सारा जगत् अहिले मानौं फुर्सदिलो छ । सबै घरै छन् । जो घरै छैनन् तिनका पनि चिन्ता जति घरमा थुनिएका उपर छन् । भूमण्डलीकरणको चर्को ध्वनि र चकाचौंध अनि तीव्र्र वेग चैत वैशाखको हुन्डरीजस्तै झ्यालबाट पसेर घरघरमा ‘लक्डाउन’ भएको छ । कहिल्यै नसुनिएका भाँती भाँतीका शब्द सुनिएका, पढिएका र अर्थ पहिल्याइएका छन् ।
समग्रमा भन्दा विद्यमान महाव्याधिले मान्छेलाई उसको हैसियत र खासियत चिनाइदिएको छ । गौतम बुद्धले कतै भनेका थिए – वसुन्धरासँग तिम्रो आवश्यकता (अंग्रेजीमा त्यसलाई निड भनिन्छ) पूरा गर्ने सम्पूर्ण चिजबिज छ, तर तिम्रो लालच (ग्रिड ) पूरा गर्ने सामथ्र्य छैन । अहिले ‘निड’ पूरा गर्न ‘ग्रिड’सँग सम्झौता गरिरहेछ मानव सभ्यता ।
आज प्रत्येक मानव समुदाय यो वा त्यो तबरले विद्यमान महाव्याधिसँग आक्रान्त भइरहेको बेला म भने क्यानाडाको आर्थिक राजधानीको एउटा कुइनेटोमा बसेर इस्टर ब्रेकको यो बिहान केही अनुभव लेख्ने कोसिस गर्दैछु । यी मेरा निजी अनुभूति हुन् ।
दुईवटा गीत बजिरहेछन् अहिले दिमागमा । दुवै नारायण दाइका स्वरांकित । सायद, पहिलो कालीप्रसाद रिजालका शब्दशिल्प हुन् भने दोस्रो कुशल चिकित्सक डाक्टर राममान ’तृषित’का । एउटा ‘’भोलि उठी कहाँ जाने केही थाहा छैन’’ भन्ने पेटबोली भएको गीत हो । अर्को ‘‘तिमीसँग लिनु पनि छ, तिमीलाई दिनु पनि छ’’ भन्ने पेटबोली भएको गीत ।
गीतहरु जीवन बोलिदिन्छन् र जीवन्त बनिदिन्छन् । गायक ती बोलीमा लोली मिलाउँछन् र चिरायु हुन्छन् । नेता पनि त्यस्तै हुनुपर्दो रहेछ जीवन बोलिदिने । मार्च ११ तारिख जस्तो लाग्छ एउटा खबर खरको आगो झैं फैलियो प्रथम महिला कोरोना संक्रमित भइन् रे ! त्यसको भोलिपल्ट मार्च १२ तारिख बिहीवार खबर आयो – प्रधानमन्त्री कोरा (क्वारेन्टिन) मा बस्ने भए अरे ! त्यसैदिन देशवासीसँग कुरो राख्न सार्वजनिक मिडियामा देखा परे प्रधानमन्त्री ।
कोरामा बस्ने कुरो पनि सुनाए र अनवरत देशवासीसँग प्रत्यक्ष संवादमा हुने पनि सुनाए । त्यो क्रम निरन्तर छ आज पर्यन्त । हरेक बिहान साडेँ ११ को आसपास एउटा ढोका खुल्छ र एक अधवैँसे ब्यक्ति पोडियमतिर मुस्कुराउदै आउँछ । अनि सोध्छ – तपाईँलाई सन्चै छ? परिवारको कुशलक्षेमको सोधाइपछि नयाँ आशालाग्दो कुरा बताउँछ । झनअस्ति जागिर खोसिएकालाई गाँस दिलाउने वाचा गर्यो, हिजो बैंक खातामा मार्च १५ देखि अप्रिल १५ सम्मको २ हजार र अप्रिल १५ देखि मई १५ सम्मका लागि २ हजार गरी ४ डलर हजार हालियो रे ।* त्यो फिर्ता गर्नु पर्दैन ।
त्यो, करदाताले तिरेको तिरोबाट संचित, आपदविपदमा खर्च गर्न छुट्याइएको पैसा हो । हालसम्म मेरो गाँसको जोहो भइरहेको छ । त्यसैले मैले आवेदन दिन पाउन्न । दिएँ भने पनि अस्वीकृत हुन्छ । तर, मेरो छोराले आवेदन दिन पाउँछ । उसले दिएको छ । पैसा पनि पाउला नै । रमाइलो कुरो त के छ भने हिजो अनेक आनाकानी गरेर कर तिर्नु सट्टा नगद कारोबार गर्ने नेपालीलगायतका केही मन्दमति महानुभावहरुले समेत त्यो आपत व्यवस्थापन कोषबाट रकम पाउनेछन् ।
सत्तारुढको तर्क छ – बाँच्न पाउनु उसको पहिलो हक हो । करिब ३० प्रतिशत रकम कर तिर्दा मन मुटु कटक्क काटिए पनि यतिखेर सरकार अभिभावक भएको भान हुँदोरहेछ । यो जस्टिन ट्रुडो नामक ५० पुग्दै गरेको प्रधानमन्त्रीले हरेक दिन हाम्रो अनुहारमा एउटा मुस्कान ल्याइदिन्छ । हामी महाव्याधिको चपेटामा छौँ त के भो? टाँडमा, टौवामा बसेर कर्कश आवाजमा अह्रनखटन गर्ने, धाकधक्कु लगाउने, हप्कीदप्की गर्ने मालिकजस्तो नेताभन्दा सुखदुःखमा साथ दिने साथीजस्तो नेताको नेतृत्वमा छौँ ।
ग्रामीण नगरपालिका अत्यावश्यक सार्वजनिक सेवामा वर्गीकृत भएको हुँदा र त्यसमा व्यवस्थापकीय जिम्मेवारी लिई कार्यरत भएको हुँदा घरैमा बसेर काम गर्ने छुट छैन मजस्तालाई । म अझै पनि करिब ५५ किलोमिटर एकतर्फी बाटो नापिरहेछु । बाटो खाली छ र बिस्तारै बिस्तारै बसन्तलाई वैंस चढ्न थालेको देखिन्छ बाटाको किनारामा ।
हिउँ पग्लेर पालुवा मुनाउन थालेकाछन् । खिन्न त लाग्दो रहेछ, आतेस पनि । यो सबै खिन्नताबीच एक दिनको सम्बोधनपछिको प्रश्नोत्तरमा प्रधानमन्त्री ट्रुदोलाई एक पत्रकारले सोधे – सोफी तपाईंकी अर्धांगिनीलाई कस्तो छ? उनले सहज जवाफ दिए – सबै देशवासीको सद्भाव, स्नेह र शुभकामनाले उनी जाती भइन् ।
पूरक प्रश्न सोधियो – तपाइैँको पनि कोरा त सकियो । अब के प्रधानमन्त्री कार्यालय जानुहुन्छ दिनै कि यहाँबाटै देश हाँक्नु हुन्छ? आफ्नो ट्रेडमार्क हाँसोसँगै उनले भने – म आफू भने ‘’सबैलाई घर बस, सुरक्षित बस’’ भनिरहेको छु । मिल्ने जति घरबाट नै काम गरौँ भनी आह्वान गर्ने पनि म नै हुँ । मेरो सेवा त अत्यावश्यक सेवाभित्र नै वर्गीकृत छ । तथापि, मैले मेरो कार्य सम्पादन घरबाट नै गर्न सकिरहेको छु । मैले नै मेरो आह्वानको अवज्ञा गर्नु हुँदैन । म स्थिति अनुकूल नहुन्जेल र अत्यावश्यक नहुन्जेल घर बाहिर निस्किन्न । मलाई लाग्यो – आहा, क्या गतिलो नेतृत्व !
म कुनै व्यक्ति वा दलविशेषको गुणगान गरिरहेको छैन । र म मेरो जन्मभूमि र कर्मभूमिको नेतृत्वको तुलना पनि गरिरहेको छैन । तर, दुवै भूमिमा करिब उत्रै र उस्तै जिम्मेवारी वहन गरी काम गर्न पाउने भाग्यमानी भएका आधारमा लेख्दैछु – पद्धतिको निर्माणमा नेपालले गुमाएका प्रत्येक पलहरुले हामीलाई गिज्याइरहेका छन् ।
नेपालको सन्दर्भमा मेरा सूचनाका आधार भनेका सामाजिक सञ्जालका पोस्टिंगहरुबाहेक मेरा करिब ३५ वर्ष वा त्यसभन्दा पहिलेदेखिका साथीहरु हुन् सिद्धार्थ वनस्थली पढ्दा बेलाका । हिजोआज ती साथीहरु पनि फुर्सदिला भएका छन् र बेलाबेलामा सूचना प्रविधिको उच्चतम फाइदा उठाउँदै भेला हुने गर्छौं हामी । त्यस्तै एक भेलामा नेपालमा भएका एक साथीले दिव्यज्ञान दिए – तिमीहरु घरबाट समेत काम गरिरहेछौ, हामीलाई ‘’सत्ताले काम नगर, घरै बस् भनेको छ । मीठामीठा पकवान खाएका छौँ, बसेका छौँ, अन्तर त्यहीँनेर छ ।’ मलाई कालीप्रसाद रिजालका शब्द र नारायणदाइको स्वर त्यतिखेरदेखि बल्झेको हुनुपर्छ ।
नेतृत्वले अन्योल ओछ्याउने होइन भरोसा ओढाउने होजस्तो लाग्छ । सपना देख्ने होइन, सपना देखाउने होजस्तो लाग्छ । हप्काउने र आफूलाई ठालु मान्ने होइन, फकाउने र सेवक देखाउने हो जस्तो लाग्छ । सबै मै जान्ने, मैले बुझेको र अरु कोही नजान्ने जस्तो गर्नु हुँदैन । मलाई लाग्छ, नेपाली वित्त व्यवस्थापनको उपल्लो दर्जामा पुगेको मेरो सहपाठी जब सुस्केरासहित भन्छ – हामी त यहाँ ‘लक्डाउन सेलिब्रेट’ गरिरहेका छौँ । मलाई लाग्छ, उसको र अधिकांश मजस्ता अधवैंसे पेसाजीवीहरुको हविगत नेपालमा ‘मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ’ भन्दा बेसी केही छैन । निरन्तर बेगारीजस्तो भएर निख्रिरहेको ऊर्जा देखेर व्याकुल छ एउटा पुस्ता जसको प्रतिनिधित्व मसमेतले गर्छाैँ ।
यतिखेर नेतृत्वले नानावलीका परिकार खाएर त्यसको सार्वजनिक प्रदर्शन नगर, महिला उपर व्यंग्य गरिएका दुईपैसे ठट्यौली रोक, घरै बसेरसमेत कसरी यो महाव्याधिमा पनि अर्थतन्त्रको पाङ्ग्रो चलाइरहने हो त्यसमा दिमाग खेलाऊ भन्नुपर्ने होइन र? यो अहिलेको महाव्याधिले ल्याएको अवस्थामात्र भने पक्कै होइन ।
अंग्रेजीमा एउटा टुक्का छ जसको झर्रो अनुवाद ’गाडा अघि, घोडा पछि’ हुन्छ । नेपाली समाजमा जहिले पनि जनता अघि थिए नेता पछि । तर, सधैँ त जनता कुटो छोडी कुम्लो बोकिरहन सक्ने हुँदैनन् । तब राजनीति चाहिन्छ । त्यसमा नेता चाहिन्छ । जब राजनीतिमा नेता चाहियो हुलहालमा, पेलपालमा कसैलाई केही जनताले नै काँध हालेर अघि ल्याइदिए र बाँकी पेसाकर्मी, दिग्गज, स्वाभिमानी जनता छाँद हाली रुन बाध्य बनाइए । अनुभव त होला १४ वर्षे लक्डाउनको प्रधानमन्त्री केपी ओलीसँग तर १४ वर्षे बन्दी जीवनबाट के अनुसरणयोग्य सीप (ट्रांस्फेरेबल स्किल) ल्याउनु भयो र नेतृत्व दिनका लागि ? प्रश्न यो हो ।
यसको जवाफमा उहाले गोडा चारेक टुक्का त सुनाइदिनुहोला, हाम्रो भाषिक संग्रहमा केही थप शब्दसहित श्रीवृद्धि होला । तर आजको आवश्यकता? उहाँलाई ताज्जुब लाग्छ, अचम्म लाग्छ, आश्चर्य समेत लाग्छ होला – यो क्यानाडाको प्रधानमन्त्री र उहाँको तुलना होइन । विद्वान प्रधानमन्त्रीलाई यो पनि थाहा होला – तुल्यहरुको मात्रै तुलना हुन्छ ।
अंग्रेजीमा यसलाई ‘कम्पेयर द कम्पेरेबल्स’ भनिन्छ । क्यानाडाका प्रधानमन्त्रीको उमेर जति त नेपाली प्रधानमन्त्री सक्रिय राजनीतिमा नै हुनुहुन्छ । उहाँ जति संघर्षशील राजनीतिज्ञ हाल विश्व राजनीतिमै बिरलै होलान् । नेपालीले गर्व गर्नुपर्ने ठाउँ हो यो । तर, त्यसका लागि नेपाली समाजले उहाँबाट के पायो? अझ कठोर प्रश्न के हो भने – करिब अर्ध शताब्दीमा उहाले सिकेका तीनवटा अनुसरण योग्य सीप के हन् ? इमानसाथ निर्मम ढंगले जवाफ दिनुपरे हम्मे पर्छ । यो न उहाँप्रति व्यंग्य हो, न तुलना ।
पैँसठ्ठी वर्षको उमेर पछि सबै प्रकारको जिम्मेवारीबाट मुक्त हुने र अवकाश लिने चलन रहेछ यता । पैसठ्ठीअघि नै सक्रिय राजनीतिपछि सन्यास लिएर आफ्नो पेसागत जीवनमा फर्किने चलन हुँदो रहेछ । जस्टिन ट्रुडोभन्दा अघिका कन्जर्वेेटिव पार्टीका नेता एवं प्रधानमन्त्री अहिले कुनै कर्पोरेट एजेन्सीको संस्थापक भएर बसेका छन् र अन्तर्वार्ताहरुबाट परहेज राख्छन् । कतै बोलेका पनि छन् – मेरो जीवनको तेस्रो वृत्ति हो यो र यसमा बोली कम, काम ज्यादा गर्नुपर्ने छ । केही उमेर अझै बाँकी छ । अहिले नकमाउने हो भने निवृत्त जीवनमा क्यालगेरीका सडकमा टोपी थाप्दै हिँड्नु पर्ने हुन्छ ।
सायद कुनै क्यानेडियनलाई पनि त्यो रुचिकर नहुन सक्छ । त्यसैले मलाई मेरो काम गर्न दिनुहास् । राजनीति मभन्दा कान्छाहरुको सुरक्षित हातमा छ अहिले । नेपालका प्रधानमन्त्रीले यो अवकाशको संस्कारमात्र बीजारोपण गरिदिए पनि ’भोलि उठी कहाँ जाने’ भन्ने अन्योल नरहँदो हो उहाँलाई, उहाका पछुवाहरुलाई र समग्रमा राष्ट्रलाई नै ।
एक स्वतन्त्र सर्वेक्षणअनुसार सन् अप्रिल २०१९ मा क्यानाडाका प्रधानमन्त्रीको स्वीकार्यता प्रतिशत २८ थियो भने अहिलेको यो महाव्याधिपछि त्यो बढेर ७४ प्रतिशत पुगेको छ अप्रिल २०२० सम्म आइपुग्दा । त्यसको कारण के हुन सक्छ? त्यसको कारण उनले देखाएको नेतृत्व कौशल हो । माथि उल्लेख गरे झैं भोलिको अन्धकार देखाएर घरैमा थच्ची भन्ने पनि नेतृत्व नै हो, त्यो अन्धकारपछि उज्यालो छ, त्यो कति छिटो र थोरै मूल्य चुकाएर हासिल गर्ने हो भन्ने हामी सबैको सद्कर्ममा निहित छ र आउनुहोस्, सहकार्य गरौँ भन्ने पनि नेतृत्व नै हो ।
नेतृत्वकै कुरा गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपको चर्चाविना अधुरो, अपुरो होला । आफ्नो एकोहोरो ढिपी गर्नेलाई किन हो लिंँडे भनिन्छ । ट्रम्प महोदय लिँडे हुँदैनथे भने हाल अमेरिका यो त्रासद कोरा बारिरहेको हुनेथिएन । हेर्दाहेर्दै लासका खातमाथि उभिएर बल्ल उनी भन्दैछन् – म तेब्बर पैसा दिन्छु, मलाई स्वास्थ्य सामग्री देऊ ।
एउटा नेताको एउटा ट्विट कति विनाशकारी हुन्छ भन्ने प्रमाण बनेका छन् उनी अहिले । व्याधिमाथिका राजनीति मेरो अरुचिको विषय हो तथापि ट्रम्पको – ‘‘हाम्रा लागि व्यवशायी नै निधि हुन्, इस्टरसम्म सबै व्यापार खोल्नेछु’’ भन्ने ट्विटले बत्तीमा पुतली परेझैं भयो ठूलो अमेरिकी समूह ।
अधिकांशलाई कोरोना भाइरस चिनिया भाइरस भनेर पढाइरहे उनले र अन्त्यमा त्यही भाइरसले उनको ‘पुनः अमेरिका महान् बनाउने’ अभियानले सोत्तर पारिदियो । नेतृत्वको बोलीमा त्यत्रो शक्ति हुन्छ । हाम्रा प्रधानमन्त्री यो तथ्यबाट बेखबर पक्कै नहुनुपर्ने हो । यो महाव्याधिको घडीमा कसले, कतिखेर, के बोल्नेसमेत हिसाब मिलाउनुपर्ने हुँदो रहेछ ।
‘भोलि उठी कहाँ जाने केही थाहा छैन’ भन्न बाध्य बनाउने पनि नेतृत्वले नै हो । ‘तिमीसँग लिनु पनि छ, तिमीलाई दिनु पनि छ’ भन्ने पनि नेतृत्वले नै हो । निश्चय नै, नेपाली प्रधानमन्त्रीलाई व्यक्तिगतरुपमा ‘भोलि उठी कहाँ जाने’ थाहा होला तर कतिदिन सम्म नुनको ढिका र च्युरा खाएर काठमाडौँ बस्नुपर्ने हो भन्ने सोलुबाट कैलाली हिँडेका मजदुरलाई थाहा नहोला । महाकाली पारी पुलको ढोका खुल्ला र घर पुग्न पाइएला भनेर कुरेका गरिब नेपालीलाई थाहा नहोला । तर आश गरेर बसेका छाक खोज्न भौंतारिएका निमुखा निम्छराहरुलाई कुनै आशाको तेजविना बुगुल्टो ठिंगुर कस्दा उनीहरुले पुराना हिसाबसमेत मिलाउन खोज्नेछन् भन्ने हेक्का नहोला ।
उसो त यी पंक्तिका लेखकको अब कागजीरुपमा नेपालसँग कुनै नाता बाँकी छैन । तर, त्यही धर्तीमा जन्मेको, हुर्केको, पढेको, बढेको र सारा आफन्त त्यतै छोडेर हिँडेको एउटा मनुवाको कर्तव्य त छ । नेपालसँग अब लिन बाँकी त केही छैन तर नेपाललाई दिनुपर्ने धेरै बाँकी नै रहेको छ र त लेखिन्छ । हो, दिनुपर्नेछ, हाम्रो हिसाबकिताबमा सच्याउनु पनि छ ।
क्यानाडालगायत विकसित मुलुकहरुले एक निश्चित मोडेलका आधारमा यो महाव्याधिको आयु र यसले गर्न सक्ने मानव विनाशको आँकडा प्रस्तुत गरेका छन् । त्यसरी हेर्दा, क्यानाडाजस्तो मुलुकले डेढदेखि दुई वर्षको अन्तरालमा ११ हजारदेखि २२ हजारसम्मको मानवीय क्षतिको प्रक्षेपण गरेका छन् ।
किन त भन्दा आवश्यक स्वास्थ्य सामग्री एवं पूर्वाधारको कमीका कारणले । अहो कति त्रासद समय र कालखण्डमा छौँ हामी ? स्थिति कहालीलाग्दो छ । अब त लास गन्न पनि छोडियो । स्थानीय जनस्वास्थ्यविज्ञ, औषधिविज्ञहरुका अनुसार यसको औषधि निकट भविष्यमा सम्भव नरहेको समेत बुझियो । के नेपालले त्यस्तो आकलन गरेको छ ? कि बन्दाबन्दी भनेपछि बन्दाबन्दीमात्र हो ? मान्छेलाई घरभित्र थुनेर सत्ता पनि सुतेकै छ ?
अहिले त म यो महाव्याधिपछिको विश्वको कल्पना गर्दैछु । हामी सायद अर्को परिवेशमा हुनेछौँ । अमेरिकी राष्ट्रपतिले अघि नै सम्झौता भइसकेको सर्तबमोजिम क्यानाडालाई निर्यात गर्नुपर्ने मेडिकल सामग्री निर्यात नगर्न थ्री एम नामक अमेरिकी कम्पनीलाई आदेश दिए । त्यसैको बदलामा क्यानाडेली प्रधानमन्त्री ट्रुडोले दिएको नम्र चेतावनी सुन्दा त अझ, हामी करिब तेस्रो विश्वयुद्धको सन्निकट हुनेछौंँ जस्तो लागेको छ ।
म निराशा बाँडिरहेको छैन । तर लाग्छ, विश्वमैं ठूलो प्रतिमान अन्तरण ( प्याराडाइम शिफ्ट) हुनेछ । विश्व यो भूमंडलीकरणबाट फर्केर स्थानीयकरणको युगमा फर्किनेछ । चीन वा भारतको औद्योगिकीकरणमा यसले प्रतिकूल असर पर्नेछ । सन् २०२०को दशक चरम निराशाको दशक हुनेछ ।
उक्त प्रक्षेपणलाई विश्व परिवेश सापेक्ष मानी तथ्यांकहरुको शोध संश्लेषण गर्ने हो भने सन् २०२३ पुनःबसाइँसराइको सुरूको वर्ष हुनेछ । व्यवस्थापन गर्न सकेमा मूलतः दक्षिण एसियाली मुलुकहरु यसबाट लाभान्वित हुनेछन् । यसो हुनुमा विकसित मुलुकहरु अत्यन्त कठिन अवस्थामा रहनेछन् ।
त्यहाँ लुटपाट र जातीय दंगा हुनेछ । आप्रवासी, त्यसमा पनि दक्षिण एसियाली मुलका व्यक्तिहरु, जो प्राध्यापन, चिकित्सा, इन्जिनियरिङ, सार्वजनिक लेखा, वकालतजस्ता पेसागत उन्नयनमा उपल्लो तहमा रहेका छन् । ती आँखी हुनेछन् र लघारिने छन् । चिनियाँहरुको कथा अझ त्रासद हुनेछ । ती अझ बढी प्रताडित हुनेछन् । केही समय त अहिले चलायमान आतंकीहरुसमेत ‘सेल्फ आइसोलेसन’मा रहलान् ।
विकासको कसी अब अजंगका भवन, बाटोघाटो, पुलपुलेसा नभई आईटी इन्फ्रास्ट्रक्चर हुनेछ । करिब ३० प्रतिशत काम घरबाट नै हुनेछ । विश्वविद्यालय ७० प्रतिशत अनलाइन हुनेछ । नेपाल बसेर न्युजिल्यान्डको विश्वविद्यालयको डिग्री लिन सकिनेछ । सवारी चालक प्रमाणपत्रभन्दा विभिन्न सफ्टवेयर चलाउने इजाजतपत्र महत्त्वपूर्ण हुनेछन् । नेपाल जस्ता परम्परागत खेतीमा आधारित मुलुकले आफ्नो श्रमशक्ति पुनः प्राप्त गर्नेछन् । वैदेशिक श्रम वा सामग्रीको निर्भरता घट्नेछ ।
कुनै वादले नगरेको वैश्विक परिवर्तन एउटा महाव्याधिले गर्दैछ । के हामी त्यसका लागि तयार त छौँ ? माथि नै लेखेको छु, मैले त्रासको बेपार गरिरहेको हैन । म स्वयम् पनि मान्छेको सम्भावित मृत्युको थोक परिकल्पना गर्नु हुँदैन र त्यो परिकल्पना मिल्दैन भन्ने मान्छे हुँ । तर, हरेक विपद्ले मानव सभ्यतालाई एउटा पाठ पढाएर जान्छ । के त्यो पाठ पढ्न सक्ने राजनीतिक नेतृत्व नेपाली समाजसँग छ?
छैन भने पनि के नभुलौं भने बसन्त आउनेछ, फूल पनि फुल्नेछ, चराहरुले गीत गाउन छोड्ने छैनन् । ती गीत नारायणदाइका स्वरमा कालीप्रसाद रिजाल वा डा. राममान तृषितले ढुंगामा खोपेका कालजयी शब्दका हुनेछन् । सुन्न हामी रहने वा नरहने भन्ने प्रश्नको वस्तुपरक जवाफ भने हामी आफैँमा निहित छ । किनभने हाम्रा नेता हामीले नै छानेका हौँ, चाहे त्यो क्यानाडामा हो वा अमेरिका वा नेपालमै ।
(प्राविधिक कारणले अंकमा फरक भएकाले सच्याइएको छ। सं)