site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 कोरोना लाग्ला नलाग्ला, भोकले मार्ने भो सरकार !
SkywellSkywell

काठमाडौं । बन्दाबन्दीको चौथो दिन । काठमाडौं सहर सुनसान छ । यत्रतत्र छरिएका मानिसहरू उद्यम, उद्योग, व्यवसाय, कार्यालय बन्द भएपछि घरमै, अझ कोठाकोठामा समेटिएका छन् । आफन्त, नातागोताबाट समेत एक्ल्याएका छन् । 

जीवनमा पहिलोपल्ट समुदायबाट अलग भएर परिवार र परिवारबाट पनि एक्लिएर व्यक्तिमा सीमित हुनुको अनुभव गर्नुपरेको छ, सिङ्गो मानवजातीले ।

मध्याह्न १२ बजे मुख्य चोक–बजार सहरले कोराना सङ्कट टार्न मौनधारण गरिरहेको प्रतीत हुन्छ । सकडमा धुवाँ, धुलो कोलाहल निस्प्राणप्रायः छ । सवारीको नाममा पानी ट्याङ्कर मात्रै भेटिन्छ । प्रत्येक मिनेटको फरकमा ट्याङ्करले पानी ओसारिरहे छन् । यस्तो लाग्छ– मेलम्ची परियोजना लम्बेतान बन्दै गएपछि काठमाडौंबासीको प्यास पन्छाउने जिम्मा यिनै ट्याङ्करको थाप्लोमा छ । र त, सडकमा निर्वाध बत्तिइरहे छन् ।

KFC Island Ad
NIC Asia

सवारी साधनको चाप न्यून बनेपछि चोकचोकमा तैनाथ ट्राफिक प्रहरी फुर्सदिला बनेका छन् । दिउँसोपख बटुवाहरूको पनि खासै चाप छैन । खाद्यान्नको खोजखाज, औषधोपचार, बिरामी कुरुवाजस्तो जरुरी काम परेकाहरू मात्रै सडकमा ओहोरदोहोर गरिरहे छन् । पैदल यात्रुलाई सम्झाइबुझाइ गर्नु नपरेकाले सुरक्षाकर्मीलाई पनि हाइसञ्चो छ । आकाशे पुल मुन्तिर, यात्रु प्रतीक्षालय, पेटीमा सियाँल ताप्दै कोरोना त्रासदीको अभूतपूर्व साक्षी बसिरहेका छन् । 

सिंगो सहर कोरोनाको त्रासदीमा ‘आइसोलेटेड’ भए पनि रिक्सा, ठेलामा जिन्दगी धकेल्नेहरूको भने बेग्लै कहर छ । 

Royal Enfield Island Ad

बिहान खाए, बेलुका के खाउँ हुने न्यून वेतनधारी, दैनिक ज्यालादारी, मजदुर परिवारलाई कोरोनाभन्दा भोकको त्रासदी ठूलो छ । 

विश्वव्यापी बनेको दुराधर्ष कोभिड–१९ बाट त जसोतसो बँचिएला, बिहान, बेलुकै पिरोल्ने भोकको आँधी, तुफान उनीहरूका लागि ठूलो व्यथा बनेको छ, यतिबेला ।

० ० ०

शुक्रबार मध्याह्नपख । चर्को धूपले हनुमानढोकालाई छपक्कै छोपेको छ । धुवाँ, धुलो हटेर शान्त, स्वच्छ, स्नीग्ध देखिए पनि मानिसहरूको चहलपहल नहुँदा वातावरण निःस्तब्ध देखिन्छ ।

आहारा खोज्दै हिँड्ने रैथाने परेवा, मलेवा आदिले आकाशमा फेरो मारिरहेका छैनन् । न बसन्तपुर दरबार क्षेत्र, कालभैरव र सङ्ग्रहालयको आँगनमा चारो च्यापिरहेका भेटिन्छन् । हनुमान क्षेत्र घुम्न आउने आगन्तुहरूले आहारा पोखिदिए पो टिपुन् ! बरु मन्दिरका टुँडालहरूका अन्तरकुन्तरतिर जिउ छिराएर कूजनको भाकामा कोरोनाको कहर नियाली रहेका होलान् ।

हनुमानढोका दरबार क्षेत्रको शून्यता छिचोल्दै यट्खा टोल पुग्दा चोकैमा भेटिए रसुवा, लहरेपौवाका हरिप्रसाद आचार्य । 

खिरिलो जिउज्यान । तिलचामले कपाल । खडेरीग्रस्त ओठमुख लिएर उनी ठमेलतिर शुष्क आँखा ओछ्याइरहेका थिए । बिहानदेखि एउटै थलो रुँग्दा पनि यात्रु पाउन सकेका थिएनन् । ठमेलतिरबाट दुईजना पर्यटक हनुमानढोकातिर हात हल्लाउँदै लम्किइरहेका थिए । उनीहरूको आँखा पनि रिक्सातिर नपरेपछि आचार्यले खुइया काढे– “कोही यात्रु पाइएन, आज पनि खाली हातै कोठा फर्कनुपर्ने भो !”

त्यसपछि उनको अनुहार चरम निराशाले छोप्यो । मिल्थ्यो भने उनी कोरोना भाइरसलाई धारे हात लगाएर गाली गर्थे । नमिलेपछि केहीबेर हात खोकिलामा राखे । पट्यार बढ्दै गएपछि केहीछिन मोबाइलमा बरालिए । त्यसपछि पत्नीसँग मोबाइलमा कुरा गरेर केहीबेर निराशा पन्छाए ।

५४ थान हिउँद खाइसकेका हरिप्रसाद काठमाडौं बसेकै २० वर्ष भयो । हनुमानढोका दरबार क्षेत्र, ठमेललाई केन्द्र बनाएर १५ वर्षदेखि फन्को मारिरहेका छन् । बा अ उ ३४ नम्बर रिक्सा उनको जीवनको सारथी बनेको छ ।

डेढ दशकको अवधिमा काठमाडौंले ठुल्ठूला बन्दको सामना गर्नुपर्‍यो । २०६२–०६३ को जनसुनामी झेल्यो । आन्दोलन, ध्वंस, बम, बारुदको मुस्लो के मात्र बेहोर्नु परेन ! तर, हरिप्रसादले अहिलेजस्तो दिक्दारी कहिल्यै झेलेका थिएनन् । देख्नु परेको पनि थिएन ।

“यत्रो वर्ष रिक्सा चलाएँ । तर, यो दुर्दशा भोग्नु परेको थिएन,” उनी आश्चर्यचकित् हुँदै सुनाउँछन् ।

कोरोनाभाइरस चीनको वुहान सहरबाट गत डिसेम्बरमा संसारभर फैलियो । संसारमा यसले प्रभूत्व जमाउन नपाउँदै नेपालमा असर पुर्‍याउन थालिहाल्यो । चिनियाँ पर्यटक आउन कम्ता भयो । नेपालसँग सीमा जोडिएको देशमा सङ्क्रामक व्याधि फैलिएकाले अन्यत्रका पर्यटक आउन आत्तिने नै भए ।

फलतः पर्यटक आउने सिजनमा ठमेल हाइ काढेर बस्न विवश भयो ।

“तर पनि हामीले दैनिक चारपाँचसय कमाउँदै आएका थियौं । अहिले त ठप्पै पो भयो,” उनी पीडा पोख्छन् ।

१६ वर्ष पाइडल मार्दा पनि हरिप्रसादले एउटा रिक्सा जोड्न सकेका छैनन् । गाउँको खेतबारी हेर्न नपरेको भए, बेलाबखत खेती गर्न जानु नपर्ने भए जोड्थे पनि होलान् । गाउँको घरखेत बाधक बनेको छ भनौं ।

आफ्नो रिक्सा नभएपछि उनी साहुको भर परेका छन् । क्षेत्रपाटीतिरका साहुको रिक्सा चलाउँछन् । कमाइ भए पनि नभए पनि रोजै दुई सय रुपैयाँ भाडावापत भुक्तानी गर्नुपर्छ ।

हरिप्रसादलाई अहिलेको पिरलो त्यही हो ।

“साहुले भाडा मात्रै बुझ्छन् । हाम्रो पीरमर्का कहाँ बुझ्छन् र हजुर !,” फेरि निराश हुन्छन् हरिप्रसाद ।

हरिप्रसादको कोठामा अब जसोतसो दुई दिनलाई पुग्ने चामल छ । आधा महिनालाई पुग्ने ग्यास होला । तिहुन–तरकारी छैन भन्दा पनि हुन्छ । चामल सकिएपछि जीवन कुन भूमरीमा जाकिने हो उनले केही सोचेका छैनन् । चौतर्फी बन्द भएका बेला सोचून् पो कसरी ?

कोरोनाको प्रकोप विश्वव्यापी बन्दा नै काठमाडौं बन्द हुन्छ भनेर हल्ला नचलेको होइन । तर पनि उनले सरसामग्रीको जुगाड गर्न सकेनन् । रिक्सा चलाएर पैसा बचे पो खानेकुरा सञ्चित गर्नु !

दुईजना छोरीसहित पाँचजनाको परिवार उनीमै आश्रित छ । बेलुका फर्कंदा जहान परिवारले उनैको मुख ताकेर बसेका हुन्छन् ।

“परिवारमा कमाउन सक्ने अरू कोही छैन । दुई छोरी पढ्दै छन् । जहानलाई घरमै भ्याइनभ्याइ छ,” उनी निरीह हुँदै सुनाउँछन् ।

प्रत्येक दिन ग्यारेजबाट रिक्सा निकाल्नुअघि हरिप्रसाद समाचार सुन्छन् । कोरोनाको आँधी थामियो कि भनेर चनाखो हुन्छन् । बन्दाबन्दीको कहर थामिन्छ कि भनेर आशावादी पनि हुन्छन् ।

कोरोनाले जीवन छिनेको मात्रै समाचार सुन्दा उनलाई त्यसैत्यसै अत्यास लागेर आउँछ ।

कुन विन्दुमा पुगेर प्रकोपको आँधी, कोरोनाको व्याधि थामिने हो अझै निश्चित छैन । यसले कतिको इहलिला समाप्त पार्ने हो ? देशको वित्तीय व्यवस्थालाई सङ्कटग्रस्त बनाउने हो ? मानिसको जीवन कतिसम्म तहसनहस तुल्याउने हो ? सभ्यता, संस्कृति विनष्ट बनाउने हो ? यकिन छैन !

तर उनलाई भने आफ्नै परिवारकै पिरलो छ । त्योभन्दा ठूलो पिरलो भोककै छ । भोक मेटाउन सके पो कोरोनासँग जुधौंला ! समस्यासँग सिँगौरी खेलौंला ! 

भोकको आँधी छल्न नसकेपछि उनी कोरोनाको कहरकै बीच रिक्सा निकालेर मूल सकडमा आइपुगेका छन् । प्रत्येक दिन, रिक्सा निकालेपिच्छे सुरक्षाकर्मीसँग भनाभन हुन्छ । ‘जताजतै जोखिम बढेको छ । व्याधिबाट बाँच्न सके न रिक्सा धकेल्न पाइन्छ । संसार देख्न पाइन्छ । आफू त जोखिममा हुनुहुन्छ, हुनुहुन्छ, परिवार, छरछिमेक, यात्रु र सिंगो सहरलाई नै किन जोखिममा पार्नुहुन्छ’ भन्दै सुरक्षाकर्मीले सम्झाइबुझाइ गर्छन् । उनले नबुझेका पनि होइनन् । तर, पेटले बुझे पो !

दैनिक ज्यालादारी, मजदुरी गर्ने, सहरीया गरिब, विपन्नहरूलाई सरकारले सहयोग गर्ने उनले पनि सुनेका छन् । कोरोनाको व्याधि नियन्त्रण गर्न सरकारले भ्याएशक्ति लागिपरेको सुन्दा हरिप्रसादलाई कम्ता खुसी लागेको छैन । सरकारको महसुस पनि भएको छ ।

सरकारको आदेश उलङ्घन गर्दै रिक्सा धकेलेकामा उनलाई पश्चताप छ । यसकारण कि, उनले अहिलेसम्म सरकारको कुनै नियम अवज्ञा गरेका छैनन् । रोक्नुहुन्न भनेको ठाउँका रोकेर यात्रु पर्खिएका छैनन् । भीडभाडमा, मूल सडकमा रिक्सा तेर्स्र्याएर आवागमनमा दख्खल पुर्‍याएका छैनन् । यात्रुसँग लाग्दो भाडाबाहेक एक रुपैयाँ पनि बढी असुलेका छैनन् । राज्यको एकएक आदेश शिरोपर गर्दै आएका थिए ।

अहिले पनि ज्यान जोखिममा राखेर पाइडल मार्न उनलाई रहर छैन । 

“के गर्नु, भोक निर्मम हुन्छ, आज नखाउँ न त भन्दा हुँदैन । कोरोना लाग्ला नलाग्ला, भोक दिनहुँ लाग्छ, भोकले मार्ने भयो भन्ने चिन्ता पो छ,” उनी फेरि त्यही लयमा पीडादायी आवाज दोहोर्‍याउँछन् ।

तै पनि उनले आश मारिसकेका छैनन् । “सबैको अभिभावक बनेको राज्यले हामीलाई दुःखको घडीमा कसो नसघाउला त !,” उनी आशावादी हुन्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro