एक जना व्यापारी पूर्व तथा वर्तमान मन्त्रीहरूसँग प्रश्न गर्दै थिए - तपाईँहरू उत्पादन बढाउनुपर्यो भन्नुहुन्छ तर उपभोक्ता खै ?
करिब ४० लाख मानिस देशबाहिर छन् त्यसमध्ये पनि ३० प्रतिशत शारीरिक श्रम गर्ने जनशक्ति खाडीमा बाँकी १० प्रतिशत मानसिक बौद्धिक श्रम गर्न सक्ने व्यक्ति खाडीबाहेकका मुलुकमा छन् ।
उपभोक्ता नहुदाँ अर्थात कम हुदाँ के के असर गर्छ ? पहिले त रोजगारी घट्छ अनि दोस्रोमा कर घट्छ । तेस्रो उत्पादन घट्छ, चौथो कुल ग्रार्हस्थ्य आय घट्छ अनि पाचौँ जीवनस्तर घट्छ ।
खासमा उपभोग घट्नुको कारण के हो ? एकातर्फ १२ अर्ब वार्षिक विप्रेषण (रेमिट्यान्स) आइरहेको छ । त्यो पैसाले उपभोग बढाउनुपर्ने होइन र ?
व्यक्तिको आय र खर्च गर्न सक्ने आय फरक कुरा हुन् । राज्यको लोक कल्याणकारी भूमिका नरहेका स्थानमा मानिसको खर्च गर्न छुट्याइएको आय कम हुन्छ । निस्क्रिय जीवनमा व्यक्तिले बाँच्नको लागि गर्ने खर्च मास्न सकिने आयभन्दा बाँकी आम्दानी हो जुन हरेक व्यक्तिले जोगाएर राख्छ, बिमा गर्छ, सेयर किन्छ, सुन किन्छ, मुद्धति खातामा बैंकमा राख्छ ।
मानिसको अधिकतम आम्दानी परिवारको शिक्षा र स्वास्थ्यमा लगानि भैरहेकोछ । यसबाट पनि कुनै पक्षले आर्थिक लाभ लिइरहेकोछ जुन सेवा उपभोगमा खर्च हुन्छ । वस्तुको खपत कम हुँदा स्वाभाविकरूपमा उत्पादन घट्छ र त्यसको सिधा असर राष्ट्रिय आयमा पर्छ । हुन त शिक्षा स्वास्थ्य क्षेत्रको आय पनि कुल गार्हस्थ्य उत्पादनमा आउँछ तर उद्योग, निर्माण, भौतिक पूर्वाधारमा गरिने लगानी त्यसको प्रतिफलजस्तो गहन हुँदैन ।
उत्पादन घट्दो छ, उपभोग छैन, बैंकमा पैसा थुप्रिएर बसेको छ तर लगानी गर्न सकिरहेकाछैनन् बैंकहरूले । बैंकबाट उत्पादनशील क्षेत्रमा ऋण प्रवाह भइरहेको छैन । यसमा व्यावसायिक बैंक दोषी हुन् कि नेपाल राष्ट्र बैक वा बाफिया दोषी हो ? कि बजारको समस्या हो ?
बैंकले किन लगानी गर्न सकिरहेको छैन । लगानी नहुनुको कारण उपभोग घटेर चर्को ब्याज भएर, लोड सेडिङ्ग भएर वा लगानीका सर्तहरू कठिन भएर बैंकमा पैसा थुप्रिएको हो ?
उपभोग सृजना गर्न लगानी सम्मेलन भयो । सोचेजस्तो लगानी आएन । आएको लगानीले पनि उपभोग बढ्ला त ? हामी जलस्रोतमा लगानी खोजिरहेकाछौँ । जलस्रोतको लगानीले बिजुली ऊर्जा उत्पादन हुन्छ । उद्योग नभएको मुलुकमा इन्धनको उपभोग कसले गर्छ ? घरघरमा बाल्ने बिजुलीले मात्र त उपभोग खासै बढ्दैन ।
उपभोग बढ्न जीवनस्तर उठनुपर्यो तबमात्र इन्धनको खपत बढ्छ । सबै घरपरिवारमा घरेलु विद्युतीय उपकरणको उपभोग हुने अवस्था सम्भव देखिँदैन ।
यति ठूलो मात्रामा आएको विप्रेषण खर्च कहाँ भइरहेको छ ? मूलत शिक्षा, स्वास्थ्य, खाद्यान्न किनमेल गरेर बचेको मोबाइल, टीभी आदिमा खर्च भइरहेकोछ । त्यस आयलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने विश्वासको वातावरण बनाउन राजनीतिक अर्थशास्त्रको भूमिका महत्त्वपूर्ण हुन्छ ।
बजारमा उपभोक्ता हराउनु, कम हुनुको कारण उपभोक्ताको गोजीमा पैसा कम भएको मात्र होइन । उपभोक्ताको क्रय शक्तिको कम भएको भन्दा पनि उपभोक्ताको जानकारीमा भएको वस्तुको गुणस्तर फाइदा बेफाइदाको सूचना बढी भएकोले उपभोगमा कम भएको हुनुपर्छ ।
केही वर्षयता जनसंख्या वृद्धि दर कम छ । विदेश जाने क्रम बढ्दो छ । दालभात, तरकारीबाहेक अन्य सामानहरू फास्ट फुड, प्याकेजको खानेकुरा खाने समूह धेरै विदेश गएको छ ।
निर्माण उद्योगका उत्पादनको विक्री पनि कम भइरहेको चर्चा छ । यसका कारण के हुन सक्छन् ? उत्पादनमा खराबी, अस्वाभाविक मूल्य, घर बनाउने सोच घट्दो, मूल्य वृद्धि, भाउबेसाहा, आर्थिक मन्दीको असर, कोरोनाको कहर, भूकम्पको असर, भूकम्पपछि ठूलो घर बनाउने सोचमा कमी आदि पनि हुन सक्छ ।
उपभोक्तामा विश्वास बढाउन वस्तु तथा सेवाका ब्रान्डले मेहेनत गर्नुपर्छ ।
ब्याज, कर, ज्याला, महँगी, जनसंख्या, कल्याणकारी राज्य, सामाजिक सुरक्षा, आदि विषय पक्कै पनि उपभोक्ता घट्नुका कारक हुन् । शिक्षा, स्वास्थ्यलगायत बुढेसकालका लागि बचत राख्नु जरुरी हुन्छ । यस्ता यावत कुराले उपभोग घटेको हो ।