site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 मैले कोरोनालाई जितिसकेँ 

काठमाडौं । डिसेम्बरको उत्तरार्द्धतिर अन्शु सापकोटा बेल्जियम प्रस्थान गरिन् । जीवनको १९ वसन्तको उडान भरिरहेकी अन्शुको आकाश यात्रानुभव पनि पहिलै थियो ।

बाग्लुङ नगरपालिका–४ कुँडुलेमा हजुरबाआमासँग बस्थिन् ।  तीन सन्तानमध्येकी जेठी । बाबुआमा बेल्जियमै थिए । बाबुआमा मात्र होइन दुई भाइबहिनी पनि उतै रत्तिइसकेका थिए ।

आफू एक्लै कुँडुलेमा बस्दा दिनहुँ मस्तिष्कमा सपनाले उडान भरिरहन्थ्यो । सपनाको काया पनि उही १९ वर्षे किशोर न पर्‍यो ।

सपनाले मन रोटे पिङझैं मच्चाउन थालेपछि अन्शुले बेल्जियमको यात्रा छिचोलिन् । परिवारको नियास्रो मेट्न नपाउँदै कोरोना कहरले विश्वलाई गाँजिहाल्यो । चीनको हुबेई प्रान्तबाट उम्किएर विश्व सयर गर्न थाल्यो ।

वुहान इपिसेन्टर थियो । ठूलठूला कम्पन–परकम्पन विश्वभर फैलन थाल्यो । इटालीको लोम्बार्डी क्षेत्र अर्को ‘इपिसेन्टर’ बनेको थियो ।

आमा इटालियन रोजगारदाताकहाँ जागिर गर्थिन् । रेस्टुँरामा इटालियनहरूको पनि बाक्लो आउजाउ हुन्थ्यो । कोभिड–१९ फैलने भय उत्तिकै थियो ।

साढे दुईमहिना बेल्जियम बस्दा अन्शुले उच्च सतर्कता अपनाइन् । हात साबुनपानीले धुने, यन्त्र–उपकरण, बजारबाट आएका सामग्री छुँदा, धुँदा प्रत्येकपल्ट हात किटाणुशोधन गर्थिन् । 

तथापि, मनमा भयको हुण्डरी चलिरहन्थ्यो ।

घरमा हजुरबा, हजुरआमा मात्रै थिए । पारिवारिक भेटघाट र घरायसी कामले बाबु दश दिनअगावै बेल्जियबाट नेपाल आए ।  कोरोनाको कहर बढ्दो थियो । युरोप छिचोलेर अमेरिकालाई गाँज्न थालिसकेको थियो । उनी पनि नेपाल फर्कने चाँजोपाँजो मिलाउन थालिन् ।

डिपेन्डेन्ट भिसामार्फत् बेलिजयम पुगेकी थिइन् अन्शु । कुँडुले माविमा कक्षा ११ मा पढ्थिन् । शैक्षिक शत्र पूरा भइसकेको थिएन । कोरोनाको आँधी–तुफानकै बीच अन्शुले नेपाल फर्कने निधो गरिन् ।

“परीक्षा नजिकिँदै थियो । अचानक पढाइ पूरा गर्ने रहर जागृत भयो । नेपाल फर्किएँ,” उनी नेपाल फर्कनुको कारण बताउँछिन् ।

चैत ३ गते बेल्जियमबाट नेपालतर्फ प्रस्थान् गरिन् । दोहा ट्रान्जिट थियो । चैत ४ गते कतारको दोहाबाट नेपाल अवतरित भइन् । कतार एअरवेजको क्यूआर– ६५२ मार्फत् ।

नेपाल आएको दुईचारदिन भएको हुँदो हो, सामान्य ज्वरो देखियो । घाँटी दुखेजस्तो भयो । मौसमी रुघाखोकी, मर्की लाग्दा पनि यसो हुन्थ्यो । सुरुमा उनलाई कोरोनाको आशङ्का नभएको होइन । उनले त्यति ध्यान दिइनन् । 

घर नजिककै एउटा मेडिकलमा औषधि किनेर आइन् । भोलिपल्टैबाट पूर्ववत् अवस्थामा फर्किइहालिन् ।

फर्किएको ६ दिनपछि, उनीसँगै एउटै जहाजमा आएकी काठमाडौंकी १९ वर्षीया किशोरीमा कोरोना सङ्क्रमण देखियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलोपल्ट त्यसको पुष्टि ग¥यो ।

उनको मुटुमा ढ्याङ्ग्रो बज्न थाल्यो ।

कोरोनाको लक्षण नदेखिएकाले उनी आत्तिइहालेकी चाहिँ थिइनन् । कथम्कदाचित कोरोना देखिइहालेछ भने जित्छु भनेर हिम्मत साँचेर बसेकी थिइन् । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल अवतरण भएकी किशोरीमा सङ्क्रमण पुष्टि भएपछि जहाजमा आउने अरूको पनि खोजी भयो । देशव्यापी ।

अन्शुको नाम पनि सार्वजनिक भयो । बाग्लुङ नगरपालिकाका मेयर जनकराज पौडेलले तदारुकता देखाए । उनको घाँटीको र्‍याल (थ्रोट स्वाब) को नमुना सङ्कलन गरेर काठमाडौं पठाइयो ।

अपसोच ! उनमा कोरोना सङ्क्रमण पुष्टि भयो ।

स्वाबको नमुनाको नतिजा थाहा पाउनेबित्तिकै उनको मुटु चिसो भयो । हातगोडा लुलियो । टेकिरहेको भुइँ भासिएजस्तो, आकाशले फन्का मारिरहेझैं दिमाग चक्करायो । तर ११ दिन व्यतीत भइसक्दा पनि शरीरमा कुनै लक्षण नदेखिएकाले आत्मबल अझै दह्रो बनाइन् । बाबु ऋषिराम सापकोटाले पनि मनबल उकास्न भरमग्दुर प्रयास गरे ।

भोलिपल्ट उनी धवलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा भर्ना भइन् । अस्पतालको चिसो शय्यामा एकान्तवास बसेदेखि उनको चर्या फेरिएको छ । मानिसहरूसँगको भेटघाट, सम्पर्क टुटेको छ । 

अन्शुको हकमा मात्र यो लागु भएको होइन ।

जीवनको भागदौड, दौडघूपबाट अलग्गिएर विश्वका अधिकांश मानिसहरू अहिले एकान्तवासमा समेटिएका छन् । घरपरिवार, आफन्तसँग दूरी कायम गरिरहेका छन् । घरभित्र, चोटाकोठामा चुकुल ठोकेर बसेका छन् ।

अन्शुलाई अहिलेको समय निकै कठिनतम् प्रतीत भइरहेको छ । कोरोना जिन्दगीको नमीठो दशा बनिरहेको छ । सुरुसुरुमा त रातहरू निकै अध्यारो प्रतीत भए । जून टहटहाएको रातमा पनि उज्यालोको क्लेश भेटिनन् । सपना, विपनाको स्थान कोरोनाले ओगट्यो । ओछ्यानमा ऐंठन खस्न थाल्यो । अस्पतालको शय्याबाट बाहिर चियाउँदा चारैतिर हरिया आकृति, चर, अचर, सलबलाएजस्तो आभाष भयो ।

“जीवनमा कहिल्यै नबेहोरेको सङ्क्रण पुष्टि भएपछि डर त लाग्ने नै भयो । तर मैले धैर्य गुमाइन,” उनी अनुभव सुनाउँदै भन्छिन्, “बलियो आत्मविश्वास भयो भने जस्तै रोग जित्न सकिन्छ भन्ने सुनेकी थिएँ ।”

कोरोनाको ओखतिमूलो पत्ता लागेको छैन । चिकित्सा विज्ञान त्यसको खोजीमा निक्लिएको छ । ढिलोचाँडो चिकित्साले कोरोनारूपी चरलाई निश्क्रिय बनाउने औषधिमूलो पत्ता लगाउला । भाइरस मानिसको काबूमा आउला ।

अन्शुका लागि अहिले आत्मविश्वास नै ओखतिमूलो बनेको छ । त्यसैको सहारामा कोरोनाबाट पार पाउने बलियो आशामा छिन्, उनी ।

“डाक्टरहरूले फोन गरिरहनुहुन्छ । बुबासँग दिनहुँ, घण्टौं कुराकानी हुन्छ । बेल्जियमबाट आमाले उत्तिकै फोन गर्नुहुन्छ,” उनी पुलकित हुँदै थप्छिन्, “आफन्तजन, देशका ठूलाठूला मानिसहरूले पनि फोन गर्न थाल्नुभएको छ । बिहीबार मात्रै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले फोन गर्नुभयो !”

देश–दुनियाँबाट आउने फोनका घण्टीहरू पनि उनलाई कोरोना तह लगाउने ओखति बन्न थालेका छन् ।

बिहान, ६ बज्नुअगावै उठ्छिन । मनतातो पानीबाट सुरु हुन्छ उनको दिनको सुरूआत । केही समय मोबाइलमा मन बहलाउँछिन् । आमोद–प्रमोदको माध्यममात्रै होइन, आफन्तजन, घरपरिवारसँग जोड्ने सेतुको काम पनि त्यही मोबाइल बनेको छ ।

तर कहिलेकाहीँ सामाजिक सञ्जालमा आउने नकारात्मक खबर, समाचारहरूले उनको मुटुलाई जरैदेखि हल्लाउँछ । मनमनै सोच्छिन्– “यस्तो नराम्रो खबर त नहालिदिए पनि हुने !”

कसले सुन्नु उनको मनको संवाद । उनी आइसोलेसन वार्डमा समेटिएदेखि आजसम्म त्यस्ता नकारात्मक खबरमा कुनै कमी आएको छैन । मानिसहरूको आत्मबल गुमाउने माध्यम यो पनि बनेको छ ।

तर उनी त्यसमा धेरै अल्झिन्नन् ।

कारण– श्वेत वस्त्रधारी उनका भगवान बनेका छन् । उनीहरूको सल्लाह, सुझाव, सामीप्य, सान्निध्य कोरोनाको कहर छिचोल्ने रामवाण । चिकित्सकले साह्रोगाह्रो बुझिरहन्छन् । प्रशस्त पानी, झोलिलो कुरा पिउन अह्राउँछन् । मन बलियो बनाउन सुझाइरहन्छन् । आउजाउ गरिरहँदा कोरोना सङ्क्रमण फैलिने भय हुन्छ । चिकित्सक, नर्सले पनि दूरी कायम गरेका छन् ।

अहिले कुनै शारीरिक कठिनाइ झेल्नु नपरेकाले औषधिमूलो खानुपरेको छैन । “कहिले नेगेटिभ नतिजा आउँछ भनेर पर्खिएर बसेकी छु,” उनी हाँस्दै सुनाउँछिन् । ‘क्यूआर– ६५२’ जीवनको नमीठो विम्ब बनेको छ । सपनाको उडान कोरोना भित्र्याउने माध्यम बन्न पुग्यो । बाबुसँगै फर्कन पाएको भए कोरोनाको आँधी–तुफान छल्थेँ कि भन्ने पनि नलाग्ने होइन । जिन्दगी सँधै चिताए, कल्पिएजस्तो पनि त हुँदैन !

कोरोना कसरी सल्कियो, उनले सोच्न सकेकी छैनन् । अहिले त सोच्नै छाडिसकिन् ।

जहाजमा १ सय ५८ यात्रु थिए । सबै यात्रुमा नजर पुग्ने कुरा भएन । दोस्रो सङ्क्रमित किशोरी कहाँ बसेकी थिइन् ? उनको रूपरङ कस्तो थियो ? उनलाई केही पनि थाहा छैन । तर पनि भाइरस आफैं ठोक्किन आइपुग्यो । यसैले त भन्दाहुन्– जीवन नसोचेकै परिघटना हो ।

अन्शु विभिन्न कुरा मनमा खेलाएर कोरोनालाई ठाउँ दिन चाहन्नन् । जतिजस्तो चाँडो एकान्तवासबाट छुटकारा पाउनुछ । शरीका कोष, तन्तुबाट विषाक्त चरलाई लखेट्नु छ ।

अहिलेको समयमा कोरोना जीवनको शक्तिशाली पाठ पनि बनेको छ । कोरोनाले सिकाएको पाठलाई गहिरोगरी आत्मसात गरेर जीवनको मनोदशालाई बदल्नु छ । नयाँ, नवीन लयमा ढाल्नु छ । “अहिले तिमीलाई कस्तो छ ?” फोन गर्नेजति सबैले यही प्रश्न गर्छन् । उत्तर दिन उनको टठिलो आवाज नै काफी छ ।

“कोरोनाबाट ढिलो–चाँडो उम्किएर आउँछु नै । रोग लाग्दा आत्तिइहाल्नु नहुने रहेछ । कोरोना लाग्दैमा मरिहालिने होइन रहेछ । अहिलेको अवस्थामा धैर्य र आत्मविश्वास यसको औषधि हो,” उनी सबैलाई यही सन्देश बाँडिरहेकी छन् ।

उनले पुनः भनिन्, “कोरोना लागिहाले छ भने पनि म सबैलाई नआत्तिन सल्लाह, सुझाव दिन्छु । कोरोनाले मारिहाल्दैन । यसबाट बाहिर आउन सकिन्छ ।” अहिले उनी तन्दुरुस्त छिन् । अस्वस्थताको अवस्था छैन । तथापि, अन्शुको अवस्थाका बारेमा धेरैलाई चासो, चिन्ता हुनसक्छ । 

“मैले कोरोनालाई जितिसकेको छु । मेरोबारेमा चिन्ता, चासो राख्ने सबैलाई धन्यवाद !,” अन्तिममा उनले सबैलाई सम्झन छुटाइनन् ।

(अभिभावकले नै सङ्क्रमितको नाम, तस्बिर सार्वजनिक गर्न आग्रह गरेकाले उल्लेख गरिएको छ ।)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro