site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपा स्थायी कमिटी बैठकमा जब ‘दिल्ली’ छिर्‍यो 
SkywellSkywell

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबारको स्थायी कमिटी बैठकमा सीमा समस्या र समाधानको कार्यसूचीमाथि शीर्ष नेताले बोल्ने पालो थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले सुरुकै दिनमा मन्तव्य राखेको, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेलसमेत विषयमा बोलिसकेकाले धारणा राख्ने पालो झलनाथ खनाल र माधव नेपाललगायत नेताको थियो ।

तर, बैठक बरालिन पुग्यो । 

KFC Island Ad
NIC Asia

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटीको बैठकमा अचानक प्रधानमन्त्रीको अभिव्यक्तिले प्रवेश पाएको थियो ।

“कार्यसूची सीमा समस्या, समाधानबारे थियो । तर, आज छलफल मदन भण्डारीको जन्मजयन्तीका दिन प्रधानमन्त्री ओलीले बालुवाटारमा दिएको अभिव्यक्तिमै छलफल केन्द्रित भयो । पार्टी अध्यक्षलगायत १८ जना नेताले आफ्नो विचार राख्नुभएको छ,” प्रवक्ता श्रेष्ठले भने ।

Royal Enfield Island Ad

स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको चौथो दिन बैठकमा भाँडभैलो नै मच्चियो । बैठकमा नेताहरूको प्रस्तुति, आक्रामक शैलीले कतिपय नेता निराश बन्न पुगेका थिए । शीर्ष नेताहरूको कुरा सुनिसकेपछि दिउँसो ३ बजेतिर प्रधानमन्त्री बैठकस्थलबाट बाहिरिएका थिए । त्यसपछि उनी फर्किएर आएनन् । प्रधानमन्त्री बाहिरिएपछि बैठकमा चर्काचर्की परेको र विषय गम्भीर मोडतिर पुगेको सङ्केत बाहिर आएका स्थायी कमिटी सदस्यले दिएका थिए ।

कुर्सीबाट सुरु भएको चर्काचर्की

सत्तारूढ नेकपाको बैठकमा विषयले भन्दा कुर्सीले महत्त्व पाउँदै आएको छ । सरकारको कार्यशैली, पार्टी सञ्चालनको तौरतरिका बदल्न बैठक आयोजना गरिएको भनिए पनि बैठक ‘कुर्सी बदल्न’मा केन्द्रित छ ।

त्यसो त नेकपाको विमति, असहमति कुर्सीमै गएर ठोक्किने गरेको छ । र, यसले सुरुदेखि नै पछ्याउँदै आएको पनि छ । मंगलबार पनि बैठक सुरु हुनेबित्तिकै रघुजी पन्त र अष्टलक्ष्मी शाक्यले नेताहरूले मञ्चबाट बोलेकाप्रति आपत्ति प्रकट गरेका थिए । उनीहरूले स्थायी कमिटी सदस्य सबैको हैसियत बराबर हुने भन्दै ‘कम्युनिस्ट प्रणाली’बाट बैठक सञ्चालन गर्न माग गरेका थिए ।

स्रोतका अनुसार उनीहरू मञ्चबाट तल झरेर भुइँबाटै बैठक चलाउन नेतृत्वको ध्यानाकर्षण गराएका थिए । लगत्तै मञ्च हटाएर भुइँबाटै बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन सचिवालय केन्द्रित रह्यो ।  प्रचण्डले उपाध्यक्ष र महासचिवलाई अग्रभागमा कुर्सी राख्नुपर्ने बताएका थिए । माधव नेपाल र झलनाथ खनालले प्रतिवाद गरेपछि उनीहरूलाई पनि सोही लहरमा बस्ने प्रबन्ध मिलाइयो ।

स्मरण रहोस्, बैठकको सुरुको दिन पनि दुवै नेताले प्रतिवाद गरेपछि अध्यक्षद्वयको दायाँबायाँ उनीहरूका लागि कुर्सीको व्यवस्था गरिएको थियो । बैठक सुरु भएपछि प्रचण्डले असार १४ गते प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको प्रष्टीकरण चाहे । प्रचण्डले बैठकको सुरुआतमै नक्सा प्रकाशन गरेपछि भारतले मलाई हटाउन खोज्दैछ भन्ने अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक मर्यादाविपरीत रहेको र यसले सरकार र पार्टीलाई गम्भीर असर पुर्‍याउने बताएका थिए ।

उनले ‘दिल्लीले होइन मैले नै राजीनामा माग गरेको हुँ’ भनेर प्रधानमन्त्री ओलीलाई ठाडै चुनौती दिएका थिए । उनले वैशाख १७ गतेको परिघटना पनि सम्झाएका थिए । वैशाख १७ गतेको सचिवालय बैठकमा प्रचण्डले ‘यस्तो अवस्थामा मैले भए राजीनामा दिन्थेँ’ भनेर घुमाउरो भाषामा पद छाड्न दबाब दिएका थिए ।

लगत्तै प्रधानमन्त्रीले नक्सा प्रकरणपछि भारतीय सत्तामा उत्पन्न तरङ्गबारे जानकारी गराउन खोजेको बताएका थिए । अरू सदस्यले प्रधानमन्त्रीको जवाफ चित्त बुझाएनन् । रोलक्रममा बोलेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पहिलोपल्ट मुख फोरेर राजीनामा माग गरे । र, वामदेव गौतम पनि त्यही लहरमा उभिए ।

रोचक कुरा, दुवै नेता यसअघि बैठकमा यसरी प्रस्तुत भएका थिएनन् । राजीनामा दिने विषयमा प्रचण्डलाई साथ दिए पनि माधव मौन नै बसेका थिए ।

“केपी ओलीमा अधिनायकवादी चरित्र हाबी भएको छ । तानाशाह बनेका छन् । यस्तो अवस्थामा पार्टी पनि उहाँको नेतृत्वमा चल्दैन । र, सरकार पनि चल्न सक्दैन,” खनालले त स्पष्टै शब्दमा प्रधानमन्त्री पदमा रहन लायक नरहेको बताएका थिए ।

बिहानै रिहर्सल

प्रधानमन्त्री ओलीले पार्टीभित्र राजीनामा माग्ने आफूइतर समूहलाई दिल्लीका उक्साहटमा लागेको करार गर्न लागि परेका थिए, छन् । प्रचण्ड–माधव गठबन्धन स्रोतका अनुसार मदन जयन्तीका दिन उनको अभिव्यक्तिको निहितार्थ पनि यही थियो ।

आफू बैठकमा उपस्थित हुने, बाहिरिने र अरूका कुरा नसुन्ने ओली प्रवृत्तिबाट आजित भएकाले मङ्गबार बिहानै नेताहरू खुमलटारमा भेला भएका थिए ।  प्रचण्ड निवास खुमलटारमै आजको बैठकमा प्रधानमन्त्रीको जवाफसँगै राजीनामा माग्ने योजना तयार भएको ओली पक्षको दाबी छ । बिहानै तय भएको योजनाअनुसार प्रचण्ड–नेपाल प्रस्तुत भएको उनीहरूको तर्क छ । 

त्यही योजनाअनुसार बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्यहरू बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट र भीम आचार्यले बोलेको ओली निकट नेता बताउँछन् । मंगलबार बोल्नेजति सबै ओलीइतर समूह (प्रचण्ड–नेपाल पक्षीय) हुन् ।

चौथो दिनको बैठकमा नेताहरूको प्रस्तुति सुनेपछि बालुवाटारले ‘स्थायी कमिटी बैठकमा भारत प्रविष्ट भएको’ सङ्गीन आरोप लगाएको छ । र, प्रधानमन्त्रीको आइतबारको प्रस्तुति जबरजस्त स्थापित हुन पुगेको बालुवाटारको धारणा छ । प्रधानमन्त्री ओलीले आज पनि यही कुरा उठाएका थिए ।

“हाम्रो स्थायी कमिटीमा उठेका विषय र भारतका सञ्चारमाध्यममा आउने विषय किन मिल्दाजुल्दा छन् ?,” उनले प्रचण्ड, झलनाथ र माधवतिर औंला ठड्याएर प्रश्न गरेका थिए ।

“आजको बैठकमा नेताहरूको अभिव्यक्ति भारतीय मिडियामा आएका विषय, प्रस्तुतिसँग मिल्दाजुल्दा छन् । मूल विषयबाट बाहिरिएर प्रधानमन्त्रीको अभिव्यक्तिमा केन्द्रित हुनुको तात्पर्य के हो ? नेकपाका नेताहरूलाई भारतको बचाउ र प्रधानमन्त्रीको अभिव्यक्तिको प्रतिवाद गर्न किन पर्‍यो ?,” बालुवाटार स्रोत प्रश्न गर्दै भन्छ, “नेकपाको स्थायी कमिटी बैठकमा भारत पसेको स्पष्ट सङ्केत यही हो ।

स्याल पनि कराउनु, कुखुरा पनि हराउनु

‘स्याल पनि कराउनु, कुखुरा पनि हराउनु’, नेपालीमा प्रचलित उखान छ । नेकपा स्थायी कमिटीको बैठक यही मनोरोगको शिकार भयो । वैशाख ८ गतेको अध्यादेश प्रकरणको तरङ्ग अझै सेलाएको छैन । बैठक तातेकै छ । प्रधानमन्त्रीले जवाफ दिन बाँकी नै छ । सारमा भन्दा यो बैठक त्यही प्रकरणले निम्त्याएको हो ।

नेकपाको बैठकमा आज अर्को विषयले प्रवेश पाएको थियो । दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको भन्दै स्थायी कमिटी सदस्य सशङ्कित बन्न पुगेका थिए ।

अध्यादेश प्रकरणजस्तै नेकपा नेताले कतै ओलीकै चालबाजी त होइन भने शङ्काको सुविधा दिएको थियो । प्रवक्ता नारायणकाजीले सन्ध्या तिवारी नामकी महिलाबाट आवेदन परेको नयाँ पार्टीबारे बैठकले ओलीसँग सोधनी गरेको बताए । जवाफमा ओलीले मेरो पार्टी नेकपा हो, दर्ताका लागि निवेदन परेको पार्टीबारे आफूलाई थाहा नभएको बताएको उनको भनाइ थियो ।

कतिपय नेताले जारी बैठकलाई काउन्टर दिन एमाले पार्टी ब्युँताएको हुन सक्ने लख काटेका थिए । र, बैठकमा प्रष्टीकरण माग गरेका थिए । प्रधानमन्त्री ओली बैठक सुरु हुनुपूर्व राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । पार्टीभित्र सङ्कट आइपर्दा उनी राष्ट्रपति निवास जाने गरेका छन् । कतिपय बसाइले सङ्कट निवारण गर्न बल पनि पुर्‍याएको पनि छ ।

आज पनि उनले यसलाई निरन्तरता दिएका थिए । बिहान १०ः२८ बजे बालुवाटारबाट निस्किएका प्रधानमन्त्री बिहान ११ः२० बजेतिर प्रधानमन्त्री निवास प्रवेश गरे । र, त्यहीँबाट सीधै बैठक कक्षमा गएका थिए । यसलाई पनि नयाँ ‘चालबाजी’का रूपमा लिँदै स्थायी कमिटी सदस्य थप आक्रोशित बन्न पुगेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro