चितवन । घडीको सुईले बिहानको ८ बज्न बल गर्दै थियो । बीपी कोइराला क्यान्सर अस्पताल भरपुरको बाटो छेउकै चौतारोमा एकै परिवारका तीन जना सदस्यमध्ये एकजना बालक म्याटमा सुतिरहेका थिए । त्यही बालकको पिंडुलादेखि टाउकोसम्म एउटी महिलाले सुम्सुम्याउँदै थिइन् भने अर्का एक पुरुष झोलाबाट कागज झिकेर ओल्टाइपल्टाइ गरिरहेका थिए । शुक्रबारको यो घटना टाढाबाट हेर्दा उनीहरु रुखको छहारीमा थकाई मारेर बसेको भान हुन्थ्यो । तर, स्थिति त्योभन्दा धेरै फरको थियो ।
कैलालीको गोदावरी नगरपालिका अत्तरियाबाट आफ्नो बाह्र वर्षे छोरालाई उपचार गर्न यहाँ आएकी दुर्गादेवी जोशी ३१ दिनदेखि यतै छिन् । बालक छोराको रक्त क्यान्सरको उपचार गर्न उनी यहाँ आएकी हुन् । देवरसँगै आएकी उनको दैनिकी छोराको उपचारका लागि अस्पतालका प्रत्येक कक्षको ढोका चाहर्दैमा बितेको छ । उनको यो बसाई र पीडा कुनै दुःखान्त चलचित्रको कथाभन्दा कम दर्दनाहक छैन ।
उनका अनुसार करिब दुई महिना अघि जोशीका छोराले घाँटी दुख्यो, टाउको दुख्यो भने । सामान्य होला भनेर घर नजिकैको मेडिकलमा जचाउन पुगिन् । चिकित्सकले टाउको दुखेको र दुखाइ कम गर्ने औषधि दिएर पठाए । तर उनको दुखाइ र छटपटी कम हुनुको सट्टा झन बढ्दै गयो । फेरि नजिकैको ठूलो माया मेट्रो अस्पतालमा जँचाउन पुगिन् । डाक्टरकै सल्लाह अनुसार सिटी स्क्यान गरिन् ।
‘पहिले घाँटी दुख्यो भन्यो, पछि फेरि रोग नाकमा सरेछ श्वास फेर्ने गाह्रो भयो भन्यो ।’ छोराको उपचारका लागि भएको सास्तीबारे उनले सुनाइन् । फेरि सेती अञ्चल अस्पताल लगिन् । त्यहाँ रगत, दिसा, पिसाब, सबै जाँच गरेपछि पनि रिपोर्टमा केही देखिएन, खाएको औषधिले पनि बिमार निको हुने छाँट काँटनै देखिएन ।
उनको छोराको मुखभित्र माथिल्लो तिर सुनिएको छ त नाकभित्र पनि मासु पलाएको छ । ‘बेलाबेलामा घाँटी र टाउको सहनै नसक्ने गरी दुख्छ । रुन्छ, कराउँछ ।’ छोरालाई मुसार्दै उनी भक्कानिइन् ।
धनगढीकै अस्पतालमा उपचारबाट केही सीप नलागेपछि चिकित्सकले चितवन रिफर गरेपछि उनी क्यान्सर अस्पताल आइपुगेकी हुन् । उनलाई जेठो छोराको पीर त छँदैछ घरमा भएका अन्य ४ जना छोराछोरीको यादले झनै समातेको छ । ‘श्रीमान् पनि इन्डिया हुनुहुन्थ्यो, अहिले २२ दिन क्वारेन्टिन बसेर घर पुग्नु भो भन्ने सुनेकी छु ।’ उनले सन्तोषको सास फेरिन् ।
देशकै ठूलो क्यान्सर अस्पतालमा बिरामीको धेरै चाप हुने र उपचार गर्न पनि लामो समय लाग्ने हुँदा यहाँ भारत लगायत देशभरिबाटै उपचारका लागि बिरामी आउने गर्दछन् ।
‘कैलालीबाट यहाँ एम्बुलेन्स खोजेर आइयो , यहाँ आउँदा सबै सुनसान ।’ उनले व्यथा बिसाइन् । पहिलो दिन आउनै ढिला भएकाले अस्पतालकै छेउतिर ती परिवारले रात काटे । ‘अस्पतालले क्वारेन्टिनमा बस्नु भन्यो, ५ दिनपछि मात्रै हामीलाई छिर्न दियो । उनले अस्पताल आउँदाको क्षण सुनाइन् ।
लकडाउन सुरुभएयता मेडिकल पसल र केही खाद्यान्न पसलबाहेक सबै होटलहरु बन्द छन् जसका कारण यहाँ आउने बिरामीलाई सास्ती त छँदैछ कुरुवाको समेत विजोग छ । ‘अस्तिबाट बल्ल होटल लज खुलेका छन् उनले भनिन्, तर सुत्न पाइन्छ खान पाइँदैन भन्छन् । त्यसैले आज रिपोर्टले के भन्छ त्यही गर्नुपर्ला ।’
अस्पतालले कोरोना सुरक्षा विधि अपनाउन भन्दै भीडभाड कम गर्न अत्यावश्यक बिरामीबाहेक अन्य बिरामीलाई भर्ना गर्दैन । ‘हिजोसम्म त बाबुलाई वार्डमा राखिदिएको थियो, उनले भनिन् बिहानै डिस्चार्ज भयो भन्दै पठाइदियो ।’
त्यसैले यो परिवार अस्पतालको चौतारामा आएर आड लिएको रहेछ । बिहीबार ढाडको मासी निकालेर ल्यावमा लगेको र शुक्रबार दिउँसो रिपोर्ट आउने आशमा उनीहरु पर्खाइमा छन् । उनका अनुसार चिकित्सकले क्यान्सरको संक्रमण हड्डीसम्म फैलिए उपचार सम्भव नहुने बताएका छन् । रिपोर्टमा हड्डीमा क्यान्सर नफैलिए उपचार यहीं हुन्छ भनेको छ ।
उनी जस्तै यहाँ आउने बिरामी र कुरुवाको हविगत उस्तै छ ।
सप्तरीबाट श्रीमतीको पेटको क्यान्सर जँचाउन आएका दिलीपकुमार यादव गुनासो गर्छन्, ‘एक महिना भयो आएको, दिनदिनै रिपोर्ट देखाउने जँचाउने काम मात्र भएको छ ।’ उनका अनुसार अस्पतालले क्यान्सरका बिरामीको रिपोर्ट दिन नै ढिलाइ गर्छन् । पेट फुलेर, पेट दुखेर श्रीमतीलाई ल्याएँ अझ पनि अपरेसन भएको छैन ।
‘अस्पतालले भर्ना नलिएका कारण विगत एक महिनादेखि अस्पतालकै चौरमा खाना पकाउने र अस्पतालको भवन बाहिर सुत्नुपरेको उनले बताए । ‘पहिला त अस्पतालभित्रै खाना बनाउन दिन्थ्यो, अहिले होटल खुलेपछि यहाँ खाना पनि दिन्न, सुत्न पनि दिन्न, लेखेट्छ ।’ यादवले अस्पतालले दिएको यातना सुनाए ।
अस्पतालका निर्देशक डाक्टर देजकुमार गौतम भने बिरामीका लागि अस्पतालले सास्ती नदिएको दाबी गर्छन् । ‘पहिला सरदर दैनिक सात सय बिरामी आउँदा पनि जनशक्ति र सेवा उही हो, उनले भने, अहिले दुई सयको हाराहारीमा बिरामी आउँदा पनि हाम्रो सेवामा कमी आएको छैन ।’
तर, स्वास्थ्य सुरक्षाका कारण अस्पतालमा एक बिरामीलाई एक कुरुवा मात्र बस्न मिल्ने व्यवस्था गरेको छ । कोरोना सुरक्षा सर्तकताका लागि अस्पतालको गेटबाटै नियमित ज्वरो जाँच, सेनिटाइजिङ्ग सुविधा र सामाजिक दूरी अपनाएर काम गर्नुपर्ने बाध्यताका कारण सेवाग्राहीलाई केही अप्ठ्यारो पर्न सक्ने गौतमको भनाइ छ ।
जनशक्ति र सेवा सुविधा चुस्त र दुरुस्त भनिए पनि क्यान्सर अस्पतालका अधिकांश चिकित्सक समयमा नआउने र आए पनि चाडै नै निजी अस्पतालमा धाउने गुनासो सेवाग्राहीले गर्दै आएका छन् ।