गाउँ फर्केर आउँदा
गाउँका भालेहरूले
बिहानीको सङ्केत दिनुभन्दा अगाडि
जब मस्त सुतिरहेको थियो मेरो गाउँ
चकमन्न जुनको उज्यालोमा
साह्रै विरक्तिएर गाउँको जिन्दगीसँग
सानो झोलामा सपनाहरू कोचेर
लुसुक्क सहरतिर भागेको सम्झन्छु
अहँ ! रोक्न सकेन मलाई त्यतिबेला
सङ्घारमा झरेका आमाका आँसुले
भय र सन्त्रासले आज फेरि
सहरबाट गाउँ खेदिएर आएपछि
अनि पो बल्ल चाल पाएँ
ओहो ! गाउँ छोडेको त निक्कै भइसकेको रहेछ
हिजोभन्दा झन् सुनसान भएछ गाउँ
तर विल्कुल फरक !
छेवैको रानीवन झन् धेरै बाक्लिएछ
हिजो जस्तो चराहरू आतङ्कित भएर
भाग्नु परेको रहेनछ आफ्नो गुँड छोडेर
किनकि सिकार खेल्न राखिएका बन्दुकहरू
तेलको स्याहार नपाएर खिया लाग्न थालेको रहेछ
घरमुनिको मटान
जहाँ परालको कुन्यूमा लुकामारी खेल्थ्याैं
कामै नलाग्ने गरी गर्लाम्मै झरेछ
पत्तै लाउन गाह्रो भएछ भैंसी बाँध्ने गोठहरू
बारीका कान्लाहरूमा
जहाँ हामी डालोभरिको जुन धर्तीमा रोप्थ्यौं
झाङ्गिएर झाडीहरू जङ्गलजस्तै भएछन्
स्कुल जाने
खेत झर्ने
गाउँ निस्कने
साँघुरा डोरीझैं बाटाहरू
भुइँघाँसले खर्लप्पै निलेको रहेछ
थोरबहुत गाउँमा
विकासका अर्धछिट्टाहरूले छोएको रहेछ
घरभन्दा माथि डोजरले खनिएका
कुरुप मोटर बाटोहरू
गणतन्त्रलाई जिस्काइरहेको रहेछ
र, सँगै रहेको जरुवाको चिसो पानीको धारा
जहाँ हामी गाउँभरि खेलेर आएपछि
आँतभरि तनतनी पिएर
तिर्खासँगै भोक पनि मेट्थ्यौं
त्यो पाताल भासिएछ
र, गाउँ काकाकुल भएछ
चौताराका वरपिपल जडवत्
उभिरहेकै रहेछ उस्तैगरी
तर झन् एक्लो र बूढो भएका रहेछन्
किनकि यहाँ अचेल
गाउँका बूढाबूढीहरू गफिँदै तमाखु तान्दै
शीतल ताप्न छाडेछन्
गाउँगाउँमा सिंहदरबार आको छ भन्थे
वडा र गाउँपालिका गएर खोजेँ
अहँ कतै पाउन सकिनँ
तर सुनेको छु हाम्रा प्रतिनिधिले चाहिँ
सिंहदरबार छेवैमा घर बनाएका छन् रे
धेरै अघि छोडेको मेरो गाउँ
गणतन्त्र आइसकेपछि पनि उस्तै रहेछ
पात्रहरू फेरिएछन्
गणतन्त्रचाहिँ निकै फापेको रहेछ उनीहरूलाई
दुःखको कुरा गाउँ फर्कंदा
हिजो सङ्घारमा उभिरहेकी मेरी आमा
र, मोतीजस्तै उनको आँसु
अहँ कहीँकतै देखिएन
गाउँ छाडेको धेरै वर्ष भइसकेछ
बल्ल पो थाहा भो
बाँच्नका लागि सहरबाट भागेर
फेरि आफ्नै गाउँ फर्किएपछि ।
० ० ०
राजमार्गमा बगेका आँसु
यो राजमार्गमा
घाम ओढेर हिँड्नुको पीडा
आँखामाथि टहटह जुन बस्दा
निद्रा हराएर बढेको बेचैनी र छटपटी
अनयास आँखाबाट छुटेका
नुनिला आँसुका धाराहरू
पटपटी पाइतालाहरू फुटेर
तरतरी रगत निस्किएका दुखाइ
भोकभोकै शरणार्थी जस्तै
आफ्नै देशका सडकहरूमा हिँड्नुको पीडा
छोराछोरीहरूको कलेटी परेको नीलो ओठ
र, उनीहरूको याचनायुक्त अनुहार
तिमी कसरी बुझ्न सक्छौ ?
तिमी त व्यस्त छौ
सिंहदरबारबाट फरमान जारी गर्न
सडकहरू बन्द गर !
घरभित्रै बस !
शिरोधार्य गरेकै हौं तिम्रा फर्मानहरू
हाम्रा कोठाका अँध्यारा चुला बलुन्जेल
भोकले रिँगटा लागुन्जेल
तर जब असह्य भएपछि
रोगले भन्दा भोकले मार्ने भएपछि
निस्किएका हाैं राजमार्गमा जीवन खोज्न
घरभित्र आफैंलाई कैदी बनाएर राखुन्जेल
अहँ कहिले देखेनौ
वा देख्नै चाहेनौ भोकाएका पेटहरू
औषधिविना छटपटाइरहेका दीर्घरोगीहरू
दूध चुस्न नपाएका बच्चाहरू
हरेक दिन बगिरहेको छ राजमार्गमा आँसु
तर, अहँ देख्दै देखिएन तिम्रो संवेदना
बरु निरन्तर खोजीमा रहिरह्यौ
हाम्रो लासलाई ओढाउने कात्रो
र, पुर्ने खाल्डोहरूमा
कमिसन दिने ठेकेदारहरू !
यो राजमार्गको कठिन यात्रामा
चालिएका हरेक पाइलैपिच्छे
गुन्द्रुकझैं गुम्सिएका
अनगिन्ती अनुत्तरित प्रश्नहरू
छालझैं उर्लेका छन्
हरेक दुःखी यात्रीका मस्तिष्कभरि
र, खोज्ने छ एकदिन
ती हरेक अनुत्तरित प्रश्नका जवाफ
अहिले यी दुःखीहरू
मात्र आउँदो चुनावका कुरा गरिरहेका छन्
अथवा, यस्तो पनि हुन सक्छ
जवाफ खोज्दाखोज्दै
चुनावको समयसीमा पर्खन नसक्दै
बगिरहेका यी आँसु
अनियन्त्रित भेलमा परिणत भएर
थाहा छैन कुन दिन पुनः फर्कने हुन्
यही राजमार्ग हुँदै तिम्रो राजधानी !