- दीपकिरण खड्का
हिउँदमा च्यामुसी
शान्त, सौम्य र शालिन देखिन्छ !
सबै निर्जीव भन्छन्
तर म उसमा जीवन देख्छु
मसँगै कतै मितेरी गाँसु-गाँसुको भाव देख्छु
उसँग मितेरी गाँस्न हजारौं आएका रहेछन् !
उसलाई मिलनले ल्याएको बिछोडको डर पनि रैछ !
तर पनि ऊ अहिलेको हिउँदमा मेरो साथी भएको छ
हिउँदको कठ्याङ्ग्रिदो मौसम,
चिसो सिरेटोको झोंक्का,
गजधम्म परेका आकाश,
`छिमेकिलाई भोग्न नपरे त´
भनी गम खान्छ
तर,
प्रकृतिको लीला
र उसको कर्मको कुरो !
तैपनि सन्तोष राख्न खोज्छ आफूलाई !
हिउँद र वसन्तका कैयौं प्रहरहरुमा
ऊ त्यही हो जो सधैं थियो, छ ।
तर,
वसन्तमा साथ हजारौंको हुन्छ
हिउँदमा ऊ एक्लो हुन्छ
छिमेकीहरुले बसाइँ सर्छन्
बथानहरुले छाडी जान्छन्
ताल-नदीहरु जमिदिन्छन्
बाँकी 'हाइबर्नेसन'मा जान्छन् !
अहिले त उसलाई बानी परिसकेछ
गुनासो रहने कुरै भएन
ऊ होचा पहाडहरुले घेरिएको छ
पहाडजस्तै उसका चाहना उत्तिकै कम छन्
उसको उदारता कुनै फाँटभन्दा कम छैन
उसको महानता अग्लो शिखरभन्दा कम छैन
हिउँदमा कसैको नहुने च्यामुसी
वसन्तको प्रहरमा फेरि सबैको प्रिय बन्छ !
तर लामो यात्राको अभ्यासले होला
अचेल उसलाई रङ्गिचङ्गी वसन्त भन्दा
निर्जीव हिउँद नै प्यारो लाग्न थालेको छ,
तर यसपालिको निर्जीव हिउँदमा,
उसको साथी म पनि भएँ
मुहारमा थोरै खुसी पोखिए
अनि,
उसले भन्यो,
'नि श्री वो द हाओ फङ्गयौ !'
अनि मैले पनि प्रत्तियुत्तरमा फर्काएँ,
`सेईसेई फङ्यौ !´
(हाओ फङ्यौ भनेको चिनियाँ भाषामा राम्रो साथी)
(हाल चीनमा एमबीबीएस अध्ययनरत)