site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशी भूमिमा स्वदेश खोज्दै
SkywellSkywell

यादव खरेलको नाम आफैमा सिंगो परिचय हो । उनको नाम अघिल्तिर विशेषणको फुँदा जोडिरहनु पर्दैन ।

तथापि, नेपाली गीत र सिनेमाका यी हस्ती व्यक्तित्व नियात्राकार पनि हुन भन्ने धेरैलाई थाहा नहुन सक्छ । उनको नियात्रासंग्रह ‘समुद्रपारि’ पहिलो पटक प्रकाशन भएको पनि पाँच दशक बितिसकेको छ । जसको पछिल्लो संस्करण २०७४ सालमा प्रकाशित भएको थियो । यतिबेला बन्दाबन्दी (लकडाउन) को सदुपयोग गर्दै नियात्राकार खरेल अर्को नियात्रासंग्रहको लेखनीमा होमिएका छन् । यतिबेला यादव खरेलका नियात्रासँग जोडिएका केही प्रसंग यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ । 

यो समय त्रासपूर्ण छ । कतै केही राम्रो हेर्न र सुन्न पाइएको छैन । सबैतिरबाट डिस्टर्व मात्रै भएको उनको स्वीकारोक्ति छ । र, पनि समय यतिकै खेर फाल्नुभन्दा नियात्रा लेखनमा खर्च गर्दा उपलब्धिमूलक हुने देखे उनले । त्यसैले पनि तयारी गर्दैछन् अर्को नियात्राकृतिको । २०२४ सालतिर यादव खरेल चलचित्र निर्देसनमा डिप्लोमा गर्न बेलायत गए । उनले बेलायतमै रहेका बेला बिदाको समयमा युरोपका केही मुलुकहरू घुम्‍ने मौका पाए ।

KFC Island Ad
NIC Asia

देश विदेश घुम्‍ने रुची यादव खरेलमा पनि थियो । साथै यिनको रुची लेखनमा पनि थियो । त्यसैले उनले आफू घुमेका ठाउँ, त्यहाँ प्राप्त गरेको अनुभव, त्यहाँको परिवेश र पक्षहरूले पारेको प्रभाव, आफ्नो डायरीमा टिपोट गर्दै गए । अन्य मुलुकहरूको भ्रमण गरेर उनी बेलायत फर्किए र यात्रामा भोगेका सारा कथा–व्यथा अक्षरहरूमा समट्दै गए । यसरी ‘समुद्रपारि’को पाण्डुलिपि बेलायतमा बस्दा नै सिध्याए । 

उनी आफ्नो अध्ययन र तालिम सिध्याएर नेपाल फर्किए । त्यसपछि मात्रै ‘समुद्रपारि’ प्रकाशनमा आयो । खरेलका अनुसार २०२६ सालमा पहिलो पटक यो पुस्तक प्रकाशित भयो । त्यसपछि २०३० सालमा दोस्रो संस्करण र २०७४ सालमा तेस्रो संस्करण आयो । हुन त यो पुस्तकभन्दा अगाडि नै २०२३/०२४ साल तिरै ‘अनि एउटा लहर बिउँझिन्छ’ शीर्षकको उनको कवितासंग्रह प्रकाशित भइसकेको थियो । तर, उनको नाम गीत लेखनमा बढी चलेकाले यो कवितासंग्रह त्यति चर्चामा नआएको खरेल बताउँछन् । 

Royal Enfield Island Ad

मंगलबार साँझ फोनमा कुरा गर्दै यादव खरेलले भने, “मेरो युरोप भ्रमण कालको अनुभूति हो ‘समुद्रपारि’ । उतिबेला अहिलेजस्तो संसार मोबाइलमा अटाउँने गरी सानो भइसकेको थिएन ! अहिले त संसार खल्तीमै अटाउँछ । जे हेरौं भन्यो, त्यही पाइन्छ । त्योबेला टेलिफोन पनि थिएन । आकाशवाणी थियो । नेपालबाट बेलायत चिठी पुग्‍न नौ दस दिन लाग्दथ्यो । सञ्चारको विकास नभएको हुँदा नेपाल एकदमै टाढा थियो ।” 

आफ्नो मुलुकभन्दा सात समुद्रपारिको त्यो देशमा देखेका भोगेका कुराले उनलाई अनौठो अनुभूति गरायो । उनी फेरि भन्छन्, “त्यो समयमा पनि बेलायत संसारकै विकसित र राम्रो मुलुक मानिन्थ्यो । अमेरिकाको त्यति चर्चा थिएन । उपल्लो तहमा पुगेर विकास गरेका ती मुलुकहरू हेर्दा आफैंलाई अनौठो अनुभूति हुन्थ्यो । त्यसैले मैले आफ्नो त्यो अनुभव नेपाली पाठकहरूसँग पनि सेयर गरौँ भनेरै नियात्रासंग्रह लेखेको थिएँ ।” 

उनले आफूले ‘समुद्रपारि’ लेख्दाको पृष्ठभूमि बताउँदै गए । यादव खरेलका अनुसार हरेक दिनको टिपोट महत्त्वपूर्ण हुन्थ्यो । नयाँ मुलुक घुम्‍न जाँदा आफूलाई घतपरेका कुरा, रमाइलो लागेका कुरा, मनलाई छोएको विषयमा उनी विशेष ध्यान दिन्थे ।

उनी दिनभरि घुम्थे । साँझमा आफू बसेको ठाउँमा पुगेपछि सानासाना, मसिना विषयहरू पनि नोटबुकमा टिप्थे ।  यादव खरेल भन्छन्, “तर घुमाइकै क्रममा मैले नियात्रा लेख्‍न भ्याइनँ । घुम्दैमा दिन बित्यो । जब लन्डन फर्किएँ, त्यसपछि मात्रै लेख्‍ने काम सुरु गरेँ ।” बेलायतकै पनि कतिपय कुरा उनको त्यो पुस्तकमा भेटिन्छ । विश्व प्रशिद्ध कवि विलियम वर्डस् वर्थको जन्मथलो जाँदाको अनुभूति पनि आफूले पुस्तकमा पस्केको उनी बताउँछन् । 

साहित्यकार यादव खरेलका अनुसार ‘समुद्रपारि’मा उनले पेरिसमा आइफेल टावर चढ्दाको अनुभूति समाबेस गरे । त्यस्तै फ्रान्सका विभिन्न ठाउँ घुम्दा त्यहाँ देखिएका रोचक विषयवस्तु किताबमा चित्रित गर्ने प्रयास गरे । त्यहीँबाट स्थलमार्ग हुँदै स्पेन गए । त्यो स्थलमार्गबाट गरिएको यात्राको अनुभूति पनि आफ्नो नियात्रामा चित्रित गरेका छन् । 

उनका अनुसार नेपालमा समुद्रको किनार नभएकाले नै होला स्पेनको समुद्री किनारले उनलाई प्रभावित बनायो । उनले कृतिमा त्यो पनि समेटे । स्पेनको बार्सिलोनामा हुने साँढे जुधाइको विषयमा त लेख्‍नै पर्‍यो । त्यसपछि फ्रान्सकै अधिनमा रहेको विश्वमै अति जुवा खेलाइने स्थान ‘मोनाको’ का बारेमा पनि ‘समुद्रपारि’ मा लेखेको बताएका छन् । यसरी भ्याएसम्मका विषयहरू समेट्ने प्रयास उनले गरे ।

यादव खरेल भन्छन्, “म जहाँ जान्छु, त्यहाँ नेपाल खोज्‍ने मेरो बानी छ । त्यसैले म विदेशी भूमिमा पनि नेपाल खोज्दै हिडेँ, तर त्यहाँ नेपाल भेट्नै गाह्रो । कतिपय नेपाली कुरालाई पनि भारतीय भनेको र लेखेको देखिने । त्यो देख्दा त विद्रोह गर्न मन लाग्थ्यो । हाम्रा कुरा अरुले क्लेम गरिरहेका हुन्थे । जबकि हाम्रो देशका मानिस त्यहाँसम्म पुग्‍नै सकेका हुन्थेनन् । तिनले थाहा पाउने त कुरै भएन । त्यसैले पनि ती विषयमा सबैलाई जानकारी गराउनै पनि मैले लेख्नु पर्छ भन्ने लागेर ‘समुद्रपारि’ लेखेको हुँ ।”

‘समुद्रपारि’को लेखन र प्रकाशनपछि लामो समय उनी नियात्रा लेखनबाट हराए । उनको चर्चा गीत, सिनेमा र परिवार नियोजनको महासचिवका रूपमा भयो । सिनेमाको लेखक/निर्देशकका रूपमा भयो । चलचित्र विकास बोर्डको अध्यक्षका रूपमा भयो । यादव खरेलका अनुसार त्यसपछि पनि उनको विदेश यात्रामा कमी आएको थिएन । उनी कुनै न कुनै संस्थामा आबद्ध थिए नै । काम विशेषले विभिन्न मुलुक पुग्थे पनि । तर, त्यो समयमा नियात्रा वा यात्रा संस्मरण लेख्‍ने काम उनले गरेनन् ।

खरेल भन्छन्, “सायद त्यहीँ नै मैले गल्ती गरेँ कि ! पछि म परिवार नियोजन संघको महासचिव भएको नाताले निक्कै देशहरू घुमेँ । यसरी घुम्दा मलाई लाग्यो, ‘के लेख्‍ने यस्ता कुरा । विदेश घुमेर त्यहाको भूगोल, त्यहाँको मानिस र तिनका मूल्य मान्यता लेखेर के नै हुन्छ ।’ सायद, यो धारणा ममा पैदा हुनु नै गलत थियो भन्ने अहिले मलाई अनुभूत हुन्छ ।”

खरेल त्यतिबेलासम्म पनि वर्षमा तीन चार पटकसम्म विदेश जान्थे । तर, उनलाई कहिल्यै नियात्रा लेख्‍न मन लागेन । सायद उनलाई नियात्रा लेखनदेखि मोहभङ्ग भएको थियो । बस, उनको लेखकीय संलग्‍नता गीत लेखन र विषयगत् (परिवार नियोजन र सिनेमा) लेखनमा मात्रै रह्यो । 

अहिले आएर उनी आफैले सिर्जेको प्रश्‍न ‘किन लेख्‍ने ?’ को जवाफ दिइरहेका छन् । बन्दाबन्दीको यो विषम परिस्थितिमा पनि उनले आफूले विभिन्न देशहरूमा जाँदाको सम्झना ‘नियात्रा’का रूपमा लेख्‍न सुरु गरेका छन् । लेख्‍ने मात्रै नभएर उनी त्यसलाई पुस्तकका रूपमा प्रकाशन गर्ने सोच पनि बनाउँदै छन् ।

अहिलेको समयको फाइदा लिँदै कस्ता नियात्रा लेखनमा छन्, साहित्यकार खरेल ? यस विषयमा चर्चा गर्दा उनले भरसक नयाँ र रोचक प्रसंगहरूलाई यस यात्रा संस्मरणमा पस्कने प्रयत्न गरेको बताए । 

केही उदाहरण दिँदै यादव खरेलले भने, “म इन्डोनेसियाको बाली पुगें । बालीमा हिन्दुहरूको बसोबास थियो । त्यहाँ कुखुराको फाइट पनि देखियो । त्यस विषयमा पनि केही लेख्दैछु । म बेलायतमा बस्दा टाउको मुडेका केटाहरू (स्किन हेडहरू) ले एसियनलाई देखेपछि हमलै गर्थे । कुट्नै आउँथे । सायद अहिले त्यो छैन होला । हराई सक्यो कि ? हो, यस्तै केही फरक किसिमको विषयहरूको चर्चा गर्दैछु ।”

उनले अरू पनि केही प्रसंगहरूको चर्चा गरे । जस्तो, उनी बंगलादेश जाँदा त्यहाँ दूध बेच्‍ने केही हिन्दु परिवार रहेको उनले देखेका थिए । त्यस्तै बंगलादेशमा रहेको संसारकै ठूलो जुट मिलमा दसौँ नेपाली त्यतिबेला नै काम गरिरहेका थिए । बंगलादेशको चटगाउँ जाँदा मुसलमान नै मुसलमानको बस्तीमा एक जना मानिस टीका लगाएको भेटिए । ती हिन्दु भएको त्यहाँका मानिसले बताएको उनी सुनाउँदै थिए । 

यस्ता धेरै देशमा भोगेका अनेकन रोचक घटना र परिवेश उनले आफ्नो नयाँ नियात्रामा समाबेस गर्न खोजेका छन् । उनी भन्छन्, “मैले नियात्रामा यात्राको वर्णन भन्दा त्यहाँको मूल्य, मान्यता, त्यहाँको पृथक परिवेश, घटना, पात्र र दृष्टिकोणलाई प्रस्तुत गर्दैछु ।”

कुराकानीको बिट मार्दै मैले अहिलेको नियात्रा लेखन प्रवृत्तिको प्रसंग उठाउँदा उनले अहिलेका नियात्रा लेखनमा वैयक्तिक अनुभूति नभएर विवरणात्मक चर्चा मात्रै हुने गरेको बताए । 
खरेल भन्छन्, “घटना, परिवेश, संस्कृति र भूगोलप्रतिको निजी अनुभूति एउटा नियात्राकारले आफ्नो नियात्रामा पस्कन सक्नुपर्छ । विवरणले मात्रै नियात्रा हुन्छ भन्ने मलाई लाग्दैन ।”

खरेलका अनुसार नियात्रा लेखन ठूलो क्षेत्र हो । ‘जंगबहादुरको बेलायत यात्रा’, लैनसिंह बाग्देलको यात्रा कृति, ताना शर्माको ‘बेलायततिर बरालिँदा’ जस्ता धेरै नियात्रा कृति आए । यी बाहिरी भूमिमाथि लेखिएको नियात्रा थियो । त्यस्तै नेपालकै भूमिमा गरिएको यात्रा जनकलाल शर्मा, पूर्णप्रकाश नेपाल, धर्मराज थापाहरूले लेखे । जसले नेपाल चिनाएको थियो । 

तर नेपालभन्दा ठूलो मुलुक अरू उनले भेटेनन् । खरेलका अनुसार क्षेत्रफलमा सानो भए पनि विविधताका हिसावले नेपाल सबैभन्दा ठूलो मान्दछन् उनी । प्राकृतिक विविधता, सांस्कृतिक विविधता, सांगीतिक विविधता, जैविक विविधता यी सबैले गर्दा नेपाललाई सानो मान्न नसक्ने र यस्ता अथाह विषय नेपाली भूमिको नियात्रामा अटाउँने उनी बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro