काठमाडौं । कोरोना प्रकोप बढेसँगै मानवका दैनिकीहरु पनि परिवर्तन हुँदै गएका छन् । समाजमा पनि सभ्यता र परम्परामा समेत परिवर्त हु्ँदै आएका छन् । अझ चाडबाड, रितिथिति, सामाजिक संरचनामा समेत कोरोना संक्रमणले प्रभाव पारेको हामी पाउन सक्छौं ।
कोरोना महामारीको अवस्थामा चाडबाड, भेला, जमघट रोकिएपछि अनलाइन कारोबार, अनलाइन भेटघाटले भने प्राथमिकता पाएको छ । आजबाट सुरु भएको सोह्र श्राद्ध अर्थात् पितृ पक्षमा अन्य वर्षहरुमा जलाशय तथा मन्दिरहरुमा निकै भिड हुन्थ्यो । घरघरमा पनि श्राद्धका बेला परिवारका अन्य सदस्य, चेलीबेटीलाई बोलाएर खुवाउने तथा भेटघाट गर्ने गरिन्थ्यो । यस वर्ष भने कोरोना संक्रमण फैलिने डरले सबैतिर निषेधाज्ञा छ भने भिडमा संक्रमणको जोखिम हुने भएकाले पनि मन्दिर तथा घरमा सबैजना भिड हुने अवस्था भने छैन ।
अझ यस वर्ष श्राद्धकर्म गराउने जजमानकोमा पुजारी तथा पण्डितहरु पुग्ने अवस्था पनि छैन । तसर्थ यस वर्ष यसको विकल्पमा भर्चुअल माध्यमबाटै श्राद्ध कर्म गराउनुपर्ने अवस्था सिर्जना भएको छ । अर्थात् यसपालि प्रविधिको सहारा लिएर अनलाइनबाटै श्राद्धकर्म गरिने पक्का छ । यो प्रयोग विल्कुलै नयाँ भए पनि अहिलेको विषम् परिस्थितिमा अर्को विकल्प पनि देखिँदैन ।
कोरोनाको असर स्वास्थ्यसँगै आर्थिक सामाजिक हुँदै धार्मिक मान्यतामा समेत परेको हामी पाउन सक्छौं । सरकारले नै विवाह, मृत्यु संस्कारमा समेत सीमित मानिस मात्र जम्मा हुनुपर्ने भन्दै संख्या नै तोकिदिएको अवस्था छ । कोरोनाकै कारण वर्षौंदेखि मनाइँदै आएका कतिपय चाडबाड रोकिएका छन् । कतिपय चाडबाड मनाउने अवस्था पनि छैन । वर्षौंदेखि मनाइँदै आएका चाडपर्व, जात्राहरु नहुँदा लोप हुने हो कि भन्ने चिन्तासमेत बढेको छ ।
कोरोनाले जनजीवन प्रभावित गरैकै बेला मानिसहरु भने प्रविधिमैत्रीतर्फ उन्मुख हुँदै गएको पाउन सकिन्छ । विश्वका प्राय: कार्यालयहरु घरबाटै सञ्चालन भइरहेका छन् । वर्क फ्रम होमको सुरुवात भएको छ । यस्तै सप फ्रम होम अनि अन्य सम्भव भएका सबै कुरा घरबाटै प्रविधिको सहाराले गर्न थालिएका छन् ।
नेपालमा पनि अनलाइन परम्परा अपरिहार्य बन्दै गएको छ । मानिसहरु प्रविधिमैत्री बन्दै गएका छन् । तर पुर्खौंदेखि चलिआएको परम्परामा भने कोरोनाले धक्का दिएको छ । कोरोनाका कारण सबैजना घरबाट बाहिर निस्कन नपाएपछि कर्मकाण्डीय कार्यमा भने समस्या देखिन सुरु गरेको छ । मानिसको जन्म, मृत्यु आदिमा पनि पुरोहितहरु एक ठाउँबाट अर्को ठाउँमा पुग्न समस्या परेको छ ।
यही समस्या समाधानका लागि सुरु भएको छ ‘ई-कर्मकाण्ड’ । काठमाडौंका कुमार व्यञ्जनकारले अहिले यसैलाई सार्थक बनाउन ई-कर्मकाण्ड एप सञ्चालनमा ल्याएका छन् । लकडाउनकै समयमा आमा बितेपछि पुरोहित तथा सरसामान जुटाउन उनलाई हम्मे पर्यो । उनले आफूलाई नै समस्या परेपछि अरुलाई पनि यस्तै समस्या हुन सक्ने महसुस गरे र अनलाइनबाटै कर्मकाण्ड पनि गर्न सकिन्छ कि भनेर सोच्न थाले । आफ्नो टिममा यही कुरा राखेपछि ई-कर्मकाण्ड एप बनाएर सबै नेपालीलाई भर्चुअलबाटै पनि काम गर्न सहज बनाइदिएका छन् ।
उसो त यो भर्चुअलबाट कर्मकाण्ड गर्न केही असहज हुने भए पनि प्रयोग गर्दै जाँदा विस्तारै सबै सहज हुने व्यञ्जनकार बताउँछन् । ‘‘यस्तो समस्या त मलाई मात्र परेको होइन रहेछ,’’ उनले बाह्रखरीसँग भने, ‘सोह्रश्राद्ध पनि आयो, यसैलाई लक्षित गरेर एप बनायौं ।’’
कुमारसहित पाँचजनाको टिमले ‘ई-कर्मकाण्ड’ नामक एप बनाएका छन् । यसमा उनलाई दीपेश तिमल्सिना, भिक्टर पौडेल, एप-डेभलपलर सौरभ घिमिरे र पण्डित प्रज्वल लुइँटेलले साथ दिएका छन् । कसैले यही एपमार्फत कर्मकाण्ड गर्न चाहे केही सर्त पूरा गरी सोझै पुरोहितसँग भिडियोमार्फत सम्पर्क गर्न सकिने कुमार बताउँछन् ।
‘‘सुरुमै हामीले केही पण्डित राखेका छौं,’’ उपलब्धताअनुसार श्राद्ध गर्न मानिसहरुले श्राद्धका लागि अघिल्लो दिनमा पण्डितसँग सम्पर्क गर्न सक्ने बताउँदै उनी भन्छन्, ‘काठमाडौं उपत्यकामा लकडाउनका कारण श्राद्धमा चाहिने सबै सामग्री सहज नपाउने भएकाले त्यस्ता ठाउँमा आफूहरुले नै सामग्री उपलब्ध गराउने पनि गर्छौं ।’’
‘ई-कर्मकाण्ड’ मार्फत कर्ममाण्ड गर्न चाहने तर प्रविधिको ज्ञान नहुनेहरुका लागि युट्युबमा हेर्न मिल्ने ट्युटोरियलसमेत बनाएका छन् । अहिले नेपाली समाज प्रविधिमैत्री छैन । त्यसैले कसरी यो ई-कर्मकाण्ड प्रयोग गर्न सकिन्छ ? भन्ने प्रश्नमा कुमार भन्छन्, ‘‘मानिसलाई आवश्यकताले सिकाउँदो रहेछ । केही समयअघि सम्म त मोबाइल, टीभी केही थिएन तर अहिले त प्राय: मानिसले यी सामग्रीको प्रयोग राम्रोसँग गर्न सक्ने भएको पनि उनले बताए ।
‘‘मानिसको विशेषता भनेकै नयाँ कुरा सिक्दै जाने हो । सामाजिक सञ्जाल त प्राय: सबैले चलाएकै हुन्छ । हामीले बनाएको एप पनि त्यति नै सजिलो छ,’’ उनले भने ।
अनलाइनबाटै दक्षिणा
उनीहरुले उक्त एपबाटै पुरोहितहरुलाई अनलाइनबाटै दक्षिणको लिन मिल्ने सुविधा बनाएका छन् । कुमार भन्छन्, ‘‘सोह्रश्राद्धका लागि चाहि कमसेकम १४ सय रुपैयाँ दक्षिण तोकेका छौं त्योभन्दा धेरै दिने मन भए यजमानको इच्छा ।’’
हिजोआज केही मानिसले फेसबुकबाटै पनि यस्ता पूजाआजा नगरेका भने होइनन् । अझ विदेशमा बसेका नेपालीहरुले धेरैजसो यस्ता कार्य फेसबुकमार्फत गरेका छन् । कुनै एकजनाले फेसबुकमा पोस्ट गरेकै भरमा यस्ता काम व्यावसायिक बन्न नसकेको उनी स्वीकार्छन् । साथै यजमानले पुरोहित को हो र कस्तो हो भनेर चिन्नसमेत पाउँदैनन् । यही कारणले पनि ५ जना साथी मिलेर व्यवस्थित रुपमै एपमार्फत काम आरम्भ गरेको कुमार सुनाउँछन् ।
‘‘धेरै यजमानलाई त आफूले गर्न लागेको कर्मकाण्ड सही छ कि छैन भनेर पनि थाहा पाएका हुँदैनन्,’’ उनले भने । आफूहरुले पुरोहितहरुको विवरण खुल्ने गरी एपमा राखेका कारण राम्रो ज्ञान भएकाले मात्र एपमार्फत काम गर्न पाउने उनी बताउँछन् । ‘‘एपमार्फत काम गर्ने पुरोहितबारे राम्रोसँग बुझेर र अन्तर्वार्ता लिएर मात्र काममा सहभागी गराएका छौं,’’ उनले भने ।
कुमारको टिमले सुरुमा २० जना पुरोहित तोकेर एपमा विवरण राखिसकेका छन् । आवश्यकताअनुसार थप पण्डित थप्दै जाने र प्रविधिमार्फत संस्कार र सभ्यतामा भएका खाली ठाँउ भर्दै जाने उनी बताउँछन् । ‘‘कोरोनाको त्रासमा हामीले हजारौं वर्षदेखि चलाइआएका परम्परा र रितिथितिलाई तिलाञ्जली दिन सक्दैनौं, बरु प्रविधिमार्फत परिष्कृत गर्दै यी परम्पराहरु निरन्तरता दिन अघि बढ्नुपर्ने जरुरी छ,’’ कुमारले थपे ।
क्याप्सन :
भर्चुअल पूजा गराउँदै पण्डित प्रज्वल लुइँटेल । तस्बिर साभार : लुइँटेलको फेसबुकबाट