दुनियाँ ढाकेको कोरोना आतंकबाट जोगिने मूल उपाय जमघट नगर्ने, भिडभाडमा नजाने अर्थात् एक प्रकारको सामाजिक दूरी कायम गरेर केही समय एकान्तवासमा वा अलग्गै बस्नुमात्रै हो । यसको अर्थ हिँड्न, डुल्न वा शारीरिक गतिविधि गर्न हुँदैन भन्ने हैन । समूहमा रहँदा भाइरस सर्ने जोखिम उच्च हुने हुँदा अनुशासित र व्यवस्थित हुन एकदमै जरुरी छ । यो भाइरस थुक र सिँगानबाट सर्ने भएकाले हात साबुन पानीले धुने वा निर्मलीकरण झोल (ह्यान्ड स्यानिटाइजर)को प्रयोग गर्नु यसलाई रोक्ने उत्तम उपाय हो ।
कोरोनासँग तर्सेर घरमै बसिरहनु पर्दा दिक्क लाग्न सक्छ । यो समय निराशा वा हतासाका लागि होइन नियन्त्रण र सन्तुलनका लागि हो । फेसबुक र सामाजिक सञ्जालमा आउने सबै सूचना र जानकारी सत्य हुँदैनन् । भ्रममा नपरौँ । यस महामारीको चर्चा गर्दा आसपास भएका बालबालिका, बिरामी र मनोसामाजिक समस्या भएका व्यक्तिको अवस्था र मनोदशा बुझेरमात्र गर्ने गरौँ । संसारै सकिन लागेको होइन । सामान्यभन्दा अलि बढी चनाखो हुने बेला चाँहि पक्कै हो यो ।
परिवारका सदस्यहरुसँग मन खोलेर कुरा नभएको धेरै भएको हुन सक्छ । अहिले कुरा गरौँ । छोराछोरीबारे थप जान्ने अवसर हो यो । उनीहरुका मिल्ने साथी को हुन् ? उनीहरुलाई पढाइबाहेक के के गर्न मनपर्छ बुझौँ । घर सफा गर्न तिहारै कुर्न पनि पर्दैन । अघिपछि फुर्सद नभएको हो भने परिवारका सबै मिलेर सफा गरौँ ।
आलोपालो गरेर खाना पकाऊँ । खान मन लागेको तर व्यस्तताले बनाउन नपाएका खानेकुरा बनाऊँ र खााऊँ । बरु, धेरै खाएर मोटाइएला होस गरौँ । घर आँगनमा खेल्न सकिने खेल खेलौँ । कसरत गरौँ । सामाजिक दूरी कायम गरेर रोग सर्नबाट बच्न त सकिन्छ तर शारीरिक प्रतिरक्षा प्रणाली बढाउने स्वस्थ र फुर्तिलो रहने त स्वस्थकर आहार र विहार (ब्यायाम, कसरत र खेलकुद) ले नै हो । योग र ध्यान पनि यस समयका लागि राम्रा उपायहरु हुन् । केटाकेटीलाई व्यवहार, घरको कामको बारेमा सिकाउने र सहभागी बनाउने यो असाध्यै राम्रो अवसर हुनसक्छ । घरमा करेसाबारी भए त्यहाँ काम गरौँ फूल रोपाैँ, तरकारी रोपौँ, हुर्किसकेका भए गोडमेल गरौँ, मल जल गरौँ ।
टीभी, सिनेमा हेर्ने, अन्ताक्षरी खेल्ने, पालै पालो कथा भन्ने, जीवनमा गर्व गर्न लायक कामहरुका बारेमा बताउने, विभिन्न विषयमा चर्चा परिचर्चा गर्ने, लेख्ने, पढ्ने कति धेरै काम छन् गर्ने हो भने ! भावना, सृजना सार्वजनिक गर्न सामजिक सञ्जाल, अनलाइन मिडिया छन्, तीमार्फत धेरै जनासँग पुग्न सकिन्छ । के थाहा तपाईँको कामले अरु कति जनालाई उत्प्रेरित गर्ने पो हो कि ? तपाईको विचारले संसारै परिवर्तन गर्ने पो हो कि ? समस्या समाधानमा कोसे ढुंगा पो हुने हो कि ?
यो कठिन समयलाई निराशा, हतासा र दिक्दारीका रुपमा नलिऊँं । यसलाई अवसरका रुपमा लिऊँ र एक कदम अगाडि बढौँ । हो, अहिले मानव जीवनको कमजोरी छर्ल∙ भएको छ । तर, यसलाई जितेर अगाडि बढ्नु पनि त छ । मिलाउनु छ प्रकृति र पृथ्वीसँगको सन्तुलन । सहअस्तित्वमा बाँच्न सिक्ने बेला आएको छ ।
आज पनि रोग, भोकमरी, दुर्घटना, द्वन्द्व, विपदजस्ता कारणले दैनिक हजारौं मान्छे मरिरहेकै छन् । कोरोना भाइरसका कारण मर्नेको संख्या त आजका दिनमा पनि २१ हजारका हाराहारीमात्र छ र प्रभावितको संख्या पनि लाखमै सीमित छ । तैपति, यो किन विश्वव्यापी महामारी मानियो भने यसैले कुनै जात, धर्म, लि∙, वर्ग, धनी, गरिब, शिक्षित, असिक्षित, बालक, बृद्ध कसैलाई विनाभेदभाव आक्रान्त पारेको छ ।
हामी सबैलाई थाहा छ यस्ता विषम घडीमा अपा∙ता भएका व्यक्तिहरु, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिलालगायतका अपेक्षाकृत कमजोर समूहलाई विशेष सहयोगको आवश्यकता पर्छ । यसप्रति सचेत बनौँ । सेवा सुविधा तयार गर्दा यस्ता समूहको आवश्यकतालाई पनि ध्यान दिएर बनाऊँ । अहिले एकले आर्कोलाई सहयोग गर्ने बेला हो । सबै जुटौँ ।