site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
असुरक्षित छोरीहरू 

अचेल काम फेरेँ, जाँदा करिब एक घन्टा र फर्किँदा त्यति नै समयको ड्राइभ छ । ग्रामीण बाटोमा साथी हुने गर्छ सीबीसी रेडियो - क्यानेडियन ब्रोड्कस्टिङ्ग कर्पोरेसन रेडियो । यो हाम्रो रेडियो नेपालजस्तो हो, सूचना, समाचार, गीत, मनोरन्जन आदि  सबैखाले सामग्री दिने गर्छ  । अझ मौसम र मूलबाटाहरूको ट्राफिक स्थितिसमेत अद्यावधिक गर्छ  । सोही रेडियोले गएको शुक्रवार - डिसेम्बर ६, १९८९ को सम्झनामा एउटा कार्यक्रम प्रस्तुत गर्‍र्यो  । कार्यक्रमको सामग्री दिमाग तिल्मिलाउने खालको थियो  । त्यो क्यानाडाको र समग्र मानव सभ्यताको इतिहासमै कालो दिन थियो  । त्यस घटनाले मलाई व्यक्तिगतरूपमा गहिरो गरी छोयो । कारणहरु छन् त्यसका । पहिले घटना बताऊँ । 

मोंट्रेअल सहरको 'एकोल पोलितेक्निक' सायद त्यसदिन यस्तो खबरको स्रोत पनि बन्दैनथियो उसका प्रशासन, सुरक्षा संयन्त्र, प्राध्यापक, विद्यार्थी आसन्न कायरता उपर बेखबर हुँदैन थिए भने । त्यो यस्तो कालो दिन थियो  जुन दिन एउटा सन्की अर्धस्वचालित बन्दुक बोकेर मेकानिकल इन्जिनियरिङको कक्षाकोठामा पस्यो, केटीहरूलाई छुट्टै बस्न आदेश दियो र भुट्यो । हुर्किँदै गरेका १४ मेकानिकल इन्जिनियरको इहलीला त्यहीँ सकियो ।  थप १३ घाइते भए । त्यो सनक ' फेमिनिज्म 'विरुद्ध थियो भन्ने त्यस काँतरले आफूलाई समेत बाँकी राखेन । त्यस घटनामा घाइते भएर जोगिएकी एक इन्जिनियर रेडियो कार्यक्रममा भन्दै थिइन् - म त्यो घटनाअघि फेमिनिस्ट थिइन तर त्यो घटनापछि  फेमिनिस्ट नबनी धरै पाइन ।

हामी रोयौँ, चिच्यायौँ, केही भएन । जाग्यौँ, लड्यौँ र संघीय सरकारसम्म पुग्यौँ - दुईवटा उपलब्धि भयो – १. महिला उपरको हिंसाविरुद्ध सरकारी रवैयामा आमूल परिवर्तन आयो । संघीय सरकारले ' महिला उपर हिंसा विरूद्ध राष्ट्रिय दिवस अथवा सेतो रिबन दिवस' घोषणा गर्‍र्यो डिसेम्बर ६ लाई । त्यसले समाजलाई महिला हिंसाविरुद्ध उभिन प्रेरणा दिइरहने भयो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

२. घातक हतियार नियन्त्रण ऐन आयो जसले कुनै पनि सन्कीले झोँकमा मान्छे मार्न सक्ने स्थितिको कठोर नियन्त्रण भयो । त्यसैले आज अमेरिकामा जस्तो क्यानाडामा मान्छे भुटिएको हम्मेसी सुनिन्न । म मेरा दिवंगत साथीहरुको आत्मा लाई सुनाउन चाहन्छु – तिमीहरूको बलिदानले देशलाई योगदान दिन सक्यो, हे वीराङ्गनाहरू हो ! मेकानिकल इन्जिनियर बनेर मेसिनसँग पौंठेजोरी खेल्ने सपनामा पूर्णविराम लागे पनि महिला स्वाभिमानको विम्ब बनेर तिमीहरु सदैव मानव सभ्यतासँग बाँच्ने भयौ । रमाइलो त के रह्यो भने ती महिला स्टुडियोमा आफ्नी छोरी लिएर आएकी थिइन् जो आफैं पनि इन्जिनियर थिइन् ।

आफू इन्जिनियर नभए पनि, आफूलाई इन्जिनियर नमाने पनि, मैले एउटा कुरा विनाहिचकिचाहट भन्नै पर्छ - इन्जिनियरसँगको मेरो सङ्गत किशोरवयदेखि सुरु भयो र यो देह रहुन्जेल अकण्टक रहिरहनेछ । 

Royal Enfield Island Ad

सन् १९८९ को घटनाको खबर सुनेपछि लाग्यो - महिला हुन गाह्रो छ, महिला इन्जिनियर हुन अझ गाह्रो छ र त्यसमाथि पद्धति नै बनेर बसिसकेको, संस्कृति नै बनेर जमिसकेको विभेदविरुद्ध बोल्न अत्यन्त दुरुह छ । बेलाबेलामा हामी आफैँ झुक्किन्छौँ के भद्र, के अभद्र टिप्पणी भनेर । अर्को एक प्रसङ्गमा मेरी सहकर्मी इन्जिनियर महिला भन्दै थिइन् - हामी माइनस ३३ को चिसोमा एउटा ढल प्रशोधन केन्द्रमा आएको समस्याको निदानार्थ फिल्डमा थियौँ ।

बडो सौहार्द  वातावरणमा पिता समान एक सिनियर इन्जनियरले स्नेह मिश्रित भावमा भन्नुभयो - किन यस्तो कठोर पेसा रोजेकी ? तिमीसँग तमाम अन्य विकल्प थिए । मलाई त्यो टिप्पणी सुरुमा सामान्य लाग्यो । घर आएँ र सोचेँ - किन त्यसो भने ती पाका इन्जिनियरले ? सायद मलाई कमजोर केटी ठानेर त भनेका होलान् ? नत्र कुन पेसा रोज्ने भन्ने निर्णय त मेरो हो, मेरै थियो र म मेरो पेसामा अधिक खुसी छु ।

उमेरले ६५ पुग्न लागेका बा समान इन्जिनियर अझै आफूलाई काबिल सम्झिन्छन्, म दुई सन्तानलाई जन्म दिएर सगर्व पेसा र परिवारलाई समानान्तर अगाडि बढाइरहेकी उनीभन्दा आधी उमेरकीलाई अबला ? रातभर मलाई यस कुराले निन्द्रा लागेन । पतिसँग सल्लाह गरेँ र उनैको सुझावले छोडिदिएँ त्यो जागिर । तिमीलाई एक पेसाकर्मीको साटो एक महिला भनेर हेर्छन् भने त्यो ठाउँ तिम्रो उन्नयनको लागि होइन भने मेरा पतिले ।

निश्चय नै केही समयको कठोर बेरोजगारी थेगियो । अहिले पनि कुनै पछुतो छैन । म पनि घोत्लिन बाध्य भएँ- के ती पाका व्यक्ति गलत थिए ? वा यी महिला इन्जिनियर? कि उनका पति? आजको यो युगमा समेत सांस्कृतिकरूपमा नै पेसाका लिङ्ग छुट्टिएका, वर्गीकृत गरिएका छन् र विभेद त त्यहीँदेखि रहेछ । त्यसैले होला, हाम्रो मुलुकमा ट्याम्पो चालक महिलाको खबर बन्छ, पुरुष नर्स भनेर ओठ टोकिन्छ र महिला मन्त्रालयमा पुरुष मन्त्री भनेर गिल्ला हुनेगर्छ । गलत छ यो सब । पेसा चुन्न पाउनु निजी स्वतन्त्रता हो । र वर्तमानको जटिल सामाजिक सांस्कृतिक अनि पद्धतिजन्य चक्रव्यूहमा फसेका हरेक महिलालाई उपेक्षा गरेर कुनै एक महिलाको पेसाजन्य साहसको 'स्कुप न्युज' समस्त महिला जगतउपरको खिसिट्युरी मात्र हो ।

माथि उल्ल्लेखित मेरी सहकर्मी इन्जिनियर महिलाका पति बरु मेरा लागि उचित लागे । किनभने उनले विभेदभित्र बन्धनमा पर्नबाट जोगाए । उचितमात्र यस अर्थमा कि यी महिलालाई यौटा पद्धति निर्माणमा साथ दिन सकिन्थ्यो । जुन पद्धतिले जानाजान वा अन्जानमा नै गरिएका विभेदकारी व्यवहार उपर कठोर नियमन गर्न सकोस् । मलाई लाग्छ, ती पाका इन्जिनियरको आशयभन्दा अनभिज्ञता घातक थियो । ती महिलाको बुझाइ अल्मलिएको थियो र तिनका पतिको सुझाव समस्याको  दीर्घकालीन समाधान भन्दा पनि थप सङ्घर्ष नगर्न चाल्न सकिने उत्तम विकल्प थियो । त्यसभन्दा आवश्यक अर्को विकल्प थियो जसले कार्यालयमा हुने लैङ्गिक विभेदविरुद्ध एउटा पद्धति बनाउन सकिने मौका, त्यो चुक्यो । एकोल पोलितेक्निकवाला हृदयस्पर्शी दुर्घटनाले जुन एउटा नतिजा दियो त्यसले अरू थुप्रै ज्यान जोगियो । यो घटनाले भने त्यस्तो अवसर चुकायो ।

डिसेम्बर ६ छेक नै अर्को अत्यन्त पीडादायी समाचार आयो । मानव सभ्यताको अनुहारमा कालोमसी पोतेको उक्त घटना  दक्षिणपूर्वी  भारतबाट आएको थियो । एक पेसेवर पशु चिकित्सक महिलाको बलात्कारपछिको हत्या र उनको यौनाङ्ग जलाइएको समाचार आफैँमा आफूलाई पुरुष भनाउने मजस्ता करोडौं मान्छेलाई शिर निहुराउन बाध्य बनाउने घटना थियो । मान्छे पशु त हो तर यति हिंश्रक होइन अथवा कमसेकम सन्तुलित मानसिक अवस्थामा त यस्तो गर्न त के कल्पनासमेत गर्न सक्दैन । तर मान्छे, त्यसमाथि लोग्ने मान्छे भएकै कारणले हिंश्रक हुन पाउँछ? हुन मिल्छ? मिल्छ भने कुन पद्धतिको आधारमा? सामाजिक- सांस्कृतिक आधारमा? मिल्दैन भने किन त्यस्तो प्रवृत्तिविरुद्धको पद्धति निर्माणमा लोग्ने मान्छे लाग्दैन? किन महिलाले नै यो  आवाज उठाइरहनु पर्ने हो? अनि त्यसैकारणले 'फेमिनिस्ट' को नाममा कुनै सामूहिक बलिदानीमा ' बत्तीकी पुतली' बनिदिनुपर्ने हो? निरिह पशुको जीवनका लागि आफूलाई समर्पण गरेकी एक भर्भराउँदी पेसाजीवी लोग्नेमान्छे नामक हिंश्रक पशुको सिकार हुन्छे र समाज अझै रात बिरात किन हिँडेकी त भनेर प्रश्न उठाउँछ । तर मलाई यस घटनाको अर्को पाटो अझ गम्भीर छ भन्ने लाग्छ । त्यो गम्भीरता तेलंगाना प्रहरीको कायरतासँग प्रत्यक्ष सरोकार राख्छ र त्यो दुस्साहसको पीठ थप्थपाउने भिड उपर केन्द्रित छ । मलाइ थाहा छ, यो धेरैका लागि अपाच्य तर्क हुन सक्छ ।

म दृढ छु, जति क्रूर, कायर र नृशंस ती चार अपराधी थिए तीभन्दा तेलंगाना प्रहरी अझ बढी कायर हो । एउटी नारी ती चार पुरुषको वासनाको सिकार भइन् । यो एक्काइसौं शताब्दीको जघन्य घटना हो । आफूलाई पुरुष मान्ने मसमेत हामी सबै त्यस अपराधमा परोक्ष संलग्न छौँ । तेलंगाना प्रहरीले ती चारैजनालाई समात्न सफल भयो । त्यस घड़ीसम्म प्रहरी स्तुत्य थिए । तर, जब इन्काउन्टरका नाममा निहत्था पशुतुल्य मान्छेलाई मारे, मलाई व्यक्तिगतरूपमा दुःख लाग्यो - ती मारिएकोमा हैन, सभ्यता मारिएकोमा ।

भारतमा बलात्कारको मुद्दामा शीघ्र न्याय निरुपण गर्ने र दोषी प्रमाणित भए मृत्युदण्ड दिने कानुन छ । यति हुँदाहुँदै पनि कानुनको पालना गराउने/ गर्नेले गैरकानुनी काम गर्छ । जनताको कर खानेले जनताको छातीमा बिना कुनै कानुनी आधार गोली ठोक्छ र हामी त्यस्तो गुन्डागर्दीको मुक्तकण्ठले प्रशंसा गर्छौ । हाम्रो शताब्दीमा केही गड़बड़ी पक्कै छ । विनाकुनै कानुनी आधार निहत्था उपर गोली हान्ने अधिकार प्रहरीलाई छैन । छ भने पनि त्यो गलत हो ।

म बलात्कारीको पक्षधर होइन तर उनीहरुलाई दिइएको कथित 'सजाय'प्रति भने मेरो गम्भीर आपत्ति छ । भिडले बोलेको बोली नबोल्दा आत्मरति ठहरिन्छ भने त्यो समेत स्वीकार्य छ । तर, अहिंसाका पुजारी महात्मा गान्धीले भनेझैँ आँखाको बदला आँखै भन्दै जाने हो भने एक दिन सारा विश्व आँखाविहीन हुनेछ । के त्यो हामीलाई स्वीकार्य छ? के विवेक बन्धक बनाएर भिडले भनेको बाटो न्यायको सँघार टेकिएला ? 

नेपाली समाजले भुल्न नहुने केही यस्ता घटना छन् जसले तेलंगाना प्रहरी गैरजिम्मेवार र कानुन उल्लंघकर्ता हो भन्ने प्रमाणित गर्छ ।  हिरासतमा लिई सकेपछि कुनै पनि अभियुक्तको सुरक्षाको जिम्मेवारी प्रहरीको हो । जति ठूलो स्वरमा प्रमाणित गर्न खोजे पनि ती चार नरपशु निहत्था थिए, तिनले भाग्ने प्रयत्न गरे पनि होलान् तर पुलिसमाथि जाइलाग्ने वा ज्यानमारा धावा बोल्ने हैसियत तिनको थियो भनेर कमसेकम विवेक नहराएको मान्छेले पत्याउन सक्तैन । भिडको चर्को दबाब थेग्न नसकेर रचिएको यसभन्दा भद्दा नाटक अरु के होला ? यो त्यति नै गलत भएको छ जति हिरासतमा लिइएकी मैना सुनारमाथि भएको थियो । यो त्यतिनै निर्लज्ज घटना हो जति भैरवनाथ गणभित्र भएको थियो ।

कसो कसो, दिलिप सिंह विष्ट ज्युँदै हिरासतबाट निस्किँदासमेत आनन्द मान्नुपर्ने अवस्था छ । किनभने उसको पनि त्यही अन्त्य गराउन नेपाल प्रहरीले सक्थ्यो । कुन शक्तिले रोक्यो? अचम्म छ । नेपाल प्रहरीका 'स्टन्ट'का श्रव्यदृश्य देखेका मजस्ता केहीलाई कल्पना गरेरै आँग जिरिङ्ग हुने गर्छ । पछिल्लो समय  सूचना प्रविधिका कारण राज्य संयन्त्र अत्यधिक लोसे भएको छ ।

समयमा काम गर्न अनेकौं पद्धतिजन्य सुस्तता छन् र ती सबैभन्दा सजिलो छ मुठभेड । त्यही गरेर प्रहरी स्टन्टबाज बनेको छ, भिड त्यो स्टन्टको कुलती बनेको छ । गलत छ भिड पनि । पक्राउ परेको २४ घन्टाभित्र अदालतमा हाजिरी, अदालतमा हाजिर भएको ३० दिनभित्र न्याय सम्पादन र त्यसको २४ घन्टाभित्र फैसला कार्यान्वयन गर्ने पद्धति बसाउन कुन शक्तिले रोकेको छ ? कुनै शक्तिले रोकेको छ भने अचेतन, अवचेतन अवस्थाका मन बलात्कारी भएका हिंश्रकहरूले रोकेका छन् । हातमा बन्दुक बोकेका अगुवाले रोकेका छन् जो हरेक समस्याको समाधान ठोकाइबाट निस्कन्छ भन्ने मनोवृत्ति पालेर बसेका छन् । एउटा लेखकका नाताले म हिम्मत साथ भन्दैछु- तेलंगाना प्रहरी र उसको हिंश्रक प्रवृत्ति मुर्दावाद ! र यो पनि जान्दछु - यस घटनाको यस्तो पटाक्षेपले ती पीडित युवतीलाई समेत न्याय दिलाउन सकेन ।

डिसेम्बर ६ कै सेरोफेरो अर्को घटना पनि भयो । यो नितान्त निजी अनुभूति हो । कार्यालय समयमा नै निजी फोनमा मलाई सम्बोधन गरेर क्यानाडाको कुनै एक विश्वविद्यालयमा अध्ययन गरिरहेकी मेरी एक चेलीको  एउटा मेसेज आयो जसको सारांश यस्तो थियो - हजुरको उमेर समान एक नेपाली विद्यार्थीले मलाई एक प्राज्ञिक सहकार्यको लागि आमन्त्रण गर्नुभयो, म उहाँको अफिसमा गएँ, उहाँले पहिलो भेटमा नै मेरो शिरदेखि पाउसम्म हेरेर यस्ती लुखुरी रै'छे भन्नुभयो । मलाई असहज लाग्यो र मैले उहाँलाई आफ्नो अफिस कोठा खुला छोड्न अनुरोध गरेँ । करिब आधाघन्टा म बाँधिएको अनुभवमात्र गरिरहें । उहाँले अन्य सहकर्मी सहपाठीहरू उपर गरेका टिप्पणी अभद्र थिए, जातिभेदी, लिङ्गभेदी, रंगभेदी थिए ।

यस्तो अवस्थामा म के गरौँ? यो हिँसा हो कि होइन? के यो हाम्रो संस्कृतिमा सामान्य र ग्राह्य हो? मसँग यसको प्रस्ट जवाफ थिएन । म आफैँ प्राध्यापन पेशामा लामो समय काम गरेको मान्छे । मैले पनि मेरा कोही चेलीलाई वा समग्रमा महिलाउपर त्यस्तो अभद्र टिप्पणी गरेँ कि ? गरेको भए यही लेखमार्फत सार्वजनिक क्षमायाचना गर्छु । यो अठोट गरिसकेपछि आफूलाई सम्हाल्दै भने - त्यो टिप्पणीको आशय जेसुकै किन नहोस्, त्यो अभद्र, गैरव्यवसायिक र लैङ्गिक विभेदकारी टिप्पणी हो र अबको तिम्रो बाटो भनेको उनलाई तिमीले महसुस गरेको असहजतालाई लिपिबद्ध गरेर उनलाई एकप्रति दिने, एकप्रति आफू राख्ने, क्षमायाचनाका लागि समय दिने, सहकार्यको विकल्प बन्द गर्ने र त्यसो गर्दासमेत अपेक्षित सुधार नआएका अवस्थामा तिम्रो प्रोफेसरमार्फत विश्वविद्यालयको नियामानुसार दण्डित गराउने हो ।

अझ म तिम्रो ठाउँमा हुन्थेँ भने कानुनी उपचार खोज्ने विकल्पसमेत खुला राख्ने थिएँ । उनले सुझाव सुनिन्  र त्यसपछि के गर्ने उनकै चाँजोको विषय रह्यो । मलाई आनन्दानुभूति त्यसबेला भयो जतिखेर उनले भनिन् - हजुरहरू हुनुहुन्छ र मैले मेरा अनुभूति सुनाउन पाएँ । मलाई सुझाव जँचे र म त्यसै गर्ने विचारमा छु । 

माथिका तथ्य हुन्, कथ्य होइनन् । हाम्रो समकालीन समाजमा छोरीहरु जानाजान वा अञ्जानमा नै असुरक्षित छन्- भौतिक रुपमा, सामाजिक रुपमा र निकै हदसम्म सांस्कृतिक रुपमा समेत । अरु त अरू आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न, गराउन समेत प्रयुक्त छन् । विद्यार्थी जीवनमा नै तेजिलो नेतृत्व देखाइसकेका छोरीहरू करुणाको भोट बटुल्न प्रयुक्त छन् । दीर्घरोगी भए पनि  पुरुष शक्तिको केन्द्रमा नै रहनुपर्ने र महिला तिनको महाप्रस्थानपछि मात्र अघि आइदिनुपर्ने गरी अभिशप्त छन् । उनीहरु असुरक्षित र अवहेलित छन् । एउटा नैतिक पद्धतिको निर्माण नहुन्जेल समाजमा उनीहरु अभद्रताको सिकार भइरहनेछन् । एउटा सबल कानुनी पद्धतिको निर्माण नहुन्जेल अबला ठहरिरहनेछन् र प्रहरीले 'मुठभेड बहादुर स्टन्टबाज' बन्न पाइरहनेछ । भिडलाई गहिरो विश्लेषण गरिबस्ने फुर्सद छैन, वाहवाहीको भोक छ । हामी असुरक्षित छोरीहरूको कोखबाट हुल्का हुल स्टन्टबाज बहादुर जन्मिने सदीक्षा राखेर मस्त निदाइरहेकाछौँ । निदाई नै रहनेछौँ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro