काठमाडौं । बन्दाबन्दीले सामूहिक कविता वाचन अर्थात् कवि गोष्ठीमा नयाँ आयाम थपेको छ । यतिबेला उपलब्ध सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्दै भर्चुअल कवि गोष्ठीले विभिन्न ठाउँ र सहरका कविहरूलाई एउटै स्क्रिनमा समेटेको छ । यसअघि कवि गोष्ठी वा कविता वाचन कुनै सभा हलमा हुन्थे । जुन कार्यक्रममा उपस्थित स्रोताका सामू कविहरूले आफ्ना रचना वाचन गर्थे ।
एक दिन यस्तै एउटा कवि गोष्ठीमा पुगेको थिएँ । केही कवि आइसकेका थिए । केही आउनै बाँकी थिए । आयोजक समूहका सदस्य पनि आउँदै गरेको देखिए । त्यहाँ कवि गोष्ठीका लागि तोकिएका प्रमुखअतिथि भने आउन बाँकी नै थियो । नेपालमा आयोजना गरिने धेरै कार्यक्रमहरूमा प्रमुखअतिथिहरू समयमा आउँदैनन् । ती समयमा आउँदा प्रमुखअतिथिको मर्यादामा आँच आउने भएकाले होला, खासगरी प्रमुखअतिथि समयभन्दा अलिक अबेला नै पुग्ने चलन रहिआएको छ !
उक्त कार्यक्रममा बिस्तारै घडीको सुईले तोकिएको समयको ठाउँ छोड्दै गयो । समयको अंकदेखि सुईको दूरी बढ्दै गयो, अहिले सामाजिक दूरी बढेजस्तै ! र कवि गोष्ठीमा प्रमुखअतिथि आइपुग्दा आधा घण्टाभन्दा बढीको समय बितिसकेको थियो । त्यो दिन समयमा पुग्ने धेरैले आफ्नो अमूल्य समय खेर फालेका थिए । यसरी धेरैले धेरै पटक समय खेर फालेका छन्, यस्ता कार्यक्रमहरूको नाममा ।
कवि गोष्ठी मात्रै होइन, नेपालमा हुने धेरैजसो विमोचन कार्यक्रम, अन्तरक्रियात्मक कार्यक्रम, संस्थागत उत्सव तथा विभिन्न कार्यक्रमहरू मध्ये कमै मात्र कार्यक्रम तोकिएको समय वा दुईचार मिनेट तलमाथि हुनेगरेको पाइन्छ । नभए बाँकी कार्यक्रममा तोकिएको समयमा तोकिएका सबै मानिस आउने भनेको बिरलै हुन्छ । त्यसैले पनि प्रायः कार्यक्रममा बोलाइएका पाहुना वा कवि वा अन्य ‘थपडीमार’ स्रोताले आधा घण्टा ४५ मिनेटको समय खेर फालेकै हुन्छन् ।
यो पङ्तिकारले धेरै यस्तो कार्यक्रममा आफ्नो समय खेर फालेको छ । तर बाध्यता छ । किनभने त्यस्ता कार्यक्रममा नबसे समाचार बन्दैन पनि ।
तर, यस पटक बन्दाबन्दी (लकडाउन) को अवधिमा एउटा नयाँ कामको थालनी भएको छ, जसलाई सुखद थालनी भन्नुपर्छ । लकडाउनमा कविहरूको धेरै समूह इन्टरनेटका माध्यमबाट भर्चुअल कवि गोष्ठीमा सक्रिय भएका छन् । कविता पढेका छन् । पढिएका कविताहरूमाथि टिप्पणी पनि गरिरहेका छन् ।
केही अघि कवि विधान आचार्य सम्मिलित एउटा समूहले सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्दै धेरै कविहरू समेटेर कविता गोष्ठी आयोजना गर्यो । त्यस्तै सेतोपर्दाले केही चर्चित गजल लेखकहरूलाई एकैठाउँमा ल्याएर जोड्यो र गजल वाचन गर्न लगायो । त्यस्तै भूगोल साहित्य समाजले पनि कविता गोष्ठीको आयोजना गर्यो ।
त्यसरी नै कवि रामगोपाल आशुतोष र सगुना शाहले कवि तथा तिनका कविताहरूलाई युट्युबमा स्पेस दिँदैआएका छन् । अर्थात सूचना तथा सञ्चार प्रविधिको प्रयोग कविता वाचनमा पर्याप्त मात्रामा भइरहेको छ ।
लकडाउनमा फस्टाएर गएको ‘भर्चुअल कविता वाचन’ले कविताका क्षेत्रमा नयाँ आयाम थपेको मात्रै नभएर लकडाउनपछि पनि यसलाई व्यवस्थित गरेर निरन्तर सञ्चालनमा ल्याइरहन प्रेरित गरेको छ । यदि यसको निरन्तरतामा जोड दिने हो भने भर्चुअल कवि गोष्ठीले अहिलेको युग र समयको प्रतिनिधित्व गर्ने निश्चित छ । यसले कवितामा रुची राख्ने र लेख्ने स्वदेश तथा विदेशमा रहेका सबै कवि लेखकहरूलाई समेट्ने कुरामा कसैको दुईमत हुन्न ।
कवि साहित्यकार वियोगी बुढाथोकी भर्चुअल कविता वाचनको प्रचलनलाई कायम नै राख्नुपर्ने धारणा राख्छन् । उनका अनुसार लकडाउनको समयमा फस्टाएको यो परम्परालाई गति दिनु हरेक लेखक कविका लागि राम्रो हुनेछ । वियोगी भन्छन्, “यस कार्यलाई सकारात्मक मान्नु पर्छ । यो सुरुआतलाई निरन्तरता दिनु नै पर्छ । यसले समयको पनि बचत गराउँछ भने आर्थिकरूपमा पनि धेरै खर्च गराउँदै । अनि कविता सुन्ने सुनाउने उद्देश्य पनि पूरा गर्छ ।”
लकडाउनको यो समयमा यस्ता कवि गोष्ठी तथा गजल वाचन समूहसमूहमा गराइँदै आइएको छ । यद्यपि जेजस्तो भए पनि भोलिका दिनमा यो भर्चुअल कवि गोष्ठी प्रचलनले सबैलाई ठूलो राहत दिने कविहरूको भनाइ छ ।
सूचना प्रविधिको दह्रिलो माध्यम युट्युबमा विभिन्न कविका कविताहरू वाचन सहित कविका विचार पनि प्रस्तुत गर्दै आएका कवि रामगोपाल आशुतोष पनि भर्चुअल कविताको वाचन परम्पराले निरन्तरता पाए राम्रो हुने मान्छन् । तर, उनी थोरै शंका गर्छन्, कतै यसले कविहरूबीचको आपसी सम्बन्ध धमिलो हुँदैजाने हो कि ?
कवि रामगोपाल भन्छन्, “भर्चुअली कविता वाचन लकडाउनको सकारात्मक पाटो भए पनि यसले कविहरूका बीचमा भौतिक दूरी बढाउँछ कि भन्ने लाग्छ । कवि गोष्ठीमा साथीभाइ बीच भेटघाटको माहोल बन्छ । तर कम्प्युटर र मोबाइलका माध्यमबाट कवि गोष्ठी हुँदैजाने हो भने त्यसले सामाजिक दूरी मात्रै नभएर व्यक्तिगत दूरी बढाउँदै लानसक्छ ।”
यही शंका छ, कवि तथा साहित्यकार उषा शेरचनको पनि । उनी भर्चुअल कवि गोष्ठीको प्रचलनलाई सकारात्मक मान्छिन्, तर कविहरूका बीचमा विद्यमान सम्बन्ध खुकुलो हुने डर उनको पनि छ ।
लकडाउनको समयमा सेतोपर्दाबाट गजल वाचन कार्यक्रमलाई अगाडि बढाउँदै आएका रंगकर्मी राज शाह अहिलेको यो पद्धतिले रचना वाचनमा नवीन परम्पराको शुभारम्भ गरेको बताउँछन् । उनी भन्छन्, “यसको सबैभन्दा सकारात्मक पक्ष भनेको वाचन हुँदै गरेको कविताप्रति स्रोताको दृष्टिकोण तुरुन्त कमेन्ट बक्समा आउनु हो । जसले कसको कविता उम्दा र कस्को कमजोर भन्ने देखाउँछ । त्यसैले भर्चुअल कवि गोष्ठी एउटा कविका लागि पनि चुनौतिपूर्ण रहेको हुन्छ ।”
रंगकर्मी राज शाह आगामी दिनमा लकडाउनको समयमाजस्तै गजल वाचन परम्परालाई निरन्तरता दिने सोचमा छन् ।
यता लकडाउन भएदेखि भर्चुअल कवि गोष्ठीको व्यवस्थापन गर्दैआएका कवि विधान आचार्य यो प्रचलनलाई निरन्तरता दिने विचारमा छन् । तर उनी भन्छन्, “यद्यपि, लाइभ कवि गोष्ठीको स्वाद र मज्जा बेग्लै हुन्छ ! र पनि, भर्चुअल कवि गोष्ठीलाई निरन्तरता दिँदै गए त्यसले पनि सबैको मन जित्नेछ ।”
कवि तथा साहित्यकार उषा शेरचन पनि भर्चुअल कवि गोष्ठीको निरन्तरताको पक्षमा छिन् । यसले कवि गोष्ठीमा हुने समय र खर्चमा बचत गर्ने उनको भनाइ छ ।
आफूमा हमेशा केही नयाँ गर्ने सोचाइ रहेको बताउँदै उषा शेरचनले २०६० साल तिर नै के.ए.टी.एच. एफएम (हालको इमेज एफएम) बाट आफ्नो गीति एलबम ‘मेरो माटो मेरो गीत’को विमोचन गरेको सम्झना गरिन् । एफएमको साहित्यिक कार्यक्रम ‘सारस्वत’मा गीतकार चेतन कार्कीले विमोचन गरेको सम्झँदै उषा भन्छिन्, “लकडाउनको यो समयले पनि एउटा नयाँ बाटो देखाएको छ । हो, लाइभ कवि गोष्ठीमा जाँदा र कम्प्युटर वा मोबाइल अगाडि बसेर कविता वाचन गर्दाको अवस्थामा त केही फरक पर्छ नै । लोकल कुखुराको स्वाद र ब्वाइलर कुखुराको स्वादमा भिन्नता भएजस्तै त होला । तर, पनि कवितामा बौद्धिक खुराक पर्याप्त पाइन्छ । त्यो चाहे भर्चुअल कवि गोष्ठी होस् वा लाइभ ।”
यसरी हेर्दा सूचना तथा सञ्चार प्रविधिको उच्चतम् प्रयोग गर्दै नेपाली साहित्यिक वृत्तमा प्रस्तुत हुँदैआएका विभिन्न कार्यक्रमहरू नियमित सञ्चालन गर्न सकिने देखिएको छ । यसको प्रयोगमा वृद्धिसँगै यसैमा रमाउने अवस्था पनि सिर्जना हुने निश्चित छ ।
त्यति मात्रै होइन, साहित्यकार उषा शेरचनले रेडियोबाट सीडी विमोचन गरेजस्तै पुस्तक विमोचन र अन्तरक्रियात्मक कार्यक्रमको सञ्चालनमा पनि सूचना तथा सञ्चार प्रविधिको प्रयोग हुँदै गए त्यसले समयसँगै सबैको मन जित्दै जाने आशा गर्न सकिन्छ । र, यस भर्चुअल काव्य परम्पराले कार्यक्रमहरूमा उपस्थित दर्शक स्रोताले पनि राहत महसुस गर्नेछन् ।