
काठमाडौं । केही दिनयता देशमा उकुसमुकुस गर्मी छ । गर्मीका कारण दिउँसोको समयमा बाहिर निस्कन सकस परेको छ ।
देशका कतिपय स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसमाथि छ । काठमाडौंको तापक्रम ३१ डिग्री नाघेकाे छ । सोमबार (जेठ २६) काठमाडौंको अधिकतम तापक्रम ३१.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार काठमाडौंको अधिकतम तापक्रम ३०.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
काठमाडौंको हालसम्मकै उच्च तापक्रम ३६.६ डिग्री हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ । गत वर्ष काठमाडौंमा २५ वर्षयताकै गर्मी भएको थियो ।
महाशाखाले सोमबार सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४१ डिग्री सेल्सियस छ । सोमबार धनगढीको अधिकतम तापक्रम ४०.२, भैरहवाको ४०, दिपायलको ३७.५, सिमराको ३७.५, विराटनगरको ३७, जनकपुरको ३६.८, चन्द्रगढी एयरपोर्टको ३६.३, वीरेन्द्रनगरको ३६.२, घोराहीको ३५.९ डिग्री सेल्सियस मापन गरिएको छ ।
नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री तापक्रम पुगेको थियो ।
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।