
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण मुलुक ठप्प प्रायः भएको तीन महिना नाघिसकेको छ । यसै कारण पनि नेपाली खेलाडी स्वतन्त्र रूपमा मैदानमा फर्किन पाएका छैनन् ।
बन्दाबन्दी सुरु हुनुभन्दा करिब दुई साता अघिदेखि नै प्रशिक्षण गर्न नपाएका नेपाली खेलाडी मैदान फर्किन आतुर छन् । तर कहिले फर्किने भन्ने अनिश्चितबाट भने उनीहरू पीडित छन् । उनीहरूलाई मैदान बिरानो हुँदै गएकामा पीर छ ।
मैदानको दुबोसँग अभ्यस्त हुन रुचाउने उनीहरू कम्पाउन्डमा खुम्चिएका छन् । देशका लागि पदक ल्याउने अभिलाशासहित अभ्यस्त रहने उनीहरूलाई बन्दाबन्दीले सीमित दायरामा खुम्च्यायो ।
टोकियो ओलम्पिकमा ’वाइल्ड कार्ड’ बाट इन्ट्री गर्ने मौका पाएका करातेका नवीन रसाइली नेपाल कराते संघको सम्पर्कभन्दा टाढा छन् । तीन महिनादेखि संघले कुनै सम्पर्क नगरेको उनले बताए । बालाजुमा बस्दै आएको रसाइलीले लकडाउन सुरु भएको सुरुवाती केही साता नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्पर्क गरे पनि त्यसपछि सम्पर्कबाट पनि टाढा रहेको उनको भनाइ छ ।
यो उदाहरणले महामारीको समयमा समस्या परेका खेलाडी सम्बन्धित संघ र निकायको सम्पर्कभन्दा धेरै टाढा छन् भन्ने प्रस्ट्याउँछ । खेलाडी कहाँ छन् ?, कुन खेलाडीलाई कस्तो समस्या परेको छ ? भन्नेमा संघ बेखबर छ । न त सम्बन्धित संघ, न त नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ले नै सोध खोज ग¥यो ।
यो अवधिमा सरकारले विभिन्न प्याकेज ल्यायो तर खेलाडीलाई सम्बोधन गरेन । सरकारले महामारी न्यूनीकरण र समस्यमा परेकाहरूका लागि १० अर्ब रुपैयाँ खर्च गरेको घोषणा गरिरहेका बेला खेलाडीका लागि भने कुनै प्याकेज नहुनु खेलकुदप्रति उपेक्षा मान्न सकिन्छ ।
वर्षौंदेखि नेपाली राष्ट्रिय खेलाडीको भूमिकामा रहेकालाई महामारीको अवस्थामा कुनै सोधखोज नहुनु दुखद हो । नविनजस्ता ओलम्पिकमा सहभागी हुने खेलाडी सम्पर्कभन्दा बाहिर रहनुले नेपाली खेलकुदको अवस्था उदांगो हुन्छ ।
केही संघका खेलाडीले गुनासो गरे पनि केहीमा भने अवस्था उल्टो छ । अखिल नेपाल फुटबल संघले बन्दाबन्दीको कठिन अवस्थालाई मध्य नजर गर्दै आबद्ध खेलाडीलाई राहतको प्याकेज घोषणा गरेको छ । १५–१५ हजार रुपैयाँको राहत प्याकेजले खेलाडीमा अभिभावकत्व महसुस भयो ।
यस्तै नेपाल जुडो संघले पनि आबद्ध खेलाडीसँग निरन्तर सम्पर्क गरिरहेको छ । यद्यपि कुनै राहतका प्याकेज भने घोषणा गरेको छैन । १३औं सागकी स्वर्ण पदक विजेता देविका खड्काले जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले सधैं सोधखोज गरेको बताइन् ।
नेतृत्व निकाय खेलाडीभन्दा टाढा
अहिलेसम्म खेलाडीको समस्याबारे सुन्नमा नआएको तेक्वान्दो संघका सचिव तथा पूर्वओलम्पियन दीपक विष्ट बताउँछन् । उनले खेलाडीलाई कुनै समस्या भएको र समस्यामा परे खबर गर्न ताकेता गरेको दाबीसमेत गरे ।
तर, राखेप र सरकारबाट भने अहिलेसम्म समस्यामा परेका खेलाडीका लागि भन्दै विशेष राहत प्याकेज ल्याएको सुन्नमा नआएको उनले बताए । उनले ओलम्पिक कमिटीमा यसका लागि आह्वान गरे पनि हालसम्म कुनै प्रतिक्रिया नआएको बताए ।
“हामीले पनि समस्यामा परेको पारा तेक्वान्दो खेलाडीहरूलाई घरमै पुगेर सहयोग ग¥यौं । संघहरूले समस्यामा परेको खेलाडीलाई राहत वितरण गरेको छ । तर, सहयोग सन्तोषजनक छैन,” विष्टले भने ।
तेक्वान्दो संघले प्रशिक्षण स्थगित भएको एक सातापछि खेलाडी कहाँ र कस्तो अवस्थामा छन् भन्ने विषयमा खोजी गरेको उनले बताए । राष्ट्रिय खेलाडीको खोजी गर्दै भर्चुअल प्रशिक्षण पनि सुरु गरेको उनको दाबी छ । उनले अहिलेसम्म जुममा प्रशिक्षण चलिरहेको जानकारी दिए । आफूले खेलाडीको जानकारी लिँदै संघका अध्यक्षलाई जानकारी गराएको उनको भनाइ छ । तर, संघसँग बैठक बसेर खेलाडीका कुनै लागि ठोस निर्णय गर्न भने नसकेको विष्टले बताए ।
“हामीले व्यक्तिगत रूपमा खेलाडी को–कहाँ र कस्तो अवस्थामा छन् भनेर सोधखोज गरेका छौं । संघबाट भने यस्तो खासै कुनै निर्णय भएको छैन । तर, म संघको सचिव भएकाले संघले नै सोधीखोजी गरेको मान्न सकिन्छ,” विष्टले भने ।
उनले तेक्वान्दोका राष्ट्रिय खेलाडीको खोजी गर्दा सबैको स्वास्थ्य सामान्य पाएको जानकारी दिए । उनले यस्तो अवस्थामा खेलाडी स्वास्थ्य भेटिनु सबैभन्दा सकारात्मक पक्ष रहेको बताए ।
रोजाइमा परेनन् खेलाडी
लकडाउनबीच केही खेलाडी स्वयं सहयोगका लागि सक्रिय देखिएका थिए । तर, तिनीहरूको रोजाइमा पनि खेलाडी पर्न सकेनन् । उनीहरूले विभिन्न क्षेत्रमा सहयोग गर्दा आफ्नै क्षेत्रमा समस्यामा परेका खेलाडीलाई भने कुनै चासो देखाएनन् ।
नेपाली खेलाडीको अवस्था दयनीय नभएको र सहयोग नै गर्नुपर्ने अवस्था नरहेकाले त्यो रोजाइमा पर्न नसकेको विष्टको आकलन छ । उनले महामारीको अवस्थामा खेलाडीले विभिन्न क्षेत्रमा गरेको सहयोग र सहकार्य सरहानीय भएको बताए ।
अहिले गृहजिल्ला कञ्चनपुरमा रहेका १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तेक्वान्दो खेलाडी वीरबहादुर महराले संघबाट कुनै सोधखोज नभएको बताए । उनले प्रशिक्षक विष्टसँग दैनिकजसो वार्ता भए पनि संघबाट भने कुनै खोजी नगरेको गुनासो गरे ।