काठमाडौं । गत बिहीबार आफ्नो कार्यकक्षमै थिए, महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल बहादुर थापा । अपराध महाशाखामा दैनिक ठगिएका, लुटिएका पीडितहरु सयौंको संख्यामा पुग्छन् ।
बिहीबार एउटा खबर आयो, महाशाखाका एसएसपी थापालाई । सूचना थियो, काभ्रेको पनौतीमा तीन अर्ब बराबरको बहुमुल्य धातुको अवैध ओसारपोसार र विक्री । प्रहरीले सूचना ‘भेरिफाई’ गर्न थाल्यो । धातु त पक्कै छ भन्ने प्रहरीको अनुमान थियो ।
तीन अर्ब बराबरको धातुको कारोबारको सूचना आएपछि एसएसपी थापाले गिरोह समात्ने योजना बनाए । योजना अनुसार (यापारी–खरिदकर्ता) बनेर महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा सादा पोशाकमा हतियारसहितको टोली खटियो । टोलीले बहुमुल्य धातु खरिद गर्ने भन्दै गिरोहसँग ‘डिल’ गर्न थाल्यो । व्यापारीको भेषमा रहेको प्रहरीलाई सुरुमा उनीहरुले धातु देखाउन मानेनन् । तर धातु नहेरी रकम नदिने प्रहरीको प्रस्तावपछि उनीहरुले नक्कली समान देखाए । बिहान ११ बजेबाट साँझसम्म प्रहरी र गिरोहका बीचमा ‘डिल’ चल्दै साँझ उनीहरु पक्राउ परेका थिए ।
धातु देखाइसकेपछि प्रहरीले गिरोहका पाँचजनालाई नियन्त्रणमा लियो । तर प्रहरीले बरामद गरेको सबै बहुमूल्य पथ्थर नक्कली फेला परेको छ । महाशाखाका एसएसपी थापा भन्छन्, ‘‘हामीले समयमै सूचना नपाएको भए सर्वसाधारण र व्यापारीलाई बहुमूल्य पत्थर भन्दै तीन अर्ब ठग्ने उनीहरुका योजना सफल हुनसक्थ्यो । अहिले नक्कली सुन, बहुमूल्य धातु भन्दै ठग्ने गिरोह नै सक्रिय छ ।’’
एसएसपी थापा अवैध सामान नकिन्न र शंकास्पद गतिविधी देखेमा खबर गर्न आग्रह गर्छन् । उनले भने, ‘‘लोभमा परेर एकछिन विचार नगर्ने हो क्षणभरमै ठगले करोडौं लुटिदिन सक्छन्, यसबारे सबै सचेत हुन जरुरी छ ।’’
प्रहरीले उनीहरुको साथबाट बिभिन्न रङका मोजनाइट, काइनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एल.बि. डायमण्ड जस्तो पत्थर, फेन्सि डायमण्ड जस्तो देखिने स्टोन, पुष्पराजहरु, निलम, लसुनिया, रुबीहरु समेत गरी जम्मा ५,०६१.९९ क्यारेट र पहेलो धातुमा जडित औंठी ८.९३ ग्राम फेला पारी बरामद गरेको छ । बरामद वस्तुलाई परिक्षणका लागि नेपाल रत्न तथा आभूषण संघलाई दिएको थियो । संघले परिक्षणका क्रममा तीन अर्ब भनिएको बरामद धातुको मूल्य एक लाख बराबर पर्ने बताएको छ ।
महाशाखाको टोलीले ठगी कार्यमा संलग्न काभ्रे पनौतीका ६२ वर्षीय नवराज खड्का, बेथानचोकका विष्णुबहादुर, झापा गौरादहका ३८ वर्षीय हरि खापुङ, झापा शिवसताक्षीधामका ३७ वर्षीय यमकुमार गिरी, मोरङ बुढीगंगाका २५ वर्षीय लोकबहादुर कार्की र रौतहट चन्द्रपुरका ३३ वर्षीय भीमबहादुर लामालाई पक्राउ गरेको छ ।