काठमाडौं । मुलुकको प्रमुख सुरक्षा संगठनमध्ये एक हो सशस्त्र प्रहरी बल । शान्ति सुरक्षा, राजश्व चुहावट नियन्त्रण, सीमा सुरक्षा, विपदलगायतका मुख्य जिम्मेवारी निर्वाह गर्दै आएको सशस्त्र प्रहरी बल यतिबेला कोरोना जोखिममा परिचालित छ । कार्यक्षेत्रमै खटिने क्रममा साढे ३ सय बढी सशस्त्र प्रहरीलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।
समूहगत रुपमा परिचालन र सामूहिक रुपमै खाने बस्ने भएकाले कतिपय स्थानमा एकै व्यारेकका धेरैजसोमा कोरोना संक्रमण पनि देखिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्याल राज्य र जनताप्रतिको जिम्मेवारीको खटिदा आइपर्ने जोखिमका लागि आफूहरु तयार रहेको बताउँछन् ।
उनले भने,“सुरक्षा फौज भनेकै राज्यलाई कठिन अवस्थामा सहयोग गर्ने हो । विपद र संकटमै हाम्रो भूमिका अझ बढी हुने हो । जोखिम हामीलाई मात्र होइन आम नागरिकलाई छ ।”
कोरोना जोखिममा सशस्त्र प्रहरी
नेपालमा कोरोना जोखिम पछिल्लो समय बढ्दो क्रममा छ । समुदायमै कोरोना फैलिसकेको विज्ञहरुले दाबी गर्दै आएका छन् । तर सुरक्षा संगठन नै कोरोना जोखिममा पर्नु राज्यकै सुरक्षाका लागि अर्को चुनौती हो । आम नागरिक र सुरक्षाकर्मीमा फरक छ । प्रवक्ता अर्याल भन्छन्,“व्यारेकमा एकजनालाई कोरोना देखिएमा सबै क्वारेटिनमा बस्नुपर्ने अवस्था आउन सक्छ । किनभने कोरोना देखिएपछि अरुको पनि जाँच गर्नुपर्छ । यस्तोमा नयाँ जनशक्ति कार्यक्षेत्रमा खटाउनुपर्ने हुन्छ । सीमित स्रोत साधनले कतिपय अवस्थामा सुरक्षा व्यवस्थापनमा समस्या देखिन्छ ।”
एक ठाउँमा रहेको जनशक्तिलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने हुन्छ । अहिले कोरोना जोखिम नियन्त्रण प्रमुख चुनौती बनेको छ भने अन्य सहायक । यस्तो बेलामा मौकाको फाइदा तस्करीलगायतका अन्य गतिविधि बढ्ने सम्भावनातर्फ पनि आफूहरु सचेत रहेको अर्याल बताउँछन् ।
कसरी पस्यो सशस्त्रमा कोरोना ?
समुदायस्तरमै कोरोना फैलिसकेको विज्ञको दाबीलाई आधार मान्ने हो सशस्त्रमा कोरोना कसरी फैलियो भनेर सहजै अनुमान गर्न सकिन्छ । तर सीमामा जाँच, चोरी पैठारी नियन्त्रण, विपदमा उद्धारकार्यमा परिचालन, सरुवापछि एक स्थानबाट अर्को स्थानमा जाने कारणले सशस्त्र प्रहरीमा संक्रमण बढी देखिएको डीआईजी अर्याल बताउँछन् ।
उनले भने,“सुरक्षा फौजमा सरुवा बढुवा भएपछि एकैठाउँमा बस्न मिल्दैन । विदाबाट फर्किने र सरुवा भएर आउने सबैलाई क्वारेन्टिनमा राख्छौं । क्वारेन्टिनमै परीक्षणका क्रममा कोरोना देखिएको पनि हो ।” उनका अनुसार सीमा क्षेत्रमा खटिने प्रहरीमा जोखिम बढी छ । त्यसबाहेक प्रत्यक्ष भीडभाडमा परिचालन हुनेमा पनि कोरोना जोखिम बढी छ । ड्युटीमा खटिएकाहरुलाई नयाँ टोलीमा नमिसाइएको र ड्युटीबाट फर्किएपछि एकै स्थानमा राख्ने गरिएको अर्यालले बताए । संक्रमितसँगै निको हुने क्रम पनि जारी भएकाले निको भएकाहरुलाई कार्यक्षेत्रमा परिचालन गरिँदै आएको छ ।
राजश्व, औद्योगिक र भन्सारको टोली सीमामा
सशस्त्र प्रहरी बलले राजश्व चुहावट नियन्त्रण, औद्योगिक सुरक्षा र राजश्व भन्सारको समेत सुरक्षा जिम्मेवारी निर्वाह गर्दै आएको थियो । अहिले त्यो जनशक्तिलाई सीमित बनाएर नेपाल–भारत सीमामा परिचालन गरिएको छ । सीमा क्षेत्रमा १९ गुल्ममा ४६ सय ४० सशस्त्र प्रहरीलाई विभिन्न वीओपीहरुमा खटाइएको छ ।
प्रवक्ता अर्यालका अनुसार हाल २९ हजार जनशक्ति फिल्डमै परिचालन गरिएको छ । फिल्डमा खटिनेहरुलाई उपलब्ध स्वास्थ्य सामग्रीको प्रयोग, स्वास्थ्य सचेतनाबारे समेत जानकारी गराइएको छ ।