काठमाडौँ । अमेरिकाबाट प्रकाशित नेपाली मूलधारको अनलाइन पत्रिका हिमालय खबर मिडिया इन्कका प्रबन्ध सम्पादक एवं नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निवर्तमान अध्यक्ष विकासराज न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रवासी नेपालीलाई विभेदबाट मुक्त गरिदिन आग्रह गरेका छन् ।
उनले नेपालमा जग्गा किनबेच गर्न खोज्दा मालपोत कार्यालय चितवनले गैरआवासीय नेपाली नागरिकता स्वीकार नगरेको र नेपाली नागरिकसरहको हदबन्दीमा जग्गा किनबेच गर्न नदिएको गुनासो पोख्दै यस्ता समस्याको समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
उनले प्रधानमन्त्री प्रचण्डसँग नेपालबाहिर बस्ने प्रवासी नेपाली र नेपालसँगको सम्बन्ध, त्यो सम्बन्धको अर्थ र प्रभावहरुबारे अवगत गराएका थिए । पत्रकार न्यौपानेले आफूजस्तै नेपालबाहिर बस्ने लाखौँ नेपालीका दुईवटा आमा : एउटा जन्मदिने आमा र अर्को मातृभूमि रहेको स्मरण गराउँदै आफूहरु सीमाविहीन माया, लगाव र भावुकतामा रहेको तर सरकारले त्यसको कत्ति पनि हिसाब नराखेको गुनासो पोखेका थिए ।
प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने विषयमा प्रतिवद्धता व्यक्त गरेका थिए ।