site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
गणतन्त्र कि ओलीतन्त्र ?

पन्ध्र वर्षअघिको कुरा हो । राजनीतिक दलका नेता र हजाराैं जनता राजाको प्रतिगामी कदमविरुद्ध शान्तिपूर्ण आन्दोलनमा होमिएका थिए । तिनताका नेकपा (एमाले)का नेता केपी ओलीलाई भने सडकमा बिरलैले देखे होलान् । प्रायः क्लब र गोष्ठीका भाषणभिषणमा उनी भन्ने गर्थे – ए गणतन्त्र ! नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुग्छु भन्नु उस्तै उस्तै हो । संयोग पनि कस्तो, गणतन्त्रको ‘ग’ सुन्न नरुचाउने उनै ओली दुई दुई पटक गणतान्त्रिक नेपालको प्रधानमन्त्री भए । 

त्यतिमात्र होइन, कम्युनिस्ट पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्ने छ जना नेतामध्ये सबैभन्दा बढी समय प्रधानमन्त्री हुने अवसर पनि उनैलाई मिल्यो । अझ यति बेला त उनी करिब दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गर्दैछन् । 

नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गर्ने निर्णय लिएपछि भारतले लगाएको नाकाबन्दीको चर्को विरोध गरेर ‘राष्ट्रवादी’ छवि बनाएका ओली लगत्तै माओवादीको समर्थनमा प्रधानमन्त्री भए । पहिलो कार्यकालमा तीव्र विकास निर्माणका नारा दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

भाषणमा प्रायः उनी भन्ने गर्छन् – ‘‘भ्रष्टाचार, अनियमितताविरुद्ध सरकार निर्ममरुपमा प्रस्तुत हुनेछ । विकास निर्माणको गति तीव्र बनाइनेछ । रेल र पानी जहाज ल्याइनेछ । जनताका चुलाचुलामा ग्यास पाइप पुर्‍याइनेछ ।’’

ओलीको कार्यकालमा यति, वाइडबडी, ओम्नी, सेक्युरिटी प्रेसलगायतका काण्ड भए । तिनको छानबिन गरिएन, बरु दोषी भनिएका व्यक्तिको बचाउमा प्रधानमन्त्री आफैँले सार्वजनीक मञ्चको प्रयोग गरे । 

Royal Enfield Island Ad

विपक्षीप्रति कुन हदसम्मको असहिष्णु व्यवहार गर्न सकिन्छ भन्ने प्रयोग त उनी गरिरहेकै छन् । पार्टीभित्रका विरोधीलाई भित्तामा पुर्‍याउने प्रयोगशाला पनि चलाइरहेकै छन् । आफ्ना भक्तहरुलाई छानीछानी लाभका पदमा नियुक्त गरेकै छन् । अनि प्रजातन्त्र र समानताका नारा पनि दिन भ्याएकै छन् । 

त्यतिमात्र होइन, विगतमा आफैँले दिएका नारा र आश्वासनबमोजिम काम गर्न नसकेपछि जनताको ध्यान अन्यत्रै मोड्न के कस्ता प्रचार अभियान चलाउनुपर्छ भन्ने स्कुल पनि उनैले चलाएका छन् । 

कहिले आफूलाई भारतले हटाउन खोजेको अभिव्यक्ति दिन्छन्, कहिले कालापानीको नक्सा जारी गर्छन् त कहिले राष्ट्रियताका मसिहाका रुपमा आफूलाई प्रस्तुत गर्छन् । 

कोरोना महामारीका बेला जनतालाई सहुलियत दिनुपर्ने समयमा भक्तहरुलाई सडकमा उतारेर जयजयकार गर्न लगाउँछन् । निषेधाज्ञा तोडेर राष्ट्रिय झन्डाको दुरुपयोग गर्छन् । 

पार्टीभित्रको आन्तरिक प्रजातान्त्रिक अभ्यासको धज्जी कसरी उडाउन सकिन्छ भनेर उनैले प्रयोशाला चलाएका छन् । महिनौदेखि पार्टीको बैठक जारी छ । तर, निर्णय कहिल्यै हुन सक्तैन । अध्यक्ष आफैँ प्रधानमन्त्री निवासमा बोलाएको बैठक बहिष्कार गर्छन् । कारण दिइन्छ  कार्य व्यवस्थाले समयको अभाव । तर, त्यति नै बेला उनी बालुवाटारमा छुट्टै गुटको चुनाव हारेका व्यक्तिलाई प्रधानमन्त्री बनाउने आशा देखाइरहेका हुन्छन् । पार्टीभित्रवाट प्रधानमन्त्री र अध्यक्ष छोड्न दबाब परेका बेला सरकारको आयु केही समयका लागि भए पनि लम्याउन भ्याउँछन् । 

सायद रुप र सार अलग्गै मान्ने कम्युनिस्ट अभ्यास यही हो कि? 

बीपीले धेरैपटक भनेका छन्– कम्युनिस्टहरूको भनाइ र गराइमा भर पर्न सकिन्न । कुरा एउटा गर्छन् । काम अर्कै । त्यसैले यिनीहरु माथि विश्वास गर्नु हुँदैन । कम्युनिस्टहरुका कारण लोकतन्त्र बलियो भएको इतिहास कहीँ छैन । 

ओलीको कार्यकाल कम्युनिस्ट चरित्र बुझ्ने, जान्ने गतिलो पाठशाला बनेको छ । सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने नेताहरु आज नवधनाढ्य भएका छन् । आलिसान महलमा बस्छन्, ठूला ठूला मोटर चढ्छन्, तै पनि पार्टीका दस्तावेज र सार्वजनिक भाषणमा सामन्तीको विरोध गर्न पछि पर्दैनन् । 

बौद्धिक नेता पूर्वपरराष्ट्रमन्त्री चक्र बास्तोला भन्थे – ‘‘म आलिसान बंगलामा बस्छु, लग्जरियस् गाडी चढ्छु, पाएसम्म मिठो खान रुचाउँछु । तर, गर्वका साथ भन्न पनि सक्छु यी सबै सुविधा मेरो आफ्नै सम्पत्तिबाट भोग गरिरहेको छु ।  यहाँका प्रायः सबै नेता मेरोजस्तै वा अझै सुविधा सम्पन्न घरमा बस्छन् तर आफ्नो हो भन्न सक्तैनन् । ठूला ठूला मोटर चढ्छन्, आफ्नो होइन भन्छन् । न त दाताको  नाम नै लिन सक्छन् । नेताहरु जबसम्म मैलेजस्तै निर्धक्कसँग आफूले उपभोग गर्ने  सुविधाको स्रोत खुलाउन सक्दैनन् । बुझ्नुस् भ्रष्टाचारको मूल त्यहीँ छ र नेताहरुको व्यवहारले लोकतन्त्रको भविष्य निर्धारण गर्छ ।  

यतिबेला कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । कैयाैँ नागरिकले रोजगारी गुमाएका छन् । यस्तो बेलामा ओली पार्टीको आन्तरिक झगडामा अल्झिएका छन् र जनताप्रतिको उत्तरदायित्व वहन गर्नबाट च्युत बनेका छन् । राजनीतिक तहबाट भ्रष्टाचार मौलाएको छ । 

हुन त ‘सेन्स अफ ह्युमर’का दृष्टिले प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई समान देखिन्छन् । दुई दुई पटक मिर्गौला फेरेर पनि उच्च मनोबल बनाई राख्नु चानचुने इच्छा शक्ति होइन । यति हुँदाहुँदै पनि ओली धक खुलाएर बोल्न सक्छन् । हास्य कलाकारभन्दा बढी हँसाउन पनि सक्छन् । आफ्ना विरोधीको जमेर आलोचना गर्न सक्छन् । पार्टीभित्रैका विपक्षीलाई निर्मम ढंगले तह लगाउन सक्छन् र जस्तै खत गरेको भए पनि आफू निकटलाई अवसर दिने र उसको बचाउ गर्ने अद्भूत क्षमता यिनमा छ । 

दुवैमा फरक के छ भने भट्टराईले जीवनमा अपमानको कालकूट विष नै पिएर भए पनि अरूलाई हँसाए । देशको कुभलो हुने कुनै काम गरेनन् । आफ्ना कुनै नातेदारलाई लाभ हुने निर्णय गरेनन् । गल्ती गर्ने आफ्नै निकट सहयोगीलाई थाहै नदिई कार्यसमितिबाट फायर गरिदिन्थे । दुई दुईपटक प्रधानमन्त्री भएका उनले कतै घरजग्गा, सम्पत्ति र बैंक ब्यालेन्स जोडेनन् । जुन सिद्धान्त अपनाए, संस्कार र जीवन पद्धति पनि त्यस्तै अँगाले । दुई दुईपटक बालुवाटारबाट बेदाग बाहिरिए । 

हँसी मजाकमा त उनी भनिदिन्थे – ‘ए बाबु खरिदार सुब्बाको तलबले खान पुग्दैन । तिनले चिया खान मागेको सय पचास रुपैयाँ घुस होइन ।’ 

पछिल्लोपटक २०५६ मा प्रधानमन्त्री हुँदा भट्टराई ओलीजस्तै शारीरिकरुपमा कमजोर भइसकेका थिए । राम्ररी हिँड्नसमेत सक्तैनथे । त्यो कार्यकालको एउटा रोचक प्रसंग भट्टराईका तत्कालीन सल्लाहकार डा. नारायण खड्काले लेखकलाई सुनाए – ‘वद्ध प्रधानमन्त्रीलाई आराम गर्न सहज होस् भनेर सिंहदरबारको कार्यकक्षभित्र बेडसमेत राखिएको थियो । एक दिन किसुन जी सुतेर आराम गरिरहनु भएको थियो । बाहिर भेट्नेको घुँइचो लागि सक्यो । मैले भने किसुन जी हजुर आराम गरिरहनु भएको छ । बाहिर मानिसको हुल छ । भट्टराईले भने ‘हेर्नुस् बाबु एउटा आउँछ । ठेक्का टेन्डर मिलाई देऊ भन्छ । अर्काे आउँछ कुनै फाइल सदर गर्न भन्छ । तिनको काम गर्दा देशलाई घाटामात्र छ । मैले तिनलाई भेट्नुभन्दा सुत्दा नै देशको हित हुन्छ ।’

भट्टराई र ओली दुवै दुई दुई कार्यकालका लागि प्रधानमन्त्री भए । चौध वर्ष जेल बसे । अविवाहित भट्टराईलाई कसैका लागि सम्पत्ति जम्मा गर्नुपर्ने बाध्यता थिएन । विवाहित भए पनि निःसन्तान ओली सम्पत्ति जम्मा गर्नै पर्ने पारिवारिक दबाब मुक्त छन् । 

गान्धीवादी भट्टराईले जीवनभर निष्ठा, इमान र आत्मसम्मानको राजनीति गरे । आफू जलेर पनि पार्टीलाई जोगाए । लोकतन्त्रलाई बदनाम गराउने कुनै काम हुन दिएनन् । जीवनको उत्तरार्धमा कांग्रेसले गणतन्त्रको नीति लिएपछि आफैँले स्थापना गरेको पार्टी परित्याग गरिदिए । आत्मसम्मानमा आँच आउन दिएनन् बरु एक्लै बस्न रुचाए । 

कम्युनिस्ट विचारका ओलीले दोस्रो कार्यकालको मध्यसम्म आईपुग्दा विगतका वाचा पूरा त गरेनन् नै आफ्नै पार्टीका कार्यकर्तामाझ समेत केही गर्छन् भन्ने विश्वास गुमाउँदै गएका छन् । ओली सरकारको कार्यशैली र संस्कार लोकतन्त्रलाई कमजोर बनाउने बाटोमा अग्रसर देखिन्छ । पछिल्लो समय पार्टी फुटाउन रातारात अध्यादेश ल्याएको घटना होस् वा सभामुख र विपक्षीको जानकारीविनै रातारात संसद् अधिवेशन अन्त्य गरिएको घटना होस् सत्तारुढ दलको अध्यक्षका हैसियतमा उनले सम्पादन गरेको काम होस्, ओलीका काम कारबाहीले निरन्तर प्रतिगमनलाई नै मलजल गरिरहेको छ । 

संवैधानिक र राज्यका संयन्त्र सबल भए लोकतन्त्र सुदृढ हुन सक्छ । तर, सुरुदेखि नै ओलीको यत्न प्रयत्न प्रधानमन्त्री कार्यालय र आफूलाई सर्वशक्तिमान बनाउनेमै केन्द्रित देखिन्छ । ओलीका कारण राष्ट्राध्यक्ष (राष्ट्रपति) को भूमिका विवादमा तानिएको छ, सरकारको अक्षमताले जनतामा चरम निराशा बढाएको छ । अदालतदेखि संवैधानिक निकाय सबै कमजोर र निकम्मा बनाइँदैछन् । 

आफ्नो व्यक्तिगत हितका लागि उग्र राष्ट्रवादको नारा दिएर ओलीले छिमेकीहरुसँगको सम्बन्ध बिगारेका छन् । सरकारका निर्णयको मूल्याङ्कन इतिहासले गर्ने नै छ । नेता बास्तोला भन्थे – ‘कुनै पनि मुलुकको लोकतन्त्र कति सबल छ भन्ने कुरा जननिर्वाचित सरकार सञ्चालन गर्नेहरुको संस्कारमा निर्भर रहन्छ ।’ 
ओलीका गलत काम कारबाही र सस्तो लोकप्रियता खोज्ने होडबाजीको नेपाल र नेपालीले महँगो मूल्य चुकाउन नपरोस् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  ११:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro