site stats
बाह्रखरी :: Baahrakhari
विशेष
रोकिएन सवारी पास लिनेको भिड ! (तस्बिरसहित)

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम मोलेरै भए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पास लिनेको भीड अझै रोकिएको छैन ।

सरकारले भीड बढेसँगै अत्यावश्यक कामका लागि अनलाइनबाटै ई–पास लिने व्यवस्था गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले पारिवारिक मृत्यु संस्कारका लागि बाहेक अन्य कामका लागि पास वितरण नगर्ने बताएपछि अहिले कार्यालयमै आएर पास माग गर्नेको संख्या बढेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जसले गर्दा जिल्ला प्रशासन कार्यालय अगाडि भिड हुन गई कोरोना संक्रमणको जोखिम बढेको छ । सोमबार दिउँसो पनि प्रशासन कार्यालयअगाडि यस्तै भिड देखियो । पास लिन आउनेहरू पनि मृत्यु संस्कारका लागि पास मागेका भने होइनन् । कोही काठमाडौंमा खानेकुरा सकिएपछि घरजान पास माग्‍ने श्रमिकहरू छन् भने कोही कार्यालय प्रयोजनाका लागि पास माग्नेहरू छन् । यस्तै अत्यावस्यक कामका लागि घर जानुपर्ने भन्दै पास लिन आउनेहरू पनि छन् ।

लकडाउन सुरु भएसँगै सरकारले अत्यावश्यक कामका लागि पास दिने व्यवस्था गरेको थियो । पास वितरण गर्दा लकडाउन उल्लङ्घन हुने र न्यूनतम सामाजिक दूरी कायम गराउन कठिन भएपछि अनलाइनबाटै ई–पास लिने व्यवस्था गृह मन्त्रालयले गरेको थियो ।

तर काठमाडौं जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कारको कामका लागि बाहेक अन्य कामका लागि ई–पास नदिने बताएपछि अहिले कार्यालयमै आएर पास माग्नेहरूको भिड बढेको हो । यसबाट लकडाउन उल्लङ्घन मात्र भएको छैन कोरोना भाइरसको संक्रमणको जोखिमसमेत बढेको छ ।

लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिदलगायतका अत्यावश्यक कामका लागि बाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेश हो । तर जिल्ला प्रशासन कार्यालयले पास वितरणमा स्पष्ट नीति नलिएपछि कार्यालयअगाडि भिड बढेको हो । 

तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १८:२२
प्रतिक्रिया दिनुहोस्