आफ्नो लामो राजनीतिक जीवनमा कट्टर कम्युनिस्ट विरोधी छवि बनाएका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अन्तिम कालखण्डमा कम्युनिस्टका अविभावकजस्तै भए । संसदीय प्रणालीविरुद्व हतियार उठाएका माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन उनैको विशेष भूमिका रह्यो । कम्युनिस्टहरु संसद्लाई ‘‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’’ भन्थे । संसदीय व्यवस्था समाप्त पार्ने र बन्दुकको नालबाट राज्य सत्ता कब्जा गर्न हतियार उठाएर माओवादीले सुरु गरेको हिंसात्मकम विद्रोहका क्रममा १७ हजार नागरिकको ज्यान गइसकेको थियो । गिरिजाबाबुले माओवादीलाई शान्ति प्रक्रियामा त ल्याए नै इतिहासमै पहिलो पटक संविधान सभा निर्वाचन सम्पन्न गरी वैधानिक रुपमै सत्ताको सिँढी चढाए । हिंसा र प्रतिहिंसाको दुष्चक्रबाट मुलुकलाई जोगाए ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछिका दिनमा उमेरले असी नाघेका प्रधानमन्त्री कोइराला राजनीतिक सफलताको शिखरमा थिए । त्यसैताका मैले सोधेको थिएँ – ‘‘गिरिजाबाबु जीवनभर कम्युनिस्ट विरोधी छवि बनाउनु भयो । अहिले उनीहरुको अभिभावकको भूमिकामा हुनुहुन्छ, कस्तो महसुस भइरहेको छ ।’’
जवाफमा उनले भनेका थिए – ‘‘माओवादी समस्याको हल नगरी मुलुकमा शान्ति आउँदैन र शान्तिविनाको प्रजातन्त्र अर्थहीन हुन्छ भनेर मैले संवाद थालेको हुँ । यस प्रक्रियामा मलाई ‘ह्युमिलियसन’ भएको छैन भन्ने होइन । एकदमै भएको छ । तर, मुलुकको हितका लागि म जति सुकै अपमान सहन पनि तयार छु ।’’
कम्युनिस्टको कहिल्यै विश्वास नगर्नु भनेर गिरिजालाई उनका गुरु बीपीले भनेका थिए – ‘‘हेर गिरिजा ! कम्युनिस्टहरु भसोसा योग्ग छैनन् । कुरा एउटा गर्छन्, काम भने अर्कै । तिनको भनाइ र गराइमा विश्वास गर्न सकिन्न । कम्युनिस्टले प्रजातन्त्र बलियो बनाएको इतिहास कहीँ कतै छैन, विचार गर्नु ।’’
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले पटकपटक साझा आन्दोलन गर्न प्रस्ताव गर्दासमेत बीपी मानेनन् । तर, जीवनभर सबै कम्युनिस्टसँग व्यक्तिगतरुपमा राम्रो सम्बन्ध बनाई राखे । बीपी भन्ने गर्थे – ‘‘बरु देशमा दसबीस वर्षपछि प्रजातन्त्र आओस् कम्युनिस्टसँग मिलेर आन्दोलन गर्नुहुन्न ।’’
यस सन्दर्भमा प्रथम राष्ट्रपति डा. रामवरण यादवले एक दिन लेखकसँग भने – ‘‘बीपी दूरदर्शी राजनेता हो । सय वर्षपछिलाई हरेर निर्णय लिने क्षमता उहा“मा थियो । तर, गिरिजाबाबु व्यावहारिक नेता हो । मेडिकल डाक्टर भएकाले म उहा“लाई ‘इमर्जेन्सी सर्जन’का रुपमा हेर्छु । जसरी रिसको झोकमा गणेशको टाउको छिनाली सकेपछि महादेवले उनी पार्वतीका छोरा भएको थाहा पाए । बचाउनै पर्ने भयो । हात्तीको टाउको जोडिदिए । गिरिजाबाबु पनि व्यावहारिक नेता भएकाले तत्कालको आवश्यकता हरेर निर्णय गर्ने, भविष्यमा त्यसको कस्तो प्रभाव हुन्छ भनेर आकलन नगर्ने ।’’
बनारसमा पढ्दा मनमोहन अधिकारी (नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री) को संगतले गिरिजाप्रसाद कम्युनिस्ट विचारधाराबाट प्रभावित थिए । यस प्रसंगमा गिरिजाबाबुले लेखकसँँग भनेका थिए – ‘‘पिताजीको मृत्यु भएकै दिन बीपी जेलबाट रिहा हुनुभयो । म बनारसबाट उहा“लाई भेट्न पटना गएको थिएँ । लामो समयपछि भेट भएकाले त्यो दिन राति अबेरसम्म राति अबेरसम्म कुरा गर्दै जाँदा बीपीले म कम्युनिस्टतिर गएको चाल पाइहाल्नुभयो ।’’
बीपीसँगको त्यही कुराकानीले गिरिजाबाबुमा कम्युनिस्टप्रति वितृष्णा जागेर आयो । गिरिजाबाबुले सुनाए – ‘‘माक्र्स र लेनिनका थुप्रै पुस्तक पढेँ । बीपीसँग बहस गर्न थालेँ । रुसमा लेनिनले कसरी निर्वाचित संसद्लाई घेरेर शक्ति आफ्नो हातमा लिए भन्ने घटना सुनाएपछि म पूरै कम्युनिस्ट विरोधी भएर आएँ ।’’
कम्युनिस्टहरुप्रति उनको मोह भंग हुनुमा अर्को एउटा घटना पनि प्रमुख छ । बनारसमा पढ्ने बेला उनी बीपीका एक जना कम्युनिस्ट साथीसँगै बस्थे । त्यस बेला सदस्यहरुले कम्युनिस्ट पार्टीको साप्ताहिक पत्रिका बेच्नु पथ्र्यो । भारतका कम्युनिस्टहरु स्वतन्त्रता आन्दोलनमा थिएनन् । बरु, तत्कालीन ब्रिटिस शासकसँग मिलेर ठाँटसँग बसेका थिए । त्यही कारण उनीहरुलाई राम्रो दृष्टिले हेरिँदैनथ्यो । पत्रिका बेच्न जाँदाको एउटा अनुभव उनले लेखकलाई सुनाए – ‘‘कम्युनिस्टप्रति कति धेरै आक्रोश थियो भने कतिले मेरो मुखैमा थुकेका छन् । तिम्रो नेता डाँगे (श्रीपद अमृत डा“गे, भारतीय कम्युनिस्ट पार्टीका महासचिव) अंग्रेजसँग मिलेर बसेको छ । हामीले अझ उसैको पत्रिका किन्नुपर्ने ? भन्थे उनीहरु । त्यति घृणा थियो कम्युनिस्टहरुप्रति । त्यो अपमान सहनुभन्दा त आफ्नै खल्तिबाट निकालेर पत्रिको पैसा तिर्छु भन्ठानेर मैले पत्रिका नबेचेरै पैसा बुझाएको छु ।’’
गिरिजाबाबुले सुनाएका थिए– ‘‘२००७ मा हामीले क्रान्ति सुरु गर्यौँ । कम्युनिस्टहरुले राणालाई नै सघाए । विसं २०१७ सालमा राजाले संसदीय व्यवस्थाको अन्त्य गरी जननिर्वाचित प्रधानमन्त्रीलाई बन्दी बनाउँदा उनीहरूले दिपावली मनाए । विसं २०३६ सालको जनमत संग्रहमा बहुदलविरुद्ध मतदान गरे । उनीहरुको क्रियाकलाप प्रजातन्त्रवादीका विरुद्ध प्रतिक्रियावादीलाई सघाउन मै केन्द्रित भएकाले म एकदमै ‘एन्टी कम्युनिस्ट’ हुँदै गए ।’’
विसं २०४२ को कुरा हो । कांग्रेस सत्याग्रहको तयारीमा थियो । जेठ १८ गते विमर्श साप्ताहिकमा एउटा कार्टुन छापियो । त्यो कार्टुनमा एकातिर मनमोहन अधिकारी, साहना प्रधानलगायतका कम्युनिस्ट नेता अर्कोतिर नेपाली कांग्रेसका नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला । मनमोहनलाई संकेत गर्दै गिरिजाबाबु भन्छन् – ‘‘ए नजिक नआओ छोइन्छ ।’’ कोइराला भन्ने गर्थे – ‘समाम्यवादी विचारधारा पनि तानाशाही हुने हुनाले म यसको कट्टर विरोधी हुँ ।’’
तैपनि, गिरिजाबाबु बीपीको प्रशिक्षण, लामो अनुभव, देशका कुनाकाच्चाको भ्रमण, कार्यकर्तामाथिको अगाध भरोसाका कारण पार्टीभित्र गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता शीर्ष नेताकै हाराहारीमा स्थापित भए ।
२०४७ जेठ २६ गते दोलखाको चरिकोटमा आयोजित आमसभामा उनले भनिदिए ‘माले, मशाले, मण्डले सबै एकै हुन् ।’
असार १० गते सिन्धुलीमा आयोजित सभामा उनले ‘‘सभ्य मानिस कम्युनिस्ट हुँदैन’’ भन्ने अभिव्यक्ति दिए । यिनै अभिव्यक्तिले उनलाई सर्वाधिक कम्युनिस्ट विरोधी नेताका रुपमा स्थापितमात्र स्थापित गरेन, देशका कुनाकाप्चा जहा“ जाँदा पनि कम्युनिस्टहरुले ढुंगा मुढा गर्न थाले ।
पत्रकार पुरुषोत्तम दाहालले रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र उद्घाटन गर्दाको घटना स्मरण गर्दै देखेका छन् – ‘‘कोइराला जहा“ जादा पनि कालो झन्डा, कालो फेटा र तुल देखाइन्थ्यो । सुर्खेतमा पनि हजारौं कम्युनिस्ट समर्थकले कालो झन्डा देखाउँदै नारा लगाए – ‘‘यसपालीको हैजा गिरिजालाई लैजा ।’’ नारावाजी चलिरहँदा एक जनाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने व्यवस्था मिलाइयो । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि दह्रोसँग हात मिलाएर फर्किएका ती नेता आफ्ना साथीहरुसँग भन्दै थिए रे – यी गिरिजासँग मिलाएका हात हुन् म तिमीहरुसंग मिलाएर त्यो चिन्ह मेटाउन चाहन्न ।’’
कम्युनिस्ट विरोधी छविका कारण जीवनमा उनले अनेकाैं पटक कठोर आक्रमणको सामना गरे । गिरिजाबाबु आफैँले भनेका छन् – ‘‘मेरो जीवनमा सबैभन्दा बढी कालो झन्डा देखाइएको छ । र यस्तो विरोधको शैली प्रयोग गर्नेमा कम्युनिस्ट नै बढी छन् । जीवनमा कति पटक कालो झन्डा खाइयो खाइयो । मविरुद्ध मुर्दावादको नारा लाग्यो । त्यसले मलाई खासै असर पार्दैन । कालो झन्डा देखाउने अधिकार पनि प्रजातन्त्रले नै दिएको हो । आफैँलाई कालो झन्डा देखाउँदा पनि हामीले गरेको संघर्षबाट प्राप्त अधिकार जनताले उपभोग गरेका छन् भन्नेजस्तो लाग्छ । तर, अर्काको कार्यक्रममा ढुंगामुढा गरेको चाहिँ पटक्कै मन पर्दैन । हुनत, त्यसरी हानेको ढुंगा मलाई लागेको छैन । साथीहरुले छेकेर बचाएका छन् ।’’
माओवादी विद्रोह उत्कर्षमा पुग्दासमेत दरबार हैन गिरिजाप्रसाद कोइराला नै उनीहरूको निसानाको अग्रपंक्तिमा थिए ।
विसं २०५८ असार अन्तिम साता रोल्पाको होलेरीमा माओवादीले सत्तरी जनाभन्दा बढी प्रहरीलाई अपहरण गरे । त्यही प्रकरणमा गिरिजाबाबुले राजीनामा गर्नु प¥यो । त्यस प्रकरणलाई गिरिजाबाबुले ‘दरबारले माओवादीसँग मिलेर प्रजातन्त्रविरुद्व गरेको षड्यन्त्रका रुपमा बुझेका थिए ।’
होलेरी घटना नभएको भए सायदगिरिजाबाब राजतन्त्रविरुद्व हुने थिएनन् । जननिर्वाचित प्रधानमन्त्रीलाई अपमानित गर्ने राजालाई बोक्नुहँुदैन भनेर नै उनी कम्युनिस्टलाई साथमा लिएर गणतन्त्रमा जाने ‘मिसन’को खाका कोर्न थाले । ‘जनयुद्ध’का नाममा सबभन्दा धेरै कांग्रेसी कार्यकर्ताको हत्या गर्ने माओवादीसँग पनि सहकार्य थाले ।
आन्दोलनरत सात दल र हिंसात्मक विद्रोहमा रहेको माओवादीबीच १२ बुँदे सहमति गरेर गिरिजाप्रसाद कोइरालाले गणतन्त्रको जग बसाए । ती दिन उनी भन्ने गर्थे – ‘‘माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन मैले आफ्नो साठी वर्ष लामो राजनीतिक जीवनलाई दाउमा लगाएको छु । प्रजातन्त्रवादीले गैरप्रजातन्त्रवादीलाई पनि प्रजातन्त्रको बाटोमा लैजान सक्छ । उनीहरुको मन परिवर्तन गराउन सकिन्छ भनेर मैले कम्युनिस्टहरुसँग मेलमिलापको हात अघि सारेको हुँ ।’’
वार्ताका लागि उनले बीपीको मेलमिलाप सिद्धान्तलाई अधार बनाए । गिरिजाबाबुले माओवादीसँग वार्ता थाल्दाको अनुभव लेखकलाई सुनाए – ‘‘आधारभूत सिद्धान्त बनाउने क्रममा म धेरै रात सुतिन । कसरी गर्ने ? के गर्ने भनेर ? एकैपटक अचानक मलाई लाग्यो । यत्रा मानिस मरेका छन् हिंसाको आगोमा । मेरो प्रयास असफल भए के नै हुन्छ र ?
वार्ता सफल भए एउटा ऐतिहासिक काम हुन्छ । नेपाली कांग्रेसले गर्छ । एउटा इतिहास बन्छ कांग्रेसको अन्तर्राष्ट्रिय जगतमा समेत । फेल भए गिरिजाप्रसाद एउटा व्यक्तिमात्र फेल हुन्छ । राष्ट्र त असफल हुँदैन । त्यही सिद्धान्तका आधारमा अन्र्तराष्ट्रिय समुदाय, माओवादी र अरु शक्तिसँग कुरा गर्न थालेँ । मैले उनीहलाई सुनाएको थिएँ सफल भए भने एउटा उदाहरण स्थापित हुन्छ । संसारका आतङ्ककारीहरुलाई पनि सवक हुन्छ र प्रजातन्त्रवादीलाई पनि एउटा नमुना हुन्छ । त्यो बेला मलाई लाग्यो प्रजातन्त्रमा यत्रो ताकत छ । त्यो ताकतको पनि परीक्षण हुन्छ । एउटा बन्दुकबाट निर्देशित (बन्दुक बोक्ने) माओवादी –आतङ्ककारी) र अर्को विचारको बलमा टिकेको सिद्धान्तले प्रजातान्त्रिक मूल्य र मान्यताका आधारमा माओवादीलाई मूलधारमा ल्याउने कुरा ।’’
माओवादी शान्ति प्रक्रियामा आए । संविधान सभा निर्वाचन भयो । राजसंस्था जाने निश्चित भयो । तर, चुनावमा ठूलो दल बनेपछि गिरिजाबाबुलाई राष्ट्रपति बनाउने भनेर दिइएको वचन माओवादीले पूरा गरेन ।
गिरिजाबाबुले विश्वास गरेका कम्युनिस्ट नेता अमीक शेरचनले लेखकसँगको कुराकानीमा भनेका छन् – ‘‘संविधान सभा चुनाव सम्पन्न भएपछि गिरिजाबाबु एकदमै प्रशन्न मुद्रामा हुनुहुन्थ्यो । एक दिन उहाँले मसंग भन्नुभयो अब तपाइँ कम्युनिस्टहरुको विश्वास पनि लिएँ । म राष्ट्राध्यक्ष भएरमात्र बिदा लिन्छु ।’’
माओवादीले धोका दिएपछि राष्ट्रपतिमा आफ्नै पार्टीका महामन्त्री डा. रामवरण यादवलाई निर्वाचित गराए । माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्यो । तर, दाहाल सरकार प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउने निर्णयका कारण पतन भयो । अनि दुई दुई क्षेत्रबाट चुनावमा पराजित एमाो नेता माधवकुमार नेपाललाई गिरिजाबाबुकै पहलमा प्रधानमन्त्री बनाइयो ।
पछि माओवादीले गिरिजाबाबुलाई राष्ट्रिपति नबनाएर गल्ती गरेको स्वीकार ग¥यो । यस सन्दर्भमा बाबुराम भट्टराईले भनेका छन् – ‘‘आलंकारिक राष्ट्रपति उहा“ले नखाने निष्कर्ष हामीले निकाल्यौँ । उहा“ राष्ट्रपति बने स्वतः कार्यकारी हुन्छ कि भन्ने डर लाग्यो । कटवाल प्रकरणपछि हामीले समीक्षा ग¥यौंँ । गिरिजाबाबुलाई राष्ट्रपति बनाएको भए जाति हुन्थ्यो ।’’
माओवादी पार्टी नेकपामा विलय भएपछि अध्यक्ष पुष्पकमल दाहालले लेखकलाई सुनाए – ‘‘नसोचेको चुनावी परिणामले हामीमा जितको उन्माद बढाइदियो । अलिकति उत्ताउलो पनि भइयो कि भन्ने लाग्छ अहिले आएर । त्यतिबेला गिरिजाबाबलाई राष्ट्रपति बनाएर अघि बढेको भए शान्ति प्रक्रिया र संविधान निर्माणको काम धेरै सहज हुनेथियो । प्रधानसेनापतिको वारेमा कदम नचाल्न पटक पटक उहा“ले सम्झाउनु भयो । तीन महिना कुर्नुस् । सबै हल हुन्छ भन्नुभयो । त्यो जोडमा अहिले म फेरि सम्झिन्छु अभिभावकले यसो नगर्नुस् भनेको रहेछ माया गरेर ।’’
कमयुनिस्ट झुकावबाट राजनीतिमा प्रवेश गरेका गिरिजाप्रसादले जीवनका हर क्षण राजनीतिकै लागि खर्चिए । कम्युनिस्ट विरोधी छविले उनको राजनीतिक उचाइ बढायो । त्यति नै भयानक आक्रमणको सामना पनि गरे । जीवनका उत्तरार्धमा भने उनी कम्युनिस्टका इमानदार अभिभावक हुन पुगे ।