काठमाडौं । सहिद सप्ताहको तेस्रो दिन आज आयोजना गरिएको श्रद्धाञ्जली सभामा सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको सालिक अनावरण गरिएको छ ।
१९९७ माघ १५ गते सहिदद्वयलाई प्राणदण्ड दिइएको शोभाभगवती विष्णुमती नदी किनारामा काठमाडौं महानगर प्रमुख एवं सहिद सप्ताह मूल समारोह समिति संयोजक विद्यासुन्दर शाक्यले सालिक अनावरण गरेका हुन् ।
वडा १५ को संयोजनमा महानगरले १६ लाख १० हजार रुपैयाँ खर्च गरी शालिक निर्माण गराएको हो । यसका लागि जगसहित करिब १८ लाख रुपैयाँ खर्च भएको छ । सालिक महेश तुलाधरले निर्माण गरेका हुन् ।
सहिदद्वयलाई मुत्युदण्ड दिइएको स्थानमा सहिद स्मारक स्तम्भ र सालिक राखिएका छन् ।
यसैबीच श्रद्धाञ्जली सभामा महानगर प्रमुख शाक्यले हुकुमी शासन परिवर्तन गरी प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी थाप्ने सहिदको योगदान कसैसँग तुलना हुन नसक्ने बताए । व्यवस्था परिवर्तनसँग स्वाधीनताको र नागरिक अधिकार प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदलाई हामी चीरकालसम्म सम्झना गरिरहन शालिक निर्माण गरिएको शाक्यको भनाइ थियो ।
सहिद गंगालालको नाममा गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता गरेको पनि उनले बताए । त्यस्तै भोलि धर्मभक्त माथेमाको जन्मस्थलनजिक ओमबहालमा धर्मभक्त माथेमा पार्क उद्घाटनको तयारी रहेको पनि जानकारी दिए ।