काठमाडौं । प्रहरीले असोज पहिलोसाता कृषि विकास बैंक लहान शाखाको रकम लुटने मुख्य योजनाकार भनिएका ‘काले’ अर्थात् पिटर समूहका तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । उनीहरुलाई बुधबार (आज) पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने प्रहरी तयारी छ ।
उच्च प्रहरी स्रोतले भन्यो, ‘‘पक्राउ परेका तीनैजनाको कनेक्सन कालेसँग देखिएको छ । उनीहरुले भाइबरलगायत सामाजिक सञ्जालमा फोन गर्दै चिठ्ठा पर्यो भन्दै कयौँलाई ठगेको पाइएको छ । १७ करोड बराबरको कारोबार उनीहरुले गरेका छन् । तर त्यसको वैधानिक स्रोत देखाउन सकेका छैनन् ।’’
ती अधिकारीका अनुसार पक्राउ परेकामध्ये एकजनाले काले भनिने पिटरलाई बैंक खाता नम्बर पठाएको देखिएको छ । प्रहरीले सो समूहले कृषि विकास बैंकजस्तै अन्य बैंकबाटसमेत रकम लुटेको हुनसक्ने आशंका गरेको छ ।
यसअघि असोज पहिलो साता कृषि विकास बैंक लहान शाखाको नाफाबाट करिब ५ करोड रुपैयाँ व्यक्तिको खातामा ट्रान्सफर गराएर रकम निकालेको आरोपमा १८ जना पक्राउ परेका थिए ।
त्यसमा बैंककै कर्मचारीदेखि निर्माण व्यवसायीसम्म छन् ।
प्रहरी अनुसन्धानका क्रममा त्यो योजनाका मुख्य योजनाकार ‘काले’ भनेर चिनिने अफ्रिकी मुलका पिटर रहेको खुलेको थियो । उनी भारतको मुम्बइमा बसेर नेपालमा एजेन्टमार्फत् ठगीमा संग्लन रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । प्रहरीले इन्टरपोलसँगको समन्वयमा कालेको खोजी जारी राखेको छ ।
यसअघि १० प्रतिशत कमिसनको प्रलोभनमा खटाएका एजेन्ट कोही रकम निकाल्दा निकाल्दै र कोही रकम निकालिसकेपछि पक्राउ परेका थिए । प्रहरीले तत्कालीन समयमा कालेको समूहले नेपालका विभिन्न बैंकबाट कुल ५ अर्ब लुट्ने योजना रहेको बताएको थियो ।
प्रहरीका अनुसार कालेका स्थानीय एजेन्ट सर्लाहीका पुष्पराज खड्का रहेको खुलेको थियो । पुष्पले नुवाकोटका लवाङ तामाङलाई खटाएर विभिन्न व्यक्तिमार्फत् रकम झिक्न लगाएका थिए । प्रहरीले पुष्पलाई ३१ लाख रुपैयाँ नगदसहित पक्राउ गरेपछि कालेको पोल खुलेको थियो । काले ‘वि–च्याट’ मार्फत् विभिन्न व्यक्तिको सम्र्पकमा रहेको खुलेको छ ।
कालेले प्रणाली ह्याक गर्नुपूर्व कृषि विकास बैंकमा खाता भएका व्यक्तिहरु पहिचान गरी उनीहरुलाई नफस्ने विश्वास दिलाउने गरेका थिए ।
जसका लागि ५ अर्ब रुपैयाँ लुट्ने योजनासहित नेपालका विभिन्न एजेन्टसँग मिटिङ गरेको तथा तालिम दिएको खुलेको थियो । लहान शाखाको कर्मचारीको एडमिन प्रयोग गरी अर्को शाखाको व्यक्तिको खातामा रकम पठाएको पाइएको थियो ।
फाइल तस्बिर ।