"म जापानी नागरिक हुँ, हजुरको छोरी माग्न आएको, बिहे गर्न चाहन्छु । बिहेपछि नेपाल र जापानको पुल बनेर बस्छु, विकास गर्छु ।" पचास वर्षअघि जापानी नागरिक ताकाशी मियाहाराले आफूलाई (आमा पुष्पाकुमारी राणासँग) मागेको सम्झिन्छिन् निना राणा मियाहारा । युवा मियाहारा नेपालमा घरजम गर्न चाहन्थे । छ दशक नेपाललाई कर्मभूमी बनाउने ताकाशी मियाहाराको ८५ वर्षको उमेरमा गत आइतबार ललितपुरको मेडिसिटी अस्पतालमा निधन भयो । पाँच महिनाअघि उनलाई पेटको क्यान्सर रहेको टोकियोस्थित अस्पतालले पत्ता लगाउँदा रोग पूर्ण विकसित भइसकेको थियो ।
सन् १९६२ मा नेपाल आएका ताकाशी मियाहारा नेपालको पर्यटन क्षेत्रका अगुवा हुन् । उनले सन् १९६८ मा नेपालमा ट्रान्स हिमालयन टुर/ट्रेकिङ् र जापानमा ‘एचकेके’ ट्राभल एजेन्ट दर्ता गरेपछि नेपालमा जापानी पर्यटकहरूको भित्रिने क्रम बढ्न थालेको हो । त्यही ताका सगरमाथा क्षेत्र पदयात्राको क्रममा नाम्चे बजारमाथि स्याङ्बोचेको थुम्कोबाट सगरमाथा हेरीरहँदा अर्का विदेशीले मियाहारासँग भलाकुसारी गरेका रहेछन् - “कस्तो रमणीय ठाउँ । यहाँ त होटेल पो हुनुपर्ने ।” उनको मनको कुरा अर्का विदेशीले पनि बोलेपछि उनमा होटेलको सपनाले जरो गाड्यो र उही ठाउँमा होटेल निर्माण गरी १९७१ मा सञ्चालनमा ल्याए - 'होटेल एभरेस्ट भ्यु' । यो होटेल गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता छ, संसारकै अग्लो स्थानमा (१३ हजार फिटमा) अवस्थित होटेल भनेर । होटेल निर्माण सामग्री प्रायः जापानबाटै ल्याइए । बाथरुमका फिटिङ्सदेखि सबै (१२ वटा) कोठाबाट सगरमाथा देखिने ठूला ठूला झ्यालका सिसा जापानबाट आए । त्यतिखेर ती सामग्री लामोसाँघुबाट बोकाएर लैजाँदा दुई साता लाग्थ्यो । होटेल विशिष्ट पर्यटक लक्षित हुनाले त्यहीँ (स्याङ्बोचेमा) सानो जहाजको लागि १३ सय मिटर लामो एयरस्ट्रिप पनि बनाए ।
ललितपुर पुल्चोकस्थित होटेल हिमालय पनि यिनैले बनाएका हुन् । गोर्खा दक्षिणबाहुबाट विभुषित मियाहाराले डेढ दशकअघि जापानी नागरिकता त्यागी नेपाली नागरिकता प्राप्त गरेपछि 'नेपाल राष्ट्रिय विकास पार्टी' पनि दर्ता गरे । उनले “नेपालमा शान्ति र विकासको लागि संविधान लेख्ने” उद्देश्य रहेको यो पंक्तिकारलाई बताएका थिए । असी पृष्ट लामो उनको घोषणापत्रमा पनि नेपालको अमूल्य प्राकृतिक सौन्दर्यमार्फत नेपालको पर्यटन विकाससम्बन्धी अध्याय नै छ । “चुनावमा (पहिलो संविधान सभा) हार खाए पनि उनको विश्वास हारेन । विचार र योजनाले सँधै भरिपूर्ण यिनलाई सुन्नेले यो देशको प्रधानमन्त्री बनुन् भन्ने चाहना राखे।” लेख्छन् पत्रकार कुन्द दीक्षित ।
मियाहाराले २०१५ मा नेपालको विकासको अवधारणा बनाइ ‘देशको भविष्यको लागि’ किताप सार्वजनिक गरेका थिए । कितापमा उनले द्रूत मार्ग, सुरुङमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, पानी जहाज, पूर्वपश्चिम रेल, हाइड्रो पावर, पानी वितरण प्रणाली, केबलकार, आकाशे सडक आदिको परिकल्पना गरेका छन् । “अव्यवस्थित काठमाडौंको भार कम गर्न राजधानी नै चितवन सार्नुपर्छ” उनी भन्ने गर्थे । अन्तिमकालमा पनि उनी पोखरा सारङ्कोटस्थित 'होटेल अन्नपूर्ण भ्यु' निर्माणमा व्यस्त रहे ।
यस पंक्तिकारले ताकाशी मियाहारासँग चार वर्ष (१९९०-१९९४) काम गर्ने अवसर पाएको थियो । व्यावसायिक जीवनको सुरूमै मैले उनीबाट सादापन, समय, मेहनत र अतिथि सत्कारको महत्त्व बुझ्ने अवसर पाएँ । काम थालेको ६ महिनामै मैले होटेल एभरेस्ट भ्युको सेल्स र पिलाटस पोर्टर (एक इन्जिनको सानो जाहाज)को इन्चार्जसिप जिम्मा पाएँ । यसले मलाई मियाहारासँग झनै नजिक हुने मौका दिलायो । यिनै मियाहारामार्फत मैले अन्य जापानी व्यवसायीहरूसित पनि नजिकिने मौका पाएँ । मियाहारा सँधै ‘हाइ-एन्ड टुरिजम’ प्रवर्द्धनमा लागे । जापान-नेपाल सिधा हवाई सम्पर्क नहुँदा उनले जापानबाट सिधा चार्टर फ्लाइटहरू पनि ल्याउँथे । जापान एयरलाइन्सको हरेक विमानमा दुई सयभन्दा बढी पर्यटक ल्याउँथे । अतिथि सत्कार जान्न/बुझ्नैको लागि पनि उनले मलाई सिंगापुर मलेसियाको विशिष्ट श्रेणीको भ्रमणमा पठाए । भ्रमणबाट फर्केपछि मैले उनलाई भनेँ - “मियाहारा साप्, यहाँ हामीले दिने सर्भिस र व्यवहार त लाजै लाग्ने खाले रहेछ । के सोच्छन् होला हाम्रा गेस्टले !”
’होटेल एभरेस्ट भ्यु’ उनको मुटु नै थियो । नेपालमा पर्यटन उद्योगले जनस्तरमा वृद्धि, देशको विकासमात्रै नभइ नेपाललाई आत्मनिर्भर पनि बनाउँछ भन्ने उनमा विश्वास थियो । उनले भन्ने गर्थे, “म सुरुमा नेपाल आउँदा सिंगापुर, थाइल्यान्ड र नेपाल उस्तैउस्तै थियो ।” नेपालको विकास नहुनुमा राजनीतिक कमजोरी देखाउँथे । उनी भन्थे “राजनीतिले सबै बिगारेको छ । हस्तक्षेप छ । कर्मचारी जिम्मा लिँदैनन्, जिम्मेवारी पन्छ्याउँछन् मात्रै ।” हुन पनि यस क्षेत्रमा उनलाई ‘सुनको अन्डा दिने कुखुरा’को रुपमा हेरिन्थ्यो । कतिपय कर्मचारीले मलाईनै ‘भनिदिन’ आग्रह गर्थे । चाहे सरकारी कर्मचारी हुन् या नेवानिका हुन् या आफ्नै कम्पनीका ।
हामीले नेपाल वायुसेवा निगमसँग पाँच/पाँच बर्षको लागि पिलाटस पोर्टर जहाज लिज एग्रिमेन्टमा लिएका थियौँ । यसैको लागि हामीलाई नागरिक उड्डयन प्राधिकरण र नेवानि धाइ रहनुपर्ने हुन्थ्यो । अहिले पनि सहज वातावरण नभएको, उतिखेर झनै असहजता थियो । ससाना निर्णयमा अल्झाइदिनाले समयमै जहाज उडाउन गाह्रो पर्थ्यो । ढिलो भए हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुन्थ्यो । एकै उडान अवरोध भएपनि कम्तीमा दस हजार डलरको नोक्सानी व्यहोर्नुपर्थ्यो कम्पनीलाई । त्यो भनेको देशकै नोकसानी हो । यतापट्टि नसोचिदिने कर्मचारीतन्त्रसँग उनी झोंक्किन्थे तर हरेस भने खाँदैन थिए ।
मेरो लागि नबिर्सने घटनामध्ये हो उपल्लो मुस्ताङक्षेत्रको एउटा हिमताल माथि हवाई सर्वेक्षण हो । यसका लागि पिलाटस पोर्टर नै प्रयोग गर्नुपर्ने थियो जाइकाको लागि । हामीलाई स्याङ्बोचेबाहेक अन्यत्र उडानको लागि छुट्टै अनुमति लिनुपर्ने हुन्थ्यो । यो सर्वेक्षणको लागि पनि सेना, नागरिक उड्डयन प्राधिकरण र नेवानिको अनुमति चाहिएको थियो । सेनाले बल्लबल्ल लिएजन अफिसर खटायो, निगमले आनाकानीमा अनुमति दियो तर प्राधिकरणका कर्मचारीले भने अवरोध सिर्जना गरे । निकै संघर्षपछि पनि केही सीप नलागेर, सर्वेक्षणको संवेदनशीलता र आकस्मिकताबारे कान्तिपुरमा समाचार आयो । समाचार छापिएकै दिन अनुमति प्राप्त भयो । यो त मेरो एउटा अनुभव थियो । यस्ता अनुभव, पञ्चायतकालमा नेपालमा व्यवसाय थालेका, जापानी मियाहाराको अनगिन्ती थिए । उदाहरणको लागि उनको कम्पनीमा अन्य तिन नेपाली शेयर होल्डर (निर्देशक) थिए जसले न लगानी गरे, न कार्यालय आउँथे । ती सबै तत्कालीन प्रधानमन्त्रीका आफन्त र निकट थिए । चार दशकपछि तिनलाई बिदाइ गर्दा रकम खर्चिन परेको थियो । मियाहाराले आफूलाई या परिवारजनलाई फाइदा दिलाएनन् तर छ दशकमा उनीमार्फत अन्य अवसरवादीले ‘फाइदा’ लिए, आफ्नै कर्मचारी किन नहुन् ।
जाडोमा काठमाडौं विमानस्थलमा बिहान १०-११ बजेसम्म हुस्सु लाग्नाले उडान ढिलो हुने गर्थ्यो । त्यसको मार स्याङ्बोचे, लुक्ला, फाप्लु, जोमसोम, मनाङ आदि हिमाली क्षेत्रको उडानलाई पर्थ्यो । आन्तरिक विमानस्थलमा उडान पर्खनेक्रममा एकदिन उनले यो मलाई सुनाए, “बीस वर्षअघि (२०७०मा) मैले बूढानिलकण्ठमा स्टोल एयरफिल्ड (साना जाहाजको लागि धावनमार्ग) बनाउन कत्ति कोसिस गरेँ, सरकारले सहयोग गरेन । त्यहाँ बिहानै घाम लाग्छ नि । फ्लाइट डिले हुन्नथ्यो ।” उनि नेपाली खर्रै बोल्थे बुझ्थे । “त्यतिखेर नगरकोटदेखि ककनीसम्म टुरिस्टलाई केबलकार चलाउन अनुमति मागेँ, धेरैजनाले पैसा खोजे” उनले हाँस्दै थपे । हेँटौडामा लाइभ स्टक उद्योग खोल्न खोज्दा ‘राजपरिवार सदस्यको इन्टरेस्ट’ भन्दै एक सैनिक अधिकारी आएको सुनाएका थिए उनले ।
उनमा बिहान उठ्नासाथ काम, दिउँसो काम र रातिसम्म कामबाहेक बिरलै समय हुन्थ्यो । काममा व्यस्त कर्मचारीले 'नमस्ते' गरे उनी झोंक्किन्थे र भन्थे 'बसेर आफ्नो काममा ध्यान दिनुस् न, मलाई हैन’। नेपालमा ट्रेकिङ् एजेन्सीको सुरूआतकर्ता मियाहाराले धेरै पर्यटन उद्यमी उत्पादन गरे । यति एयरलाईन्सका आङ छिरिङ शेर्पा पनि यिनैको ट्रेकिङ कम्पनीमा सहयोगी थिए । हिमालयन जर्निजका ओगुवारा, टेकचन्द्र पोखरेल, माउन्टेन ट्राभल्सका तानाका, मल्ल ट्रेक्सका स्टान, सूर्य ट्राभल्सका मोतिधर आदि सबैको गुरू मियाहारा नै हुन् । नेपालमा कारोबार या बसोबास गर्ने एक हजारभन्दा बढी जापानीमध्ये कतिपयलाई यिनैले बसालेका छन् । पूर्व जापानी राजदूत कामिनागाले पंतिकारसँग भनेका थिए, “मिस्टर मियाहाराको यो नेपालमा राम्रो योगदान रहेछ ।”
मैले १९९४ मा कम्पनी छोडे पनि बेलाबखत मलाई उनी बोलाइरहन्थे र नेपालको विकास र राजनीतिबारे गफ गर्थे । यो क्रम २०१० सम्म जारी रह्यो । पछिल्लो भेटघाटमा उनी नेपाली राजनीतिक दलसँग चिढिन्थे । राम्रो अवसरलाई निजी स्वार्थमा गुमाए भन्ने उनको गुनासो रहन्थ्यो । राजतन्त्र चाहिन्छ भलै सेरेमोनियल किन नहोस् भन्ने उनको बिचार थियो । डा. बाबुराम भट्टराईबाट भने उनी प्रभावित थिए । नेपालको विकासको प्रचुर सम्भावना देखेका थिए उनले तर दलीय राजनीति अवरोध भइदिनाले आफैं राजनीतिक दल खोल्ने निर्णय गरे ।
योग्यताले मेकानिकल इन्जिनियर मियाहारा दुस्साहसी आरोही पनि थिए । उनी हरेक महिना केही दिन जापान, केही दिन काठमाडौं र केही दिन स्याङ्बोचे हुन्थे । स्याङ्बोचेबाट काठमाडौं फर्कने क्रममा उनी बिहान ३ बजे नै टर्च बोकेर एक्लै ५/६ घन्टामा लुक्ला झर्थे जहाज भेट्टाउन । अघिल्लो दिन लुक्ला आइपुग्नुभन्दा स्याङ्बोचेमै रातिसम्म काम गर्न रुचाउँथे ।
मैले एकपटक “यो एप्रिल महिनामा धेरै टर्बुलेन्स हुन्छ, मियाहारा साप, सानो जाहाज कमै चढ्ने गर्नुस्, तपाईं हामीलाई चाहिन्छ नि”, ठट्टा गरेको थिएँ । उनले फिस्स हाँस्दै सुनाए, “म साउथ पोल जाने पहिलो मान्छे हुँ नि।” म छक्क परेँ । दक्षिण ध्रुब पुग्ने पहिलो मानव टोलीका थोरै सदस्यमध्ये मियाहारा एक रहेछन् । मियाहारा उत्तरी ध्रुब पनि पुगेको उनकी पत्नी निनाले सुनाइन् । उनले नेपालको मेरा पिकलगायत विभिन्न साना पर्वत आरोहण गरेका छन् भने पचहत्तरै जिल्ला डुलेका छन्, प्रायः पैदल । उनले ६२ बर्षको उमेरमा (सन् १९९३) सगरमाथा चढ्ने योजना बनाए । यसमा पनि उनी ‘सगरमाथा चढ्ने पहिलो जापानी सिनियर सिटिजन’ हुन चाहन्थे । लामो तयारीपछि सगरमाथाको टुप्पोमा पुग्नु पचास मिटर बाँकी रहँदा उनका टोली नेता अर्का आरोही मुनेओ नुकिताले उनलाई फर्काइदिए । “मियाहारालाई स्नो ब्लाइन्डनेस भएको थियो” नुकिताले यस पंक्तिकारलाई बताएका थिए । त्यतिखेर (१९९३) बेस क्याम्प जानुअघि जाहाजमा बसेपछि उनले मलाई भनेको सँधै सम्झने गर्छु, “म मर्यो भने मेरो खरानी एचइभी (होटेल एभरेस्ट भ्यु) मा राख्नूपर्छ है, राजेश”। यही इच्छाले क्यान्सरबाट ग्रस्त उनलाई दुई महिनाअघि जापानबाट नेपाल फर्कायो ।
मंगलबार श्रद्धाञ्जलिका लागि म चुच्चेपाटीस्थित गुम्बामा पुग्दा उनको शव बाकसभित्र थियो । बाकसमा खादा र फूलमालाको थाक थियो । हलभरी धुपको वासना थियो । उनको तस्बिर नजिक धुप दियो बलेका थिए । लामाहरू बौद्ध परम्मरागत मन्त्र पढ्दै थिए । छोरी सोनिया प्रार्थना गर्दै थिइन् । मित्र आफन्त परिवारजनको घुइँचो थियो । नजिकै मलिन अनुहारमा बसेकी पत्नी निनासँगको भलाकुसारीमा उनले सुनाइन्, निको नहुने निश्चित भएपछि मियाहारा आत्तिन थाले “मलाई तुरून्तै नेपाल लैजाउ । म नेपालमै मर्न चाहन्छु ।"
अलबिदा मियाहारा सान !!
तस्बिर सौजन्यः एचइभी