
आवश्यक पर्दा सधैँ छिमेकका पालिकाहरूसँग पैँचो मागेर चलाउनुपर्दा हत्तु भएका थिए हाम्रा पालिका प्रमुख । कहिल्यै भनेको बेलामा नपाइने, बेला भड्किसकेपछि पाउँदा ‘मरेपछिको ओखती’झैँ हुने !
हुन पनि बाटो खन्ने, माटो पुर्ने र अनधिकृत संरचना भत्काउनेदेखि आगलागीमा दमकलको काम समेत भ्याउँथ्यो त्यसले । गाउँलेहरूको धेरै गुनासोपछि एक दिन उनले पालिकाको बैठकमै प्रस्ताव राखे– एकथान डोजर यसै आर्थिक वर्षभित्र खरिद गर्ने ।
सबै सदस्यहरूले सहमति जनाए । बैठकले टेन्डर आह्वानका लागि पालिकाका प्राविधिकलाई छिमेकी पालिकासँग समन्वय गरी तत्सम्बन्धी डकुमेन्ट तयार पार्ने जिम्मा लगायो ।
अर्को बैठकमा प्राविधिकले छिमेकी पालिकाहरूले डोजरका लागि भनेर दिएका स्पेसिफिकेसन (नमुना)हरू पेस गरे । तिनैमध्येको एउटा स्वीकृत भयो ।
एक दिन गोरखापत्रमा ‘डोजर आपूर्तिका लागि टेन्डर आह्वान’ भनेर पालिकाको सूचना निस्क्यो । निर्धारित अवधिभित्र चारवटा कम्पनीले प्रस्ताव पेस गरे । दुर्भाग्य नै भनौँ, पाँचौँ कम्पनीका प्रतिनिधि काठमाडौंबाट आउँदा आउँदै बाटोमा गाडी दुर्घटनामा परेर समयमा पुग्न सकेनन् र टेन्डर हाल्न भ्याएनन् ।
उनले आइपरेको परिबन्द सुनाउँदै आफूले ल्याएको टेन्डर बुझिदिन अध्यक्षसँग अनुरोध गरे । आफूले सत्य कुरा बोलेको, विश्वास नलागे प्रहरीमा बुझ्न समेत भने ।
समय समाप्त भइसकेकाले हाम्रा इमानदार अध्यक्षले त्यसको सुनुवाइ गर्ने कुरै भएन । दुई दिनमा मूल्यांकन भई तेस्रो दिनमा स्वीकृत टेन्डरको जानकारी आउने सूचना पाएर ती पाँचौँ प्रतिनिधि फर्किए ।
तेस्रो दिन सूचनापाटीमा मूल्यांकनको नतिजा टाँस्ने तयारी हुँदै थियो । हामी पनि उत्साहित हुँदै पालिकाको आँगनमा जम्मा भयौँ ।
त्यत्तिकैमा एकजना नौलो व्यक्ति मोटरसाइकलमा पालिका भवनतिर आउँदै गरेको देखियो । आँगनमा पुगेपछि मोटरसाइकलछेवैमा अड्याएर राखेको ब्याग बोकी ऊ सिधै अध्यक्षको कोठामा पस्यो ।
पन्ध्र मिनेटजतिपछि त्यो निस्कियो र जसरी आएथ्यो उसैगरी फर्कियो । लगत्तै अध्यक्ष बाहिर आए र अदालती आदेश आएका कारण मूल्यांकनको नतिजा स्थगन गरिएको जानकारी दिए । उपस्थित सबै ट्वाँ पर्यौँ । होहल्ला हुनै लागेथ्यो, अध्यक्षले सबैलाई शान्त हुन अनुरोध गरे र अदालतबाट प्राप्त कागजको व्यहोरा पढेर सुनाए ।
व्यहोराको सार यस्तो रहेछ, ‘पालिकाले डोजर आपूर्तिका लागि भनेर टेन्डर आह्वान गरेको तर स्पेसिफिकेसनचाहिँ एक्साभेटरको भएकाले यो टेन्डर खारेज गर्नु नपर्ने कुनै कारण भए पालिकाले सात दिनभित्र लिखित जवाफ पठाउनू ।’
टेन्डर हाल्न नपाएको पाँचौँ कम्पनीले अदालत गुहारेको रहेछ । व्यहोरा सुनाउँदै गर्दा हाम्रा अध्यक्षको मुहारमा निराशाको भाव सहजै पढ्न सकिन्थ्यो ।
भएको के रहेछ भने, गोरखापत्रमा सूचना पठाउने दिन पालिकाका प्राविधिक बिदामा बसेकाले सूचनाको खेस्रा उनको अनुपस्थितिमै तयार भएछ । साथीभाइ, रेडियो, टीभी, पत्रपत्रिका साराका साराले डोजर नै भनेर भन्दै आएको र चिन्नेले पनि डोजर चिन्दै आएकाले डोजर नै लेखी पठाइएछ ।
एउटा शब्दलाई हलुका रूपमा लिँदाको परिणाम यतिसम्मको गम्भीर हुनसक्छ ! सबै त्यही सोचिरहेका थिए ।