कोभिड –१९ को महामारीले ल्याएको नयाँ र अप्ठेरो परिस्थितिमा यसले मानव समुदायमा पारेको बहुआयामिक प्रभावको अनुसन्धान र अध्ययन गर्नु आजको आवश्यकता हो भने बन्दाबन्दी (लकडाउन)का नियमको पालना गर्दै भौतिक दूरी कायम राख्नुपर्ने बाध्यताबीच त्यस्ता अध्ययन र अनुसन्धान आफैँमा ठूलो चुनौती पनि हो । यस्तो अवस्थामा स्थलगत भ्रमण गरेर, प्रत्यक्ष अवलोकन गरेर, उत्तरदातासँग आमनेसामने भएर सूचना संकलन गर्न नसकिने र प्रभावकारी पनि नहुने हुनाले अनुसन्धानकर्ताले सूचना संकलनका वैकल्पिक विधि अपनाइरहेका छन् । यसमा इन्टरनेटमा आधारित अनलाइन तथ्यांक संकलन र विश्लेषण विधि निकै लोकप्रिय बनेको छ ।
नेपालमा पनि विभिन्न संस्था तथा व्यक्तिगत तहमा अहिले अनलाइन विधिबाट अध्ययन, अनुसन्धान, सर्भेक्षण र लेखाजोखाका नाममा तथ्यांक संकलनको बाढी नै आएको छ । एक दृष्टिकोणबाट हेर्दा यस्ता सर्भेक्षण र अनुसन्धान हुनु सकारात्मक र उत्साहवर्धक नै हो । तर, अनलाइनबाट गरिने यस्ता तथ्यांक संकलन सबै अवस्थामा उपलब्धिमूलक वा फाइदाजनक हुन्छन् त ? यस्ता प्रश्नमा भने हामी कमैमात्र घोत्लिने गर्छौँ । यस लेखमा मैले नेपालको परिवेशलाई समेत जोडेर अनलाइन विधिबाट गरिने तथ्यांक संकलनका फाइदा र बेफाइदाका बारेमा चर्चा गर्दै यसरी गरिने तथ्यांक संकलनलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारेमा लेख्ने प्रयास गरेको छु ।
अनलाइन विधिबाट तथ्यांक संकलन विगत केही दशकदेखि विश्वभर नै लोकप्रिय रहेको छ । यस प्रयोजनका लागि धेरै प्रकारका विधि अपनाइने भए पनि सोगो सर्भे, सर्भे मंकी, क्लाइन्ट हार्टबिट, जोहो सर्भे, कोबो टुल, गुगल फर्म, माइक्रोसफ्ट फर्मजस्ता सफ्टवेयरको उपयोग निकै ठूलै मात्रामा गरिन्छ । अनलाइन विधिबाट सूचना संकलन गर्दा प्रायः प्रश्नावली वा फारम तयार गरी इन्टरनेटको माध्यमबाट लक्षित उत्तरदातासम्म सोझै पुर्याइन्छ र उत्तरदाता स्वयंले नै उत्तर दिएर अनुसन्धानकर्तालाई सोझै बुझाउन सक्छ । यसमा अनुसन्धानकर्ता र उत्तरदाताका बीचमा दोस्रो पक्षको भूमिका खासै हुँदैन । तर, यी विधिहरूका आफ्नै सीमा हुने हुनाले कुनै अवस्थामा फाइदाजनक हुन्छन् भने कुनै अवस्थामा हुँदैनन् । सबैभन्दा पहिले यस्ता विधिहरू फाइदाजनक हुने अवस्था हेरौँ ।
यो विधिबाट इन्टरनेटमा आधारित माध्यमहरू जस्तै इमेल, मोबाइल एप्स, समाजिक संजाल, वेबसाइटमार्फत एकैपटक ठूलो जनसंख्यामा प्रश्नावली वा फारम पठाएर सर्भेक्षण गर्न संभव हुन्छ । ठूलो स्याम्पल साइजमा अध्ययन गर्न सहज हुने हुनाले यसमा उत्तरको दर बढाउन सहज हुन्छ । उत्तरदाताले आफूलाई सहज हुने तरिकाले चाहेको समयमा उत्तर दिएर पठाउन सक्छ । अध्ययनकर्ताले एकठाउँमा बसेर कमभन्दा कम मानवस्रोत प्रयोग गरी देशभित्र र बाहिरका धेरै ठाउँबाट ठूलो मात्रामा सूचना लिन सक्छ ।
छोटो समयमा धेरै सूचना प्राप्त गर्न निकै प्रभावकारी देखिने यो विधि लागत र समयको हिसाबले पनि त्यत्तिकै प्रभावकारी हुन्छ । यसमा स्थलगत भ्रमण गरेर सूचना संकलन गर्दा लाग्ने मानव स्रोत र समयको लागत पूरै बचत हुन्छ । उत्तरदाताले उत्तर दिन थाल्नासाथ अनुसन्धानकर्ताले प्राप्त सूचनाको प्रत्यक्ष अनुगमन (रियल टाइम मोनिटरिङ) गर्न सक्छ । यसले गर्दा कुनै त्रुटि भएमा तत्काल सच्याउने अवसर पाइन्छ र तथ्यांकलाई समयमै प्रमाणित गर्न सकिन्छ ।
कतिपय अवस्थामा उत्तरदाताबाट सही सूचना लिन यो विधि निकै सहज हुन्छ । जस्तै कहिलकाहीँ अनुसन्धानकर्तालाई त्यस्ता सूचना चाहिएको हुनसक्छ जुन उत्तरदाताले अन्य व्यक्तिको उपस्थितिमा दिन असहज, असुरक्षित वा अप्ठेरो मान्न सक्छ वा आफ्नो पहिचान खुलाउने चाहना नराख्न सक्छ । उत्तरदाताको गोपनीयता र सुरक्षालाई विशेष ध्यान दिएर सूचना संकलन गर्न अनलाइन विधि निकै उपयोगी हुन्छन् ।
अनलाइन विधिबाट सूचना संकलन गर्दा कागजको प्रयोग हुँदैन । फलस्वरूप मूल्य, छपाइ खर्च, बोकेर हिँड्नुपर्ने झन्झट नहुने भएकाले वातावरणमैत्री हुन्छ र प्रश्नावली निर्माणमा कुनै सम्झौता गर्नुपर्दैन । हरेक प्रकृतिका प्रश्नलाई सहज र सरल ढंगले समावेश गराउन सकिने हुनाले यो विधिबाट जटिलतम सर्भेक्षणहरूसमेत गर्न सकिन्छ । अनलाइन विधिबाट संकलन गरिएका तथ्यांकको शुद्धीकरण (डाटा क्लिनिङ) र भण्डारण (स्टोरिङ) सजिलो र छिटो हुन्छ । साथै तथ्यांकीय विश्लेषणको लागि चाहिने तालिका र चार्टहरू उत्पादन गर्न पनि निकै सहज हुन्छ ।
परन्तु, अनलाइन तथ्यांक संकलन विधि सँधै र सबै अवस्थामा फाइदाजनक हुँदैन । त्यसोभए के छन् त बेफाइदाहरू ?
यो विधिले सबै प्रकारका लक्षित समूहलाई समेट्न सक्तैन । उदाहरणका लागि लकडाउन वा कोभिड –१९ को प्रभाव हाम्रोजस्तो देशमा सबै समुदायमा एकैनासले परेको छैन । व्यापक जनसांख्यिक, वर्गीय, सामाजिक, सांस्कृतिक, आर्थिक विविधता रहेको र सबैको इन्टरनेटमा समान पहुँच नभएको हाम्रोजस्तो समाजमा यसको प्रभाव मूल्यांकनका लागि अनलाइन विधिबाट सूचना संकलन गर्दा उत्तरदाताको विविधतालाई समेट्न निकै कठिन हुन्छ । इन्टरनेटको पहुँचमा भएकाहरू पनि सबै अनलाइन गतिविधिमा बानी परिसकेका छैनन् । निश्चित समय सीमा तोकेर खुला गरिएका अनलाइन सर्भेक्षणमा तोकिएको समयमा उत्तरदाताले भाग लिन्छन् नै भनेर सुनिश्चित गर्न पनि सकिँदैन ।
प्रश्नावली लामो बनाएर एकैपटक धेरै कुरा समेट्ने प्रयास गरिएको छ भने उत्तरदातालाई उत्तर दिने जाँगर नहुन सक्छ वा अन्योल उत्पन्न हुनसक्छ । अन्योलका बीचबाट दिएका सूचना अधुरा वा गलत हुन सक्छन् । लामो प्रश्नावलीको कारणले धेरै समय लाग्ने हुनाले उत्तरदाताले सबै प्रश्नको उत्तर नदिने वा सर्भेक्षणमा भाग लिन नचाहने संभावना हुन्छ ।
उत्तरदातालाई प्रत्यक्ष भेटेर, उसको सहजतालाई समेत ध्यानमा राखी प्रश्न नबुझेको ठाउँमा सहजीकरण गर्दै, थप प्रश्नहरू सोधेर सूचनाको विश्वसनीयता जाँच गर्दै ल्याएको जस्तो गहकिलो सूचना अनलाइन विधिबाट ल्याउन सकिँदैन । त्यसैले गुणात्मक प्रकारको अनुसन्धानमा (क्वालिटेटिभ स्टडी) मा अनलाइन विधि त्यति प्रभावकारी नहुन पनि सक्छ । अनलाइन विधिबाट संकलन गरिएका सूचनाहरूमा केही त्रुटि भएमा, गलत वा अस्पष्ट सूचना आएमा त्यसको पुनर्पुष्टि गर्न निकै कठिन हुन सक्छ ।
अनलाइन विधिबाट सोधिने प्रश्नावलीमा ज्ञान वा अनुभवको अवस्था, जातीय वा भाषिक पृष्ठभूमि, संस्कृति, अपाङ्गताको अवस्था आदिका कारणले पनि सबै मानिसको समान पहुँच नहुन सक्छ । जस्तै विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति हाम्रो सर्भेक्षणका लक्षित समूहमा पर्छन् । हाम्रो अनलाइन प्रश्नावलीमा कुनै दृष्टिविहीन व्यक्तिले उत्तर दिने चाहना राखे उनको ‘स्क्रिन रिडिङ सफ्टवेयर’ले प्रश्नावलीमा पहुँच लिन सकेन भने उनी त्यसबाट वञ्चित हुनेछन् । यसैगरी हामीले सर्भेक्षण गर्न चाहेको जनसंख्या इन्टरनेटको पहुँचभन्दा बाहिर रहेछ भने पनि यो विधिको कुनै अर्थ हुँदैन ।
जस्तै नेपालमा अहिले लकडाउनको प्रभाव राउटेहरूमा कस्तो परेको छ भनेर अनलाइन सर्भेक्षण गर्न सकिने कुनै संभावन छैन । यसैगरी अनलाइन विधिबाट संकलन गरिएको सूचनाले व्यक्तिको दृष्टिकोण र विचारको मापन गर्न सकिन्छ तर व्यवहार मापन गर्न सकिन्न ।
समग्रमा माथि चर्चा गरिएका फाइदा बेफाइदाले अनलाइन विधिबाट सूचना संकलन गर्नु राम्रो र प्रभावकारी हो तर सबै अवस्थामा यो विधि उपयुक्त हुँदैन भन्ने प्रष्ट्याउँछ । अर्थात, यो प्रभावकारी र विश्वासिलो हुन केही निश्चित सर्त, मापदण्ड र मान्यता पूरा हुनुपर्ने हुन्छ ।
अब अनलाइन विधिबाट सूचना संकलन गर्न प्रश्नावलीहरू बनाउँदा ध्यान दिनुपर्ने विषयमा पनि थोरै चर्चा गरौँ ।
अनुसन्धानकर्ताले लक्षित समूह र उसको इन्टरनेटसँगको पहुँच र उपयोगको अवस्थालाई विचार पुर्याउनुपर्छ । प्रश्नावली वा फारम निर्माण गर्दा प्रयोग गरिने भाषा र शब्दावलीको सरलता लक्षित समूहले प्रयोग गर्ने भाषा र अपेक्षा गर्ने भाषिक सरलता अनि स्पष्टताको स्तरसँग मिल्ने हुनुपर्छ ।
प्रश्नावली वा फारममा प्रयोग हुने शब्दावली सबै स्थानमा उस्तै अर्थ दिने हुनुपर्छ । यसै भएमा फलस्वरूप फरक भूगोलमा वा संस्कृतिअनुसार फरक अर्थ लाग्ने शब्दावलीको प्रयोगले सूचनामा पार्ने नकारात्मक प्रभावबाट बच्न सकिनेछ । यसैगरी त्यस्ता शब्द वा शब्दावलीहरूको प्रयोग पनि गर्नुहुँदैन जसले उत्तरदाताको आत्मसम्मान र मर्यादामा ठेस पुग्छ र जाति, रंग, उत्पत्ति, वर्ग, लिंग, धर्म, संस्कृति, आर्थिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थितिका आधारमा भेदभाव वा अवहेलना जनाउँछ ।
अनलाइन विधिबाट सूचना संकलन गर्दा प्रश्नहरू सकेसम्म छोटा, कम समय लाग्ने र सकेसम्म दिइएका विकल्पहरूबाट छान्ने प्रकृतिका (क्लोज इन्डेड) बनाउनुपर्छ । यसो भए उत्तरदातालाई प्रश्नको उत्तर दिन धेरै समय लाग्नेछैन ।
हाल कतिपय संस्था र व्यक्तिहरूले बन्दाबन्दी र मानिसको इन्टरनेटमा पहुँचको अवस्थाको आकलन गरी हरेक प्रकारको लक्षित समूहलाई सर्भेक्षणमा समेट्न बीचको बाटो पनि अपनाउने गरेका छन् जसमा अनलाइन फारमहरू सिधै उत्तरदातालाई नपठाएर केही तालिम प्राप्त गणकलाई पठाइन्छ र उनीहरूले फोनको माध्यमबाट उत्तरदातासँग प्रत्यक्ष अन्तर्वार्ता लिई फारम भरेर पठाउने गर्छन् ।
(कार्यक्रम तथा प्रशासन प्रमुख, राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा कार्यरत)