site stats
बाह्रखरी :: Baahrakhari
देश
१५ किलो नक्कली सुनलाई सक्कली सम्झेर आफैँ लुट्न चाहन्थे प्रहरी !

काठमाडौं । गतसाता काठमाडौंबाट बरामद भएको नक्कली सुनलाई सक्कली सम्झिएर प्रहरी आफैँले लुट्न खोजेको खुलेको छ ।  लुट्ने योजना असफल भए पनि प्रहरीले घटना सार्वजनिक गरेको पाइएको छ ।  लुटपाटको योजनामा प्रहरी जवान बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठ लागेको पाइएको हो ।
प्रहरीले मंगलबार बिहान काठमाडौंको कमलादीबाट साढे १४ किलो नक्कली सुन र हतियार बरामद गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । 

जसमा आधा किलो सक्कली सुनसमेत थियो । तर तस्करले प्रयोग गरेको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो सोही नक्कली सुन र हतियार भएको पेस्तोलको झोला फालेर भागेको प्रहरीले जनाएको थियो ।  सो गाडी ललितपुरमा भेटिएको थियो भने प्रहरीले तीनैजनालाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको थियो । 
पक्राउ पर्नेमा निलेश सखिया, विजय पटेल र देवान सिंह छन् ।

घटनामा संग्लन बाराका इल्ताफ हुसेन अन्सारी र संजय पटेल फरार छन् ।  उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले कमलादीबाट सुनसहितको झोला बरामद गरेको बताए पनि सुन्धाराबाट झोला बरामद भएको खुलेको थियो ।  प्रहरी अनुसन्धान विवादको घेरामा तानिएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको थियो ।

Argakhachi Cement Island Ad

प्रहरी नै लुट्न चाहन्थे सुन

छानबिन समितिका एक सदस्यका अनुसार प्रहरीले नै सक्कली सुन सम्झेर नक्कली सुन लुट्न खोजेको खुलेको छ ।  पक्राउ परेका विजय पटेल र फरार रहेका संजय पटेल दाजुभाई हुन् ।  उनीहरु दुवै भारतबाट नेपाल प्रवेश गरेर बाराबाट इल्ताफको गाडीमा काठमाडौं पुगेका थिए ।  सोही क्रममा मनिस मल्लिकको पसलमा बरामद भएको चाँदी किनेर सुनको जलप लगाएका थिए ।

समितिका एक सदस्यले भने,“उनीहरुले सुनको जलप लगाएको चाँदी भारतको गुजरातमा सुन भनेर बेच्ने योजना बनाएका छन् । त्यसका लागि हुण्डीबाट भारतबाटै ५५ लाखजति रकम आएको देखिन्छ । रकम कसले पठाए अनुसन्धान हुँदैछ ।” उनीहरुको योजनाको सूचना महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई प्रहरी जवान प्रसन्न श्रेष्ठ र बहादुरसिंह कडायतले दिएका थिए ।

समितिका एक सदस्यका अनुसार दरबारमार्ग वृतका डीएसपीदेखि सबै प्रहरी सक्कली सुन हो भन्नेमा ढुक्क थिए । सोही योजनाअनुसार प्रहरीले बा ६ च ५५१९ नम्बरको स्कोर्पियोको पिछा गरिरहेको थियो । स्कोर्पियोमा रहेका इल्ताफसहितको टोलीले प्रहरीले पिछा गरिरहेको सुराक पाएपछि सुन्धारामा गाडीभित्रै रहेका निलेश साखियालाई नक्कली सुन र २ वटा पेस्तोल भएको झोलासहित झारे । निलेशलाई बसमा चढेर आउन भनियो ।

समितिका ती सदस्यले भने,“बस चढ्नेबित्तिकै उनलाई प्रहरी जवान बहादुरसिंहले नियन्त्रणमा लिए । नियन्त्रणमा लिएपछि निलेशले झोला पनि दिने र थप १५ लाख कमिसन दिने बताएपछि प्रहरी जवानले निलेशलाई भगाए ।”

दरबारमार्गका तत्कालीन डीएसपी दाहाललाई पनि पूर्वसूचना भएकाले उनले बरामद झोला तत्काल गाडीमा हालेर लगे ।  तर दरबारमार्ग प्रहरीको गाडी ढिलोगरि पुगेको भए प्रहरी जवान बहादुरसिहंले त्यो झोला आफैँले लुकाउने योजना बनाइसकेको पाइएको अनुसन्धानबाट खुलेको छ । त्यसमा अर्का प्रहरी प्रसन्न श्रेष्ठको पनि मिलेमतो देखिएको प्रहरी स्रोत बताउँछ ।

सके झोला लुकाउने र डीएसपीले जानकारी पाइहाले सुन समातेवापत कमिसन लिने योजनामा उनीहरु रहेको खुलेको छ ।

डीएसपी दाहालले समयमै दिएनन् जानकारी

डीएसपी दाहाल घटनास्थलका बारेमा जानकार थिए । सुन्धारा उनको कार्यक्षेत्रमा पर्दैन । त्यसैले उनले सुन्धारामा बरामद भएको सो नक्कली सुन र हतियार कमलादीमा भन्दै रिपोर्ट गरेको पाइएको छ । तर बरामद भएको लामो समयसम्म पनि उनले माथिल्लो निकायमा रिपोर्टिङ नगरेको र कमिसनको खेलमा लागेको खुलेको छ ।

समितिका सदस्यले भने,“डीएसपी दाहालले तत्काल माथिल्लो निकायमा घटनाबारे जानकारी गराएको पाइएन । अर्कोतर्फ घटनास्थल परिवर्तन गरे । उनको नियत खराब देखिन्छ ।” घटनामा संग्लन दुवै प्रहरीलाई नियन्त्रणमा लिइएको छ ।  उनीहरुलाई पक्राउ परेका अन्यसँगै संगठित अपराध तथा हातहतियार खरखजानामा मुद्दा चलाइएको छ ।

तर डीएसपी दाहाललाई विभागीय कारवाहीको लागि समितिले सिफारिस गर्ने तयारी गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  ११:३९
प्रतिक्रिया दिनुहोस्