site stats
बाह्रखरी :: Baahrakhari
देश
विप्लव समूह सैन्य तालिममा, एम्बुस थाप्‍नदेखि हतियार चलाउनसम्म सिकाइँदै (दस्तावेजसहित)

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले देशका विभिन्न स्थानमा सैन्य तालिम दिइरहेको खुलासा भएको छ । प्रहरीले देशका विभिन्न स्थानबाट बरामद विप्लव समूहका गोप्य दस्तावेजबाट हतियारसहित सैन्य तालिम दिइरहेको खुलेको हो ।

देशका सीमित स्थानमा पहाडी क्षेत्र र सहज पहँुच नभएको जंगलमा विप्लव समूहले जनसेना निर्माण गरेर तालिम दिइरहेको सुरक्षा स्रोतको दाबी छ । सरकारले गत फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो । विप्लव समूहले देशका विभिन्न स्थानमा वम विस्फोट, स्थानीय तहका जनप्रतिनिधिमाथि कारवाही लगायतका काम गर्दै आएको छ । उक्त समूहले आफूले हतियारवद्ध संघर्ष सुरु नगरेको दाबी गर्दै आए पनि गोप्य दस्तावेजले भने हतियारवद्ध संघर्ष गर्न लागेको पाइएको छ । 

बाह्रखरीलाई प्राप्त एक गोप्य रिपोर्टअनुसार गोप्य रुपमा सैन्य संरचना नै निर्माण गरेर हतियारको तालिम समेत दिइँदै आएको छ । सैन्य तालिममा सबै कार्यकर्ता सहभागी हुन पाउँदैनन् । विप्लव समूहका एक नेताका अनुसार प्रायः युवा कार्यकर्तामात्रै सैन्य तालिममा सहभागी छन् ।

Argakhachi Cement Island Ad

उनीहरुलाई खानादेखि आवासको व्यवस्था सामूहिक रुपमा गरिन्छ । त्यहाँ क्रान्तिकारी विचारको कक्षादेखि लिएर एम्बुस कसरी थाप्ने, कुन हतियार कसरी चलाउने, सैन्य संरचना कस्तो हुन्छ लगायतका विषय सिकाइन्छ । विप्लव समूहका ती नेताले भने, ‘‘उनीहरु निकै अनुशासनमा हुन्छन् । पूर्व जनमुक्ति सेनाका लडाकुदेखि केही राज्यकै पूर्व सुरक्षा अधिकारीसम्मले उनीहरुलाई तालिम दिन्छन् । तालिम तीन महिनामा सक्ने हाम्रो लक्ष्य हुन्छ ।’’

बाह्रखरीलाई प्राप्त दस्तावेजअनुसार आधुनिक राइफल इन्सास, एसएसलआर, एम–१६ लगायतका हतियारको बारेमा उनीहरुलाई सिकाइन्छ । प्रायः सैन्य तालिम पश्चिम कमाण्ड क्षेत्रमा भइरहेको पाइएको छ । सो समुहले जनसेनाको कम्पनीसम्मको सैन्य संरचनाको विकास गरेको पाइएको छ । कम्पनीको संरचनामा रहेको जनसेनाको मातहतमा प्लाटुन, सेक्सन लगायतको युनिट रहन्छ । प्रत्येक तहमा कमाण्डर हुन्छ । 

विप्लव समूहको कक्षामा पढाइने नोट

विप्लव समूहमाथि सुरक्षा निगरानी कडा छ । पछिल्लो तीन वर्षयता विप्लव सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनी पूर्ण भूमिगत अवस्थामा नै छन् । देशभर सुरक्षा निकायले सो समूहविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाएको छ । 

शुक्रबारमात्रै बाजुराको गौमुल गाउँपालिका–३ माझपालीबाट रोल्पाको गंगादेव गाउँपालिका–३ जिनावाङ घर भएका ५२ वर्षीय चूडामणिओली लगायत १६ जना पेस्तोल तथा विभिन्न विष्फोटक पदार्थसहित पक्राउ परेका छन् । ओली विप्लव नेकपाको केन्द्रीय सदस्य समेत हुन् । उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ३ राउण्ड, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, प्रेसर कुकर बम १ थान, इलेक्ट्रोनिक कमर्सियल डेटोनेटर ८ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैंची तथा सैन्य तालिम सम्बन्धी कागजात प्रहरीले बरामद भएको छ । 

एक हजार नेता–कार्यकर्ता पक्राउ

प्रहरी प्रधान कार्यालयका अनुसार गत फागुन १० गतेबाट यही मंसिर २४ गतेसम्ममा एक हजार ८३ जना विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ परेका छन् । जसमध्ये एक हजार पाँच जनाविरुद्ध विभिन्न शीर्षकमा मुद्दा चलाइएको छ । 

१२२ जना पर्पक्षका लागि कारागार चलान भएका छन् । पक्राउ पर्नेमा स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ शीर्ष नेता हुन् । आइतबार मात्रै राजधानीबाट विप्लव समूहको सदस्य रहेको आशंकामा ४२ जना पक्राउ परेका छन् । तर उनीहरु पार्टीका सदस्य हुन् वा विद्यार्थीमात्रै भन्ने खुल्न बाँकी छ । विप्लव समूहले विकट क्षेत्र र पश्चिम नेपालका पहाडी जिल्लालाई आफ्नो आधारक्षेत्र बनाएको सुरक्षा संयन्त्रको दाबी छ । 

बाजुराका प्रहरी प्रमुख डीएसपी उद्धव भाटले विप्लव समूहविरूद्ध व्यापक  मात्रामा प्रहरी परिचालन गरिएको बताए । उनीहरूका हरेक गतिविधि निगरानी गर्ने, शंकास्पद स्थानमा छापा हान्ने र  समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत् अगाडि बढ्ने उनको भनाइ छ । डीएसपी भाटका अनुसार बाजुरामा प्रतिबन्धपछि सो समूहका ४२ जना नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् भने ३२ जनाले आत्मसमर्पण गरेका छन् । 

बाजुरामा शुक्रबार पक्राउ परेका नेता–कार्यकर्ता । 

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  १३:४३
प्रतिक्रिया दिनुहोस्