site stats
बाह्रखरी :: Baahrakhari
देश
कारागारमा पनि कोरोनाको उच्च सतर्कता

दाङ । दाङको घोराही कारागारमा निर्माण गरिएको क्वारेन्टाइनमा उच्च सतर्कता अपनाइएको छ ।

संक्रमण फैलन नदिन भन्दै दाङको घोराहीमा रहेको कारागारमा क्वारेन्टाइन निर्माण गरिएको थियो । कोरोना भाइरसको जोखिम रहेका बेला कारागारमा थपिने कैदीबन्दीहरुलाई क्वारेन्टाइनमा राखेर मात्रै कारागारभित्र लैजाने गरिएको छ । यस्तै कैदीसँगको भेटलाई पूर्ण रोक लगाइएको छ । घोराही कारागारमा पाँचजना अट्ने क्षमता रहेको क्वारेन्टाइन निर्माण गरिएको जेलर विष्णु पाण्डेयले जानकारी दिए ।

Argakhachi Cement Island Ad

कोरोनाको जोखिम रहेको समयमा कारागारमा थपिने कैदीबन्दीहरुलाई सुरुमा क्वारेन्टाइनमा राख्ने गरेको उनले बताए । क्वारेन्टाइनमा बस्दा कैदीबन्दीमा कुनै समस्या देखिएन भने अन्यसँग राख्ने गरेको उनको भनाइ छ । जेलर पाण्डेयले क्वारेन्टाइनमा राख्नुको मुख्य उद्देश्य कारागारमा बस्दै आएका अन्य कैदीबन्दीहरुमा कोरोनोका संक्रमण फैलन नदिने भएको बताए ।

जेलर पाण्डेका अनुसार लकडाउन सुरु भएपछि घोराही कारागारमा तीन कैदीबन्दी थपिएका छन् । उनीहरुलाई कारागारकै क्वारेन्टाइनमा १४ दिन राखी स्वास्थ्य परीक्षणपछि मात्र कारागार चलान गरिएको उनले बताए । अहिले घोराही कारागारमा दुई सय ८५ कैदीबन्दी बस्दै आएका छन् । कोरोना भाइरसको जोखिमका कारण कारागारमा बस्दै आएका कैदीबन्दीसँग उनका आफन्तहरुले गर्ने भेटघाटसमेत बन्द गरिएको छ ।

‘‘अहिलेको जोखिम अवस्थालाई मध्यनजर गर्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट गर्नसमेत बन्द गरिएको छ,’’ उनले भने, ‘‘जसले गर्दा चैत ११ पछि कुनै पनि कैदीबन्दीहरुले बाहिरका मानिससँग भेटघाट गर्न पाएका छैनन् ।’’ कोरोना भाइरसको संक्रमण फैलनसक्ने भन्दै घोराही कारागारले लकडाउन लागू भएदेखि नै कैदीबन्दीलाई बाह्य मान्छेहरुसँगको भेटघाट बन्द गरेको कारागारका जेलर पाण्डेयले जानकारी दिएका छन् । घोराही कारागारले लकडाउन लागू हुनुभन्दा पहिले साताको आइतबार, मंगलबार र बिहीबार बिहान ११ देखि ४ बजेसम्म कैदीबन्दीका लागि भेटघाट गर्ने समय दिइँदै आएको थियो ।

जेलर पाण्डेयका अनुसार अहिले घोराही कारागारमा रहेका दुई सय ८५ कैदीबन्दीमध्ये पाँचजना कैदीबन्दीहरु विदेशी छन् । उनीहरुमध्ये अधिकांश भारतीय नागरिक रहेकोसमेत उनले बताए । उनका अनुसार ४-५ कैदीबन्दी ६० वर्षमाथिका समेत छन् ।

त्यसैगरी तुलसीपुर कारागारमा पनि सतर्कता अपनाइएको तुलसीपुर कारागारका जेलर युवराज परियारले जानकारी दिएका छन् । कारागारमा थपिने कैदीबन्दीहरुलाई राख्न क्वारेन्टाइन निर्माण नगरिए पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै भित्र राख्ने गरेको उनले बताए । ‘‘कारागारमा छुट्टै क्वारेन्टाइन निर्माण गरेका त छैनौँ, तर कारागारमा रहेको खाली कोठालाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने योजना छ,’’ परियारले भने, ‘‘क्वारेन्टाइन नभए पनि थपिने कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरेर मात्र राख्ने गरेका छौँ ।’’ 

लकडाउनका क्रममा कारागारमा तीन कैदीबन्दी थपिएको भन्दै उनले उनीहरुको स्वास्थ्य परीक्षण गरेर मात्र कारागारमा राखिएको बताए । उनका अनुसार तुलसीपुर कारागारमा पनि कैदीबन्दीहरुलाई व्यक्तिसँग भेटघाट गर्न रोकिएको छ । जेलर परियारकाअनुसार ४ सय ६५ कैदीबन्दी रहेको तुलसीपुर कारागारमा ३२ महिला, ११ विदेशी र ४ जना बालबालिका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १६:५४
प्रतिक्रिया दिनुहोस्