विश्वभर फैलिएको कोभिड–१९ का कारण सनानत धर्मावलम्बीहरूले मनाउने कतिपय पर्वहरू क्रमशः ताला लाग्ने स्थितिमा पुगेका छन् । प्रत्येक पर्वले ढोका ढक्ढक्याइरहेको छ तर मनाउने अवस्था छैन । घरभित्रै ठिँगुरिएर हरेक पर्वलाई स्वागत अनि बिदा गर्नुपर्ने बाध्यात्मक परिस्थिति बन्दै गइरहेको छ । साउने सङ्क्रान्ति, पन्ध्र साउन, जनैपूर्णिमा, गाईजात्रा, कृष्णष्टमीलगायत कुशे औँसीसमेत कोभिडकै मारमा परिरहेको छ । महिलाहरूको तीज पनि ओझेलमा पर्ने प्रायः निश्चितजस्तै देखिन्छ ।
कुशे औँसी सनातन परम्परामा भाद्र महिनाको औँसीका दिन मनाइने पर्व हो । कुशे औँसीमा बाबुको मुख हेरी मिष्ठान्न भोजन, नयाँ वस्त्र अनि दीर्घजीवनको कामना गरी मनाइन्छ । बाबुआमा दिवङ्गत भइसकेकाहरू तीर्थ गएर पितृ सम्मान स्वरूप पिण्ड दान गर्छन् । यस दिन तर्पण, दान, पुण्य, श्राद्ध गरी पितृमोक्षका लागि प्रार्थना गर्छन् । कुशे औसीँका दिन उखेलिने कुशलाई विभिन्न आनुष्ठानिक कार्यमा वर्षभर प्रयोग गरिन्छ । कुशविना पुण्य कर्म हुँदैन । कुशको विशेष आँैठी बनाई धारण नगरी कुनै कर्म सुरु गरिँदैन । यसकारण पनि पण्डितले आफ्ना यजमान कहाँ गएर वर्ष दिनलाई पुग्ने कुश छाडी आउने गर्छन् । औँसीका दिन पुरोहितबाट कुश ग्रहण गरेपछि उनीहरूलाई सिधा दान, दक्षिणा दिएर सम्मानपूर्वक यजमानहरूले बिदा गर्ने परम्परा गाउँले जीवनमा अझै पनि जीवन्त छ । यस दिनलाई पिता दिवस (बाबुको मुख हेर्ने दिन) भनेर पनि चिनिन्छ ।
पिता दिवसका दिन हिन्दु धर्मावलम्बीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा अर्पण गर्नाका लागि कुश भित्र्याउने गर्छन् । कुशलाई भगवान् विष्णुको प्रतीक पनि मानिन्छ । यस दिन हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई विष्णु भगवान् मान्दै विधिपूर्वक पूजाआजा गर्छन् । गाउँघरमा खाना नखाई कुटो, कोदालो, हँसिया, ढिकीजाँतो, खेतबारीमा गोडमेललगायत काम गर्न वर्जित गरिन्छ । औँसीका दिन गोरु नजोत्ने, खेतीपाती नगर्ने, खेतमा नजाने, गोडमेल नगर्ने परम्परा नेपालको पश्चिमी क्षेत्रका किसान परिवारमा विद्यमान छ । विशेषतः गण्डकी प्रदेशका धेरै जिल्लामा औँसीका दिन हल बार्ने चलन छ ।
जीवित बाबुआमाका लागि मिष्ठान्न परिकार बनाएर खुवाउने, टाढाटाढा रहेकाहरूले फोन सम्पर्क गरेर बाबुआमाको चाहनामुताबिक सामग्री खरिद गरी राख्ने र भेटेका दिन अर्पण गर्ने गरिन्छ । नेपालको उत्तरगया भनेर चिनिने ठाउँ गोकर्णेश्वर र रसुवाको वेत्रावतीमा सिधा दान गर्ने र ब्राहमणहरूलाई भोजन गराउनेहरूको भिड नै लाग्छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाइ आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाले गोकर्ण गएर पिण्ड दिँदा स्वर्गलोक पुग्छन् भन्ने जनविश्वास रहिआएको छ । यसैले कुशे औँसीका दिन काठमाडौंंको गोकर्णेश्वरमा बाबुआमा नहुनेहरूको ठूलो जमघट र भिड नै हुन्छ । यस दिन पितृमोक्षका लागि छोराहरू वा मृतककी पत्नीले पिण्डदान गरी पितृ तार्ने काम गर्छन् । यसपटक भने कोभिड–१९ का कारण यस किसिमका कर्म, दृश्य छायामा पर्ने निश्चितजस्तै छ ।
प्रत्येक वर्ष बाबुआमा दिवसका दिन मातृपितृको विशेष सम्झना गरिन्छ । भनिन्छ, बाबुआमा र गुरु देवता समान पुजिन्छ । यसैले पनि छुट्टाछुट्टै तरिकाले तिनै जनाको सम्झनामा कार्यक्रम गरी उत्सव मनाउने गरिएको हो । आमाको मुख हेर्ने दिनमा मातृ पूजा, गुरुपूर्णिमामा गुरुको पूजा अनि बाबुको सम्झनामा घरघरमा हर्षोल्लासका साथ पितृदिवस मनाउने गरिन्छ । आकाश र कर्मका देवताका रूपमा पुजिने बुबा ज्ञानका प्रतिविम्ब पनि हुन् । बाबुले नै कर्मको बाटोमा लाग्न उत्प्रे्ररित गरेका हुन् । बाबुको चौडा छाती गर्वले फुलाउनका लागि सन्तानले पनि सिर्जनाका आभाले मगमगाउन सक्नु वाञ्छनीय हुन्छ ।
बाबुले आफ्ना सन्तानका लागि दिनरात नभनी चौबीसै घन्टा जोतिए, खटिए । लालनपालन, भरणपोषण गरे । तिनै पिताको सम्झनामा एक दिन खुसी पार्ने काम हुँदै छ । तिनै बाबुका त्याग, तपस्या, समर्पण र बलिदानीपूर्ण भावले शिक्षादीक्षा प्राप्त गरिन्छ । आपूmलाई गौण ठानी सन्तानलाई सर्वोपरि ठान्ने बाबुले रोजीरोटीको बाटो देखाइ दिन्छन् । भगवान् खोज्दै भौँतारिनु पर्दैन ती त आफ्नै अगाडि उपस्थित छन् । पूज्य छन् । भगवान् तिनै हुन् जसले सृष्टिमा उपस्थित हुने मौका दिएका छन् । तिनै पिता हुन् आकाशजस्तै विशाल र अनन्त छाती भएका । भगवान्को खोजी गर्दै मठमन्दिर धाउनुभन्दा आफ्नै बाबुआमाको सेवा गरी पुण्य कमाउनुमा उत्तम हुन्छ । शिशु अवस्थादेखि दुःखकष्ट गरेर हुर्काएका छोराछोरीले वृद्धावस्थामा हेर्लान् नि भन्ने ठूलो आशा राखेका हुन्छन् । यही बेला अलिकति भने पनि पितृ ऋण तिर्न सक्नुपर्छ । यही पनलाई नेपाली संस्कृति, सनातनी हिन्दु परम्पराले बाँध्दै बढी जिम्मेवार बन्न उत्प्रेरित गरेको छ । बाबुको सम्पत्तिप्रति हक स्थापना गरिदिएको छ । त्यसैले पुस्तौं पुस्तालाई पुग्ने सम्पत्ति अग्रज पुस्ताले जोडी गर्वको अनुभूति गर्छन् ।
हामी मातापिताप्रति जिम्मेवार बन्दै गहनतालाई बुझ्न सक्नुपर्छ । उहाँहरूको हामीप्रतिको लगावलाई स्नेह र प्रेमभावले झ्याङ्गिन दिई आदर्शको बाटोमा लम्काउन सक्नुपर्छ । हरेक सम्प्रदायका आआफ्नै रीतिस्थिति हुन्छन् बाबुआमा सम्झने । चलनजस्तो सुकै भए पनि बाबुप्रतिको आदर, सत्कार र सामीप्यको गुणगान हरेकले गर्नै पर्छ । यस जगत्का सम्पूर्ण धर्म, संस्कृति र सम्प्रदायका मानिस बाबुप्रतिको श्रद्धाले झुक्नुपर्छ । हामी चेतनाले भरिएका विवेकशील, बाबुआमाका सर्वस्व, भौतिक धन, भावनात्मक प्रेम, जैविक गुण र सपनाका अंशहरूबाहेक अरु केही हुनै सक्दैनौ । हाम्रो शरीरको नसानसामा बगेको रगत, गडेको संस्कार र बुनेका सपनाहरू बाबुआमाको दृष्टिबाट अत्यन्तै निकट बनेर पोखिन सक्नुपर्छ । यिनै सपना र सम्भावनाका आयामहरूका पक्षपोषक, जीवनदाता, सृष्टिकर्ता, चराचर जगत्का सम्पूर्ण पितृदेवहरूलाई नमन । हरक्षण प्रार्थना र भक्तिगान पनि ।
युग उत्तरआधुनिकतातिर प्रवेश गरिरहेको छ । दिनानुदिन मानिसहरू व्यक्तिवादी स्वरूपमा रूपान्तरण हुँदैछन् । सन्तान दरसन्तान यान्त्रिक बन्न थालिरहेका छन् । कमाइको धमास लगाउँदै रबाफ देखाउँदै यान्त्रिक जीवन भोग्न थालिरहेका छन् । आधुनिकताको नक्कलले वृद्धवृद्धाहरूप्रति अपमान, निन्दा र यातना बढ्न थालेको छ । कार्यव्यस्तताको कारण र अन्य बहाना पारेर छोराछोरीले न्यानो स्पर्श दिनुको सट्टा जिउँदै नरकको ढोका याने कि वृद्धाश्रमको बाटो देखाउन थालेका छन् । उनै बाबुआमाले गुहुमुत, लालनपालन, शिक्षादीक्षा दिएर यो अवस्थासम्म ल्याइपु¥याए भन्ने कुरा बिर्सी आज तिनै आँखाको कसिङ्गर सरह बन्न पुगेका छन् । बाबुआमाको त्याग, तपस्या र बलिदानलाई धुलीमाटीमा विलीन गराइदिएका छन् । यस्ता पितृमातृभक्षी होइन, स्याहार कर्ता भएर असल सन्तानको परिचय दिऊँ ।
आमाबुवाको आत्मा खुसी भए संसार प्रदीप्त र सुखी हुुन्छ । आधुनिकताले गाँजेको कथित सभ्य समाजमा बाबुआमा उपेक्षित बन्नु दुर्भाग्य हो । भावी सन्ततिले त्यही कर्म सिक्छ र आपूm पनि त्यही चपेटाबाट उन्मुक्ति पाउन सकिन्न । अतः हामी पनि एक दिन बाबु र आमा हुन्छौँ । हामीले जेजे गर्र्छौँ त्यही कुराको नक्कल सन्तानले गर्छन् । पछिल्ला दिनहरूमा नयाँ पुस्ताहरूलाई पितृमोह जगाउन ज्येष्ठ नागरिकप्रति स्नेही भावना हुनुपर्छ । बाबुआमालाई माया गर्न कुनै संस्कार र संस्वृmति बाधक बनेको छैन । समय, धर्म र भूगोलले मायालाई छेकेर राख्न सक्दैन । अतः अवसरको खोजीमा संसारका जुनसुकै कुनामा गए पनि जन्मदाता मातृपितृलाई बिर्सनु हुँदैन । बिहान देवालय धाउनेले आप्mनै जन्मदाता, सृष्टिकर्ता आमाबाबुलाई कोटीकोटी प्रणाम गदैँ देवत्वकरण गर्न सक्नुपर्छ । देवता त्यतिबेला खुसी हुन्छन् जति बेला आफ्ना बाबुआमाको ओठमा मन्द मुस्कान देखिएको हुन्छ ।
मानिसले मानिसबाट नै सिकेको सामाजिकीकरण, सभ्यता र संस्कारलाई मानवविपरीत प्रयोग गरिनुहुँदैन । सांस्कारिक मोहमा फस्न सन्ततिको चाहना गरेका अग्रहरूप्रति श्रद्धाभावले झुक्नुपर्छ । असल बाबुका असल सन्तान भएर पोखिनुपर्छ । पछिल्लो पुस्ताका लागि मार्गदर्शक बनेर बल्नुुपर्छ । जसरी ब्राह्मण हिन्दु संस्कारमा भिजेका व्यक्तिहरूले नुहाउँदा, जप तप, स्नान, दान, पाठपूजा, पितृकार्य गर्दा हरेक क्षेत्रमा उपयोगी हुने कुशको महत्त्व जसरी बाबुआमाको पुज्यकर्ममा समाहित भई भगवान् ठानी गर्वले झुक्नुपर्छ ।
शास्त्रमै बाबुको मुख हेर्ने प्रथा भए पनि काठमाडौंमा यो चलन निकै पुरानो मानिन्छ । नेवारी समुदायबाट यसको उत्पत्ति भएको भन्न मिल्ने यो संस्कृति सञ्चार माध्यमका आधारमा नेपालभर फैलिएको छ । राम्रो संस्कारको सिको जो कोहीले गर्न सक्छ । यी संस्कारले पर्वको रूप धारण गरेर बोल्ने, सुनिदिने र सुखदुःखको अनुभव साँटासाँट गर्ने चाहना बाबुआमाहरूको चाहना पूरा गरिदिनुपर्छ । तिनै बानीबेहोरा सन्तान दरसन्तानमा सर्न पुगेको खण्डमा सनातनी हिन्दु परम्परा जीवन्त रहन सक्छ । असल बाबुका असल सन्तान बनी भावी पिँढीका लागि मार्गदर्शक बन्नु अहिलेको आवश्यकता हो । देखावटी रूपमा सामाजिक सञ्जालमा फोटो पोस्ट गरेर योग्य सन्तान बन्ने खोक्रे रूप प्रदर्शन मात्रै नगरौँ । यथार्थमा बाबुआमाको अनुहारमा खुसी ल्याएर असल सन्तानको परिचय दिऊँ । सच्चा हृदयले बाबुआमाप्रति श्रद्धाभाव समर्पण गरौँ ।
(भिमाद नपा.–१, तनहुँ)