
‘खुकुरीभन्दा कर्द लाग्ने’ भन्ने नेपाली टुक्का जुद्धशमशेर र उनका छोराले ठ्याक्कै चरितार्थ गरिदिएका थिए । जाँडरक्सी, गाँजा चरेस कत्ति नखाने भए पनि जुद्धशमशेरको एउटै अम्मल थियो– अग्ली, गोरी र डम्म परेको जीउडालकी चाहे त्यो अर्काकै श्रीमती किन नहोस् ।
जुद्धशमशेरझैँ उनका छोरा हरिशमशेर पनि एउटी गोरी, डम्म परेको जीउडाल भएकी घरकी एक महिलासँग प्रेममा आसक्त भएका थिए । उनको नाम थियो आसमानी नानी ।
यिनी हरिशमशेरकहाँ सुसारेको काम गर्थिन् । राम्रो अनुहार र आकर्षक शारीरिक व्यक्तित्व भएकी आसमानी नानी हरिशमशेरलाई देखौवा प्रेमभाव देखाउँथिन् भने हरिशमशेरका ए.डी.सी. लेफ्टिनेन्ट ‘धमला’लाई मन पराउने गर्थिन् । हरिशमशेरको एकतर्फी प्रेम भने आसमानी नानीउपर रहिरहेको थियो ।
आजभोलिका फिल्मी कहानीहरूझैँ लाग्ने हरिशमशेरको यो प्रेमकहानी निकै आश्चर्यलाग्दो र रमाइलो छ । आसमानी नामकी यी प्रेमिकालाई आफ्नो मालिक हरिशमशेरको एकतर्फी प्रेमको भरमा परून् कि आफ्नो मनले खाएको प्रेमी युवक धमलासँग जिन्दगी बिताऊन्, यो संकट उनलाई पर्यो ।
हरिशमशेरको सट्टा ती खाइलाग्दो हट्टाकट्टा सैनिक जवान धमला मन परेपछि आसमानी र ती धमला युवकको सम्बन्ध सम्पर्क निकै गाढा हुन थाल्यो । सैनिक जवान धमला र आसमानी दुवै हरिशमशेरकै दरबारभित्रका कर्मचारी भएकाले दुवैलाई एकार्काबीच नजिकिन त्यति गाह्रो परेन ।
रोजै यी दुवैबीचको सम्बन्ध अरू बढ्न थाल्यो, तर हमेसै लुकीछिपी प्रेम दर्साउनु दुवैलाई असैह्य भयो, अब वैधानिक रूप दिन याने ‘पतिपत्नी’ बन्न भने दुवैलाई निकै नै गाह्रो पर्यो ।
‘प्रेम अन्धो हुन्छ’ भन्ने कुरा आसमानीले त्यति बेला चरितार्थ गरिदिइन् जतिखेर उनी त्यो सैनिक केटोलाई आफ्नो सर्वस्व अर्पण गर्ने उद्देश्यबाट भारतको कलकत्तातर्फ हिँड्नुपूर्व आसमानीलाई पेट दुख्ने रोग असैह्य हुन थाल्यो । आसमानीले यही बहानालाई सर्वोत्तम उपाय ठानिन् । रोग दिन प्रतिदिन बढ्दै गयो, हरिशमशेरसँग उपचारको निमित्त अनुरोध गरिन् । त्यतिबेर आसमानीले आफू भारततर्फ गएर उपचार गरी फर्कनाको निमित्त प्रेमपूर्वक हरिशमशेरसँग याचना गरिन् ।
हरिशमशेरले पनि आफ्नी प्रेमिका आसमानी छटपटाएको सहन गर्न सकेनन् उनी पनि दुःखी भए । उनले आसमानीको उपचारका निमित्त कलकत्तामा सम्पूर्ण प्रबन्ध जुटाइदिए ।
हरिशमशेरलाई कतै आसमानीले धोका दिने त होइन ? कतै अरूसँग लागी आफूबाट टाढा हुने त होइन ? यस्तै प्रकारको अनेक चिन्ता भने अवश्य परेको थियो ।
उनले आफ्नो चिन्ता दूर गर्नाको निमित्त र आसमानीको रक्षार्थ निकै मान्छेहरू साथ लगाएर कलकत्ता पठाएका थिए । कथित र बनावटी पेट दुखाइको उपचार गर्न आसमानीका साथमा सुब्बा, खरिदार, पण्डितलगायत कतिपय खुपिया सेवकहरू लगाई कलकत्ता पठाउने निर्णय भयो ।
तर, आसमानीलाई भने आपत् पर्यो, उनको प्रेमी भने उनका साथ कलकत्ता जान पाएनन् ।
आसमानी र उनको प्रेमी युवकबीच पुनः सल्लाह भयो । आसमानीले एक हीराजडित अमूल्य घडी प्रेमी सैनिक धमला युवकको हातमा दिइन् । उनीहरूको सल्लाहअनुसार जसले त्यो हीराजडित घडी साथमा लिएर कलकत्ता आउँछ, उसैसँग साथ लागेर आसमानी भाग्ने र सदासदाको निमित्त हरिशमशेरलाई त्याग गरी आफ्ना प्रेमीको दुलही बन्ने निधो गरिन् ।
आफ्नो मूल्यवान घडी प्रेमीका साथ छाडेर आसमानी हरिशमशेरका दलबलसहित कलकत्तातर्फ लागिन् । यता आसमानीका प्रेमी सैनिक युवक आसमानीछेउ पुगी घडी टल्काएर आफूछेउ आसमानीलाई ल्याउने मान्छेको खोजी गर्न थाले ।
प्रेमी सैनिक युवकको सहोदर दाजु दुर्गाविक्रम शाह तत्काल पाल्पामा रुद्रशमशेरको ए.डी.सी. लेफ्टिनेन्टको पदमा रही कार्यरत थिए । उनी घर बिदाको छुट्टीमा काठमाडौं आएकै अवसरमा आसमानी भारत कलकत्तातर्फ पलायन भएकी थिइन् ।
यो शुभकार्य गर्न सक्ने व्यक्तिको खोजी त्यस प्रेमी धमला युवकले गर्न थाले । कार्य जटिल हुनुको साथै गोप्य पनि राख्नुपर्दथ्यो, तसर्थ जसलाई पायो यो षड्यन्त्र खोल्नु मनासिब थिएन । तसर्थ यो शुभकार्य गर्न सक्ने व्यक्तिको खोजीका क्रममा त्यस प्रेमी युवकले आफ्नै सहोदर दाजु दुर्गाविक्रम शाहलाई फेला पारे ।
भाइको योजनाअनुसार बुहारी लिन दुर्गाविक्रम काठमाडौंबाट हीरा जडेको घडी लगाएर भारतको लखनऊ हुँदै कलकत्तातर्फ प्रस्थान गरे । कलकत्तामा आसमानी कहाँ बस्छिन् भन्ने कुरा दुर्गाविक्रमले भाइद्वारा अवगत भएबाट कलकत्तामा आसमानीलाई भेट्टाउन दुर्गाविक्रम र उनका तत्काल सहयोगी परम् मित्र राणालाई गाह्रो परेन ।
कलकत्ता पुगेर दुर्गाविक्रम र राणाहरूले आसमानीलाई हीराजडित घडी देखाइदिए र भोलि कहाँ औ कति बेला भेट्ने भन्ने कुराको संकेत गरी लेखिएको कागजको ‘चिट’ पनि दिए ।
दुर्गाविक्रम र राणाको योजना मुताविक आसमानी भागेर भोलिपल्ट निर्धारित ठाउँमा आफ्नो झिटीझाम्टा बोकी आइपुगिन् । त्यहाँबाट उनीहरू याने दुर्गाविक्रम र आसमानी कसैले थाहा नपाउने गरी केही महिना गायब नै भए । दुर्गाविक्रमको सहयोगी राणा आफ्नै गन्तव्यतर्फ लागे ।
कलकत्तामा आसमानी हराएको सूचना हरिशमशेरकहाँ आइपुग्यो, उनले छातीमा मुड्की ठोके, शंका मानीमानी मैले किन पठाएछु भन्न थाले । भारत – कलकत्तामा मात्र होइन उत्तर प्रदेश, बिहार, बंगालतर्फ भारतीय पुलिसद्वारा खोज गर्न लगाए ।
आफ्ना ब्याइते स्वास्नी भागेर गएमा त वास्ता गर्दैनन् भने हरिशमशेरले त जाबो एक सुसारे भागेकोमा रडाको मचाई, मजनू हुँदै जताततै गुहार्न लागे । मेरो कान्छा काका धैर्यशमशेरले हरिशमशेरको साला चौतारिया चुडाविक्रमकी जेठी छोरी विवाह गरेको हुँदा ती आसमानीको खोजतलास गरिदिनाको निमित्त अनुरोध गर्दै पत्र बुटवलमा पठाएका थिए ।
हरिशमशेर यसप्रकारका निर्लज्ज व्यक्ति थिए ।
तथाकथित आसमानीका प्रेमी, दुर्गाविक्रमका भाइ धमलालाई आफ्नो योजना सफल भएकोमा खुसी त लाग्यो, तर आसमानी भगाएको शंका गरी हरिशमशेरले उनलाई आरोप लगाई हिरासतमा राखियो ।
भारततर्फ आसमानीलाई लिँदै दुर्गाविक्रम ठाउँठाउँमा लुक्दै घुम्न थाले भने आसमानीको प्रेमी महिनौं हिरासतमा बस्नुपर्यो । दुर्गाविक्रम र आसमानी नेपाल पस्न सक्दै सकेनन्, भारतमा पनि उनीहरूलाई शान्ति भएन ।
हमेसै डर औ त्रासले सताइरहेबाट दुर्गाविक्रम र आसमानीले भारतमै अदालतमा विवाह गरे । आफ्नी प्रेमिका भगाएर आफ्ना छेउ ल्याइदिन आफ्नै दाइलाई अह्राउने प्रेमी भाइ, आफ्नी प्रेमिका आफ्नै दाजुको प्रेमी भएको खबर सुनेर अवाक् भए, तर समय गुज्रिसकेको थियो ।
आसमानीको आफ्ना प्रेमी धमलासँगको प्रेम, दाजु दुर्गाविक्रम शाहसँगको विवाहमा गएर टुंगियो ।
२००७ सालपछि दुर्गाविक्रम र आसमानीको जोडी नेपाल फर्के ।
उनीहरू भारतमा छँदा समयसमयमा यो पुस्तकका लेखक पुरुषोत्तमशमशेरकहाँ भारततर्फ जयनगरमा र नेपालतर्फ रघुनाथपुर गाउँमा समेत आउँथे । आसमानी अति मिलनसार, नम्रभाषी हुनुको साथै दरबारिया तौरतरिकाकी माहिर थिइन् भने मेरी श्रीमती दीपादेवीसँग ज्यादै राम्रो हेलमेल समेत भएको कारण हरिशमशेरको याने बागदरबारभित्रको नंगा नाच, नंगा कर्तुत विषयका सम्पूर्ण हालीमाली विषयका कुराहरू व्यक्त गर्दिरहिछिन् औ मेरी श्रीमतीद्वारा मैले थाहा पाउने गर्दथेँ ।
मेरी श्रीमती दीपादेवी राणाले आसमानीसँग राम्रो व्यवहार गरेबाट मेरी श्रीमतीको बर्थ–डेको दिन भारत, जयनगरमा ठूलै करिब आधा क्यारेटको हीराको फुली बर्थ–डे गिफ्ट गरेकी थिइन् ।
समयक्रमसँगै आसमानीको काठमाडौंमा हरिशमशेरसँग पुनः भेटघाट भयो । त्यसपछि हरिशमशेरको एकतर्फी प्रेम सफल भयो । आसमानीले आफ्ना पतिदेव दुर्गाविक्रम शाहलाई लोप्पा ख्वाएर हरिशमशेरसँग पोइल गइन् । धेरै वर्षपछि आफ्नी मनपर्दी प्रेमिका हरिशमशरेले फिर्ता पाए ।
एकतर्फी प्रेम सफल पार्दै आफूले भेट्टाएकी प्रेमिका आसमानीलाई हरिशमशेरले प्रशस्त अंश समेत दिएका थिए रे । भाइसँग प्रेम गरेर सहोदर दाजुसँग विवाह रचाउने आसमानीलाई हरिशमशेरले सर्वश्रेष्ठ स्थान दिएर राखेका थिए रे । भनिन्छ, हरिशमशेरको प्राण आसमानीकै काखमा गएको थियो रे ।
के यो कहानी आजभोलिका फिल्मी कहानीजस्तै छैन त ?
(लेखक जबराको पुस्तक ‘सम्झेका र सुनेका कुराहरू’बाट ।)