काठमाडौं । काठमाडौंको कमलादीबाट बरामद भएको साढे १४ किलो नक्कली सुन र २ पेस्तोल बरामद प्रकरण शंकास्पद देखिएको छ । प्रहरीले गाडीबाट फालिएको झोलामा धातु र हतियार बरामद भएको बताए पनि सीसीटीभी फुटेजमा भने फालेको नभई गाडीमा सवार व्यक्तिले प्रहरीलाई झोला दिएको खुलेको एक उच्च अधिकारीले बताए ।
यसबाट प्रहरीले नै नक्कली काम गरेको हो कि भन्ने आशंका जन्मिएको छ । यस्तै घटनास्थलसमेत कमलादी नभएर सुन्धारा हुनसक्ने अनुमान छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरेर कमलादीबाट १५ किलो धातु र २ पेस्तोल बरामद भएको बताएका थिए । उनले बा.६च ५५१९ नम्बरको स्कर्पियोबाट फालेको झोलामा सो वस्तु भेटिएको र गाडी फरार भएको बताएका थिए । परीक्षणका क्रममा १५ किलोमध्ये आधा किलो मात्रै सुन भेटिएको थियो ।
प्रहरीले कृष्ण पाउरोटी चोकमा रोक्न खोज्दा गाडी नरोकिएको र कमलादीमा झोला फालेर फरार भएको जनाएको थियो । तर सो क्षेत्रको सीसीटीभी फुटेजमा गाडी त्यहाँ नदेखिएको बताइएको छ ।
घटनास्थल परिवर्तनमा महानगरीय प्रहरी वृत्त दरबारमार्गको भूमिका शंकास्पद देखिएको एक उच्च अधिकारीले बाह्रखरीलाई बताए ।
घटनामा संग्लन आरोपमा पूर्वी नवलपरासीबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा निलेश सखिया, विजय पटेल र देवान सिंह छन् ।
प्रहरीले बा.६च ५५१९ नम्बरको स्कार्पियो भएको बताएको भए पनि ट्राफिक प्रहरीलाई भने बा.६च ५५११ नम्बरको गाडी टिपाएको थियो । ट्राफिक प्रहरीका एक उच्च अधिकारीका अनुसार घटना भएको समयभन्दा ४५ मिनेटपछि मात्रै गाडीको नम्बरबारे जानकारी गराइएको थियो । त्यसमा पनि नम्बर फरक पारेर दिइएको थियो ।