मनहरि दाइको सानी नातिनी छे
नातिनी बोल्न सिक्दै छे
त्यो तोतेबोलीमा मनहरि दाइलाई ‘हब्बा’ भन्छे
दाइलाई त्यो बोली मिठो लाग्छ
मनहरि दाइलाई नातिनीलाई खेलाउन मजा लाग्छ ।
मनहरि दाइको घरअगाडि सानो फूलबारी छ
फूलबारीमा अनेकन् फूलहरू छन्
कुनै हुर्किंदै छन्
कुनैमा कोपिला छन्
कुनै अब फुल्न लागेका छन्
मनहरि दाइलाई फूलबारीमा झार उखेल्न र
फूलको बोटमा पानी हाल्न
रमाइलो लाग्छ ।
मनहरि दाइकी श्रीमती,
जसलाई हामी भाउजू भन्छौँ
हँसिली हुनुहुन्छ
हाँस्दा भाउजूका धेरैजसो दाँतहरू देखिन्छन्
मनहरि दाइलाई भाउजूसँग ठट्टा गर्न चाख लाग्छ ।
मनहरि दाइको गोठमा गाई छ
गाईले नातिनीका लागि दूध दिन्छ
गाईले फूलका बिरुवाका लागि मल दिन्छ
दैनिक भरणपोषणका लागि त खर्च चाहिने नै भयो
दाइ भाउजूलाई लिएर यदाकदा सिनेमा हेर्न जानुहुन्छ
दाइलाई अतिरिक्त खर्च पनि चाहिन्छ
त्यसैले मनहरि दाइलाई गाईका लागि घाँस काट्न, खोले पकाउन र
गाईको गोबर सोहर्नमा रस लाग्छ ।
मनहरि दाइको आफ्नो धुन छ, आफ्नो लय छ
मनहरि दाइलाई आफ्नो यो धुनलय प्रिय छ
टोलका साथीहरूले तास खेल्न बोलाउँदा यो लय बिथोलिन्छ
साथीहरू कहिले त बोलाएको बोलायै गर्छन्
अटेर गर्यो भने लिन पनि आउँछन्
जान अनिच्छा देखाउँदा साथीहरू रिसाउँछन्
मनहरि दाइलाई साथीहरू रिसाउँदा बेमज्जा लाग्छ
त्यसैले मनहरि दाइले मोबाइल बोक्न छाड्नुभएको छ ।
सबैलाई जानकारी होस्–
मनहरि दाइसँग मोबाइल छैन
मनहरि दाइका टोलका साथीहरूले सुनून्–
अब मनहरि दाइलाई फोन गरेर डाक्न सकिँदैन
मनहरि दाइ के कामका लागि
कहाँ पुग्नुभएको छ भन्ने पनि अब फोन गरेर पत्ता लाग्दैन ।
(महालक्ष्मी—३, ललितपुर)