राजेश खनाल
लकडाउनको तगारो अगाडि ठडिएपछि छटपटी सुरु भयो । समाचार÷फिचर लेख्छु भनेर अघि सरे पनि केले रोक्ने केले ? नलेखिने होइन, तर लेखनमा गति वा तेज भने अलिकति पनि रहेन !
त्यसैले विभिन्न कार्टुन र यताउता चाङ लागेर बसेको किताबको झुण्डबाट नारायण ढकालको ‘पे्रतकल्प’ निकाल्न खोजेँ । यो समयमा फेरि ‘प्रेतकल्प’ दोहोर्याउन मन लाग्यो ।
मेरो व्यवस्थित लाइब्रेरी छैन । किताब यताउता छरपष्ट रहेको छ । कहिले कता कहिले कता डेरा सर्ने भएकोले व्यवस्थितरुपमा र्याकमा किताब राख्ने काम गरिनँ । सामान राख्ने कार्टुन बाकस नै मेरो लाइबे्ररी बन्यो ।
डेरा सर्ने क्रममा सानासाना बोराभरि कैयन् किताब पुस्तकालयलाई पनि नदिएको होइन । तर ‘यो फेरि पनि पढ्नु पर्छ है’ भन्ने लागेको किताब कतै न कतै राखेको हुन्थेँ ।
किताबको अव्यवस्थित राखनधरनमा ‘प्रेतकल्प’ भेटिएन । तर त्यसको खोजीमा किताबहरूमा जमेको धूलो टकटकाउँदाटकटकाउँदै आफूमा लागेको लतको सम्झना भयो ।
०००
कालुले उकास्दै–उकास्दै खैनी (सूर्ती) खान सिकाएको थियो । यहाँ दोष कालुलाई मात्रै नदिऊँ । खराब मै पनि त हूँला, कालुको लहैलहैमा लाग्ने !
यदाकदा बाबा (हजुरबुवा)लाई सूर्ती माड्न सहयोग गरे पनि ओँठमा सूर्ती च्याप्दैनथेँ । सूर्ती माड्दाको दक (गन्ध)ले नै काम पुग्थ्यो आफूलाई त ! त्यसको धूलोको कडा दकले ‘तीन त्रिलोक चौध भुवन’ देखाउँथ्यो । त्यसैले पनि सूर्ती दाब्नेतिर मन गएन ।
कहिलेकाहीँ कालुले ‘एक जुम खैनी मलाई देऊ है’ भनेपछि बाबाको खैनीको डिब्बाबाट एकदुई जुम (चिम्टी) उसको जिम्मा लगाउँथे, म । ऊ च्याप्प आँेठमा दाब्थ्यो । ओँठ ढिस्कोजस्तै उठेर माथि उकासिन्थ्यो । अनि थाल्थ्यो पिच्च–पिच्च थुक्न ।
दुईचार पटक ‘थोरै चाखी हेर त’ भनेपछि मैले पनि दुईतीन दाना ओँठमा दाब्न थालेँ । अल्लारे उमेर । कति मल्ने मात्रै । कहिलेकाहीँ चाखौं न त भन्ने पनि लाग्यो होला ! यसरी खैनी च्याप्दा वाकवाक् लागे पनि पछि त लतै बस्यो । धेरैजसो समतुरियाको लत खैनीमा बसेकोले पनि हुनुपर्छ, मलाई पनि खैनीको लत लागेको !
मावल भलुवाहीबाट जलेश्वर आएपछि, मलुवा खैनीबाट बजारमा छ्यापछ्याप्ती पाइने सुगन्धित खैनीको डिब्बा बोक्ने लत लाग्यो । मलुवा कसले खाइरहोस् । मल्ने झञ्झट किन गर्ने ? त्यसबेला कडा गन्धसहितको डिब्बावाला ‘बिजुली सुगन्धित खैनी’को खुबै चल्ती थियो । यही चलनचल्तीमा म पनि रमाएँ ।
उतिबेला जलेश्वरमै घर भए पनि मेरो बास ‘लचमु हाइस्कुल’को होस्टलमा थियो । र सुत्ने ओछ्यानको तकियामुनि बिजुली खैनीको डिब्बा अहिलेको मोबाइलजस्तै आराम गरिरहेको हुन्थ्यो । जसले तलतल लागेको बेला ओँठमा पुगेर ठूलै राहत दिन्थ्यो ।
एकदिन साँझ म होस्टल कोठामा नभएको बेला होस्टल सुपरिटेन्डेन्ट कविराज उपाध्याय सरले मेरो तकिया उठाएछन् । नजरमा परेको बिजुली खैनीको डिब्बाले उनको भोल्टेज हाई गराइहाल्यो !
केही समयपछि आफ्नो कोठामा मलाई बोलाएर “बिजुलीको सेवन कहिलेदेखिको हो, केटा ? गौरीशङ्करजी जलेश्वर नै आउनु भएको छ । भन्दिऊँ ?” भन्दै आँखा तरे ! अर्थात् कविराज सरले मज्जैले थर्काए ।
बुवाको नाम लिएपछि सातो उड्यो । एकदुई दिन मात्रै भएको थियो बुवा काठमाडौंबाट जलेश्वर आएको । यो कुरा बुवाले थाहा पाए बाँसको पातलो कर्चीले ठोकाइ खाने निश्चित थियो ।
फेरि, कविराज सरले हेडसरलाई पनि भने कि ? त्यसले झनै अत्यास लगायो । किनभने हेडमास्टर सभापति लालदास अगाध स्नेह गर्थे मलाई । उनी जहिल्यै भन्थे, “तिम्रो बुवालाई पनि मैले पढाएको हुँ ।” सायद, बुवाको पिटाइ सहन सकिन्थ्यो होला; हेडसरको ‘वचन’ सहन सकिँदैनथ्यो ! आफ्नो अभिभावकका रुपमा रहेका हेडसरसम्म कुरो पुग्नुभन्दा खैनीको लत छोड्नु नै उत्तम मार्ग रह्यो मेरा लागि ।
त्यसैले कविराज सरका अगाडि खैनी कहिल्यै नखाने कसम खाएँ । न मलुवा, न त डिब्बावाला नै ।
खैनीको लतमा ब्रेक लाग्यो । यो लतमा बे्रक नलागेको भए के हुन्थ्यो कुन्नि ! तर खैनीको लत छुटेको केही महिनापछि होस्टल पनि छोडियो ।
त्यसपछि त अर्को लतले पो समायो !
०००
होस्टलमा एक÷सवा वर्ष बसेपछि घरमै बस्न थालेँ । घरमा दिनचर्या फरक भयो । होस्टलमा निश्चित तालिकामा आफूलाई चलाउनु पथ्र्यो । घरमा त्यो कडा नियम र रुटिन थिएन । होस्टलको अनुशासन र घरायसी अनुशासनमा धेरै फरक थियो ।
होस्टलमा बस्दा जलेश्वर बजारमा स्थापना गरिएको पुस्तकालयमा गएर पढ्ने वा किताब ल्याउनेतिर कहिल्यै सोचिएन । जब घरमै बस्न थालियो, बजारमा रहेको पुस्तकालयले मलाई आफूतिर तान्यो । पुस्तकालयमा केही घण्टा बिताएर उपन्यासहरू घर लैजाने लत लाग्यो । रवि काका पनि पुस्तकालयतिर समय बिताउने भएकोले मलाई पनि त्यताको रौस चढेर गएको थियो ।
अन्ततः पुस्तकालयले यति तान्यो कि त्यहाँका कैयन् किताब चिर्लिप्पै पारियो । त्यतिबेला नेपाली लेखक युधीर थापा, दीर्घबाहु, शरद निरौला, प्रकाश कोविदका उपन्यास थोरबहुत पढिन्थ्यो ।
अरु त हिन्दी उपन्यास नै हो पढ्ने । खासगरी, कर्नल रञ्जित, ओमप्रकाश शर्मा, इब्ने सफी बीएका जासुसी उपन्यास, रानु, मनोज, गुलशन नन्दाका सामाजिक उपन्यास अनि कुशवाहा कान्त र बाबु देवकीनन्दन खत्रीका तिलस्मी औपन्यासिक कृतिले चुम्बकले झैं तानेका थिए ।
यस्ता किताब दिनकै चिर्लिप्प पारिन्थ्यो । त्यो पनि लालटिन वा डिबिया (टुकी)को धमिलो उज्यालोमा । आँखाले त्यसबेला कसरी भ्याउँथ्यो होला ! आज सम्झिँदा पनि अचम्म लाग्छ !
जनज्योति पुस्तकालय नाम थियो सायद, त्यसको । जलेश्वर बजारदेखि हनुमान मन्दिर जाने बाटोकै लामो घरको एउटा कोठामा पुस्तकालय स्थापना गरिएको थियो । त्यो पुस्तकालय कसले स्थापना गरेको थियो, मलाई त्यति जानकारी छैन । तर उपन्यासमा बढ्दै गएको रुचिले मलाई पुस्तकालय दिनभरि खुले हुन्थ्यो भन्नेसम्मको बनाएको थियो ।
पुस्तकालयको नशाले लट्ठ बनाएको थियो । खैनीको लत छुटे पनि किताबको लतले मलाई बेस्मारी जकडेको थियो ।
काकाका साथीहरूको ‘जितोड’ मेहनतकै नतिजा थियो, पुस्तकालयमा साँझदेखि बेलुकासम्मको भीडभाड । त्यो भीडमा घुसेपछि म पनि रमाउन थालेँ । पुस्तकालयमा पस्नासाथ किताबको ढुसीयुक्य गन्धले तान्दै जान्थ्यो । त्यो अचम्मको गन्ध नाकमा नपरेको पनि तीसौं वर्ष भयो ।
पुस्तकालय स्थापनाको सुरुआती दिनमा संलग्न नभए पनि पछिका दिनमा दुईतीन घण्टाको समय दैनिक त्यहीँ बित्न थाल्यो । कहिलेकाहीँ काकाका साथीहरूलाई पनि सहयोग गर्दै किताब इन्ट्री गर्ने, फिर्ता लिने र ¥याकमा नम्बर अनुसार मिलाएर राख्ने गर्न थालेँ ।
र, घर फर्किंदा कुनै उपन्यासकारको एउटा किताब काखीमा च्यापेर हिँड्थेँ । ओँठमा खैनीको साटो काखीमा किताब च्याप्ने लतमा डुबेको थिएँ । कर्नल रञ्जितको नयाँ जासुसी उपन्यास पुस्तकालयमा आयो कि आफ्नो लागि छुट्याएर राख्थेँ ।
अचम्मको समय थियो त्यो । यतिबेला सम्झिन्छु, बिनाबिजुली कसरी नानाभाँतीका उपन्यासहरूको पाना पल्टाइयो ! सधैं लालटिन पाइँदैनथ्यो । झोल औषधिको सानो शिशीको बिर्कोमा प्वाल बनाएर कपडाको सलेदो हालेर डिबिया बनाइन्थ्यो । अनि मट्टितेल हालेर घण्टौं बालेर ती उपन्यासलाई पार लगाइन्थ्यो । जबकि कोर्सको किताब पढ्दा त्यही डिबियाको धूवाँले नाक र आँखा पोल्यो भनेर बहाना बनाइन्थ्यो !
पुस्तकालय जान थालेपछिको उपन्यास पढ्ने लत खैनीको लतभन्दा धेरै कडा रह्यो । रातै बितेको पनि पत्तो हुँदैनथ्यो । कहिलेकाहीँ काका र मबीच प्रतिष्पर्धा चल्थ्यो, कसले चाँडै पढेर सक्ने !
यो लतले काठमाडौं आउँदा पनि छोडेन । एउटा गर्मीमा काठमाडौं उक्लिएँ, बाइरोडको बाटो भएर । नागबेली बाटो हुँदै काठमाडौं छिरेको केही दिनपछि दिक्क लाग्न थाल्यो । र, खोज्दै हिँडे पुस्तकालय ।
मित्रपार्कमा बसोबास थियो । साँझबिहान समय बिते पनि दिउँसोको समय कटाउन कठिन हुन थाल्यो । बुवाले ल्याउने गरेको धर्मयुग र दिनमानमा खासै रुचि रहेन । काठमाडांै एक्लै घुम्नसक्ने हिम्मत भएन । त्यसैले पनि पुस्तकालयको खोजी जरुरी भएको थियो मेरा लागि ।
मित्रपार्क, कुटुबहालको लामपोखरी छेउमा वीरेन्द्र पुस्तकालय फेला पारेपछि मेरो एक महिनाको काठमाडौं बसाइ सजिलै बितेको थियो । त्यो पुस्तकालय फेला पर्नु मेरा लागि ठूलै कुरा भेटिनुसरह थियो ।
यतिबेला २०४५ सालको एउटा प्रसङ्ग सम्झना भइरहेको छ । नाटक खेल्न भनेर १५ जनाको समूह भारतका विभिन्न सहर तिर हिँड्यौं । श्रीओम, पूर्ण, पार्वती, सन्तोष दाइलगायत मसहितको त्यो टोली लखनउ, कानपुर, फरिदाबाद, दिल्ली हुँदै १५ दिनपछि नेपाल फर्किंदै थियो ।
त्यसबेलासम्म अलिअलि चुस्की लगाउने लत लागिसकेको थियो । तर त्यो १५ दिने यात्रामा चुस्की लगाउने त परको कुरो, नामै लिनु पनि निषेध थियो । त्यसैले फर्किंदा सुनौलीमा बोर्डर पार गर्नासाथ साथीहरूका साथ भट्टीमा पसेर सुरा संसारमा रमाइएको थियो ।
ठ्याक्कै सुनौलीमा जस्तै आनन्द मिलेको थियो मलाई, चाबेल लामपोखरी नजिक रहेकोे वीरेन्द्र पुस्तकालयमा गएर उपन्यासहरू पढ्दा ।
अचेल देख्दिनँ, लामपोखरीमा त्यो पुस्तकालय । छ कि छैन, थाहा छैन । अब त पुस्तकालय जाने त्यो लत पनि छुटिसकेको छ ।
०००
गएको पुसको पहिलो साता जलेश्वर पुग्दा म त्यही पुस्तकालय रहेको कोठाको अगाडि केहीबेर उभिएँ । ढोका बन्द थियो । त्यसैको अघिल्तिर उभिएर सभ्झिएँ, मैले पढेका उपन्यासका लेखकहरूलाई ।
उफ् ! म उभिएको ठाउँ अघिल्तिर, न त पुस्तकालय थियो । न त अरु कुनै पसलहरू नै । पसल भएको भए, पसलेलाई “यहाँ कुनैबेला एउटा पुस्तकालय थियो । त्यो पुस्तकालयमा जाँदाजाँदै मलाई किताब पढ्ने ‘लत’ लागेको थियो । त्यही ‘लत’को तलतल मेट्न मैले सयौं उपन्यासहरू पढेको थिएँ” भनेर सुनाउने थिएँ ।