site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सपनाका लहरहरू (५) र अंशियार

हुरीको इन्द्रेणी उक्लेर
(कवितासंग्रह : विष्णुविभु घिमिरे)
चर्चित कवि तथा साहित्यकार डा. विष्णुविभु घिमिरेको नयाँ कविताकृति केही समयअघि बजारमा ल्याइएको छ, ‘हुरीको इन्द्रेणी उक्लेर’ । यो उनको तेस्रो एकल कविताकृति हो । उनको संयुक्त कविताकृति पनि प्रकाशित छ ।

कृतिभित्र लेखकीयमा कवि घिमिरेले लेखेका छन्, “कविता लेख्नु सजिलो छ, तर बाँच्ने कविता लेख्न गाह्रो छ । योभन्दा गाह्रो छ कालजयी कविता लेख्नु । योभन्दा पनि कठिन छ लोकका मनमा गहिरो अनुभूतिमा अमर कविताहरू लेख्नु । मैले कविता लेख्छु भनेर कहिल्यै कुनै योजना बनाइनँ । जब मभित्रको अनुभूतिले प्रेरित गर्‍यो र भन्यो मलाई लेख, सायद मैले त्यसबेला कविता लेखेँ । ... ।”

घिमिरेको कविताकृतिभित्र कवि बैरागी काइँलाले भूमिकामा लेखेका छन्, “कवि विभुका विचारमा जीवन भाव र अभाव, सुख र दुःखको निरन्तरता हो । क्रान्ति र संघर्षका बाबजुद समाज र व्यववस्था फेरिन नसकेकोमा कविलाई दुःख लाग्दछ । उनका कवितामा समसायिक समाज, जीवन र जगत्को चित्रण, वर्तमानको पीडा र देशको दुरावस्थाको मार्मिक चित्रण छ । ... ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कृतिभित्र कवि घिमिरेका समकालीन कविहरू अशेष मल्ल, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, अविनाश श्रेष्ठसहित आख्यानकार अमर न्यौपानेका मन्तव्य छन् ।

यो कृतिमा कवि घिमिरेका ४६ विभिन्न भावका कविता समेटिएको छ ।

माया पब्लिकेसन प्रालिद्वारा प्रकाशित १२८ पृष्ठको यो कृतिको मूल्य २९५/– रुपैयाँ राखिएको छ ।

०००

आवरण
(कवितासंग्रह : विमल अर्याल)
कवि विमल अर्याल फुटकर रूपमा कविता लेख्दै आइरहेका सर्जक हुन् । उनको कृतिका रूपमा प्रकाशित संग्रह हो, ‘आवरण’ ।

कवि अर्यालले लेखकीयमा लेखेका छन्, “... संग्रहको रूपमा अगाडि नआउँदासम्म ओझेलमा नै परिरहने यथार्थको बोध धेरै शुभचिन्तकहरूले गराउनुभएकाले कविताहरूको कोसेली लिएर सबैका सामुन्ने देखा पर्ने हिम्मत गरेको हुँ ।”

साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले भूमिकामा लेखेका छन्, “कविले प्रस्तुत गरेका अनेकौँ कविताका वाक्यहरू कहिलेकाहीँ महावाक्य भएर प्रकट भएका छन् । अधिकांश ती वाक्यहरू राजनीतिपरक छन् र पनि शाश्वत जस्ता देखिन्छन् अनि यथार्थताको धरातलमा खरा उत्रिएका छन् । ... ।”

प्रा. डा. हेमनाथ पौडेलले लेखेका छन्, “प्रस्तुत आवरण कवितासंग्रहमा कवि विमल अर्यालले गणतन्त्रोत्तर कालमा लेखेका विविध विषय र विचारका बयानब्बे ओटा कविता संकलित छन् । ... ।”

अभिनव साहित्य समाजद्वारा प्रकाशित १८० पृष्ठको यो कविताकृतिको मूल्य ३००/– रुपैयाँ राखिएको छ ।

०००

धीत
(गजलसंग्रह : बिटु केसी)
नेपाली कविता, मुक्तक र गजलमा निरन्तर सक्रिय स्रष्टा हुन्, बिटु केसी । लामो समयदेखि गजल लेखनमा सक्रिय केसीको गजलकृति केही समयअघि सार्वजनिक गरिएको छ, ‘धीत’ ।

केसीले आफ्नो भनाइमा लेखेकी छन्, “गजल मेरो तलतल हो, तिर्खा हो, नशा हो, प्यास हो । आस्था, प्रेम र पूजा हो । कहिल्यै नमेटिने धीत हो ।”

साहित्यकार सरुभक्त श्रेष्ठले शुभेच्छामा लेखेका छन्, “उनका गजलहरूमा जीवन र प्रेमका बहु आयामहरू, देश र समाजका चिन्ता र चित्रणहरू भेटिन्छन् । ... ।”

केसीको पुस्तकमा ज्ञानुवाकर पौड्याल र प्रकाश सायमीको पनि शुभेच्छा छ । यो कृतिमा विभिन्न भावका ८२ गजल समेटिएको छ ।

साहित्यपोस्टद्वारा प्रकाशित ९६ पृष्ठको यो गजलकृतिको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।

०००

झुल्को आँखामा 
(गीतसंग्रह : डा. सदानन्द कडेल)
पछिल्लो समय साहित्यमा निरन्तर कलम चलाउँदै आएका सर्जक हुन्, डा. सदानन्द कडेल । नियात्रासाहित्य, व्यक्तिवृत्तलगायत विधामा उनका सिर्जना प्रकाशित छन् । केही समयअघि उनले एउटा गीतसंग्रह पनि पाठकसामु पस्किएका छन्, ‘झुल्को घाम’ ।

डा. कडेलले कृतिभित्र मनका कुरामा लेखेका छन्, “... स्रोताको रूपमा गीतको पारखी भए तापनि गाउने कला नभएकोमा कहिलेकाहीँ दिक्क लाग्ने नगरेको पनि होइन । फेरि पनि मेरो केही गुनासो छैन । गीतप्रतिको आशक्तिले गर्दा नै म बिस्तारै गीति लेखनतिर आकर्षित हुन पुगेँ ।”

साहित्यकार प्रा. डा. कृष्णहरि बरालले भूमिकामा लेखेका छन्, “यस संग्रहका गीतहरूमा सरल भाषाको प्रयोग देखिन्छ । यसले गर्दा गीतहरू सहज र सम्प्रेष्य बनेका छन् ।”

यो पुस्तकमा डा. कडेलका देशभक्ति गीत १४, प्रेमगीत १३, लोकभाकाका गीत १३ र बालगीत २० गरेर ६० गीत पढ्न सकिन्छ ।

इन्दिरा लामिछाने उपाध्यायद्वारा प्रकाशित ८४ पृष्ठको यो गीति पुस्तकको मूल्य २००/– रुपैयाँ राखिएको छ ।

०००

अभ्युदय
(कवितासंग्रह : सुमन थापा ‘सङ्गम’)
ढिलो कविता लेखे पनि छिटै चर्चामा आएकी कवि हुन्, सुमन थापा सङ्गम । पहिलो कवितासंग्रह ‘माइतीघरको फूल’को सात वर्षपछि अर्को एकल कवितासंग्रहसहित उनी उपस्थित भएकी छन्, ‘अभ्युदय’ । उनका केही कविता एउटा अर्को संयुक्त कविताकृतिमा पनि समेटिएको छ ।

लेखकीयमा कवि सुमनले लेखेकी छन्, “जीवन, साधक र संयमताको अर्को रूप कविता हो भन्ने म ठान्छु । यात्रामा यात्रारत रहँदा जीवनको नदी खियाउने एउटा माझी हो, मानिस । यही नदी खियाउँदाखियाउँदै जन्मने अक्षर र शब्दहरू जीवन बाँच्ने ओखतीको एक खुराक हो, कविता ।”

अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले लेखेका छन्, “...खँदिलो भावना समेटिएका सशक्त र स्वादिला कविता हुनु नै यस पुस्तकको विशेषता हो । अतः यो पठनीय, सुरुचिपूर्ण, गहिरो र बलशाली भावाभिव्यक्ति भएको कवितासंग्रह हो ।”

कवि विश्वविमोहन श्रेष्ठले लेखेका छन्, “...कवि सङ्गमका कविताहरू सबै किसिमका वाद र सिद्धान्तका सीमाहरूबाट मुक्त स्वच्छन्दतावादी भावधारामा लेखिएका समकालीन नेपाल कविताहरूको एक प्रतिविम्ब हो । ... ।”

कृतिमा कवि सुमनका ५२ कविता संगृहीत छन् ।

आरुन्या, आयान्स र आभ्याना केसीद्वारा प्रकाशित १३६ पृष्ठको यो कविताकृतिको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।

०००

राम्रो — नराम्रो
(कवितासंग्रह : रत्ननिधि रेग्मी ‘शुक्राचार्य’)
कवि रत्ननिधि रेग्मीको पछिल्लो कविताकृति हो, ‘राम्रो — नराम्रो’ । यो उनको छन्द कविताहरूको सँगालो हो ।

पुस्तकको लेखकीयमा रेग्मीले लेखेका छन्, “साहित्यमा म देवकोटामार्गि हुँ । जीवनमुखी साहित्य देवकोटाको जीवन दर्शन हो । त्यसैले मैले यहाँ जीवनमुखी हुने उद्देश्य राखेको छु । ... ।”

रेग्मीको यो कृतिभित्र कुल ५१ छन्द कविता पढ्न सकिन्छ । एउटा कविता ‘भो बन्द बन्दै गर’ मा रेग्मीले लेखेका छन्– 
सक्छौ ता गर बन्द देशभरिका हत्या बलात्कार ती
सक्तैनौ त भने लगाउ फरिया राम्री बनी श्रीमती
बिर्ता होइन देश यो बुझ तिमी पेवा झनै होइन
तिम्रा बाबु, बराजुको पनि कुनै मौजा भने होइन ।। (पृष्ठ ८६)

एक सय पृष्ठको यो पुस्तकको मूल्य १००/– रुपैयाँ राखिएको छ ।

०००

अंशियार
(गीतसंग्रह : त्रिविक्रम पाण्डे)
कवि तथा गीतकार त्रिविक्रम पाण्डेको केही समयअघि प्रकाशित अर्को कृति हो, ‘अंशियार’ । यो उनको गीतसंग्रह हो ।

पुस्तकमा गीतकार पाण्डेले लेखेका छन्, “समग्रमा मेरा गीतहरूमा जीवन, जिजीविषा, सौन्दर्य, शृङ्गार, उपलब्धि–अनुपलब्धि, आशा–निराशा, सदाचार–भ्रष्टाचार, अनि विकृति–विसङ्गतिका दृश्य परिदृश्यहरू झल्किएका छन् भन्न सकिन्छ । ... ।”

यो पुस्तकभित्र गीतकार पाण्डेका ३०८ गीत समावेश छन् ।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित ३२० पृष्ठको यो कृतिको मूल्य ६००/– रुपैयाँ राखिएको छ ।

०००

सपनाका लहरहरू (५)
(कवितासंग्रह : नवराज न्यौपाने)
कवि नवराज न्यौपानेको सानाठूला कविताहरूको सँगालो हो, ‘सपनाका लहरहरू’ । यसभित्र अंग्रेजी र नेपाली गरेर विभिन्न भावभूमिका कविता प्रस्तुत छन् ।

‘सपनाका लहरहरू’को यो पाँचौँ हो । चार भाग यसअघि प्रकाशित भइसकेको छ । उनका केही गीत स्वरांकन पनि गरिएको छ ।

कृतिको आवरणको भित्री पृष्ठमा उल्लेख छ, “ब्लड क्यान्सरसँग जुधिरहेका नवराज जीवनसँग हारेका छैनन्, बरु कविता लेखनमार्फत जीवनलाई अझ दृढ र संघर्षशील बनाउँदै लगेका छन् ।”

यो कविताकृतिभित्र थुप्रै लामाछोटा कविता छन् । 

भीम तामाङद्वारा प्रकाशित २२६ पृष्ठको यो पुस्तकको मूल्य ५००/– रुपैयाँ राखिएको छ ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ०५:५०
प्रतिक्रिया दिनुहोस्