“के–के जाति व्याधि फैलियो भन्छन्, बन्द कतिञ्जेल लम्बिएला हजुर ? सरकारले केही भनेको छ कि !”
यो अकिञ्चन आवाज हो, खोटाङका हरिकुमार शाहीको । कोराना भन्दा भोककै कहर छ उनलाई । एक्लो ज्यान हुँदो हो, पेट पटुकीले कसेर भए पनि आफ्नो भोक शान्त तुल्याउँथे । चाउचाउमा पानी हालेर भए पनि भोकको जलन साम्य तुल्याउन सकिन्थ्यो । पत्नी मात्रै हुन्थिन् भने पनि एक छाक मात्रै खाए पुग्दो हो ।
“गाउँमा छँदा एकछाक मकै, अर्को छाक भोकै पनि बसिएकै हो । भोक सहने बानी परेको छ भनौं । केटाकेटीलाई दुःख कसरी कटाउनू !” ५० वर्षीय हरिकुमारको आँखामा पितृत्व उर्लिएर आउँछ ।
कलिला दुई सन्तानको माया मन थाम्न नसकेपछि रिक्साको पाइडल मार्दै मूल सकडमा आइपुगेका छन् हरिकुमार ।
शुक्रबार क्षेत्रपाटी चोकमा उनी किंकर्तव्यविमूढ उभिइरहेका थिए । मध्याह्न १२ बजेको घामले हातगोडा कर्कलोजस्तो लल्याकलुलुक देखिन्थे । गर्मी छल्न आफ्नै रिक्साको ओत त लागेका थिए तर अनुहारको झन् ठूलो खडेरी जागिरहेको थियो । प्याक्प्याक्ती ओठमुख सुक्दा पनि उनका आँखा थाकेका थिएनन् । यात्रु पाइने आशा अझै ओझेल परेको थिएन ।
“कतिञ्जेल लम्बिएला यो बन्द ?,” फेरि उस्तै लवजमा त्यही प्रश्न दोहोर्याए ।
अमुक आन्दोलनकारीले आम हड्ताले घोषणा गरेको भए पो माग पूरा भएपछि बन्दको ताला खोलिदेलान् भन्नु ! करफ्यु लागेको भए पनि यहिले हट्छ भनेर आशावादी हुन सकिन्थ्यो !
चौतर्फी बन्दमा पनि उनले यात्रु पाएका थिए । अरू वेलाभन्दा दोब्बर भाडामा यात्रुलाई गन्तव्यसम्म पुर्याएका थिए । मनकारी यात्रुले गोजी भरिनेगरी स्याबासी पनि नदिएका होइनन् ।
यसपालि त त्यो अवस्था पनि होइन । कोरोनाको कहरले विश्वलाई नै आ–आफ्नो समुदाय, समाज, कार्यालय, उद्यम, उद्योगबाट अलग बनाएर कोठा, छिँडीमा एक्ल्याएको छ ।
कोरोनाको आँधीरूपी व्याधि कहिले थामिने हो ? बन्दाबन्दी अझै कतिञ्जेल लम्ब्याउनु पर्ने हो ? नागरिकले कतिसम्म दुःख काटेपछि, हन्डर बेहोरेपछि महाप्रकोपबाट मुक्ति पाइने हो ? स्वयम् सरकार अनभिज्ञ रहेका वेला हरिकुमारलाई कसले दिनु जवाफ !
लाग्दो चैतमै घर जाने कार्यसूची थियो हरिकुमारको । घर पुग्न पाएको भए कोरोनाबाट यति त्रसित हुनुपर्थेन । कोरोनाबाट के भन्नु, भोकबाट तर्सनु पर्ने थिएन ।
तर हिउँद घर्किएसँगै उनको कमाइ पनि ओह्रालो लाग्यो । चार–पाँच हजारको पनि जोहो गर्न सकेनन् । कोरोनाको भय विश्वव्यापी बनेपछि ठमेलमा पर्यटक ह्वात्तै घटे । बाह्य आगन्तुको भीड लाग्ने ठमेल, हनुमानढोका दरबार क्षेत्रमा पर्यटक रित्तिँदै गएपछि तिनैमा आश्रित रिक्साचालक मजदुरहरूको बगली सुक्ने नै भयो ।
“सरसापट गरेर भए पनि घर जाँदो हुँ । अचानक बन्दको हल्ला चल्यो । गाडीको टिकट पाइएन,” घर जान नपाउँदाको पीडा शब्दमा ओकल्छन्, हरिकुमार ।
घर जाने योजना बुनेकाले उनले खानेकुरा सञ्चित गर्न पाएनन् । अब उनीसँग खानेकुराको जोहो छैन । चाउचाउ बिस्कुटमा साँझ बिहान टार्न सकिँदैन ।
“भोकभोकै परिएला भन्ने पीरले ज्यान माया मारेर रिक्सा निकालेको छु हजुर,” उनी पीडा सुनाउँछन् ।
उधारो, अैंचोपैंचो गरेर खानेकुरा त जुटाउलान् पनि । ठूलो चिन्ता घरभेटीको छ । “महिनाको तीन हजार भाडा बुझाउनुपर्छ । कोरोनाले कमाइ भएन यो महिना नदेऊ न त भनेर घरभेटीले भन्दैनन् । कमाइ खाने भाँडो यही रिक्सा हो । बन्द छ भन्ने त थाहा छ । तर पनि यात्रु पाइहालिए भने त कमाइ हुन्छ नि, सवारी नपाएर कसैलाई त अप्ठयारो परेको हुन्छ नि !,” उनी आशावादी हुँदै सुनाउँछन् ।
कोरोनाको कहर बढ्दै जाँदा सरकारले राम्रै गरेको अनुभूति छ उनलाई । सरकारको आदेश मानेर सबै घरमै बसेका छन् । जरुरी काम नपरी कोही बाहिर निस्कँदैनन् ।
महिनावारी तलब बुझ्नेहरूले जसोतसो परिवार चलाउलान् । रुखोपीठो खालान् । पीर दैनिक ज्यालादारी मजदुरहरूको छ । दिनभरिको कमाइ साँझ र बिहानको छाक टार्नै धौधौ हुन्छ । पैसा नबचेकाले बन्दभरि चुलो कसरी तताउनु !
“पहिला–पहिलाजस्तो कमाइ हुँदैन । दिनको चार–पाँच सय पनि कमाइ हुँदैन । साहुलाई दिनको दुई सय बुझाउनुपर्छ । कमाइ नभएको दिनको पनि भाडा हिसाब गरेकै हुन्छन्, रिक्सा चलाएर पैसा कसरी बच्नू !,” हरिकुमार भन्छन् ।
आपत्–विपतको घडीमा सरकारले हेरिदिनुपर्ने उनको भनाइ छ । सहरी क्षेत्रमा भारी बोकेर, रिक्सा, ठेला चलाएर, दैनिक ज्यालादारीमा काम गरेर हातमुख जोड्ने परिवारको सङ्ख्या केही हजारमा होला । तिनीहरूलाई भरथेग गरिदिए ठूलो राहत मिल्ने हरिकुमार बताउँछन् ।
“कमाइ नहुँदा हामीजस्ता मजदुर, गरिबहरू मारमा परेका छौं । यस्तै वेलामा सरकार चाहिने हो, पक्कै भोकभोकै मर्न दिँदैन !,” सरकारकै भर गरेर बसेका छन् हरिकुमार ।