सन् २०१९ को अन्त्यमा विश्वव्यापी व्याधिका रुपमा देखापरेको कोभिड– १९ ले यसअघि मानव जातिले कहिल्यै नभोगेको चुनौती दिँदै छ । आठ महिना बितिसक्दा पनि यसको स्वभाव र प्रवृत्ति पहिचान गर्नसक्ने अवस्था अझै बनिसकेको छैन । यद्यपि, संसारभर भएका प्रयासबाट नयाँ नयाँ जानकारी आइरहेका छन् । सबैतिर समानरुपले आएका केही कुरामा मास्क लगाउने, मानिसहरूबीच भौतिक दूरी कायम गर्ने र हात धुने वा स्यानिटाइज गर्ने विषय रहेका छन् । मान्छेबाट प्रत्यक्ष वा विभिन्न गतिविधिका कारण अरुमा सर्ने भएकाले मानव आवागमन नियन्त्रण पनि रोग विस्तारको गति रोक्न प्रभावकारी उपाय मानिएको छ ।
यसका विविध पक्षमा विभिन्न माध्यममा प्रशस्त जानकारी र सूचना आइरहेकाले यस छोटो आलेखमा कार्यस्थलमा कसैलाई कोभिड–१९ को संक्रमण भए के गर्ने भन्ने बारेमा अनुभव लेख्न चाहन्छु ।
केही दिनअगाडि बन्दाबन्दी खुकुलो भएका समयमा अपेक्षाकृत धेरै व्यक्तिहरु आउजाउ हुने स्थानमा कार्यरत एकजनामा संक्रमण भएको पुष्टि भयो । ती संक्रमित व्यक्ति कार्यरत स्थानमा धेरै जना प्रत्यक्षअप्रत्यक्ष उनको कामसँग जोडिएका थिए । संक्रमण थाहा हुनेबित्तिकै ठूलै झट्का र अत्यास लाग्ने नै भयो । अब यति धेरै मानिस संलग्न छन्, कसरी ट्रेसिङ गर्ने, कसरी सबैलाई भन्ने ? काम गरिरहने कि रोक्र्नेने ? सबैलाई भन्दा त्रास र कोलाहल फैलनसक्ने जोखिम पनि छँदैथियो । यस्ता धेरै कुरा हुने भए नै । यस्तो अत्यासलादो र पीडादायक क्षणमा सबैभन्दा अत्यावश्यक धैर्य, थप सर्तकता र समयमा उचित निर्णय नै रहेछन् । उक्त घटनामा अपनाइएका केही अभ्यास यस्ता थिए :
१. मुख्य व्यक्तिहरु भेला भएर धैर्यसाथ गर्नुपर्ने कामको सूची बनाउने,
२. कार्य स्थल तुरुन्तै बन्द गर्ने वा बन्द गर्न नमिल्ने भए संक्रमित पत्ता लागेको समयमा रहेका बाहेक अरु कसैलाई पनि आउन नदिने, सम्पर्क नगर्ने,
३. संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको सूची तयार गर्ने,
४. अप्रत्यक्षरूपमा सम्पर्क भएकाहरुको पनि सूची बनाउने र सावधानी अपनाउन जानकारी दिने । यीमध्ये पनि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थकर्मी, सञ्चारकर्मीजस्ता बढी जनसम्पर्क हुने व्यक्तिहरुलाई विशेष सावधानी अपनाएरमात्र बाहिर निस्कन भन्ने,
५. संक्रमित व्यक्तिसँग भेट वा संसर्ग भएको कम्तीमा पाँच दिन नभईकन कोभिड –१९ परीक्षण गरेर सही परिणाम नआउने हुँदा यी पाँच दिन सकेसम्म आइसोलेसनमै बस्ने, नमिल्ने हकमा मात्र पूर्ण सावधानीका साथ बाहिर निस्कने ।
६. परिक्षणका लागि स्वाब दिएको दिनदेखि नतिजा आएको दिन गन्दा पाँच दिन पुगेको भए निज संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेका सबैको तुरुन्तै स्वाब परीक्षण गराईहाल्ने र परिणाम नआएसम्म त्यस्ता व्यक्तिहरु ‘आइसोलेसन’मा रहने ।
७. यस अवधिमा संक्रमित व्यक्तिसँग प्रत्यक्ष अप्रतक्ष्यरुपमा सम्पर्कमा रहेका कसैले परीक्षण गराएनगराएको जानकारीमा राख्ने र गराएको भए परीक्षणको नतिजा जानकारी लिने । यसो गर्दा मानसिकरूपमा केही सान्त्वना मिल्छ ।
८. संक्रमित व्यक्तिसँग भेट भएको पाँचौ दिनमा परीक्षण गराउने,
९. यस अवधिभर सकारात्मक सोच्ने, आफ्नो काम नियमितरुपमा गर्ने, एक्लै गर्र्न मिल्ने कसरत, योग, ध्यान जे मन लाग्छ गर्ने, व्यस्त रहने र पौष्टिक (प्रोटिन, भिटामिन सी) खाना खाने । परीक्षणपश्चात संक्रमितसँगै काममा रहेका वा प्रत्यक्षअप्रत्यक्ष कसैलाई पनि संक्रमण भएको रहेनछ । सम्भवतः कार्य स्थलमा अपनाइएको सावधानीले सबैलाई दुर्घटनाबाट बचाएको हुनुपर्छ । त्यो कार्य स्थलमा अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हात धुने अभ्यास राम्रोसँग अपनाइएको रहेछ ।
खुसीको कुरा यी पंक्ति लेख्दा त संक्रमित व्यक्ति पहिचान भएको दुई साता पूरा भई सकेको छ । सम्पर्कमा आएका अरु कसैलाई पनि संक्रमण भएको जानकारी छैन ।
यस घटनाबाट सिकिएको पाठ के हो भने – कार्यस्थल वा अन्यत्र पनि सावधानी अपनाउन सके कोभिड–१९ को संक्रमणबाट जोगिन सकिन्छ । गर्नुपर्ने पनि जम्मा तीनवटा काम त हुन् - १. मास्क सधैँ लगाउने, २. व्यक्ति व्यक्तिबीच कम्तीमा ६ फिटको भौतिक दूरी कायम राख्ने र ३. नियमितरुपमा हात धुने वा स्यानिटाइज गर्ने ।
यसबाहेक अत्यावश्यक काममा बाहेक घरबाहिर नहिँड्ने, जताततै छुँदै नहिँड्ने, जगाभावी नथुक्ने, सिँगान नफाल्ने र अनावश्यक जमघट नगर्ने । आफू र अरुलाई बचाउन यति त सहजै गर्न सकिन्छ नि ।
र टुङ्गयाउनु अघि,
कोभिड–१९ को हालसम्मको अवस्था हेर्दा यो अझ चुनौतीपूर्ण हुने निश्चितजस्तै छ । संक्रमित व्यक्तिको र मृतकको संख्या अझै बढ्ने देखिन्छ । एउटा निश्चित बिन्दुमा नपुगी यसको प्रकोप कम हुनेवाला देखिँदैन । नेपालीहरुको मूल चाडहरु आउँदैछन् र निश्चित रुपमा यस अवधिमा भारतबाट घर फर्किनेको संख्या ठूलै हुनसक्छ । यसलाई लक्षित गरेर नाका नाकामा स्तरीय होल्डिङ सेन्टरको स्थापना र तुरुन्तै परीक्षणको व्यवस्था हुनु जरुरी छ । सकेसम्म छिटो नतिजा आउने र त्यतिन्जेल क्वारेन्टिनमा राख्ने व्यवस्था पनि हुनुपछ ।
जति चाँडो नतिजा आउँछ त्यति चाँडै संक्रमितलाई आइसोलेसनमा र अरुलाई घर पठाउन सकिन्छ । यसो भएमा खर्च पनि घट्ने र व्यवस्थापनमा संलग्न व्यक्तिहरुलाई पनि होलो नै हुन्छ । तर, देशभित्र आउन चाहनेलाई नाकामा जति रोकिन्छ वा परीक्षण र नतिजामा ढिलाइ गरिन्छ समस्या उत्ति नै चर्कनेछ ।
कोभिड – १९ विरुद्ध खोप बनाउने कामले राम्रै गति लिइरहेको छ । उपचारसम्बन्धी विभिन्न विधिहरु पनि तयार हुँदैछन् । विश्व स्वास्थ संगठनले भने झैँ अबको दुई वर्षभित्र यसविरुद्धको लडाइँ पक्कै जितिनेछ । यसैले केही समय धैर्य गरौँ तर सावधानी अपनाऊँं !