काठमाडौं । बझाङ बुंगल नगरपालिकामा विक्रम विक ११ दिनदेखि धार्चुलामा अलपत्र छन् । ३ दिनदेखि हिँडेर धार्चुला आइपुगेपछि देश छिर्न पाउने आशा थियो ।
सरकारले सीमाना आइपुगेकालाई अलपत्र पार्दैनौं भनेकाले उनले धेरै खर्च पनि बोकेनन् । महाकालीको बगरमा रात काट्नुपर्छ भनेर उनले सपनामा पनि चिताएका थिएनन् । आपत्–विपद्का वेला देश बिरानो बन्छ भनेर कसरी सोच्नू !
लुगाफाटो बन्दोबस्त गर्नतिर पनि लागेनन् ।
धार्चुला आइपुगेपछि देश छिर्ने ढोका बन्द भयो । पाँच दिनसम्म धार्चुला बजारमा अलपत्र हालतमा भौतारिँदा पनि नेपालतर्फको प्रशासनको कानमा बतास लागेन । पहिलोपल्ट आफ्नै देशबाट अपमानित भएको, हेलाँमा परेको महसुस गर्नुपर्यो ।
बाह्रखरीको सम्पर्कमा आएका विक भन्छन्, “६ दिनसम्म रोइकराइ गर्दा पनि न दार्चुलाका प्रमुख जिल्ला अधिकारीले सुने, न महाकाली नगरपालिकाका मेयरले नै हाम्रो पीडा बुझिदिए, हाम्रो त कोही रहेनछ !”
दुई दिन दार्चुलातिर फर्किएर नाराबाजी पनि गरे । उनीहरूको केही सीप लागेन । देश छिर्न नपाउने नै भए ।
पाँच दिनदेखि उनीहरू भारतीयको व्यवस्थापनमा छन् । भारतीय उद्योग वाणिज्य सङ्घ, नागरिक समाज, अरू सङ्घ–संस्थाहरू अहिले उनीहरूको अन्नदाता भएका छन् । उनीहरूकै सरसहयोगमा उनीहरूको जेनतेन प्राण धानिएको छ ।
“उनीहरूको व्यवहार काठमाडौंमा रेडियो, टीभीले प्रचारप्रसार गरेजस्तो छैन । न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरूले भनेजस्तो नै छ । हामीले बहुत दुःख पाएका छौं, यस्तो दुःख त मानिसहरूले कल्पना पनि गर्न सकिँदैनन्, ” विक सुनाउँछन् ।
त्यहाँको दुःखकै कारणले होला अहिलेसम्म ७० जनाले महाकालीमा हेलिएर वारि तरेका छन् । नाङ्गैभुतुङ्गै देशको माटो खोज्दै आएका छन् । परिवारको सम्पर्कमा पुगेका छन् ।
भारतीय प्रशासनले यथोचित बन्दोबस्त गरेर क्वारेन्टिन गरेको भए महाकालीमा बग्दैबग्दै वारि आउनुपर्ने बाध्यता पनि त नहुँदो हो, ज्यान माया मारेर !
भारतको पिथौरागढ प्रशासनले एक हजार ६ जना नेपालीलाई विभिन्न सेल्टरमा बाँडेको छ ।
धार्चुलाको जबाहरसिंह मिनि स्टेडियममा ३ सय २५, बलुवाकोट महाविद्यालयमा ३ सय ७१, जौलजीवीमा २ सय २५, निगलपानीमा ३२ र बरममा ५३ नेपाली राखिएकोको पिथौरागढ प्रशासनले जनाएको छ । ती सबै नेपालीको व्यवस्थापन ऊ आफैंले हेरेको छ ।
त्यहाँ सेल्टर लिएका अधिकांश नेपालीको अवस्था नाजुक छ । कसैले पनि परिवारसँग कुराकानी, सञ्चोविसञ्चो बुझ्न पाएका छैनन् ।
“भारतबाट हिँड्नेबेलामा परिवारसँग एकपटक कुराकानी भएको थियो । छोरो आउने भयो भनेर खुसी हुनुभएको थियो । ११ दिनभयो परिवारसँग सम्पर्क भएको छैन । घर नआएपछि महाकालीमा बग्यो कि भनेर चिन्ता गरिरहनुभएको होला,” उनी परिवार सम्झँदै भावुक हुन्छन् ।
महाकालीपारि अलपत्र नेपालीले मुस्किलले दुईदिनमा एकछाक खाना खान्छन् । पिउने पानी छैन । चारैतिर प्रदूषण व्याप्त छ । फोहोरका कारण अधिकांश बिरामी पर्न थालेका छन् । पेट दुख्ने, बान्ता आउने सामान्यजस्तै छ उनीहरूलाई । वयोवृद्धहरूको त हविगत छ ।
“समाचार सुन्दा भारतीय पक्षले सबै व्यवस्थापन गरेको छ भन्छन् सरकारका मान्छे । क्वारेन्टाइनमा राखेको छ भन्दा रहेछन् । यहाँ कुनै क्वारेन्टाइन छैन । सबै भेडा–बाख्राजस्तै कोचाकोच गरेर राखेको छ । नियमित स्वास्थ्य परीक्षण छैन । दुई–तीनदिनअघि दुई–चारसयको इन्फ्रारेड थर्मोमिटरबाट ज्वरो जाँचेको हो,” विक्रम भन्छन् ।
आश्रय स्थलबाट बाहिरिन नपाएपछि अलपत्रहरू बासी भात खान बाध्य रहेको विक्रम सुनाउँछन् । “हिजो बेलुका भात दिएको थियो । अब कतिवेला दिने हो, कुनै टुङ्गो हुन्छ । अहिले बासी भात खाइरहेका छौं,” उनी भन्छन् ।
भारतीयले आश्रय दिए पनि गालीगलौज गर्ने, कुटपिट गर्नेगरेको विक्रम बताउँछन् । भन्छन्, “भारतीयले बोल्न दिँदैनन् । पत्रपत्रिकासँग कुरा गरेको थाहा पाए भने अपशब्द बोल्छन् । खान दिएका छैनौं ? तिमीहरूको नेपालले के दिन्छ ? नेपाल पस्न त दिएन भन्दै दुव्र्यवहार गर्छन् । हिजो दुईजनाले डण्डा भेटे, त्यसपछि बाहिर निस्कनै डर लागेको छ ।”
बुंगलकै एकजनाको हिजोदेखि पिसाब बन्द भएको छ । पिसाब नखुल्दा उनी मर्लान्त परिसकेका छन् । डाक्टर बोलाएको १० घण्टा बढी भइसक्यो अझै आइपुगेका छैनन् ।
“सीमानामा मर्नुभन्दा हामीलाई हामीलाई नेपाल नै पस्न दिए हुन्थ्यो । हामी आफ्नै खर्चमा उपचार गर्छौं । महिनादिन भने पनि क्वारेन्टाइनमा बस्छौं,” विक्रम भन्छन् ।
दार्चुला अपिहिमाल गाउँपालिकाका दिलेन्द्र महता पनि उस्तै दुःखेसो पोख्छन् । उनी त झन् देश फर्कन पाउँ भन्दाभन्दै थाकिसकेको बताउँछन् ।
“कति हारगुहार गर्नु, पीडा सुनाउँदासुनाउँदै थाकिसकेँ, कि नेपाली होइनौं भन्नुप¥यो, कि देश छिर्न दिनुप¥यो,” उनी हारमान्नु हुँदै सुनाउँछन् ।
तस्बिर सौजन्य : दौलतसिंह ठगुन्नाको फेसबुकबाट