काठमाडौं । विभागीय क्लब एपीएफले न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
आइतबार भएको फाइनलमा आयोजक न्यु डायमण्डमाथि ३-० को सोझो सेटमा जित निकाल्दै एपीएफले उपाधि जितेको हो । योसँगै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
नयाँबसपार्कस्थित ढोरपाटन प्रशिक्षण केन्द्रमा पहिलो सेट २५-२० ले जितेको एपिएफले दोस्रो सेट २५-२३ ले जितेको हो । सुरुआती अग्रता लिएपनि निकै प्रतिस्पर्धात्मक भएको सेटमा एपीएफ विजय भएको थियो ।
निर्णायक तेस्रो सेटमा अग्रता लिए पनि सम्हालिन नसक्दा न्यु डायमण्डले एपीएफलाई २५-१८ ले नतिजा सुम्पिएको हो । जितसँगै दोस्रो पटक उपाधि कब्जा गरेको एपिएफले ४ लाख १ हजार रुपैयाँ पुरस्कार पाएको छ ।
उपविजेता न्यु डायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ पुरस्कार पाएको छ । तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथो भएको आर्मी ५१ हजार १ सय १ रुपैयाँ पाएको छ ।