एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता वायर्न म्युनिख पराजित भएको छ । सिजनको पहिलो खेलमा फराकिलो जित निकालेको वायर्न दोस्रो खेलमा पराजित हुन पुगेको हो ।
आइतबार राति भएको खेलमा वायर्न होफेनहाइमसँग ४–१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा होफेनहाइमलाई जित दिलाउन इर्मिन बाइकाचिचले खेलको १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
२४ औँ मिनेटमा मुनास डाब्बुरले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ३४ औँ मिनेटमा वायर्नका लागि जोसुवा किमिचले गोल गर्दै वायर्नलाई २–१ गोलको स्थितिमा ल्याए ।
पहिलो हाफमा दुई गोल गरेको होफेनहाइमले दोस्रो हाफमा थप दुई गोल गरेको हो । खेलको ७७ औँ मिनेटमा आन्द्रेज क्रमारीचले गोल गर्दै होफेनहाइमलाई ३–१ गोलको अग्रता दिलाए । आन्द्रेजले नै खेलको इन्ज्यूरी समयमा गोल गर्दै होफेनहाइमलाई ४–१ गोलको जित दिलाए ।
जितसँगै शीर्ष स्थानको होफेनहाइमले दुई खेलबाट ६ अंक जोडेको छ । पराजित वायर्नको ३ अंक छ ।