site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैंको उत्साह : सवारी व्यवसाय सामान्यतर्फ फर्किन प्रयासरत, व्यवसायी भन्छन्- नाडा अटो शो ‘मिस’ भइरा’छ

काठमाडौं । दसैंको मुखैमा सवारी व्यवसाय (प्यासेन्जर भेहिकल सेग्मेन्ट) फस्टाएको छ । कोभिड–१९ रोग जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउन र निषेधाज्ञा खुलेर दसैं लागेसँगै व्यक्तिगत प्रयोजनका लागि सवारी (कार) खरिद गर्न इच्छुक ग्राहकको संख्या बढेको हो ।

अटो व्यवसाय लामो समय ठप्प रहँदा लकडाउन तथा निषेधाज्ञाको अवधिमा खरिद गर्ने योजना बनाएका गाडी पारखीले कम्पनीहरुमा इन्क्वायरी बढाउन थालेका छन् । ह्युन्डाई, किया, टाटा, सुजुकी, फोर्ड, महिन्द्रालगायत चारपांग्रे कम्पनीको शोरुममा ग्राहकहरुको आगमन बढ्न थालेको व्यवसायीहरु बताउँछन् ।

व्यवसायी पनि वार्षिक कारोबारको एक-तिहाइभन्दा बढी कारोबार हुने ‘सिजन’ मा आफ्नोमा ग्राहक तान्‍न आकर्षक व्यवसाय योजना (चाडपर्व अफर) सार्वजनिक गर्ने क्रममा छन् । कम्पनीहरुको आधिकारिक बिक्रेताले चाडपर्व लक्षित योजना सार्वजनिक गर्नु र शोरुमहरुमा पनि ग्राहकको बढ्दो उपस्थितिले दसैं लागेको झल्को दिन्छ । आइतबार थापाथलीस्थित ह्युन्डाइ, टाटा, सुजुकी, फोर्डलगायत कम्पनीको शोरुममा पनि ग्राहकको सामान्य चहलपहल देखिन्थ्यो ।

सवारी व्यवसायी भने यो क्षेत्र सामान्य अवस्थामा फर्किन प्रयासरत रहे पनि लकडाउन र निषेधाज्ञाले थपिएको दायित्व पूर्ति हुन अझै समय लाग्‍ने बताउँछन् । बिगत ७ महिनामा यो क्षेत्रले ४० प्रतिशतसम्म गुमाएको र त्यसमा नियमित खर्चसमेत जोड्दा गुमेको कुल हिस्सा रिकभर हुन अर्को ६-८ महिना लाग्ने उनीहरुको दाबी छ ।

ह्युन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठ सवारी व्यवसाय सामान्य अवस्थामा फर्किने प्रयासमा रहेको बताउँछन् । श्रेष्ठले बाह्रखरीसँग भने, “दसैं तिहारको माहोल बन्‍ने क्रममा ग्राहकको संख्या सामान्य स्थितिमा फर्किन प्रयास गरेको छ । अधिकांश कम्पनीले चाडपर्व लक्षित गरेर नयाँ मोडलका गाडि सार्वजनिक गरेको तथा सोहीअनुसार चाडपर्व योजना ल्याएका कारण चहल पहल बढाएको हो ।” ह्युन्डाईको हकमा कम्पनीले नेपाली बजारमा प्रस्तुत गरेको दुई नयाँ कारहरु नयाँ क्रेटा र नियोसले आफ्ना शोरुममा ग्राहकको चहलपहल बढाएको श्रेष्ठको भनाइ छ ।

तर, ६ महिनामा यो क्षेत्रले वार्षिक कारोबारको ४० प्रतिशत गुमाएको दाबी गर्दै श्रेष्ठले कमाइ गुमाउनुको मारसँगै खर्च निरन्तर हुँदा सवारी व्यवसायको दायित्व झनै विस्तार गरेको बताए । श्रेष्ठले भने, “कोभिड–१९ जोखिम कम गर्न आह्वान गरिएको लकडाउन र निषेधाज्ञाले यो क्षेत्रलाई आधार सतहभन्दा मुनि पुर्‍याएको थियो । अहिले हामी पुरानै स्थितिमा फर्किने प्रयासमा छौं ।”

उनका अनुसार दसैं तिहार (६ देखि ७ हप्ताको अवधी)मा ३०-३५ प्रतिशत कारोबार हुने गर्छ । श्रेष्ठले थपे, “लकडाउन र निषेधाज्ञा अवधिमा कारोबार शून्य थियो । त्योभन्दा पक्कै केही बढेको हो । तर, गएका वर्षको जस्तो अवस्था छैन ।”

श्रेष्ठका अनुसार सवारी बुकिङ हुने क्रम पनि बढेको छ । तर, उत्साहजनक भयो भन्‍ने ठाउँ छैन । उनले भने, “सामान्य हुनका लागि ६ महिनामा जति गुमायौं, त्यो पहिला रिकभर गर्नुपर्छ । जसका लागि थप ६–८ महिना लाग्‍न सक्छ ।”

सवारी क्षेत्रले लकडाउन र निषेधाज्ञा अवधिमा कमाइ गुमाए पनि खर्च रोकिएन, बैंकको ब्याज मिनाह भएन, भाका सारियो मात्र । त्यसले भार खप्टाएको श्रेष्ठको दाबी छ ।

टाटाको नेपालका आधिकारि वितरक सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठका अनुसार प्यासेन्जर भइकलतर्फ वार्षिक कारोबारको एक–तिहाइभन्दा बढी दसैंमा हुने गर्छ । यो वर्ष पनि दसैंको मुखमा ग्राहकहरुले सवारीसाधनको इन्क्वायरी बढाएको श्रेष्ठको दाबी छ ।

तर, ग्राहकको 'फ्लो' बढेपनि अनपेक्षित ठूलो संख्या भने छैन । कोभिड–१९ जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउन र निषेधाज्ञाका कारण रोकिएको सवारी माग एकैपल्ट बढेको भन्‍ने कुरामा उनको सहमति छैन । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बाह्रखरीसँग भने, “ग्राहकको संख्या अपेक्षा गरेअनुसार नै छ । अर्थात् साधारण स्थितिमा जति हुने गरेको थियो, त्यति नै छ ।”

कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङका उपमहाप्रबन्धक अनिश लामिछाने पनि शोरुममा ग्राहकको इन्क्वायरी बढेको दाबी गर्छन् । विशेष गरी हालै बुकिङ खुला गरिएको कम्प्याक्ट एसयूभी सोनेटमा कार पारखीले राम्रो प्रतिक्रिया दिएका छन्, सेल्टोसको बजार राम्रै गतिमा अघि बढेको दाबी उनले गरे । लामिछाने थपे, “ग्राहकको यो उत्साहले दसैंसम्म निरन्तरता पाओस् भन्ने अपेक्षा छ ।”

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अरु कम्पनीले झैं चाडपर्वमा वार्षिक योजनाको ४० प्रतिशत व्यापार कसरी गर्ने भन्नेमा सिप्रदी केन्द्रित रहेको जानकारी उनले दिए । श्रेष्ठका अनुसार हालै सार्वजनिक प्रिमियम ह्याचब्याक अल्ट्रोजको इन्क्वायरी सोचेअनुसार राम्रै छ ।

तर, कार किन्नेको संख्या निकै घटेको अनुभव सिप्रदीका श्रेष्ठको छ । उनी भन्छन्, “सवारी खरिदलाई निरुत्साहन गर्ने सरकारको नीतिले अटोमोबाइल्स व्यवसायी ग्रसित छ । सरकारले डाउनपेमेन्ट ५० प्रतिशत कायम गरिदिँदा सर्वसाधारण साँच्चै निरुत्साहित भएको हामीले महसुस गरेका छौं ।”

नाडा मिस भइर’को छः व्यवसायी

यता सवारी व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले वर्षेनि आयोजना गर्ने नाडा अटो शो यो वर्ष आयोजना भएन । दसैंको मुखैमा आयोजना हुने शोमा चाडपर्वको अवसरमा नयाँ गाडी किन्‍ने सोच बनाएका ग्राहकले एकै छातामुनि विभिन्न कम्पनीका, विभिन्न मोडल, फरक तथा प्रतिस्पर्धी मूल्य दाँजेर गाडी छनोट गर्ने अवसर पाउँथे ।

नेपाली गाडी व्यवसायीका लागि नाडा अटो शो कुम्भ मेला नै हुने गरेको थियो । दसैं आउनु डेढ–दुई महिनाअघि नाडा अटो शो आयोजना गर्नाले ग्राहकको सोचअनुसार म्याच हुन्थ्यो भने व्यवसायीलाई व्यवसाय विस्तारमा सहायत पुग्थ्यो ।

तर, यो वर्ष नाडा अटो शो पनि नहुनाले सवारी ग्राहक घटेको अनुभव व्यवसायीको छ । हरेक वर्ष दसैंको मुखैमा आयोजना हुने नाडा अटो शो यो वर्ष नहुँदा दसैंको व्यापार खल्लो बनेको व्यवसायी दाबी गर्छन् ।

दसैंको मुखैमा हुने नाडाले बजार चलायमान बनाउने गरेकामा यो वर्ष त्यो नभएको उनीहरुको भनाइ छ । नाडाले सिर्जाउने ‘वेभ’ यो वर्ष अनुभव गर्न नपाएको दाबी व्यवसायीले गरे ।
कन्टिनेन्टलका उपमहाप्रबन्धक लामिछाने नाडा अटो शो नभएर ग्राहकहरु कन्फ्युजनमा रहेको महसुस गर्छन् । उनले भने, “सामान्य परिस्थिति भइदिएको भए ग्राहकहरुले सबै गाडी एकै छानोमुनि हेर्न पाउँथे । अन्तिम दिनसम्म बुकिङ गरिसक्थे र अटो शो सकिनासाथ डेलिभरी गरिन्थ्यो ।”

सिप्रदीका प्रमुख कार्यकारी श्रेष्ठ पनि नाडा अटो शोलाई निकै ‘मिस’ गरेको बताउँछन् । अझ आफू आयोजक हुँदा अटो शो गर्न नपाउनुको पीडा पनि उनलाई छ । उनले भने, “दसैंको मुखमा आयोजना हुने उक्त कार्यक्रम ग्राहक र व्यवसायी सबैलाई बराबर लाभ हुन्थ्यो । कार पारखी विभिन्‍न कम्पनीको गाडी छानेर खरिद गर्दथे भने व्यवसायीलाई पनि बजारीकरणमा अब्बल भएर प्रस्तुत हुने मौका थियो ।”

नाडा अटो शोमा ग्राहकको संख्या उच्च हुँदा व्यवसायीलाई पनि चुनौती हुन्थ्यो कि यी ग्राहकलाई कसरी आफ्नो बनाउने भनेर । शोमा जसले राम्रो सेल्सम्यानशीप र मार्केटिङ गर्थ्यो, सोही कम्पनीले इन्क्वायरीलाई सेल्समा कन्भर्ट गर्न सक्थ्यो ।

श्रेष्ठले नाडाको क्षतिपूर्ति डिजिटल प्ल्याटफर्मबाट उठाउने आश गरेको पनि बताए । त्यसका लागि डिजिटल माध्यमबाट ग्राहकले आफूले खरिद गर्न चाहेका कार अनुभव गराउन आफूहरुसमेत व्यवसायीले सक्दो प्रयास गरेका दाबी श्रेष्ठले गरे ।

कस्ता छन् चाडपर्व अफर ?

नाडा अटो शो आयोजना नभए पनि व्यवसायीले बजार तताउन आकर्षक चाडपर्व अफर ल्याएका छन् । ह्युन्डाई, टाटा, सुजुकी, किया आदि कम्पनीले आकर्षक नगद छुट, एक्स्चेन्जमा बोनस, निःशुल्क बिमा, निःशूल्क कर, एसेसोरिज आदि समेटेर अफर सार्वजनिक गरेका हुन् ।

१) ह्युन्डाई

ह्युडाईको चाडपर्व अफर हो, ‘यसपालीको दसैं तिहार, वेलकम टु ह्युन्डाइ परिवार’ । योजना असोज ५ मा सुरु भएर मंसिर ५ गतेसम्म लागु रहनेछ । योजनाअन्तर्गत, ग्राहकले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्डमार्फत एक लाख रुपैयाँसम्मको नगद छुट पाउँछन् ।

यसैगरी बम्पर उपहारमा लक्की–ड्रमार्फत् ह्युन्डाइ औरा १ थान र ह्युन्डाइ ग्रान्ड आईटेन नियोस १ थान जित्‍न सकिन्छ । त्यसका साथै ग्राहकहरुले एक वर्ष निःशुल्क बिमा पनि पाउने बताइएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले यस कठिन समयमा स्वास्थ्यकर्मीको समर्पण र सेवालाई ध्यानमा राखी सम्मान स्वरुप ‘विशेष प्याकेज’ दिने निर्णय पनि गरेको छ ।

२) टाटा

सिप्रदी ट्रेडिङले चाडपर्वको अवसरमा नयाँ गाडी खरिदकर्ताका लागि ‘टाटा मोटर्स दसैं अफर’ सार्वजनिक गरेको छ । कम्पनीको योजनाअनुसार टाटा प्यासेन्जर गाडी खरिदमा चार लाख रुपैयाँसम्मको नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्यांकनमा सर्प्राइज गिफ्ट, प्रत्येक टेस्ट ड्राइभमा उपहार तथा जुनसुकै गाडीको एक्सचेन्जमा ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिन्छ ।

३) सुजुकी

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले सुजुकी पर्वोत्सव अफर ल्याएको छ । दसैं तिहार लक्षित योजनाअन्तर्गत ग्राहकले तीनलाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युन्तम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बिमा र गाडीका एसेसोरिज निःशुल्क पाउँछन् ।

साथै कुनै पनि व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिइ बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार पाइने कम्पनीले जनाएको छ ।

४) फोर्ड

नेपालका लागि फोर्ड गाडीको आधारिक बिक्रेता जीओ अटोमोबाइल्सले चाडपर्व अफर प्रस्तुत गरेको छ । कम्पनीले फोर्डका कारहरु फिगो, एस्पाएर, फ्रिस्टाइल र इकोस्पोर्टको भेरियन्टमा किन्ने ग्राहकलक्षित आकर्षक योजना ल्याएको हो ।

यो वर्षको फोर्ड फेस्टिभ अफरअनुसार उपलब्ध तीन अफरमध्ये एउटा छनोट गर्न सक्छन् र नगद छुट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निःशुल्क बिमाजस्ता नियमित लाभ लिन सक्ने कम्पनीले जनाएको छ । जीओका अनुसार गाडीको बुकिङमा नगद छुट, सडक कर र बिमाको नियमित लाभबाहेक ग्राहकले तीनमध्ये एक योजना छनोट गर्न सक्छन् ।

पहिलो योजनामा ग्राहकले बक्सबाट तीनवटा स्क्र्याच कार्ड छनोट गरी ४ लाख ५० हजार रुपैयाँसम्म जित्ने मौका पाउँछन् । प्रत्येक स्क्र्याच कार्डमा ग्यारेन्टी मूल्य २५ हजार र बढीमा एक लाख ५० हजार रुपैयाँसम्म हुन्छ । यो अफरअन्तर्गत ग्राहकले विस्तृत बिमा र आधारभूत एसेसोरिज प्राप्त गर्छन् ।

दोस्रो योजनाअनुसार ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिनेछ । यो योजना माछापुच्छ्रे बैंकमार्फत उपलब्ध हुनेछ । जीओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याजबापतको रकम तिरिदिनेछ । यो योजनामा ग्राहकहरुले एसेसोरिज र बिमा पनि प्राप्त गर्छन् ।

तेस्रो योजना हो– स्थगित भुक्तानी अर्थात् डिफर्ड पेमेन्ट । योजनाअनुसार ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशत डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सकिन्छ । बाँकी २० प्रतिशतका लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिन्छ । यी ४ महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाइ किस्तामा तिर्नुपर्छ । बाँकी रकम तिरिसकेपछि बैंक लोनका लागि प्रस्ताव अगाडि बढाउनेछ ताकि ग्राहकले बैंकको किस्ता पहिले व्यहोर्नुपर्ने छैन ।

५) एमजी

एमजी गाडीको नेपालका लागि आधिकारित वितरक पारामाउन्ट मोटर्सले ‘सानदार दसैं तिहार’ अफर घोषणा गरेको छ । ‘धुमधाम दसैं तिहार एमजीमा छ सानदार उपहार’ नारा सहित दसैं र तिहारको खुसीयालीको अवसरमा घोषणा गरिएको यस स्किममा ग्राहकहरुका लागि थुप्रै फाइदा र अफर छन् ।

योजनाअनुसार एमजी गाडीको खरिदमा ग्राहकहरुले २.५ लाखसम्मको नगद छुट, निःशुल्क बिमा, १ वर्षसम्म फ्रि रोड ट्याक्स तथा फ्रि एसेसरिज पाउनेछन् । यस्ता मुख्य सुविधाहरु कम्पनीले आफ्ना ग्राहकको खुसीको लागि ल्याउने गरेको कम्पनीको दाबी छ ।

६) स्याङयोङ

कोरियन लग्जरी एसयूभी बनाउने साङयोङको नेपालका लागि आधिकारिक वितरक आईएमएस मोटर्स ‘स्याङयोङ सुपर डिस्काउन्ट’ अफर ल्याएको छ । अफरमा ग्राहकले एक्सएलभी खरिदमा ३ लाख रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले आफ्ना पुराना सवारीलाई टिभोली वा एक्स्एलभीसँग एक्सचेन्ज गर्दा २ लाख रुपैयाँ एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्छन् ।

कम्पनीले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा लड्नेका लागि विशेष डिस्काउन्ट पनि दिने भएको छ । डाक्टर, नर्स, स्वास्थ्य सेवाकर्मी तथा सुरक्षाकर्मीले स्याङयोङ गाडी किन्दा थप १ लाख रुपैयाँ छुट पाउँछन् । स्याङयोङ सवारी खरिदमा एक वर्ष निःशुल्क बिमा, २५ हजार बराबरको निःशुल्क एसेसोरिज, ७ वर्ष सजिलो फायनान्स, तीन वर्ष वारेन्टी, निःशूल्क सर्भिसिङ (४ पटक वा रिफरल ग्राहकका लागि १ वर्ष सम्म) पाइन्छ ।

७) इसुजु

दसैंको अवसरमा इसुजु सिंगल क्याब पिकअप किन्दा समग्र मूल्यमा २ लाख रुपैयाँ छुट पाइन्छ । नेपालका लागि इसुजु गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले फेस्टिभल अफरको रुपमा सो छुट उपलब्ध गराएको हो ।

यो बाहेक गाडी किन्दा एक वर्ष सम्मको बिमा र रोड ट्याक्स तथा एसेसरिज निःशुल्क उपलब्ध हुनेछ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro