विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकीकरण १७ महीनामै टुटेको थियो । अहिले पुनः विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको कसरत चलिरहदाँ मैले भने कोरा कपडाको सिन्दुरमा वैकल्पिक राजनीति लत्पतिएको देखेको छु ।
पार्टी एकताको विषयलाई लिएर दुवैतर्फबाट भएका कसरत राजनीतिक त्रियाकलापको एउटा पाटो हो । एउटा कोणबाट सकारात्मक पनि देखिन्छ । वैकल्पिक शक्तिहरु एकै ठाउँमा उभिनुपर्छ । तर, साझा पार्टी वा आफूलाई अहिले वैकल्पिक दल भन्ने समाजवादी वा राप्रपा नै किन नभनौ, के उनीहरु जनताले चाहेका वैकल्पिक पार्टी हुन् त ?
कुनै बेलामा नेपाली कांग्रेस राणा शासनविरुद्धको वैकल्पिक शक्ति थियो भने आज कांग्रेसलगायात नेकपा ‘संस्थापन पक्ष’ मानिन्छ ।
हामीले प्रजातन्त्र ल्याएको धेरै भयो तर खै त जनताको प्रजातन्त्र? हामीलाई चाहिएको त जनताको प्रजातन्त्र हो । एउटा राजा फालेर अरु छोटे राजाहरु ल्याउन भएको थियो त सहिदहरुको बलिदान ? आज कुनै नेपाली मिर्गौला फेर्न सिंगापुर जान्छ भने अर्को नेपाली डाइलासिस गर्ने पैसा नभएर मर्न बाध्य छ । हो, यही डाइलासिस गर्न नसकेर मर्ने नेपालीको बाँच्न पाउने अधिकारको सुनिश्चितता जसले गर्छ उही हो वैकल्पक शक्ति ।
चुनाव आएपछि मिल्ने अनि चुनाव सिद्धिएपछि फुट्ने दलहरुलाई अझै वैकल्पिक शक्ति भनेर विश्वास गरिरहने आधार छ कि छैन ? मिल्न त समाजवादी, राप्रपाहरू पनि मिलेकै छन् । साझा र विवेकशीलको एकताको कुरा जसरी आइरहेको छ त्यो राप्रपाको भन्दा कसरी फरक छ ? यी दुई पार्टीबीचको एकता किन र कसरी भन्ने स्पष्ट र पारदर्शी हुनु जरुरी छ ।
मैले यहाँ एकीकरण नभनेर एकता किन भनिरहेको छु भने अहिलेसम्म विवेकशील नेपाली दल दर्ता भइसकेको छैन । विवेकशील नेपाली दल र साझा पार्टीबीबचको ‘पारपाचुके’ मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । विवेकशील नेपाली दल दर्ता भएर, आफ्नो पुरानो सम्पति फिर्ता पाइसकेको स्थिति हुन्थ्यो भनेमात्रै हामीले अहिलेको छलफललाई एकीकरण भन्न मिल्थ्यो । अहिले त रिसाएर माइत हिँडेकी बुहारीलाई ‘घरमा काम गर्ने मान्छे कोही भएन, फर्की आऊ’ भनेजस्तो हो । यसले हिजो फुटेपछि रोडमा पुगेको पार्टीलाई यहाँसम्म डोर्याउने साथीहरुको आत्मसम्मानमा कति चोट पुगेको होला ? नेतृत्वले यो विवेकशील भावनाको सम्मान गर्छ भन्ने विश्वास लिनुको विकल्प हामीसँग छैन ।
अब, हामी यी दुई पार्टीको आन्तरिक स्थिति पनि हेरौँ । हिजो दुवै दलबीच आन्तरिक द्वन्द्वको चरमोत्कर्षको परिणाम थियो फुट । त्यो बेलामा पार्टी किन फुट्यो त्यसको समीक्षा गर्नु पर्दैन ? जहाँसम्म हाम्रो बुझाइ छ, त्यो बेलाको हामी विवेकशील पार्टीको स्कुलिङबाट आएका सदस्य साथीहरुलाई काम गर्न एकीकृत पार्टीमा निकै गाह्रो भएको हो । हामीलाई नेता र कार्यकर्ता भनेर कहिले सिकाइएकोे होइन । हामी भनेको एउटा टिम हो । पदभन्दा पनि लक्ष्य ठूलो हो भन्ने विचारधाराबाट आएका हामीले टीके प्रथाबाट आएकासँग काम गर्न नसकेको नै हो । विवेकशील पार्टीको मुख्य खम्बा भनेकै पार्टीभित्रको आन्तरिक लोकतन्त्र हो । साझासँग सँगै बस्दा त्यो खम्बा ढलेको हो । अर्थात्, तदर्थवादमा चल्ने अनि जवाफदेही शूुन्य हुने परिस्थितिलाई स्वीकार गर्ने कि नगर्ने ठूलो दुबिधामा थिए विवेकशीलतर्फका साथीहरु । आखिर अन्तिममा विवेकशीलको मूल्य मान्यतामा राजनीतिको लागि सम्झौता नगर्ने जुन निर्णयमा पुगियो त्यो सही थियो भन्ने बहुसंख्यक सदस्यको बुझाइ छ । चुनावको लागि मात्रै मिल्दा केन्द्रीय कमिटीमा आधाआधा भइराख्दा पनि तल काम गर्ने सदस्यमाझ त्यो एकीकरणको सन्देश कहिल्यै पुग्न सकेन ।
आखिर छुट्टिने बेलामा तेलतेल एकातिर पानीपानी अर्कातिर नै छुट्टिएको त सम्पूर्ण तत्कालीन विवेकशील नेपाली दलतर्फबाट गएका केन्द्रीय सदस्यहरुको फिर्तीले पनि पुष्टि गर्छ ।
विवेकशील नेपाली दल सँग “सहकारी पार्टी“को पनि एकताको कुरा भएको छ । तर कसैले दलभित्रका कुनै पनि सदस्यले विरोध वा अवरोध गरेको सुन्नमा आएको छैन । किनभने, विवेकशील मूल्य मान्यताभित्र रही सहयात्रा गर्ने चाहने कुनै पनि दल र पार्टीलाई हार्दिकताका साथ स्वागत गर्न दलका सदस्यहरुको एकमत रही आएको छ ।
विवेकशीलका सदस्य छुट्टै प्रकारका हुन्, यिनीहरु अरुसँग मिल्नै हुँदैन, आफूलाई अलौकिक सोच्छन्, आफैँबीचमा रमाउने समूह हो यो भनेर भ्रम सिर्जना गर्न पनि खोजिएको देखिन्छ । त्यसमा हाम्रो जवाफ -हामीसँग जोडिएका साथीहरु कस्ताकस्ता पृष्ठभूमिबाट आएका छन् हेर्दा स्पष्ट हुन्छ । हाम्रोमा त १७—१८ वर्षका भाइबहिनी आएर स्वयंसेवक बनेर काम गरिरहेका भेटिन्छन् । हामी कुनै वाद विशेषको घेरामा रहेर अरुलाई निषेध गर्दैनौ । नेपाली समाजले अहिलेको भन्दा सफा सुसंस्कृत राजनीति पाउनपर्छ भन्नेमात्रै हाम्रो ध्येय हो ।
हिजो हामीलाई माइतीघरे भनेर खिसीटिउरी गरियो आज माइतीघर विरोध प्रकट गर्ने मूल थलो भएको छ । नेपाल बन्दविरुद्ध र्याली गर्दा ‘जग हँसाइ’ भनियो । आज नेपाल बन्द गर्नु अगाडि कुनै पनि दलले १० पल्ट सोच्ने परिस्थिति भएको छ । आज सारा देशभर हुने विरोध प्रदर्शनमा टायर बाल्नुअघि, रेलिङ्ग भाँच्नुअघि १० पल्ट सोच्नुपर्ने स्थिति आउनु, पर्चा बोकेर पनि विरोध प्रदर्शन हुन्छ भन्ने स्थापित हुनु नै विवेकशील सही बाटोमा रहेको पुष्टि हुनु हो । हामीबीचमा चाहिएकोे अलिकति बढी धैर्यमात्रै हो ।
साझासँगको छलफलको लागि विवेकशील नेपाली दलले बनाएको संवाद समितिको कार्यविधिसम्म प्रस्तावित हुनै बाँकी छ । तर, साझाले हामी दसैं अगाडि मिल्ने हो भनेर जताततै आफ्ना नेता, कार्यकर्तालाई बोल्न लगाइएको छ । साझाका तर्फबाट मिडियाबाजीमात्र गर्ने, हिजो भए गरेका गल्तीको समीक्षा, आत्मालोचना नहुँदै सञ्चार माध्यममा आएको एकताको हल्लाले नियतमाथि शंकाको प्रश्न ज्युँका त्युँ देखिन्छ ।
विवेकशील नेपाली दलले आफ्नो सम्पति फिर्ताको लागि छलफल गरौँ भनेको ८ महिनाअगाडि र पछि पनि गरेर २ चोटी पठाएको इमेलको एउटा पनि प्रतिउत्तर नआउने तर एकता गरौँ भनेर चाहिँ छुट्टै इमेल पठाउनुलाई विवेकशीलका सामान्य सदस्यले यसलाई कसरी बुझ्ने ? विवेकशील नेपाली दलका अधिकांश सदस्यले तत्काल दुई पार्टीबीचको एकता हुनु हुँदैन भनेर आवाज उठाइरहदाँ नेतृत्वले सार्वभौम सदस्यको कुरा नसुन्ने हो र व्यवहारमा परिवर्तन नआउने हो भने वैकल्पिक राजनीति अर्को दलदललमा फस्ने पक्का छ ।
विवेकशील नेपाली दलको विधान २०७५, को दफा २३ को उपदफा ६ अनुसार जनकपुर सम्मेलनको १ वर्षपछि “विराट सभा“लगायत व्यवस्था, अर्थात् (राइट टु रिकल) भएको नेपालको सबैभन्दा लोकतान्त्रिक दल विवेकशील दलमा सदस्यले चाहे महाधिवेशनको एकवर्ष पश्चात नेतृत्व फाल्न सक्छ । त्यसैगरी, विधानको दफा ४५ अनुसार विद्यमान सदस्यको दुई तिहाइ बहुमतले पारित नगरी कुनै पनि पार्टीसँग विवेकशील नेपाली दल मिल्न सक्दैन ।
विवेकशील र साझा बिचमा एकता होइन एकीकरण गर्ने हो भने पहिले तत्काल तपसिलका बाधा अड्काउ फुकाउनु पर्छ :
१. तत्कालीन विवेकशील नेपाली दलको र अहिले साझासँग रहेको एकीकरणअघिको चलअचल सम्पत्ति फिर्ता गर्नु पर्छ ।
२. साझाले विवेकशील पार्टी दर्ताको लागि बाटो खोल्दिन पर्छ । विवेकशील छुट्टिएपछि दल दर्ताको लागी प्रक्रियाअनुसार निर्वाचन आयोगमा जाँदा साझाको सचिवालयले अर्को कागज पेस गरी विवेकशील नेपाली दललाई दर्ता हुन किन रोक्यो ? आज आएर पुरानो घर फर्की आऊ किन भनिरहेको छ ?
३. विवेकशील सांसद विरुद्धको मुद्दा फिर्ता लिनुपर्छ ।
४. सबैभन्दा ठूलो अर्को समस्या पद्धतिमा आधरित पार्टी हुने कि व्यक्ति आधारित भन्ने हो ? आज उज्ज्वल थापाको ठाउँमा मिलन पाण्डे छन्, भोलि अरु कोही हुन सक्छन् । हामीले त विधानमा नै २ कार्यकालभन्दा बढी एकै व्यक्ति सोही पदमा बहाल हुन सक्दैन भनेर लेखेका छौँ । युवालाई भरेङ बनाएर सुविधाको राजनीति गर्ने हाम्रा पुराना दलहरुको परम्परा विवेकशील नेपालीमा चलाउन सम्भव छैन । आज केही विभिन्न व्यक्तिहरुले हामी पनि वैकल्पिक केन्द्र भन्न थालेका छन् तर तिनीहरु कुनै कारणवश हट्नु परे तिनले चलाएका अभियान सिद्धिने पक्का छ । त्यसैले, हामीले लड्ने भनेकै पद्धतिका लागि हो । व्यक्ति प्रधान राजनीति गरेर उक्त व्यक्ति बन्ला तर समग्रमा देशले केही पाउने रहेनछ ।
५. काम गर्ने सबै सदस्य विवेकशीलका हुन् । साझाका केन्द्रीय नेता हेरे पुग्छ । ‘सेलेब्रिटी’ काम गर्दैनन् भनेर साझाका तत्कालीन एक नेताले भनेका थिए । त्यसै हो भने के हामीलाई खेताला हुन बोलाइएको हो ?
६. विवेकशील नेपाली दलको खम्बा सहभागितामूलक लोकतन्त्र हो । त्यहीअनुसार महाधिवेशन गरेर चुनेर केन्द्रीय कमिटी बनेको छ । साझाले अहिलेसम्म एकचोटि पनि महाधिवेशन गर्न सकेको छैन । साझा पार्टीमा केन्द्रीय सदस्य हुन के गर्नुपर्छ ? यस्तो अवस्थामा लोकतान्त्रिक विधिमा आधारित विवेकशील पार्टी कसरी सँगै हिँड्न सक्छ । निर्वाचन आयोगको औपचारिकता पूरा गर्न निश्चित समयभित्र महाधिवेशन गर्नै पर्ने भनेकोबाहेक नेपालका दलहरु लोकतान्त्रिक अभ्यास गर्न चाहँदैनन् । साझाको नेतृत्व लोकतान्त्रिक विधिबाट सदस्य माझबाट किन निर्वाचित भएर नआउने ? नत्र त समाजवादी, राप्रपा र साझाबीचमा के फरक रह्यो र?
अन्त्यमा, चुनाव चिन्ह तराजुको लागि नै कसैले एकता गर्नुपर्छ भन्ने सोच्छ भने हेक्का राखे हुन्छ — पहिलो संबिधान सभामा तत्कालीन माओवादी पार्टीको हँसियाहतौडा पनि नयाँ नै थियो । जनताले चाहे भने नयाँ पुरानोले केही फरक पर्दैन । साझासँग विवेकशीलको घरवापसी नभएर हुने हो भने एकीकरण हुनुपर्छ । त्यो पनि विवेकशीलको मूल्यमान्यतामा रहेर । अहिलेको, परिस्तिथिमा विभिन्न सबालमा सबै वैकल्पिक शक्तिहरुसंग विषयकेन्द्री सहकार्य गर्दै अगाडि बढ्नुपर्छ । साझामात्रै होइन, सबै वैकल्पिक शक्तिलाई विवेकशील नेपाली दलले आफूमा समाहित गरी बृहत् वैकल्पिक केन्द्र बनि साँच्चैको जनताले खोजेको पार्टी बन्न सक्नुपर्छ ।
(सदस्य : विवेकशील नेपाली दल, प्रवास समिति)