site stats
बाह्रखरी :: Baahrakhari
विचार
राजा दरबारबाट निक्लँदा 

संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते मध्यरातमा २४० वर्ष लामो राजतन्त्रको विधिवत् अन्त्य गर्दै गणतन्त्र घोषणा गरेपछिको प्रसंग हो । अन्तरिम संविधान संशोधन गरी राष्ट्र प्रमुखका रुपमा राष्ट्रपतिको व्यवस्था गरिएको थियो तर पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोड्लान् कि नछोड्लान भन्ने संशय हटिसकेको थिएन ।  

सरकारले दरबारको सम्पत्ति मूल्याङकन तथा लगत संकलनका लागि सामान्य प्रशासन मन्त्रालयका सचिव गोविन्द कुसुमको संयोजकत्वमा कार्यदल बनाए पनि त्यसले काम गर्न सकेको थिएन । यस्तैमा एक दिन कुसुमले गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग काम गर्ने वातावरण बनाई दिन आग्रह गरे । 

कुसुम : मन्त्रीज्यू, काम गर्न गाह्रो भयो । सानो सानो कुरामा पनि दरबारका कर्मचारीमाथि जाहेर गर्नुपर्छ मात्र भन्छन् । 

Argakhachi Cement Island Ad

सिटौला : ठीक छ म गिरिजाबाबु (प्रधानमन्त्री)सँग कुरा गर्छु । 

तिनताका सञ्चार माध्यममा ‘पूर्व राजा दरबार छोड्न तयार भएनन्, नारायणहिटीबाट ट्रकका ट्रक अमुल्य सामान निर्मल निवास ओसारियो । दरबारमा महत्वपूर्ण कागजात जलाइयो’ यी र यस्तै समाचार आइरहेका थिए । 

यही वातावरणमा गृहमन्त्री सिटौला र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच राजालाई नारायणहिटीबाट सारेर गणतन्त्र कार्यान्वयन गर्ने विषयमा छलफल भयो । 

सिटौला : गिरिजाबाबु संविधानसभाले गणतन्त्र घोषणा त गर्‍यो तर यस बारेमा पूर्वराजाको के विचार छ भेटेरै बुझ्नु जरुरी छ । 

कोइराला : ठीक छ तपाईँँ जानुस् । म दरबारका मुख्यसचिव पशुपतिभक्त महर्जनलाई फोन गरिदिन्छु । 

प्रधानमन्त्रीको आदेशपछि सिटौला दलबलसहित दरबार पुगे । उनको टोलीमा मुख्यसचिव भोजराज घिमिरे, गृहसचिव उमेशप्रसाद मैनाली, गृहमन्त्रालयका प्रवक्ता मोदराज डोटेल र दरबारको सम्पत्तिको लगत लिन गठित समितिका संयोजक गोविन्द कुसुम थिए । बिहान १० बजेको कुरा हो, गृहमन्त्री सवार गाडी दरबारको पश्चिम गेटमा गएर केही बेर रोकियो । गृहमन्त्रीले आफ्नो अंगरक्षकतर्फ नजर लगाए । तर उसलाई सिटमा देखेनन् । 

सिटौला : खै त मेरा गार्ड ? 

दरबारका गार्ड : दरबारको परम्पराअनुसार गेटमै ओरालिए । 

सिटौला : मेरो गार्डलाई रोक्ने आदेश कसले दियो ? राजातन्त्रको अन्त्य भइसक्दा पनि कसको आदेश ? अब नागरिक सरकारको आदेश चल्छ । म गृहमन्त्री मेरो गार्ड रोक्ने तिमी को ? 

सधै शान्त स्वभावमा प्रस्तुत हुने गृहमन्त्री सिटौलाको पारो चढेर आयो । आफ्नो गार्डलाई संकेत गर्दै भने ‘हैन तिमी कसको गार्ड हँ ?’ गार्ड केही बोलेनन् । चुपचाप मोटरमा चढे । दरबारमा तैनाथ सुरक्षाकर्मी पनि चुपचाप थिए । 

गृहमन्त्रीको मोटर राजा ज्ञानेन्द्र बस्ने गरेको महलतर्फ हुइँकियो । 

पशुपतिभक्त महर्जनसहित उच्च कर्मचारी र सैनिक अधिकारीका साथ सामान्य कुर्ता पाइजामा लगाएका तत्कालीन राजा ज्ञानेन्द्रले गृहमन्त्रीको स्वागत गरे । 

सिटौला : संविधान सभा निर्वाचन र गणतन्त्र घोषणालाई शान्तिपूर्णरुपमा स्वीकार गर्नु भएकोमा म सरकारका तर्फबाट हजुरलाई धन्यवाद दिन आएको । विश्वमा राजतन्त्रको अन्त्य हुँदा ठूला ठूला घटना भएका छन् तर तपाइँले जनताको निर्णयलाई जुन प्रकारले सहजरुपमा स्वीकार गर्नुभयो त्यसका लागि प्रधानमन्त्रीले धन्यवाद दिनु भएको छ । 

ज्ञानेन्द्र : (टाउको हल्लाएर कुरा सुनी रहे)

सिटौला : के गर्ने नेपालमा राजतन्त्रको नियति नै यस्तै रहेछ,  तपाईँको कार्यकालमा आएर टुंगिनु पर्ने । तपाईँले परिवर्तनलाई आत्मसात गरेकोमा प्रधानमन्त्री सन्तुष्ट हुनुहुन्छ । 

ज्ञानेन्द्र : (सुनिरहे) ।

सिटौला : सरकारले नारायणहिटी दरबार १५ दिनमा खाली गरी संग्रहलय बनाउने निर्णय गरेको छ । तपाइँले त्यसमा पनि सदा झैँ सहयोग गर्नु नै हुनेछ । यसबीच पत्रपत्रिकामा तपाईँले दरबार छोड्नुहुन्न, बहुमल्य सामान दरबारबाट बाहिरिए र महत्त्वपूर्ण कागज जलाइए भनेर प्रकाशित समाचारबाट सरकार चिन्तित छ । 

ज्ञानेन्द्र : पत्रपत्रिकामा झूठा समाचार आएका छन् । यहाँ त्यस्तो केही भएको छैन । कसरी यस्तो समाचार आयो ? म पनि त्यसबाट दुखी छु ।  

सिटौला : तपाईँले जनताको निर्णयलाई सहर्ष स्वीकार गरेर सहयोग गर्नुभएको छ । सरकारलाई जानकारी गराई जाने बेला प्रेससँग आफ्नो कुरा राख्नु उचित हुनेछ । 

ज्ञानेन्द्र : गृहमन्त्रीसँग म छुट्टै कुरा गर्न सक्छु ।

अनि हलबाट गृहमन्त्री सिटौलासँग आएको टोली बाहिर निस्कियो । शाह र सिटौलाबीच ४५ मिनेट छुट्टै कुरा भयो । 

ज्ञानेन्द्र : मसँग बस्ने ठाउँ छैन । मुमा बडामहारानी रत्न  र ९४ वर्षकी हजुरआमा (सरला मानन्धर राजा त्रिभुवनकी कान्छी रानी) हुनुहुन्छ । उहाँहरुको ‘सेन्टिमेन्ट’को विषय छ । 

सिटौला : यो ठूलो कुरा होइन, समाधान गर्न सकिन्छ भन्ने मलाई लाग्छ । प्रधानमन्त्रीले तपाईँको हजुरबुबा त्रिभुवन, बुबा महेन्द्र, दाजु वीरेन्द्रका पालामा राजनीति गर्नुभयो । तपाईँको कुरा बुझेर सहयोग गर्नु हुनेछ । पूर्व राष्ट्र प्रमुखको हैसियतमा तपाइँलाई सुरक्षा र आवास सुविधा दिन सकिन्छ म प्रधानमन्त्रीज्यूसँग सल्लाह गरेर खबर पठाउँछु । 

ज्ञानेन्द्र : मलाई नागार्जुन बस्न दिए पनि मैले बेला बेलामा आमा र हजुरआमालाई भेट्न यहाँ आई रहनुपर्छ । 

सिटौला : त्यो ठूलो कुरो होइन । मिल्छ । 

ज्ञानेन्द्र : गृहमन्त्रीज्यू, राणाहरुले राजमुकुट साथमै लिएर गएका थिए भन्ने सुनेको छु । 

पूर्वराजाले राजमुकुट हस्तान्तरण नगर्ने संकेत गरे । 

सिटौला : राणाहरुले मुकुट नबुझाएकाले नै आज जनतालाई उनीहरुको मुकुटबारे केही थाहा छैन । मुकुट बेचेर तिनीहरुले केही करोड रुपैयाँ पाए होलान् । सम्पत्ति सञ्चय गरेर के हुन्छ र ? छोरा नातीको पालासम्म त त्यो सकिन्छ नै । शाहवंशको श्रीपेचलाई राष्ट्रिय सम्पत्तिका रुपमा राख्ने भनेर नै नारायणहिटीलाई राष्ट्रिय संग्राहलय बनाउने निर्णय भएको छ र यो दायित्व सरकारले पूरा गर्नेछ । यो अमुल्य सम्पत्ति इतिहासमा शाहवंशकोे चिनोका रुपमा चिरकाल पर्यन्तसम्म जनताले हेर्न पाउनेछन् । 

सुरुमा राजमुकुट आफ्नै साथमा राख्ने मनसुवा व्यक्त गरेका ज्ञानेन्द्र शाह पछि सरकारलाई हस्तान्तरण गर्न राजी भए । 

सिटौला : सरकारले सम्पत्ति (दरबार) को लगत तयार गर्न गठन गरेको समितिले काम गर्ने वातावरण छैन । तपाईँले सहयोग गर्नु पर्‍यो । म अहिले सहयोगीसहित हजुरको  दरबार हेर्न चाहन्छु । 

ज्ञानेन्द्र : (मुसुमुसु हाँस्दै) हुन्छ हुन्छ । पशुपति (प्रमुख सचिव) गृहमन्त्रीजीलाई सबैतिर देखाइ दिनू । यहाँ मेरो गाई गोठ पनि छ मन्त्रीज्यूले त्यो पनि हेरिदिनु पर्‍यो । 

क्षणभरमै एउटा बस आइपुग्यो । 

सिटौला : हैन, यो बस केका लागि ?’

पशुपति : यहाँ चलन यस्तै छ । घुम्न आयो भने यसैमा राखेर लैजाने गरिन्छ । 

सिटौला : हैन म मेरै गाडीमा जान्छु । 

पशुपति : ए ल ल ! गृहमन्त्रीज्यूलाई आफ्नै मोटर ल्याइदिनुस् । 

त्यो क्षणबारे पूर्व गृहमन्त्री सिटौलाले लेखकलाई सुनाए– ‘दरबारको चलन नै त्यस्तै रहेछ । पूर्वराजाको गाईगोठमा साँच्चै रहर लाग्दा ठूला ठूला कचौडा भएका गाई देखेपछि म दंग परेँ ।’ 

दरबार परिसरको निरीक्षण गरेपछि सिटौलाले दरबारका कर्मचारी, सैनिक अधिकारी र नेपाल सरकारका अधिकृतहरुको संयुक्त बैठकलाई संवोधन गरे । त्यसको मूल उद्देश्य थियो– ‘२४० वर्ष लामो राजतन्त्रको संस्कारमा हुर्किएका कर्मचारीलाई नयाँ परिवर्तनको संस्कारमा रुपान्तरण गर्ने ।’ 

सिटौला दरबारबाट सिधै बालुवाटारतिर लागे । प्रधानमन्त्री कोइरालालाई पूर्वराजासँगको भेटबारे विवरण दिए । गाईको प्रसंग सुनाउँदा प्रधानमन्त्रीसमेत दंग परेका थिए । त्यसपछि गृहमन्त्रीले ‘दरबारका गाई रानीहरु जीवित रहँदासम्म पाल्न दिनु भन्ने आदेश दिए ।’

जनताको आदेशलाई शान्तिपूर्णरुपमा स्वीकारेका कारण पूर्व राष्ट्रप्रमुखको हैसियतमा ज्ञानेन्द्रलाई सुरक्षा र निवासका लागि नागार्जुन दरबार दिने प्रस्ताव २०६५ जेठ २२ गतेको मन्त्रिपरिषद्मा प्रस्तुत भयो । त्यही बैठकमा पूर्व बडामहारानी रत्ना र ९४ वर्षीया हजुरआमा सरलालाई बाँचुन्जेल नारायणहिटी राजदरबारभित्र उनीहरुले प्रयोग गर्दै आएको बंगला दिने प्रस्ताव गरियो ।   

परन्तु, माओवादी मन्त्रीहरु हिसिला यमी र मातृका यादवले त्यस प्रस्तावको विरोध गरे । 

हिसिला : रत्नलाई नारायणहिटी दरबारमा बस्न दिनु षड्यन्त्र हो । नौनी जस्तो बोल्ने गृहमन्त्री सिटौला राजालाई ठूलो दरबारबाट सानोमा सार्न षड्यन्त्र गरिरहेका छन् । यो कुरा हामीलाई मान्य छैन । 

सिटौला : (झनक्क रिसाउँदै) हिसिलाजी ८० वर्ष नाघेकी रत्न र सरलालाई हठात् हटाउँदा जे पनि हुन सक्छ । मानवीय आधारमा पनि हेर्नुपर्छ । 

हिसिला : ‘सेन्टिमेन्ट’को कुरा गरेर दरबारमा उनीहरुलाई राख्न मिल्दैन । 

सिटौला : ठीक छ । उनीहरुलाई तानेर दरबारबाट हटाउनुस् । मेरो प्रहरी जाँदैन । 

माओवादीबाट सरकारको नेतृत्व गर्ने सञ्चारमन्त्री कृष्णबहादुर महरा भने केही बोलेनन् ।  

प्रधानमन्त्री र गृहमन्त्रीले बैठकमा माओवादी मन्त्रीलाई सम्झाउने प्रयत्न गरे । 

कोइराला : ‘जनताको निर्णय आत्मसात गर्दै उनी (ज्ञानेन्द्र) शान्तिपूर्वक दरबार छोड्न तयार भइसके । हामीले सानो चित्त राख्नु हुँदैन । 

हिसिला र मातृका : दरबारको अवशेष राखिरहने कुराको समर्थन गर्न सकिँदैन । हामी यसको पक्षमा छैनौ । 

माओवादी मन्त्रीले अडान छोडेनन् । अन्त्यमा निर्णय लिन प्रधानमन्त्रीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजी गराउनु पर्‍यो । 

कोइराला : हेर्नुस् प्रचण्डजी तपाईहरुलाई जंगलबाट ल्याउँदा हामीले यति धेरै दिएका छौँ । २४० वर्षको राजतन्त्र हटाउँदा एउटा नागार्जुन दिन किन यति गाह्रो ? 

प्रचण्ड : ठीक छ गिरिजाबाबु तपाईँ प्रधानमन्त्री हो । निर्णय गराउनुस् । म विरोध गर्दिन । 

यसरी सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा ज्ञानेन्द्रलाई नागार्जुन दरबार प्रयोग गर्न दिने निर्णय गर्‍यो । उनकी आमा रत्न र हजुरआमा सरलालाई नारायणहिटीभित्रै बस्ने अनुमति दियो । जेठ अन्तिम साता आफैँले चलाएको मोटरमा कोमल –तत्कालीन बडामहारानी) का साथ नेपालका अन्तिम राजा ज्ञानेन्द्र नारायणहिटी दरबारबाट बाहिरिए । 
 

प्रकाशित मिति: आइतबार, असार ७, २०७७  १७:०४
प्रतिक्रिया दिनुहोस्