
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवामाथि अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार म्याद थप गरेर अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको हो । तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका प्रचण्डमाथि तिरुवाले राष्ट्रिय सभागृहमा आइतबार जुत्ता प्रहार गरेका थिए । परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले भने, “अनुसन्धान गरिरहेकै छौं । अनुसन्धानबाट थप केही नखुले अभद्र व्यावहारमा म्याद थपेर कारबाही प्रक्रिया अगाडि बढाउछौं ।”
रतनले प्रहार गरेको जुत्ता भने प्रचण्डलाई लागेको थिएन । रतनका बुबा युद्धकालीन माओवादी कार्यकर्ता थिए । तत्कालीन राज्यपक्षबाट उनका बुबा मारिएको खुलेको छ । उनी डल्लुमा बसेर लोकसेवा आयोगको तयारी गरिरहेका थिए । प्रचण्डले जनयुद्धकालीन समयमा गरेका कुरा र अहिले गरेको व्यवहार चित्त नबुझेको भन्दै रतनले जुत्ता प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् । उनको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ ।