अन्धकारमय जीवनमा आऊ छेउ
जुनेली किरण बनेर
संघर्षको खडेरीमा आऊ छेउ
बर्सातको शीतल थोपा बनेर ।
शून्य जीवनमा आऊ छेउ
आशाको किरण बनेर
आफ्नो भूमिका निभाऊ सदा
कर्मशील बनेर ।
तिमी देख्छ्यौ सन्तानको उन्नतिमा
आफ्नो खुसी
तिमी लिन्छ्यौ सन्तानको
प्रगतिमा आफ्नो सन्तुष्टि ।
तिम्रा रहर
सन्तान फुलाउने
तिम्रो सपना
माया र करुणाको
अलौकिक बगैँचा सजाउने ।
सन्तानले दुःखको नाटकै मात्र गर्दा पनि
तिम्रो चिरिन्छ छाती
सन्तानले दुख नपाऊन् भनी
हरपल बस्छ्यौ ईश्वरलाई भाकी ।
तिमी हौ ईश्वरको सजीव मूर्ति
थाक्ने छैनौ गरेर सन्तान–
सुखको स्तुति ।
आफू हारेर सन्तान जिताउने
आफू रोएर सन्तान हँसाउने
आफू लडेर सन्तान उठाउने
आफू ओइलिएर सन्तान फुलाउने ।
तिमी हौ सन्तानको जीवनदान दिने परी
तिम्रो आगमनमा धर्तीभरि
छरिन्छ खुसी
तिम्रो बिदाइमा रुन्छ सृष्टि पनि ।