राष्ट्रिय सभामा डा. युवराज खतिवडाको पदावधि सकिएपछि रिक्त सदस्य पदका लागि प्रतिनिधि सभामा बर्दियाबाट पराजित वामदेव गौतम वा खतिवडामध्ये कसको नाम सिफारिस गर्ने भन्ने विषयमा छलफल गर्न नेकपा सचिवालयको बैठकमा छलफल चलिरहेकै थियो । प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठक नसकिँदै यता मल लिन दिनभर लाइन लागेका किसान बेलुका रित्तो हात फर्किएको तस्बिर र भिडियोले सामाजिक सञ्जालका भित्ता रंगिए । तस्बिरमा देखिएको घटना चितवनको हो तर मलको अभाव भने मुलुकभर छ । कोरोना महामारीका कारण देशका अधिकांश भागमा निषेधाज्ञा जारी रहँदा प्रचण्ड गर्मीका बीच घन्टौं लाम लागेर पनि किसानले मल किन्न नपाएको विषय भने सत्तारुढ दलका ‘सुप्रिमोहरू’को बहसको विषय बनेन । किनभने यसले तिनको मन दुखेन । बरु हारेका गौतमलाई जस्केलाबाट भए पनि सांसद बनाउने निर्णय गर्न सकेकोमा प्रशन्न भएर नेताहरु बालुवाटारबाट निस्किएका तस्बिर मिडियामा देखिए ।
त्यस दिन धेरैले सामाजिक सञ्जालमा लेखे– कृषि प्रधान देशका जनताले मल नपाउनु आफँैमा विडम्बना हो । त्यो पनि महामारीका कारण घरमै बस्न, हुलहाल नगर्न सरकारले जारी गरेको आदेशबीच घन्टौं लाइन बस्दासमेत ।
पत्रकार ऋषिराम पौडेलको फेसबुक स्टाटसले मलाई भावुक वनायो । त्यसको सार यस्तो छ — पच्चिस वर्षअघि पत्रकार तारानाथ दाहालले कान्तिपुरमा समाचार लेखे । काभ्रे दोलाघाटका केही किसान साहुसँग ऋण काडेर त केही पत्नीको तिलहरी (सुन) बेचेर मल किन्न पाँचखाल आए । लाइन लागे, नपाएर फर्किए । केही दिनसम्म दोलाघाटबाट बिहानै पाँचखाल पुग्ने, लाइन बस्ने मल नपाएर फर्किने दैनिकी बन्यो उनीहरुको । साहुको ऋण र श्रीमतीको गहना बेचेर जोहो गरेको पैसा पनि सकियो । अनि त मल पाए पनि किन्न सक्ने अवस्थै रहेन । मुलुकले प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रको यात्रा तय गरेको पनि बाह्र वर्ष बढी भयो । यस अवधिमा कांग्रेसका चार र कम्युनिस्टका पाँचजना प्रधानमन्त्री भए । मन्त्री त कति भए कति ! अहिले त झन् आफूलाई किसानको पार्टीको पर्याय मान्ने नेपाल कम्युनिस्ट पार्टीको एकल बहुमतको सरकार छ । तैपनि किसानको अवस्था जहाँको तहीँ । उनीहरुका लागि सरकार– जुन जोगी आए पनि कानै चिरेको !
रीति फेरियो । थिति बसाउनेतर्फ कसैको ध्यान गएन । गरिब किसानलाई सपना बेच्नेहरु पटकपटक सत्तामा पुगे । विडम्बना, पैसा तिर्दासमेत किसानले मल पाउने दिन आएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणै पिच्छे रेल, पानी जहाज ल्याएउने आश्वासन बाँडेकै छन् । विकास र समृद्धिको सपना देख्दैछन् । कार्यान्वयन गर्ने फुर्सद नपाउँदै कार्यकाल सकिने बेला आउन लागि सक्यो । एउटा सपना देख्छन्, अर्को समस्या आई हाल्छ । भर्खर रेलको योजना बनाउँदै थिए । पानी जहाज कार्यालय खोल्नमात्र के भ्याएका थिए कालापानी र लिपुलेकको समस्या आइलाग्यो । नक्सा जारी गरे । भारतसँग वार्ता गर्न पाएकै होइन । नयाँ अयोध्याको प्रसंग उठाउनु परिहाल्यो ।
गणतन्त्रको ग उच्चारण नगरेरै म दुई दुई पटक प्रधानमन्त्री भइहालेँ । संविधानले दुनियामा भएका सबै अधिकार दिएकै छ । किसानले मल किन पाउनु पर्यो ? भन्ने मानसिकता उनका देखिन्छ ।
मलविना ओलीका भाषण र सपनाले उत्पादन बढ्ने कुरा भएन । राजनीतिक आडमा हुने अनियमितता, कमिसन तन्त्र र भ्रष्टाचारको सिकार तिनै निमुखा किसानलाई वनाइएको छ ।
यस प्रसंगमा २०१४ साल ताकाका प्रधानमन्त्री केआई सिंहको भनाइ चर्चित छ । तिनताका मुलुकमा संविधान सभा वा संसद् केका लागि चुनाव हुने भन्ने बहस चुलीमा थियो । प्रधानमन्त्री बनेपछि डा. सिंहले घोषणा गरेका थिए– ‘मेरो पालामा म पहिले भ्रष्टाचार निर्मूल पार्छु । त्यसपछि आमचुनाव गराउँछु ।’ पदबाट हटेपछि उनी भन्न थाले– ‘मेरो पालामा भ्रष्टाचार निर्मूल पारूँ भनी त्यसको मूल पत्ता लगाउँदै गए । जाँदा जाँदा म त राजदरबारको मूल ढोकामै पो पुगेँ । जुन दिन म त्यहाँ पुगेँ । मैले मेरो मन्त्रीमण्डल विघटन भएको सुन्नुपर्यो ।’ त्यो बेला सिंहले नेतृत्वको सरकारले चार महिना काट्न पाएन । रोचक शैलीमा कुरा गर्ने बानी थियो पूर्व प्रधानमन्त्री सिंहको । सत्ताच्युत भएको केही समयपछि सिंहले आफूलाई सुनाएको प्रसंग कांग्रेस नेतृ मंगलादेवी सिंहको पुस्तक ‘नारी सङ्घर्षका पाइलाहरु’मा उल्लेख छ ।
जसरी किसानका समस्या जहाँको तहीँ छन् गणतान्त्रिक अभ्यास भएको यतिका वर्ष हुँदासमेत भ्रष्टाचार र अनियमितताको मूल पनि दरबारमै छ । समाजको आँखा हो मिडिया । दिनहुँ समाचार आएकै छन् । ठेक्का पाएको शैलुङ इन्टरप्राइजले संझौताअनुसार समयमै मल ल्याएन । ताकेता गर्ने सरकारी निकायको ताकत भएन । कारण जुन घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्छन् त्यही घरका देखिएका मालिक ठेकेदार शारदाप्रसाद अधिकारीलाई कडाइ गर्ने हिम्मत कसको ?
अब नेकपाका नेताहरुले भन्न सक्छन्– कृषकका समस्या सम्बोधन गर्नकै लागि हामीले किसान संघका अध्यक्ष वामदेव गौतमलाई सांसद बनाउने निर्णय गरेका हौँ ।
नेताको व्यवहार हेर्दा मलाई एउटा घटना सम्झना भयो । डेढ दशक अघिको कुरा हो । एकजना प्रसिद्ध नेत्र चिकित्सक पेशा छोडेर राजनीतिमा जाने निर्णयमा पुगे । आमाको गर्भमा छँदादेखि नै राजनीति पढेका थिए ती डाक्टरले । त्यसमाथि उनको राजनीतिक यात्रा त्यति बेला सुरु भयो । जति बेला आफ्नै सहोदर काका मुलुकको प्रधानमन्त्री थिए ।
डाक्टरलाई लाग्यो होला– राजनीतिमा जाँदैछु । अघिको बाटो के हुने ? कसैसँग सल्लाह त लिनु पर्यो । को होला सही सल्लाह दिने ? खोज्दै जाँदा एकजना वरिष्ठ अधिवक्तालाई सबैभन्दा उपयुक्त पात्र ठाने ।
डाक्टर : मैले जागिरबाट राजीनामा दिए । अब राजनीति जाने निर्णय गरेको छु । तपाईसँग सल्लाह लिन आएको ?
अधिवक्ता : राजीनामा गरिसक्नु भयो । त्यसो भए किन चाहियो मेरो सल्लाह ?
डाक्टर : निर्णय त गरिँसके । तैपनि हजुरको सल्लाह मेरा लागि अमूल्य हुनेछ ।
अधिवक्ता : ठीक छ । तपाईँलाई म एउटा प्रश्न सोध्न सक्छु ।
डाक्टर : हुन्छ नि ।
अधिवक्ता : हिजोसम्म तपाई डाक्टर हुनुहुन्थ्यो । आँखा नदेख्ने कैयाैँ बिरामीलाई संसार देखाउनुभयो । सफल हुँदै जानुभयो । त्यही कामको आधारमा आज मानिस तपाईलाई सम्मान गर्छन् । अब मलाई एउटा प्रश्नको जबाफ दिनुस् । एउटा बिरामी तपाईँ कहाँ आयो । तपाइँको कमजोरीले उसको आँखाको ज्योति गुम्यो भने तपाइँ निदाउन सक्नुहुन्छ ?
डाक्टर : अहँ सक्दिन ! कसरी सक्नु ?
अधिवक्ता : हो कुरा त्यहीँ छ । हिजोसम्म तपाईँको सफलता राम्रा कामका आधारमा तय हुन्थ्यो । राजनीतिमा लागेपछि सफलताको गिन्ती उल्टोबाट सुरु हुन्छ । तपाईको काका राजनीतिमा निरन्तर सफल हुनुहुन्छ । किनभने उहाँ हजाराैँ सद्दे मानिसका आँखा झिक्दै उनीहरुलाई अन्धकारमा राखेर मज्जाले निदाउन सक्नुहुन्छ ।
जानुस् ! राजनीतिमा सफल हुन चाहनुहुन्छ भने सद्दे मान्छेहरुका आँखा निकाल्नुस् । उनीहरुलाई अन्धकारमा राखेर मज्जाले निदाउनुस् । तपाईँको सफलतालाई कसैले रोक्न सक्नेछैन ।
नेताहरुको व्यवहार र किसानको पीडा हेर्दा लाग्छ– वरिष्ठ अधिवक्ताले ठीकै त भनेका रहेछन् ।
कुनै समय वामदेव गौतमलाई टुँडीखेलबाट देशकै भ्रष्ट नेता घोषणा गर्नेहरुले जनताबाट अनुमोदन हुन नसकेका उनैलाई अहिले सांसदमा बनाउन किन मरीहत्ते गरेका ? कि वामदेवको अभावमा गणतन्त्रको प्राण नरहने अवस्था आइसक्यो त ? हैन भने उनलाई उपाध्यक्ष बनाउन नेकपाको विधान संशोधन गर्नुपर्ने, निर्वाचित सदस्यमात्र मुलुकको कार्यकारी प्रमुख हुन पाउने प्रजातन्त्रको सर्वस्वीकार्य मूल्य मान्यताविपरित केही समयअघि उनलाई प्रधानमन्त्री वनाउन संविधान संशोधनको बहस चलाउने निर्णय किन गर्नु परेको ? र अहिले राष्ट्रिय सभामा ल्याउनु पर्ने के बाध्यता आइलाग्यो ? इतिहासमा नेकपा नेताहरुले यसको औचित्य पुष्टि गर्न सक्लान् ? नेतृत्वले कुनै दिन यसको मूल्य चुकाउनु पर्ने नै छ ।
प्रश्न भने अहिले नै उठिसकेका छन् । त्यसको उदाहरण हो निर्मला ढकालको ट्विट । उनी लेख्छिन्– कम्युनिस्टहरु चुनाव हारेका बामे र नारायणकाजीलाई आफूखुसी जिताएर लग्यौ । अब घोषणापत्र लिएर भोट माग्न आयौ भने डाडु पन्यु तताएर डामेर लखेट्ने हो । याद गर ।