(कवि डा. विष्णुविभु घिमिरेको नाम आफैंमा पूर्ण परिचय हो । नेपाली साहित्यमा लामो समयदेखि क्रियाशील घिमिरे कुनै समय लोकप्रिय साहित्यिक मासिक पत्रिका ‘गरिमा’ का सम्पादक थिए । साझा प्रकाशनको अध्यक्षसमेत भइसकेका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति घिमिरेसँग नेपाली साहित्य र उनको साहित्यकर्मलाई लिएर लामो कुराकानी भयो । प्रस्तुत छ, डा. घिमिरेसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सार ।)
पछिल्लो समयमा तपाईंको दिनचर्या कस्तो चलिरहेको छ ? केही अघिसम्म प्रज्ञा प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारीमा हुनुहुन्थ्यो । त्यहीअनुसारको कार्यबोझ थियो होला । तर अहिले पदबाहिर हुनुहुन्छ ।
पदमा रहँदा नै पदबाट बाहिरिएपछि केही कामहरू गर्छु भन्ने थियो । केही कामलाई पूर्णता दिन्छु भन्ने सोचेको थिएँ । खासमा, नेपाली भाषा साहित्यका क्षेत्रमा नयाँ जागरणको आवश्यकता महसुस गर्दै, नयाँ जागरण के–के हुनसक्छ ? भन्ने विषयमा विचार गर्दै कामको खाका कोर्दै थिएँ । मुलुकमा लोकतन्त्र आइसकेपछि नयाँ जागरण के–के हुनसक्छ भन्ने विषयमा मूलतः सोचिएको हो । सबै विचारका मानिसहरूबाट यी सबै कुरालाई समेटेर तिनका विचार बुझौं । उक्त काममा साथीहरूको पनि सहयोग पनि लिउँ । गरिएको कामले सबैलाई हौसला पनि मिलोस् भन्ने अवधारणाका साथ उक्त विषयमा म प्रवेश गरिसकेको पनि थिएँ ।
तर अहिलेको अवस्था के–हो भने, लोकतन्त्र त हामीकहाँ आयो तर लोकतन्त्रलाई धान्ने मन भने हामीसँग भएन ! यतिबेला समानता त सबैमा आएको देखियो, तर समानता मान्ने मन भने बनिसकेको छैन ! सबैभन्दा ठूलो कुरा त मनको परिवर्तन नै हो नि । तथापि साहित्यमा त्यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सोचेरै म लाग्दै थिएँ । केही काम थालेको पनि थिएँ ।
यसका अतिरिक्त लामो समयदेखि मैले अध्ययनमा समय दिन सकिरहेको थिइनँ । किताबहरू थन्किएका थिए । अरूतिरको काममा बाँडिदा–बाँडिदा आफ्ना लागि समय मिलिरहेकै थिएन । त्यसैले केही किताबहरू पढ्छु भनेर छुट्याएको थिएँ ।
तर पछिल्ला केही महिनादेखि कोरोना भाइरसको कहरले निम्त्याएको असहज परिस्थितिले सबैलाई आक्रान्त तुल्यायो । लकडाउनले केही समय खलबलियो । त्यसैले केही काम थाती रहे । तर पनि अहिलेको मेरो दिनचर्या भनेको पढ्ने र आफूले चाहेको कामलाई पूर्णता कसरी दिने भन्ने नै हो । त्यसैमा मेरो समय बितिरहेको छ ।
संस्थागत रूपमा जिम्मेवारी लिँदा अनेक काम गर्ने कार्ययोजना बनाएर बसिएको हुन्छ । तर यदाकदा समयमै ती सबै काम पूर्णता दिन सकिँदैन । जब उक्त संस्थामा नयाँ नेतृत्व आउँछ, त्यो नेतृत्वले पुरानाले बाँकी राखेका कामलाई पूर्णता दिँदै आएको देखिएको छ कि छैन ?
वास्तवमा यो पुस्तागत हस्तान्तरण हो । हामीलाई अघिल्लो पुस्ताले के दिएका छन्, हामीले काम त्यहीँबाट सुरु गर्नु पर्छ । उनीहरूले थालेका राम्रा कामलाई हामीले पूरा गर्नेगरी अघि बढाउनुपर्छ । तर पछिल्लो समय के भइदियो भने राजनीतीकरण बढी भइदियो । त्यसले गर्दा आफ्नो विचार जोडिने काम नै गर्न मनलाग्ने भयो मानिसलाई । आफ्नो विचारभित्र सबैलाई अटाउन खोज्ने वा आफ्नै विचारले सबैलाई झुकाउन खोज्ने, आफ्नै विचारभित्र मात्रै म सुरक्षित छु भन्ने मानसिकता राखेर हिँड्ने, यस किसिमको व्यवहारले गर्दा नै अप्ठ्यारो भइरहेको हो भन्ने मलाई लाग्छ ।
यहाँ साझा प्रकाशनको कुरा जोड्न चाहन्छु । साझा प्रकाशन एउटा बृहत् संस्था भएको सबैलाई थाहा छ । जहाँ दुई हजारभन्दा बढीको संख्यामा लेखक कवि सेयर सदस्य हुनुहुन्छ । त्यो संस्थामा नेपालका सबै विचारका लेखक कविको उपस्थिति छ । त्यहाँ सबै अटेका छन् । तर त्यहाँ पनि राजनीतीकरण गरिदिएर सबै खत्तम गरिएको छ ! सरकारले एक पैसा लगानी नगरीकन नेपाली भाषा, साहित्यका कृतिहरूको बिक्री भइरहेको थियो, साझा प्रकाशनबाट । तर राजनीतीकरणले सबै ध्वस्त गरिदियो ।
मलाई लाग्छ यो खालको संस्था दक्षिण एसियामै छैन । यो नमुना संस्था थियो । तर यसलाई हामीले बचाउन सकेनौं ! आज साझा प्रकाशन अस्तव्यस्त छ । सबैभन्दा दुःखलाग्दो कुरा के छ भने त्यहाँबाट भानुभक्तदेखि अहिलेका नयाँ लेखकहरूका कृति पनि प्रकाशित भएका छन् । अनगिन्ती किताब छन् । ती किताबहरूको संरक्षण अब कसले गर्ने ? कोर्समा रहेका कृति त अरूले पनि प्रकाशन गर्लान् तर बाँकी किताब त गर्दैनन् । यसले नेपाली साहित्यलाई ठूलो घाटा त पुर्याएकै छ ।
साहित्य, कला र संस्कृति भनेको आममानिसको साझा विचार हो । यसमा राजनीतीकरण नगरिदिएदेखि त्यसको विकास र विस्तार भएर जाने थियो । हेर्नुस् पुराना पुस्ताले गरेको राम्रो कामलाई हामी सबैले पछ्याउनै पर्छ । पछ्याउन नदिने भनेको आफ्नो विचार लाद्नेले मात्रै हो ।
पुराना नेतृत्वकर्तालाई बोलाएर, तपाईंले गर्न खोजेको काम हामीले निरन्तरता दिँदै छौं– भनेर बोलाउने र सल्लाह–सुझाव लिने गर्छन् कि गर्दैनन् ?
म आफू भएको समयमा पुराना गरिएका कामहरूको अध्ययन भएको छ । त्यसलाई निरन्तरता पनि दिइएको हो । हामीले त्यस्ता काम अगाडि बढाएका पनि हौँ । मेरो पहिलो उद्देश्य पनि थियो कि हामीले आफूभन्दा अग्रजले थालेको कामलाई अगाडि बढाउनुपर्छ भन्ने । धेरै विद्वान् व्यक्तिको साथ लिएर हामीले काम थालेका पनि हौँ ।
हाम्रो कार्यअवधिभर त्यस्ता काम अगाडि बढेका थिए । त्यति मात्रै होइन, शब्दकोशका कुराहरू पनि आयो । एकेडेमीमा केही समस्याका कुरा पनि थिए । त्यसको पनि समाधान गरिएको नै हो । हेर्नुस्, हामी एकेडेमीमा जाँदा स्रोत व्यक्तिका रूपमा भित्रिएका थियौँ । हामीले त विभिन्न विद्वान्हरूबाट काम पनि लियाैं ।
देश त विभिन्न विचार बोकेका मानिसको हो । विभिन्न विचारको देश भएकाले हामीले ती सबै विचारको सम्मान त गर्नुपर्छ नै । त्यत्रो राजनीतिक आन्दोलन भयो । विभिन्न विचारको समान कदर होस् भनेरै त्यो आन्दोलन भएको थियो । एउटै विचार मान्नुपर्ने थियो भने त पञ्चायत पनि त ठीकै थियो होला नि ! जब विभिन्न विचारबाट सञ्चालन हुने शासनप्रणाली आयो भने आफ्नै मात्र विचार लाद्ने कुरा कसलाई सह्य हुन्छ र ! तसर्थ साहित्य, कला, संस्कृतिमा पनि त्यही दृष्टिकोणले हेरिनुपर्छ भन्ने मलाई लाग्छ ।
अहिलेको साहित्यलाई कसरी हेरिरहनुभएको छ ? अहिले साहित्य छ वा साहित्यका नाममा अरू केही ?
अहिलेको अवस्थामा केही नयाँ, समयअनुसारको विचार अभिव्यक्तिहरू साहित्यमा आइरहेको छ । तर त्यसले निश्चित गन्तव्य समाइसकेको भने देखिँदैन । पुरानाबाट नयाँमा आउँदा साहित्यमा केही समय लाग्छ । साहित्य, कला र संस्कृतिमा परिवर्तन हुन समय लाग्छ । राजनीतिमा जस्तो होइन तत्कालै परिवर्तन हुने ।
पछिल्लो समयमा लकडाउन भयो । निषेधाज्ञा भयो । तर साहित्य लेखन रोकिएन । साहित्य लेख्नेहरूले विभिन्न माध्यमबाट आफ्नो विचार र साहित्य सम्प्रेषित गरी रहे । गतिविधि भइरह्यो । भर्चुअल रूपमा भए पनि साहित्यकारहरूले गतिविधि अगाडि बढाइ रहे । त्यसको प्रशंसा गरिनुपर्छ । तर कुरा के छ भने युगिन साहित्य, कालजयी साहित्यका लागि भने वातावरण बन्दैछ । यद्यपि त्यो वातावरण अहिले आइसकेको छैन ।
अहिलेको नेपाली साहित्यमा माटो र जीवन भेटिँदैन भनिन्छ नि ?
हाम्रो समय र अहिलेको समयमा फरक छ । हाम्रो समयमा कुनै कविता वा लेख लेख्यो भने त्यो पत्रिकाको सम्पादकको हातसम्म पुग्थ्यो । अनि सम्पादकले पढेर त्यो राम्रो–नराम्रो भएको टिप्पणी गर्थे । सुधार्नुपर्ने भए सुधार्न भन्थे । हामीलाई सुझाव दिन्थे । राम्रो भए राम्रो छ, छाप्छौँ भन्थे । त्यसबेला हामीले पनि माझिने मौका पाउँथ्यौँ ।
अर्को कुरा, त्यसबेला साधारण कुराले साहित्यलाई प्रभाव पार्न सक्दैनथ्यो । कारण त्यतिखेर प्रचार–प्रसारको माध्यम पनि कम थियो । अहिले त हातहातमै छ प्रकाशन । लेख्यो र फेसबुकमा पोस्ट गरिदियो । हजार लाइक र कमेन्ट आउँछ त्यसपछि । अनि लेखक÷कविले के सोच्छन् भने मलाई यतिले मानेका छन्, म यति लोकप्रिय भइसकेँ !
यस दृष्टिकोणबाट हेर्दा अनुभूत हुन्छ, अहिलेका साहित्यकारहरूको अभिभावक छैनन् । यो अप्ठ्यारो परिस्थिति हो । किनभने अहिले साहित्यमा धेरैभन्दा धेरै मानिसको उपस्थिति छ । ती सबै हतारमा छन् । लेखनको हतार अनि प्रकाशनको हतार !
यो हतारले त समग्र साहित्यलाई असर गर्छ होला ?
यतिबेला हामी कताकता अलमलिरहेको अवस्था छ । अहिले जुन साहित्य भनिएको छ, त्यो अलमलिएको साहित्य हो । हामीलाई ३० को दशकका कवि–साहित्यकार भनियो । हामीले गद्य कवितामा आफूहरूलाई अगाडि बढायौँ । त्यसअघि रिमाल थिए, भूपि थिए, हरिभक्त थिए । मोहन कोइराला, बैरागी काइँला, ईश्वर बल्लभहरूले लेखिरहेका थिए । त्यसपछि कृष्णभक्त, द्वारिका श्रेष्ठ, मदन रेग्मीहरू लेखनमा सक्रिय थिए ।
हामी केही कवि नयाँ धार समाएर आयौँ । जो ३० को दशकका कविका रूपमा गनिए । त्यो समूहले अहिले पनि लेखिरहेको छ । त्यो समूह लामो समय क्रियाशील रह्यो । त्यसपछि अर्को समूह आयो ।
फेरि भनौँ, नयाँपुस्ताका लागि सबैभन्दा गाह्रो कुरा तिनका अभिभावक छैनन् ! हामीले जसलाई कालजयी साहित्य भन्दै आएका छौँ त्यो साहित्य आज जन्मिन सकिरहेको अवस्था छैन । अचेल त खाली प्रचारमा सबै लागेका छन् । केही समय राम्रो लाग्ने तर त्यसलाई पढेर अर्थबोध गर्दा खासै केही नदेखिने । अहिलेको साहित्य त्यस्तै देखिएको छ ।
कवितामा पनि त्यस्तै छ । सामान्य विषयलाई लेख्ने अनि फोटो राखेर अहिलेको सञ्चारमाध्यममा राखिदिने । अचेलका लेखकमा अहंकार पनि छ । मलाई के लाग्छ भने लेखकमा अहम् (गर्व) हुनुपर्छ तर अहंकार हुनुहुँदैन ।
साहित्यकारले आजभन्दा दुई हजार वर्षअगाडि लेखिएका साहित्यहरू पनि पढ्नुपर्छ । हामीले कतिको गतिलो लेख्यौं भन्ने सोच्नुपर्छ । अर्थात् आफूलेभन्दा अगाडि लेखिएका साहित्यको अध्ययन हरेक लेखकले गर्नुपर्छ । त्यसो भए मात्रै लेखन राम्रो हुन्छ । तर त्यस्तो अवस्था अहिले देखिँदैन ।
पछिल्लो ६ महिनामा तपार्इंको कलम कत्तिको सक्रिय रह्यो ?
म धेरै कम कविता लेख्छु । म वर्षको चार–पाँचवटा कविता लेख्ने मानिस हुँ । मलाई आफ्नै कविता पनि कहिलेकाहीँ चित्त बुझ्दैन । त्यसैले पनि कम लेख्छु ।
मेरो लेखाइमा कुनै अहंकार छैन । मेले यसबीचमा केही कविता लेखेँ । नलेखेको होइन । पछिल्लो समय म जीवनवादी कविताहरू लेखिरहेको छु । जीवनको गहिराइसम्म पुगेर लेख्ने कविता, जगतलाई हेरेर लेख्ने कविताहरूमा अहिले केन्द्रित छु, म । कवितामा दर्शन दिने प्रयासमा छु ।
युवापुस्ताका कविताहरू पनि त पढिरहनुभएको होला ?
पढिरहेको छु । उनीहरू भाषा प्रस्तुतिमा केही नवीनता दिने कोसिसमा छन् । नयाँनयाँ प्रयोग पनि गरिरहेका छन् । तर, केही कुरा हामीलेभन्दा अप्ठ्यारो हुनसक्छ । एउटा कवि स्थापित हुनलाई कम्तीमा पनि १० देखि १५ वर्ष लाग्छ ।
समाजले मान्यता दिनुपर्छ, एउटा कविलाई । समाजका मानिसको मनमा बस्न सक्नुपर्छ एउटा कवि । त्यसपछि मात्रै कवि स्थापित हुन्छ ।
अहिलेका लेखक कविमा अध्ययन त्यति देखिँदैन । त्यसमाथि समालोचकहरू खासै देखिँदैनन् । समालोचकले एउटा लेखकलाई मार्गनिर्देश गर्थे पहिले । तिनले कथा, कविता, निबन्धको मूल्याङ्कन गर्थे । तर आज सिर्जनाको मूल्याङ्कन गर्ने समालोचकको नै पनि अभाव छ, हामी कहाँ !
अहिले त समालोचक पनि फेसबुक नै भएको देखिँदैन र ?
ठीक भन्नुभयो । अहिले त आफैं लेखक, आफैं प्रकाशक र आफैं समालोचक भएको अवस्था छ । वास्तवमा अहिले लेखक आत्मरतिमा रमाएर बसिरहेका छन् । म त्यस्तै देख्छु । यसले सिर्जनामा त असर पर्छ नै ।
एउटा प्रसंग उठाउँ, अहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) भन्ने संस्था विश्वव्यापी रूपमा स्थापित छ । यसको व्यापकताको प्रशंसा गर्नुुपर्छ नै । यो संगठन त छ तर सिर्जना छैन ! सिर्जना त चाहिन्छ नि । त्यहाँबाट प्रकाशित हुने पुस्तक यति राम्रो कागजमा छापिएको हुन्छ, भनेरै साध्य छैन । हामीले त त्यस्तो कागजमा कहिले छाप्नै सकेनौँ । हेर्दै लोभ लाग्छ । पल्टायो, कागजको मगमग बास्ना आउँछ । तर सिर्जना पढ्दा त्यसमा प्रस्तुत सिर्जनाको बास्ना मलाई अलिकति पनि आएन । ती किताबमा सिर्जनाको बास्ना मैले पाउनै सकिनँ । यो उमेरमा आएर मैले ढाँट्न हुँदैन । साँचो भन्नुपर्छ । सत्य त्यही पनि हो, सिर्जनामा बास्ना छैन ।
एकेडेमीमा कार्यरत छँदा केही काम गर्न सकिनँ भन्ने लाग्यो कि लागेन ?
मैले गर्न नसकेका केही काम पक्कै छन् । मैले विनय रावलको सिर्जना र उसको योगदानका विषयमा केही गर्न सकिनँ । शिव अधिकारीको सिर्जना र तिनको योगदानका विषयलाई लिएर पनि केही गर्न सकिनँ । त्यति मात्रै होइन, मैले धेरै विषयमा काम गर्न खोजेर पनि सकिनँ । जस्तो, जनकलाल शर्मालाई अहिले कसले सम्झिरहेका छन् ? जबकि तिनको साहित्य लेखनको चर्चा गरेरै सकिन्नँ । कृष्णचन्द्रसिंह प्रधानलाई कसले सम्झिएको छ र यतिबेला ? मोहन कोइरालालाई कसले सम्झिरहेको छ ? गोविन्दबहादुर मल्ल गोठाले वा विजय मल्लका कुरा गरौँ, कसलाई सम्झिरहेका छन् अहिले कसैले ?
अहिले केहीलाई सम्झिन्छन् होला । बाँकी रहेकालाई सम्झिने अवस्थै रहेन । नयाँ पुस्ताले पनि तिनका सिर्जना वा पुस्तक पल्टाएर हेर्ने आवश्यकता ठानेका छैनन् । नयाँहरू त सीधै अंग्रेजी साहित्यबाट आएका छन् । अंगे्रजी साहित्यबाट केही कुरा नेपाली साहित्यमा ल्याएका छन् तिनले । तर यहाँको जमिन छोएकै छैनन् । यहाँको जनजीवन छोएकै छैनन् । हाम्रो स्वभाव हुनुपर्छ हाम्रो साहित्यमा । हाम्रो स्वभाव त आएकै छैन, आजको साहित्यमा ।
तपाईंले विचार गर्नुभएको छ, रवीन्द्रनाथ टैगोरले जेजति लेखे बंगाली भाषामै लेखे । बंगालका केही गाउँ र केही सहर लेखे । उनले हिन्दीमा लेखेनन् । बंगाली संस्कृति लेखे । तर उनी त्यसैबाट विश्वप्रसिद्ध भए ।
अर्थात्, हरेक लेखकले आफ्नोपन लेख्नुपर्यो । आफ्नो माटो लेख्नुपर्यो । तर त्यही हामीले बिर्सियौँ । हामीले त प्रयोगका लागि प्रयोग गर्दै सीधै अंग्रेजी साहित्यलाई नेपालीमा ल्यायौँ । यसले हाम्रो जनजीवन, हाम्रो माटो, हाम्रो संस्कृति र कला केही पनि साहित्यमा आउँदैन ।