site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मागेको माया
SkywellSkywell

आर्थिक विपन्नताले थिचिएर दुई छाक पेटभरि खान नपाए पनि बाल्यकाल मेरो लागि रमाइलो नै थियो ।

चारजना दिदीबहिनीमध्ये कान्छी म । उति बेला पहाडको ठाउँ भएर होला, ठूली दिदी र माइली दिदीको बिहे भइसकेको थियो । दिदीहरू कहिलेकाहीँ दुईचार दिन बस्ने गरी आउनुहुन्थ्यो ।

दिदीहरू आउँदा आमाले कहिले खिर पकाउनुहुन्थ्यो त कहिले ढकने । कहिले कुराउनी । दिदीहरू घर जाँदा भने सेल, अनर्सा कोसेली पठाउनुहुन्थ्यो । ठूली दिदी र माइली दिदीको बिहे भए पनि घरमा साहिँली दिदी र म थियौँ । म साहिँली दिदीलाई दिदी भन्दिनथेँ । मिठु नै भनेर बोलाउँथेँ ।

KFC Island Ad
NIC Asia

उसको नाम मिठी थियो । आमाबाबा र अरू सबैले उसलाई मिठु भनेरै बोलाउनुहुन्थ्यो । मेरो नाम देवकी भए पनि सबैले मलाई कान्छी भनेर बोलाउँथे । मिठु र म दिदीबहिनी मात्र थिएनौँ, साथी पनि थियौँ । हामी दुवैमा खुबै मिल्ती थियो । मिठु एघार वर्षकी थिई म ऊभन्दा दुई वर्षले कान्छी ।

हामी चारजना छोरी जन्मिसक्दा पनि आमाबाबाको छोरा पाउने रहर अझै मरेको रहेनछ । आमा फेरि गर्भवती हुनुभयो । आमाले भाइ जन्माउन नसकेको दृश्य सम्झिँदा अहिले पनि मलाई कहाली लागेर आउँछ । त्यस बेला हाम्रो टाँडे घर थियो । पहाडमा घर कस्ता हुन्छन् त्यस्तै । हामी टाँडमा सुत्थ्यौँ ।

Royal Enfield Island Ad

शनिबारको दिन थियो । म अबेरसम्म सुतेछु । सधैँझैँ मलाई कसैले पनि बोलाएन । उठेर छेउमा हेरेँ, मिठु थिइनँ । आँखा मिच्दै तल झरेँ । अँगेनोमा आगो बालिएको थियो । वरिपरि गाउँभरिका आइमाई भेला भएर आमालाई खै केके भन्दै थिए ।

माथ्लाघरे काकी कचौरामा तोरीको तेल तताएर आमाको तालुमा ठोक्दै थिइन् । मितहजुरआमाले कम्मरमा त्यही कचौराको तेल लगाइदिँदै हुनुहुन्थ्यो । माथि बलोमा नाम्लो बाँधिएको थियो ।

“माइली, नाम्लोमा झुन्डिएर बल गर है । बल पुग्छ अनि छिटो पैदा हुन्छ,” मितहजुरआमा भन्दै हुनुहुन्थ्यो ।

म लिस्नोको सिरानमा बसेर यो दृश्य हेरिरहेकी थिएँ । “केटाकेटीले हेर्न हुन्न कान्छी ! बाहिर जा,” मितहजुरआमाले मतिर हेरेर भन्नुभयो । म खुरुखुरु ओर्लेर आँगनमा पुगेँ । मिठु र म गाईबाख्रा गर्न थाल्यौँ ।

“ए माइला, माइला ! जा, झट्टै भरिया खोजेर आइज त । माइलीलाई साह्रै पार्‍यो, अस्पताल नलगी भएन,” मितहजुरआमाले भित्रैबाट भन्नुभयो ।

बुबा भरिया खोज्न गएपछि अगुल्टो बाहिर निकाल्दै फेरि मितहजुरआमाले चर्को स्वरमा भन्नुभयो, “मिठु र कान्छी कहाँ गयौँ, यहाँ आओ झट्ट । ढिकीको छेउमा ढुंगाको चम्का लगाएर भात बसाली हाल । माइलीलाई अस्पताल लानुपर्‍यो । भात उम्लन थालेपछि मलाई बोलाउनू, म चलाउँछु भात ।”

भात पाकेपछि बुबा र मितहजुरआमाले दुईचार गाँस दूधसँग खानुभयो । आमा त सिकिस्त हुनुहुन्थ्यो, कहाँ खान सक्नु !

हतारहतार आमालाई डोकोमा राखेर बोके भरिया दाइले । उहाँसँगै जानुभयो बुबा र मितहजुरआमा । जाँदाजाँदै बुबाले हामीलाई घरका सबै काम अह्राउनुभयो । मिठु र मैले उहाँहरू पर पुगुन्जेल हेरिरह्यौँ ।

रख र बुट्टाले छलिएर उहाँहरू देखिन छोडेपछि हामीले दूधसँग भात मुछेर खान खोज्यौँ । निल्दै गाह्रो भयो । तरकारी पकाएकै थिएन ।

खाना खाएर हामी बारीको कान्लामा घाँस काट्दै थियौँ, भरिया दाइ फर्केर आएको देख्यौँ । हामी पनि हतारहतार घाँसका मुठा बाँधेर घर आयौँ । डोको बिसाउँदै भरिया दाइले लामो सुस्केरा हाले । आमाको टाउको लत्रिएको थियो ।

हामी रुँदै आमालाई अँगाल्न पुगेछौँ । हाम्रो रुवाइ सुनेर सारा गाउँले भेला हुन थाले । ठूली दिदी र माहिली दिदीलाई पनि कोही लिन गएछन् । उनीहरू आएपछि मात्रै आमालाई घाट लगियो ।

हामीलाई माया गर्ने आमा भाइ पाउन नसकेरै सधैँको लागि अस्ताउनुभएको थियो ।

०००

सानी हुँदा यस्ता चोट कैयौँ खपेकी थिएँ मैले । म चाहन्थेँ, मैले जिन्दगीमा अनेकौँ चोट खपेर जुन जिन्दगी घिसारेँ, त्यस्तो कुनै पनि चोट मेरा छोराछोरीले खेप्नु नपरोस् ।

सोचेजस्तो जिन्दगी कसको पो हुन्छ र ! झन् के सोचेँ मैले के भयो अहिले भनेझैँ पो हुन्छ त । त्यस्तै भयो मेरो जिन्दगी, एक मोडमा पुगेपछि ।

ममाथि बज्रपात पर्‍यो । कसलाई र कसरी सुनाऊँ ? आफूमाथिको बज्रपातका कुरालाई । मेरो छातीमा सौताको किलो ठोकियो । त्यो किलो पनि थाहा नपाई हैन, थाहा पाएरै भन्नुपर्छ ।

मैले जसमाथि विश्वास गरेँ, उसैले मेरो लोग्ने खोसिदिई । म सम्पूर्ण कुराले सम्पन्न भएर पनि नांगी भएँ । म आफैँ लाटी भएर न हो, ममाथि धोका भएको ! धोका ठूलो धोका । आफ्नो लोग्नेले धोका देला भन्ने मैले कल्पनासम्म पनि गरेकी थिइनँ ।

अनि, ती म्याडमले हाकिम भएर पनि एउटा मामुली कर्मचारीसँग प्रेम गर्ने ? त्यही पनि उमेर सुहाउँदो भए पनि हुन्थ्यो ! आफूभन्दा बाह्र वर्ष कान्छोसँग । हरे शिव ! म के गरौँ ?

श्रीमान्ले त्यस आइमाईलाई चाडपर्व, बर्थडे पार्टीमा ल्याउँदा मैले कहिल्यै शंका गरिनँ । गर्ने कुरो पनि रहेन । छोराछोरी पनि ‘रमा म्याडमले दामी सामान ल्याइदिनुहुन्छ, बर्थडेमा बोलाउने’ भन्दै रमाउँथे ।

आज उनैले सबैभन्दा महँगो उपहार दिइन् हामीलाई । म पनि हुस्सु, केही न कामकी ! ‘रमा म्याडम हङकङ गएकी थिइन्, तिम्रो लागि ल्याइदिएको उपहार हो यो’ भन्दै श्रीमान्ले दिँदा म मक्खै परेथेँ ।

आजको दिन देख्न रहेछ र पो त्यो नाटक गरेका रहेछन् त ! मलाई त शंका लागेका थियो, यो घर सायद उसैको पैसाले किनेको हुनुपर्छ भन्ने । मेरो अनुमान सही रहेछ । बुढाको तलबले घरखर्च टार्न त धौधौ हुन्थ्यो, म पनि बुढाले घर किन्ने कुरा गर्दा मक्खै परेँ ।

हुन त ‘घर किन्ने पैसा कहाँबाट आयो ?’ भनेर बुढालाई सोध्दा, ‘तँलाई तेरै नाममा घर किनेर राखिदिएको छु’ भनिहाल्थे । ‘तैँले भनेको सबै सामान किनिदिएकै छु’ भन्थे । आखिरमा सबै त्यही रमा म्याडमको तारतम्य रहेछ ।

म कति सारो भ्रममा रहेछु, आज बल्ल भ्रमको पर्दा खोलियो र वास्तविकता बुझेँ मैले । थुइय्य मेरो कर्म ! बाल्यकालमा पनि दुःख पाउनु पाएँ । बुढेसकालमा केही सुख होला भनेको त झन् यस्तो विपत् व्यहोर्नुपर्‍यो ।

हन, कत्रो हिम्मत हो त्यसको ! कति सजिलै भनेकी, “बहिनी, आज म हजुरसँग केही माग्न आएकी, नाइँ नभन्नु है ?”

“ल, भन्नुहोस् न म्याडम ! हजुरले जे माग्नुहुन्छ, म त्यही दिन्छु । हजुरले गर्दा त हो नि यो घर, धनसम्पत्ति सारा वैभव सम्भव भएको । नत्र यी मेरा बुढाले कहिले कमाउने कहिले जमाउने । सधँै घरखर्चको धौधौ !”

“यी, यो सिक्री पनि दिन्छु । यो चुरा र औँठी पनि आजदेखि तपाईंकै भयो । मेरा छोराबुहारी अस्ट्रेलियामा पीआर लिएर बसेका छन्, एक कल फोन त गर्दैनन् । तिनीहरूका लागि एक पैसा पनि जम्मा गर्दिनँ । बरु, यी तपाईंका सन्तानहरूका लागि खर्च गर्छु । यिनलाई भनेको स्कुल, कलेजमा पढाइदिन्छु । भनेको सामान किनिदिन्छु । सारा सम्पत्ति मैले कमाएको त हो नि, छोराछोरीले मलाई फुटेको कौडी दिएका छैनन् । यी छोराछोरी प्रविन सरका भए पनि आजदेखि मैले अभिभावकत्व लिएँ । यो घर पनि मैले यिनकै लागि किनिदिएकी हुँ । पहिलापहिला यसो दुईचार पैसा दायाँबायाँ हुन्थ्यो र पो पैसा जम्मा हुन्थ्यो ! अहिले त कहिले अख्तियार आउला कि भनेर डराउनुपर्ने, कहिले युट्युबेले भिडियो खिचेर हाल्देलान् कि भनेर डराउनुपर्ने । दायाँबायाँ गरेर दुईचार पैसा कमाउनै गाह्रो ! तपाईं नै भन्नुस् न बहिनी, प्रविन सरले सुक्खा तलबले त चालिस वर्षमा पनि यत्रो घर बनाउन सक्नुहुन्थ्यो र ? खाई खर्च, छोराछोरीको पढाइ खर्च, दुःखबिमार हुँदाको खर्च ! ओहो, सम्झिन नै पनि गाह्रो !”

म्याडमको कुरो सुनेँ, तर बुझिनँ । त्यसैले सोधेँ, “म्याडम, हजुरले के भन्न खोज्नुभएको हो ? मैले केही बुझिनँ । अप्ठ्यारो नमानी भन्नुहोस् न ।”

“त्यस्तो केही हैन । खालि एउटा कुरा मात्र गर्न खोजेकी ।”

“भन्नुहोस् न म्याडम । हजुरले हाम्रो लागि यति धेरै गर्नुभएको छ, म पनि हजुरको लागि जे सहयोग गर्नुपर्छ, गर्न तयार छु । सहयोग मात्र हैन, यो गर्दन नै काटेर दिनुपरे पनि तयार छु ।”

“उसो भए हुन्न नभन्नु है त ?”

“हजुरले हाम्रो लागि यति धेरै गर्नुभएको छ, म कसरी हुन्न भन्छु होला र !” मैले यति भनेपछि रमा म्याडमले मेरा दुवै हात उनका हातले बलियो गरेर समातेर भनिन्, “त्यसो भए प्रविन सर मलाई दिनुहोस्, म प्रवीन सरलाई प्रेम गर्छु ।”

मैले बल गरेर हात झड्कार्दै भनेँ, “यो उमेरमा प्रेम ? केश फुलेर तिलचामल भइसके । गाला चाउरी परिसके । तैपनि, अर्काको लोग्नेसँग प्रेम ! अर्काको लोग्ने मात्र भए पनि त हुन्थ्यो, दुईदुईजना छोराछोरीको बाबुसँग प्रेम ! त्यसमा पनि आफूभन्दा बाह्र वर्ष कान्छोसँग । त्यसमा पनि बैंकको हाकिम भएर सामान्य कर्मचारीसँग प्रेम ! यो कस्तो प्रेम हो ?” मेरो आक्रोशको पारा निकै चर्को भयो ।

“हेर्नुस् बहिनी, तपाईंसँग तपाईंका छोराछोरी छन्, म त एक्लै छु । एक्लै बस्दाबस्दा मलाई त्यो घरले नै निल्छ कि जस्तो भइसक्यो । म उहिल्यै डिप्रेसन भईवरी मरिसकेकी मान्छेलाई प्रविन सरको साथ–सपोर्टले आज बाँचेकी छु । म अरूले जस्तो लुकेर प्रेम गर्दिनँ । म तपाईंको घरपरिवारलाई जलाएर प्रेम गर्दिनँ । म यी छोराछोरीको भविष्यमाथि खेलबाड गरेर प्रेम गर्दिनँ । म त हाकाहाकी प्रेम गर्छु । प्रविन सरको खुसी नै मेरो खुसी हो । त्यसैले मैले प्रविन सरको खुसीका लागि सारा कुरा गरेँ ।”

“तपाईंको यो उमेर प्रेम गर्ने उमेर हो ? यो कस्तो प्रेम हो !,” मैले चिच्याउँदै बोलेँ ।

“अलि बिस्तारी बोल देवा, छिमेकीले सुन्छन्,” प्रविनले सचेत गराउँदै बोले ।

“सुनून्, मलाई मतलब छैन । तिमीहरू नौटंकी गर्दै हिँड्ने, म किन चुप लाग्ने ? यो प्रेम पनि कति सारो अन्धो हुँदो रहेछ । जातिपाती, उमेर रूपरङ केही नहेरी बत्तीमा पुतली होमिएझैँ होमिने ! अहिले छोराछोरी स्कुलबाट आएर यो कुरा थाहा पाउँदा के भन्लान्, केही सोचेको छ तपाईंले ?,” रिसले प्रविनलाई कोपरौँजस्तो भयो ।

“बहिनी, सम्झनुहोस् म पनि तपाईंकै घरको एक सदस्य हुँ । यस घरलाई जलाउन हैन, तपाईंहरूकै दुःखसुखकी सारथि बन्न चाहन्छु । घरव्यवहारका उल्झनहरू हामी सबै मिलेर पार लाउँला । तपाईंले यस कुरालाई सहजीकरण गरिदिनुपर्‍यो भन्ने मेरो एउटा माग हो ।

हामी साख्य दिदीबहिनीजस्तै मिलेका थियौँ, त्यस्तै मिलेर बसौँला । तपाईंको पनि माइतीमावली कोही छैन । मेरो पनि कोही छैनन् । हामी दुवैको यो पारिवारिक नाता एकै होस् भन्ने कुरा मात्र हो मेरो ।”

“के उसो भए यो सारा धनसम्पत्तिसँग मेरो लोग्ने साट् भन्न खोज्नुभएको हो तपाईंले ?”

“त्यसो होइन । म पनि बेसहारा छु, सहारा चाहन्छु ।”

“उसो भए तपाईंले आमाको भूमिका निर्वाह गर्न सक्नुपर्थ्यो, किन मेरो सौता बन्ने कुरा गर्नुहुन्छ ?”

“यसमा दोष न त प्रविन सरको मात्र छ न त मेरो मात्र छ । दोषी हामी दुवै हौँ । त्यसैले दोषको भागीदार हामी दुवै हुन चाहन्छौँ । यदि, तपाईं चाहनुहुन्छ भने मेरा सारा सम्पत्ति तपाईंलाई दिन तयार छु । त्यसको बदलामा मेरो प्रविन सर मलाई दिनुहोस् ।”

रमा म्याडमले दुवै हातले पछ्यौरा फिँजाएर मायाको भिख मागिन् ।

मेरो दिमागमा भने घरी बाल्यकालको स्मृति त घरी भर्खरै सरेको नयाँ घरको वास्तविकता घुमिरह्यो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro