अर्थात्, बजेटअघि ५० लाख रूपैयाँ पर्ने गाडीलाई बिहीबारको मन्त्रिपरिषद्ले कायम गरेको करको दरअनुसार ९० लाख रूपैयाँसम्म पर्छ । बजेटको व्यवस्थाले सो गाडीको मूल्य १ करोड २५ लाखसम्म पुर्‍याएको थियो ।

यो व्यवस्थाले विद्युतीय सवारीमा हराएको आकर्षण पुनः नफर्कने पक्का छ ।

बजेटअघिसम्म विद्युतीय सवारीमा इफेक्टिभ ट्याक्स (प्रभावकारी कर) ३० प्रतिशत लाग्ने गरेकामा गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री अर्थमन्त्री युवराज खतिवडाले आर्थिक ऐनमार्फत् कर बढाउँदै १ सय ५० प्रतिशतसम्म पुर्‍याएका थिए । त्यसयता विद्युतीय सवारीको व्यापार ठप्प थियो ।

तर, बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो व्यवस्थामाथि पुनर्विचार गर्दै इफेक्टिभ ट्याक्स ९० प्रतिशतमा झारेको हो ।

बजेटमार्फत् गरेको व्यवस्थाप्रति पुनर्विचार गर्दै ईभीमा मन्त्रिपरिषद्ले अन्तःशूल्क घटाए पनि त्यसले मूल्यमा खासै कमी ल्याउने छैन ।

नयाँ व्यवस्थाअनुसार बजारमा सर्वाधिक बिक्री हुने अर्थात् ५० देखि १५० किलोवाट मोटर क्षमता भएका विद्युतीय सवारीमा १५ प्रतिशत अन्तःशूल्क लाग्छ । बजेटले यी गाडीमा ५० प्रतिशतसम्म अन्तःशूल्क लगाउने व्यवस्था गरेको थियो ।

सबै गाडीमा बजेटले बढाएको ४० प्रतिशत भन्सार महसुल यथावत् राखेर सरकारले अन्तःशूल्कमात्र कम गरेको हो ।

मन्त्रिपरिषदको बैठकले विद्युतीय सवारीमा कम्तिमा ६ प्रतिशतदेखि बढीमा ६० प्रतिशतसम्म अन्तःशूल्क लगाउने निर्णय गरेको छ ।

भन्सार, मूल्य अभिवृद्धि कर यथावत् मुअ करमा सामान्य कमी गर्दा ईभीको बजार मूल्य बजेटअघिको नजिक पनि नआउने व्यवसायी बताउँछन् । नेपाल विद्युतीय परिवहन संघका अध्यक्ष उमेशराज श्रेष्ठ भन्छन्, “बजेटअघि ५५ लाख पर्ने गाडीलाई नयाँ व्यवस्थाअनुसार पनि ९० लाख रुपैयाँ पर्न जान्छ । ४ महिनाको अन्तरमा सोही गाडीलाई ३५ लाख रुपैयाँ बढी मूल्य को उपभोक्ताले तिर्लान् ?”

अन्तःशूल्क घटाइनुले सामान्य राहत महसुस गरेको भए पनि यो समायोजनले खासै ठूलो अर्थ नराख्ने उनको भनाइ छ । विद्युतीय सवारी अझै पनि आम कार उपभोक्ताको क्रयशक्तिभन्दा निकै टाढा रहेको उनको जिकिर छ ।

अध्यक्ष श्रेष्ठले थपे, “सरकारको राहतले उत्साहित भयौं र भएनौं पनि । सरकारले ‘न भाले न पोथी’ किसिमको पुनर्विचार गर्‍यो । ५५ लाखको गाडीलाई ७०–७५ लाखसम्म बनाएको भए उपभोक्ताले पनि पुनर्विचार गर्न सक्ने सम्भावना थियो ।”

सानो मोटर क्षमताको ईभी (५० किलोवाट सम्मको) मा भन्सार दर नै पुनविर्चार गरिनुपर्ने सुझाव उनको छ । नयाँ व्यवस्थाअनुसार ५० किवासम्मको गाडीमा अझै पनि ७५ प्रतिशतसम्म इफेक्टिभ ट्याक्स छ ।

श्रेष्ठ भन्छन्, “करको दर बढीमा २ गुणाले बढ्नपर्थ्यो । साना विद्युतीय गाडीमा १० प्रतिशत भन्सार दरलाई २० प्रतिशतसम्म बनाउनु पर्ने थियो ।”

बजेट र मन्त्रिपरिषद् निर्णय अनुसारको व्यवस्थाबीच तुलना

 

बजेटले ५० किलोवाटसम्म मोटर क्षमताका विद्युतीय सवारीमा ३० प्रतिशत अन्तःशूल्क लगाउने निर्णय गरेकामा मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ अन्तःशूक ३ प्रतिशत कायम भएको छ । यस्तै ५०–१०० किलोवाट क्षमताका गाडीको अन्तःशूल्क ४० बाट १० प्रतिशत बनाइएको छ ।

मन्त्रिपरिषदले १००–१५० किलोवाट मोटर क्षमताका गाडीमा अन्तःशूल्क ५० बाट १५ प्रतिशत, १५०–२०० किलोवाटमा ६० बाट ४५, २००–३०० किलोवाटमा ७० बाट ५२.२ र ३०० किलोवाटभन्दा बढीमा ८० बाट ६० प्रतिशत कायम गरेको छ ।

विद्युतीय सवारी साधनमा चर्को कर वृद्धि गरेर भएको चौतर्फी  विरोधपछि  सरकारले अन्तःशूल्क वृद्धिलाई पुनरावलोकन गरेको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  २२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro